मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
उपनिर्वाचन

तनहुँ–१ को उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवार तय, गठबन्धनभित्र अझै अस्तित्वको लडाइँ !

माओवादी र एकीकृत समाजवादीको दाबी कायमै
बिहीबार, १६ चैत २०७९, ११ : ३१
बिहीबार, १६ चैत २०७९

पोखरा । मंसिर ४ को निर्वाचनमा तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बने । राजनीतिक समीकरणमा भएको फेरबदलसँगै उनी राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको तनहुँ–१ प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

मंसिरमा भएको चुनावमा गठबन्धनबाट पौडेलले २५ हजार ३१८ मत ल्याउँदा र एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याएका थिए । अहिले निर्वाचन नजिकिँदै गर्दा गठबन्धनबाट बन्ने साझा उम्मेदवारबारे कौतुहलता बढेको छ । मुख्य गरी गठबन्धनमा सहभागी प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले उक्त क्षेत्रमा दाबी गरिरहेका छन् । तर, कांग्रेसले अन्य दललाई त्यसै छाड्ने देखिँदैन । 

नेपाली कांग्रेस जिल्ला कमिटीले १२ जना आकांक्षीको नाम प्रदेशलाई सिफारिस गरेकामा केन्द्रले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यस्तै नेकपा माओवादीले पनि उम्मेदवार सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादीले भने शुक्रबारसम्म आकांक्षीहरुको नाम सिफारिस गर्ने तयारी छ । 

तनहुँमा आफ्नो प्रभुत्व कायम राख्न तीन दलका नेताहरु नै तालमेल गरेर टिकट हत्याउने दाउमा देखिन्छन् । तनहुँ क्षेत्र नम्बर १ मा व्यास नगरपालिकाका १४ मध्ये १२ वडा, बन्दीपुर, आँबुखैरेनी, देवघाट गाउँपालिका र भानु नगरपालिका पर्छन् ।

आकांक्षी नेताहरुलाई तालमेल हुँदा आफ्नो दलले टिकट नपाउने हो कि भन्ने डर उस्तै छ । आफ्नो दलले टिकट नपाउँदा दलगत कार्यकर्ता, मतदातामा नकारात्मक असर पर्ने र विपक्षीको पोल्टामा परिणाम पुग्न सक्ने आकलन छ । यति हुँदाहुँदै पनि केन्द्रीय नेताहरु साझा उम्मेदवार उठाउने र परिणाम सकारात्मक आउनेमा ढुक्क छन् । भेटमा कार्यकर्तालाई मिलेरै जान आह्वान गरेका छन् । 

तनहुँ–१ मा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसमेतको नाम उम्मेदवार बन्नेमा चर्चा छ ।  खनाललाई गठबन्धनबाट साझा उम्मेदवार बनाएर चुनाव लडाउनेसम्मको छलफल भएको एकीकृत समाजवादीका तनहुँ अध्यक्ष श्रीराम कार्कीले बताए । उनका अनुसार केही दिनअघि पार्टी अध्यक्ष माधव नेपालसँगको भेटमा यस्तो वार्ता भएको हो ।

‘पार्टी अध्यक्षज्यूले पनि वरिष्ठ नेता खनाललाई गठबन्धनका दलबिच साझा धारणा बनाएर लडाउने कुरा गर्नुभएको रहेछ । हाम्रो माग पनि यही थियो,’ कार्कीले भने, ‘तनहुँ–१ को निर्वाचनमा उहाँ नलडे हाम्रै पार्टीका अर्को कोही नेताले टिकट पाउनुपर्छ । नत्र विद्रोह गछौं ।’ मंसिर ४ को निर्वाचनमा इलाम–१ बाट खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । प्रधानमन्त्री भइसकेका खनाललाई पुनः संसदमा ल्याउनुपर्ने भन्दै गठबन्धनभित्रै बहस सुरु भएको छ । 

‘हाम्रो स्पष्ट धारणा छ । समाजवादीले गत निर्वाचनमा तनहुँका दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा केही पनि पाएन । हामी सहयोग गर्दैमात्र हिँड्यौं । स्थानीय, प्रदेश र संघमा भयौं । यसकारण दायाँबायाँ नगरी एकीकृत समाजवादीले पाउनुपर्छ,’ अध्यक्ष कार्कीले भने, ‘उपनिर्वाचन लड्न गण्डकीका सचिव तथा पोलिटव्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय लेखा आयोगको उपाध्यक्ष विद्या ढकाल, शंकर नारायण श्रेष्ठ, निर्वतमान सद कलिला खान र म आफू स्वयं आकांक्षी छु ।’

