शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय समितिको सभापति दक्ष र योग्य व्यक्तिलाई बनाउनुपर्ने सांसदहरुको जोड

आइतबार, २६ चैत २०७९, १७ : ५१
आइतबार, २६ चैत २०७९

काठमाडौँ । संसदीय समितिहरुको सभापतिमा दक्ष र योग्य व्यक्तिलाई चयन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । 

प्रतिनिधि सभा नियमावली प्रतिनिधि सभाबाट पारित भएसँगै संघीय संसद् सचिवालय संसदीय समिति गठनको प्रक्रियामा अगाडि बढेको छ । यससँगै समिति सभापति कुन दलले कति पाउने र क–कसलाई सभापति बनाउने भन्नेतर्फ दलहरु र सांसदहरुको ध्यान गएको छ । 

सांसदहरुले समिति सभापतिमा योग्य, दक्ष र नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने मान्छेलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रभावकारी काम गर्नसक्ने र समितिलाई गतिशील बनाउनसक्ने मान्छे समिति सभापति बन्नुपर्ने बताए ।  विगतमा राजनीतिक जिम्मेवारी नपाएकाहरुलाई समिति सभापति बनाउन् भन्ने दलहरुको धारणा हुँदा समिति निष्प्रभावि भएको उनको तर्क छ । सांसद पौडेलले ३ वटा समितिको सभापतिमा माओवादी केन्द्रको दाबी रहेको पनि बताए ।  

त्यस्तै माओवादी केन्द्रकै सांसद लेखनाथ दाहालले राजनीतिक दलहरुका बीचमा सहमतिमा सभापति चयन गर्ने कुरालाई प्राथमिकतामा राखेको बताए । उनले सहमतिका आधारमा हुँदा माओवादी केन्द्रले कम संख्यामा सभापति स्वीकार गर्ने तर निर्वाचन प्रक्रियामा सभापति चयन गर्ने अवस्थामा धेरै संख्यामा दाबी रहने बताए । उनले समिति सभापतिमा सक्रिय र ऊर्जाशील व्यक्ति चाहिने बताए । निष्क्रिय मान्छेलाई पार्टीको वरिष्ठ नेता भएको आधारमा सभापति बनाउनु नहुने उनको भनाई छ । वरिष्ठ नेताहरुलाई सम्मान गर्ने र कनिष्ठ नेताहरुलाई काम दिने परिपाटी बसाउन आफूहरु आवाज उठाउने उनले बताए ।  

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा(एमाले)का सांसद राजेन्द्रकुमार राईले समितिलाई व्यवस्थित ढंगले सञ्चालन गर्न सक्ने व्यक्ति सभापति बन्नुपर्ने बताए । उनले योग्य र दक्ष व्यक्तिको चयन गर्नुपर्नेमा जोड दिए । अन्य राजनीतिक दलमा समिति सभापति चलाउने योग्यता र दक्षता भएकाहरु निकै कम भएको भन्दै उनले पाँचदेखि सातवटा समिति सभापतिमा एमालेको दाबी रहेको बताए ।  

नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले संसदीय अभ्यास बुझेका र अध्ययनशील व्यक्तिलाई समिति सभापति छनौट गर्नुपर्ने बताए ।  उनले काँग्रेसले पाँचवटा भन्दा बढी समिति सभापति पाउनुपर्ने माग गरे ।  

यता, समिति सभापति चयन गर्दा महिलाहरुको समान प्रतिनिधित्वको आवाज पनि महिला सांसदहरुले उठाइरहेका छन् । 

नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले दशवटा विषयगत समितिमध्ये महिलाहरुलाई ५० प्रतिशत समिति सभापति दिनुपर्ने बताइन् । सो आवाज आफूहरुले पार्टीभित्र पनि राखिसकेको बताइन् ।  

नेपाली कांग्रेसकै सांसद नागिना यादवले सक्षम महिलालाई समिति सभापति बनाउनुपर्ने माग आफूहरुले पार्टीभित्र राखिसकेको बताइन् । समिति सभापति चयन गर्दा समानुपातिक र समावेशी रुपमा गर्नुपर्नेमा उनको जोड छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप