ओलीको बोलीमा सङ्गीतकारहरूको विरोध

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गानको सुरुको धुन हटाउन सरकारलाई आग्रह गरेपछि एक प्रकारको तरङ्ग पैदा भएको छ ।
अखिल नेपाल पिछडा वर्ग महासङ्घको प्रथम महाधिवेशन उद्घाटन कार्यक्रममा उनले राष्ट्रिय गानको धुन हटाउन आग्रह गरेका थिए । बुधबार वीरगञ्जमा आयोजित सो कार्यक्रममा राष्ट्रिय गान सुरु हुनुभन्दा अगाडि बज्दै आएको धुनलाई हटाउनुपर्ने विचार राखेका थिए ।
‘म सरकारलाई आग्रह गर्न चाहन्छु, राष्ट्रिय गानको अगाडि प्याँ प्याँ प्याँ प्याँ... केही धुन बजाउँछ, ट्याँ ट्याँ ट्याँ पारेर । सयौँ थुँगा फूलका हामी भन्नेभन्दा अगाडिको धुन राष्ट्रिय गान वा राष्ट्रिय धुनबाट हटाइनुपर्दछ,’ उनले भने, ‘त्यो राष्ट्रिय गानभित्र पर्दैन र राष्ट्रिय गानको धुन पनि होइन । अगाडि बजाइने बाजा राष्ट्रिय गानमा बजाइँदैन र म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सरकारले यस्ता कुरामा ध्यान देओस् ।’
यसअघि पनि सो कुरा उठाउँदै आएको बताउँदै उनले भने, राष्ट्रिय गान भनेको शब्दबाट सुरु हुन्छ, शब्दमा अन्त्य हुन्छ । शब्दको धुनबाट सुरु हुन्छ, शब्दको धुनमा अन्त्य हुन्छ, त्योभन्दा अगाडि सिँगारपटार गरेर अर्को म्युजिक अगाडि हाल्ने, अर्को म्युजिक पछाडि हाल्ने गरिँदैन ।
तर उनको यो अभिव्यक्तिप्रति धेरैले विरोध गरेका छन् । पूर्वप्रधानमन्त्रीजस्तो व्यक्तित्वले कसैको मौलिक सिर्जनालाई ‘प्याँ प्याँ प्याँ प्याँ... र ट्याँ ट्याँ ट्याँ पारेको भनेर होच्याउन नहुने’ सङ्गीतकारहरू बताउँछन् ।
उनको योे अभिव्यक्तिप्रति सङ्गीतकार चेतन सापकोटाले आपत्ति जनाएका छन् । पूर्वप्रधानमन्त्री जस्तो मान्छेले यस्तो हावा कुरा गर्न नहुने सापकोटाको भनाइ छ ।
‘एउटा स्रष्टाले सिर्जना गरेको र राष्ट्रिय स्तरको एउटा कमिटीले स्वीकृत गरिसकेको हो यो राष्ट्रिय धुन । त्यसरी स्वीकृत भएर १५ वर्ष बजिसकेकाले पूर्वप्रधानमन्त्री जस्तो नेताले हटाउनु पर्यो भन्नु नै गलत हो,’ उनले भने, “मूल स्रष्टा नै नभएको अवस्थामा यो कार्य गर्नै हुँदैन ।”
तर सबैको आग्रहमा स्रष्टा आफैँले परिवर्तन गर्न चाहेको भए सम्भव हुन सक्थ्यो, अरूले गर्न सक्ने अवस्था हुँदैन । किनभने त्यसमा प्रतिलिपि अधिकारको कुरा पनि आउने बताउँछन् सापकोटा ।
सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति सङ्गीतकार शम्भु राईले यो राजनीतिक विषय भएकाले राजनीतिक क्षेत्रकै व्यक्तित्वहरूसँग छलफल गर्दा राम्रो हुने बताउँछन् । उनले भने, “राजनीतिक व्यक्तिहरू सांसदहरू, मन्त्रीहरूसँग यो विषयको उठान गराउँदा राम्रो हुन्छ ।” यो संसद्भित्रै छलफल हुने विषय भएको समेत उनको ठहर छ ।
पहिले किन राखियो र अहिले आएर भइरहेको राष्ट्रिय धुन किन हटाउनुपर्यो भनेर राईले प्रतिपश्नसमेत गरे । अरू धुनजस्तो भए केही भन्न सकिन्थ्यो, यो राष्ट्रिय धुन हो । यसमा मात्र होइन, यसअघिको राष्ट्रिय गानमा बेग्लै खालको धुन थियो ।
यो धुन हटाउनु या संशोधन गर्नुपर्छ भन्न मिल्दैन, हामी त्यो निकायलाई सरसल्लाह दिने, छलफल गर्ने हैसियतको निकायमा पनि छैनौँ उनले भने । साङ्गीतिक क्षेत्रका व्यक्तिले भनेको कुरालाई राजनीतिक क्षेत्रमा खासै महत्त्व पनि दिइँदैन र अर्थ नहुने उनले बताए । यो अलिकति माथिल्लो स्तरले गर्ने निर्णय हो ।
“अरू सामान्य स्रष्टाले सिर्जना गरेको कुरामा यहाँ भएन, त्यहाँ भएन भन्न हामीले मिल्दैन,” उनले भने, “उसको आफ्नौ मौलिकता, आफ्नोपन, उद्देश्यलाई औँलो ठड्याउनु राम्रो होइन ।” राम्रो नराम्रो भन्ने अधिकार स्रोता, दर्शकलाई मात्र हुने उनको भनाइ छ ।
राष्ट्रिय गान र राष्ट्रिय धुनको छनोट
दोस्रो जनआन्दोलन २०६२–६३ पछि पुरानो राष्ट्रिय गानलाई निलम्बन गरेपछि नयाँ छनोटका लागि १४ सदस्यीय कार्यदल बनाइएको थियो । सो कार्यदलले नयाँ राष्ट्रिय गानका लागि राष्ट्रिय स्तरमा गीतहरूको आह्वान गरेको थियो । त्यसका लागि १२७२ सर्जकहरुले रचना पठाएका थिए । तीमध्येबाट ओखलढुङ्गे कवि व्याकुल माइला अर्थात् प्रदीपकुमार राईको रचना ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली...’ (पूरा गान तल दिइएको छ) गीत छनोटमा परेको थियो ।
उक्त गीतका लागि सङ्गीत भर्न सरकारले सार्वजनिक आह्वान गरेको थियो । सो आह्वानमा अम्बर गुरुङका तीन, नेपाली सेनाका दुई र युवा सङ्गीतकार न्हु वज्राचार्यको एक गरी ६ वटा सङ्गीत प्रस्तुत गरिएका थिए । ती सङ्गीत सुनेपछि अम्बरको दोस्रो सङ्गीतलाई राष्ट्रिय धुनका रूपमा चयन गरिएको थियो ।
सङ्गीत स्रोतासँगको एक अन्तरवार्तामा अम्बर गुरुङले भनेका थिए, “मलाई धुन बनाउन सरकारले जम्मा ४५ दिन दिएको थियो । मैले यो धुन हर्ष, पर्व, शोक, सङ्कट सबै राष्ट्रिय घटना वा असरमा बजाउन मिल्ने हुनुपर्छ भन्नेतिर ख्याल पुर्याएँ । यो अहिलेको धुन राष्ट्रिय शोकमा बिस्तारै बजाउन मिल्छ ।” यो धुन हलुका शास्त्रीयपन र वीर रसको रागमा आधारित रहेको पनि उनले बताएका थिए ।
राष्ट्रिय गानको धुन बनाउन सरकारले सुरुमा नेपाली सेना र प्रहरीलाई दिएको थियो तर पछि फेरि अम्बर गुरुङलाई बनाउन अनुरोध गरेको थियो ।
त्यसै गरी संस्कृतिविद् सत्यमोहन जोशीले पनि उनलाई नै सङ्गीत भर्न आग्रह गरेका थिए । ‘मैले बनाएको धुन सबैले मान्ने हो भने बनाउँछु, नत्र विवाद गर्ने वा पछि नराख्ने हो भने बनाउँदिनँ,’ कुराकानीका क्रममा गुरुङले भनेका थिए, ‘त्यसपछि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पृथ्वीसुब्बा गुरुङले तपाईंले नै बनाइदिनुपर्छ भनेर पुनः अनुरोध गरे ।’
धेरैतिरबाट राष्ट्रिय गानको धुन बनाउन अनुरोध आएपछि उनले १४ वटा बेग्लाबेग्लै धुन तयार पारे । ती धुन मध्येबाट राष्ट्रिय धुन छनोटका लागि पेस गर्न गुरुङले २० जना गायकगायिकालाई बोलाएर अभ्यास गराएको बताउँछन् राष्ट्रिय गानका रचनाकार व्याकुल माइला ।
‘गीत सुनाइसकेपछि उहाँले कस्तो लाग्यो, सोचेजस्तो सङ्गीत भयो कि भएन भनेर मलाई सोध्नुभयो,’ व्याकुलले भने, ‘चौधमध्ये केही धुन छानेर सरकारलाई बुझाउनुपर्ने, कुन–कुन छान्दा राम्रो होला भन्नुभयो ।’ पछि उनले तीनवटा धुन सरकारसमक्ष पेस गरेका थिए ।
त्यसपछि विसं २०६४ साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले सिर्जना गरेको सोध धुन (सङ्गीत) छनोट गरेको थियो । यसपछि ‘सयौँ थुँगा फूलका हामी..’ नयाँ राष्ट्रिय गानले पूर्णता पाएको थियो ।
तत्कालीन अन्तरिम संसद्का सभामुख सुवासचन्द्र नेम्वाङ सिंहदरबारभित्र रहेको राष्ट्रिय योजना आयोगको सम्मेलन भवनमा आयोजित समारोहमा २०६४ साउन १८ गते यो राष्ट्रिय गान (धुनसहित) औपचारिक रूपमा गाइएको थियो । यही मितिबाट नयाँ राष्ट्रिय गानको धुन पनि सुरु भएको हो ।
गायिका ज्ञानु राणाका अनुसार यस गीतमा अम्बर गुरुङ, ज्ञानु राणा, राजेश पायल राई, अञ्जु पन्त र अर्को एक जनाले स्वर भरेका छन् । ‘अम्बर गुरुङ दाइले हामीलाई स्पेसल बोलाएर गाउन लगाउनु भएको हो,’ उनले भनिन्, ‘हामी पाँच जनाले गएका हौँ, गाएबापत उहाँले सहयोगस्वरूप केही पारिश्रमिक पनि दिनुभएको थियो ।’ दुई तीन दिन प्राक्टिस गरेर यो गीत गाइएको थियो ।
यो राष्ट्रिय गानको तीनवटा धुन रहेको र ती तीनवटा मध्येबाट अहिलेको धुन छानिएको राणाले बताइन् । अरू दुईवटा धुन पनि निकै मीठो ट्युनिङमा रहेको उनले बताइन् ।
व्याकुल माइलाद्वारा रचित तथा अम्बर गुरुङले सङ्गीत भरेको राष्ट्रिय गान–
सयौँ थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची–महाकाली ।
प्रकृतिका कोटी–कोटी सम्पदाको आँचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।
यस्तो थियो पहिलेको राष्ट्रिय गान
विसं २०६३ भन्दा पहिले ‘श्रीमान् गम्भीर नेपाली....’बोलको थियो नेपाली राष्ट्रिय गान । यो गान २०१८ सालदेखि नेपालबाट देशभर औपचारिक सभासमारोहमा गाउन सुरु गरिएको थियो ।
चक्रपाणि चालिसेले रचना गरेको यस गानमा यसमा बखतबहादुर बुढापिर्थीले सङ्गीत भरेका थिए । यसले राजाको भक्तिगान गाएको र प्रजालाई राजाको जयजयकार गर्न बाध्य पारिएको भन्दै जनआन्दोलन २०६३ पछि हटाइएको थियो ।
श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति
श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति
राखून् चिरायु ईशले प्रजा फैलियोस्
पुकारौँ जय प्रेमले हामी नेपाली साराले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म