प्रतिनिधिसभातर्फ समाजवादीले सिट नपाउने अवस्थामा माथिबाट अरु पार्टीलाई भोट हाल भनेर निर्णय र निर्देशन भए पनि आँखा चिम्लिएर लागु गर्ने पक्षमा आफूहरु नभएको उनको भनाइ छ । ‘पार्टीका स्थानीय नेता–कार्यकर्ताहरुलाई न्याय हुँदैन भने केन्द्रको आदेश सधैँ मान्नुपर्छ भन्ने पनि छैन,’ उनले भने । पार्टीमा आस्था राख्ने नेता कार्यकर्ता र मतदाताले तपाईंहरुको हैसियत के हो भनेर आफूहरुलाई सोध्ने गरेको उनले सुनाए । 

‘कांग्रेसले पाउनेमा ढुक्क छौं’

उपनिर्वाचन लड्न कांग्रेसबाट १२ जना आकांक्षीको नाम केन्द्रमा सिफारिस थियो ।  एकल सिफारिस गर्ने अवस्था नरहेपछि पूर्व मन्त्री, संविधानसभा सदस्य लगायतको नाम सिफारिस गरिएको जिल्ला सचिव लक्ष्मी भक्त खनालले बताए । उनका अनुसार केन्द्रीय सदस्य गोविन्द्र भट्टराई, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य, आँबुखैरेनी सभापति विष्णु पन्त, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ, पूर्व सचिव समुन्द्र गोदार, नेताहरु डोबाटे विश्वकर्मा, सरिता गुरुङ र अर्जुनबहादुर अधिकारीको नाम जिल्ला प्रदेश हुँदै संघमा सिफारिस भएको थियो । जसमा बिहीबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट भट्टराईले टिकट बाजी मारेका छन् । 

सचिव खनालले अब केन्द्रबाट निर्णय भएको नामलाई गठबन्धनमा आवद्ध दल मिलेर जिताएर पठाउने बताए । 

यस पटक हाम्रो पालो हो : माओवादी

यता उपनिर्वाचन लड्न माओवादीबाट पनि नाम सिफारिस गरिएको छ । जिल्ला समितिको बैठकले तनहुँ १ मा माओवादीबाट उम्मेदवार उठाउने निर्णय गरेको हो । श्रीराम ढकाल, ओमकुमार पौडेल, हेमराज लामिछाने, सूर्यबहादुर गौली, शंकर जोशीको नाममा सर्वसम्मत निर्णय गरेर केन्द्रमा पठाइएको माओवादी केन्द्रका तनहुँ इन्चार्ज हरिबहादुर चुमानले बताए ।

‘०७४ को निर्वाचनमा पनि एमालेबाट उठेका किसान श्रेष्ठलाई सहयोग ग¥यौं । मंसिरको चुनावमा पनि रामचन्द्र पौडेललाई जिताएर पठायौं,’ प्रदेश संसदीय दलका नेता समेत रहेका चुमानले भने, ‘अहिले हामीले कुनै पनि हालतमा छोड्नेवाला छौनौं ।’

तनहुँ–१ मा माओवादीको पनि राम्रो जनमत रहेको उनको दाबी छ । प्रदेशसभातर्फ तनहुँ–१ (२) मा माओवादीका चुमानले दोस्रो पटक चुनाव जितेका हुन् ।

गठबन्धनमा कांग्रेसले टिकट पाए र फरक चिह्नमा मतदान गर्नुपरे एकीकृत समाजवादी र माओवादीका नेताहरु बागी उम्मेदवारी दिने सम्मका चेतावनी दिँदै आएका छन् । नेतृत्वको निर्णयले भोलिका दिनमा पार्टीको आन्तरिक जीवनमा थप संकट पैदा हुने उनीहरुको बुझाइ छ ।

मुद्दा र राजनीतिक एजेण्डा विल्कुल फरक भएका राजनीतिक दलहरू सत्ता स्वार्थमा आधारित गठबन्धनमा बाँधिएकाले यसले चुनावी परिणाम राम्रो देखिए पनि भावी राजनीतिमा असर पर्ने विश्लेषकहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप