शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
महासंघमा महाभिडन्त

२१औँ अध्यक्ष चुन्दै उद्योगी व्यवसायी, पहिलोपटक त्रिपक्षीय भिडन्त

कुन पदमा कति जनाको भिडन्त ?
बुधबार, २९ चैत २०७९, ०८ : ३८
बुधबार, २९ चैत २०७९

काठमाडौँ । सरकारपछि देशभर सबैभन्दा ठुलो सञ्जाल फैलिएको नेपाल उद्योग वाणिज्य महासंघको महाभिडन्त सुरु भएको छ । देशभरका लाखौँ उद्योगी व्यवसायी सदस्य रहेको महासंघको भावी अध्यक्ष चयनका लागि आज बिहान ८ बजेदेखि कमलादीको प्रज्ञा प्रतिष्ठानमा निर्वाचन सुरु भएको छ । महासंघको साधारणसभा भने हिजो मंगलबारबाटै सुरु भएको हो ।

निर्वाचनबाट ३ वर्षपछिका लागि महासंघको २१औँ अध्यक्ष चुनिनेछन् । र, यो प्रक्रियामा महासंघमा आबद्ध ३ जना व्यवसायी सहभागी छन् । लक्ष्मी समूहका निर्देशक अन्जान श्रेष्ठ, क्वेस्ट फर्मासिटिकल्सका सञ्चालक उमेशलाल श्रेष्ठ र त्रिवेणी समूहका निर्देशक रामचन्द्र संघई चुनावी दौडमा छन् ।

यी उम्मेदवारमध्ये जसले ५१ प्रतिशत मत ल्याउँछ, उसैले महासंघको नेतृत्व आगामी ३ वर्षसम्म सम्हाल्नेछ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले यही पदका लागि चुनाव केन्द्रित बन्छ ।

पहिलोपटक त्रिपक्षीय भिडन्त

महासंघको ५७ वर्षको इतिहासमा पहिलोपटक वरिष्ठ उपाध्यक्ष पदका लागि त्रिपक्षीय भिडन्त हुँदैछ । यो पदमा यसपटक अन्जान श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा छन् ।
श्रेष्ठद्वय र संघई प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा छन् । यसअघि दुई जनाबीच मात्र प्रतिस्पर्धा हुने गरेको थियो । यसपटक तीन जना चुनावी मैदानमा उत्रिएकाले कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्ने आँकलन गरिएको छ ।

वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुन उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ । निर्वाचनको मत गणना आजै साँझ ७ बजेदेखि सुरु हुनेछ । यो मतगणनाबाट कुनै पनि उम्मेद्वारले ५१ प्रतिशतले मत नल्याएमा बिहीबार दोस्रो चरणको मतदान सुरु हुनेछ । उक्त मतदानमा तेस्रो हुने उम्मेद्वारले पहिलो वा दोस्रो हुनेलाई समर्थन गरेपछि भने परिमाण आउनेछ । दोस्रो चरणको मतदान ३० गते ११ बजेदेखि ६ बजेसम्म प्रज्ञा प्रतिष्ठानमै हुनेछ ।

ढकाल स्वतः अध्यक्ष

भोलिदेखि महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्दैछन् । ढकाल २०७७ सालमा काठमाडौंमै सम्पन्न भएको चुनावबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित बनेका थिए । उनले किशोरकुमार प्रधानलाई पराजित गर्दै भावी अध्यक्षकाको बाटो तय गरेका थिए । १९औं अध्यक्ष शेखर गोल्छाको कार्यकाल सकिएसँगै ढकाल स्वतः २० औं अध्यक्ष बनेर आगामी ३ वर्षका लागि मिहासंघको नेतृत्व सम्हाल्ने छन् ।

ढकाल आईएमई ग्रुपका अध्यक्ष समेत छन् । सुरुमा राष्ट्रिय वाणिज्य बैंकको जागिर छाडेर व्यवसाय सुरु गरेका थिए । यस्तै, वैदेशिक रोजगारीका लागि जापान समेत पुगेका ढकालले विदेशबाट पैसा पठाउनका लागि आईएमई सुरु गरेपछि व्यवसायीक उडानमा छलाङ मारेका हुन् ।

उपाध्यक्षमा ८ जनाबीच भिडन्त

अध्यक्ष नै कार्यकारी रहने महासंघको कार्यसमितिमा एक जना वरिष्ठ उपाध्यक्षसँगै ३ जना उपाध्यक्ष हुने व्यवस्था छ । यसअनुसार, महासंघमा जिल्लानगर, वस्तुगत र एसोसिएटमा १–१ जना उपाध्यक्ष हुन्छन् । ३ उपाध्यक्ष पदका लागि ८ जना व्यवसायी भिडन्तमा छन् ।

३ वटा समूहमा बाँडिएर ८ जना व्यवसायी उपाध्यक्षको दौडमा उत्रिएका हुन् । जिल्लानगरतर्फको उपाध्यक्ष पदमा अरुण सुमार्गी, दिनेश श्रेष्ठ शुरकृष्ण वैद्य छन् । यस्तै, वस्तुगततर्फको उपाध्यक्षमा मनिषलाल प्रधान, हेमराज ढकाल र शकुन्तला हिराचन छन् । यसका साथै, एसोसिएटतर्फको उपाध्यक्ष पदमा भने जम्मा २ जनाबीच भिडन्त हुँदै छ । यो पदका लागि भरत आचार्य र ज्योत्सना श्रेष्ठ आपसी भिडन्तमा छन् ।

११७ जनाको उम्मेदवारी, ५ जना निर्विरोध निर्वाचित

महासंघको चुनावले ६४ जना व्यवसायीलाई कार्यसमिति पदमा निर्वाचित गर्ने प्रावधान छ । यही प्रावधानअनुसार विभिन्न पदमा निर्वाचित हुनका लागि ११७ जना व्यवसायीले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका थिए । तर, यसमध्ये ३ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

सुरुमा २ जना उम्मेदवार निर्वाचित बनेका थिए भने थप ३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ११२ जना व्यवसायीबीच भिडन्त हुने प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलले रातोपाटीलाई जानकारी दिए ।

कुन पदमा कति जनाको भिडन्त ?

महासंघको निर्वाचनले विभिन्न पदमा गरी ६४ जना व्यवसायीलाई कार्यसमितिमा निर्वाचित गर्नेछ । १ जना निर्वाचित हुनुपर्ने वरिष्ठ उपाध्यक्ष पदमा ३ जनाको उम्मेदवारी परेको छ । यस्तै, ३ जना निर्वाचित हुने उपाध्यक्ष पदमा ८ जनाको भिडन्त छ । प्रत्येक प्रदेशबाट १–१ जनाका दरले कूल ७ जना प्रदेश सदस्य निर्वाचित हुनुपर्नेमा १४ जना भिडन्तमा छन् । यसमध्ये लुम्बिनी र सुदूरपश्चिमबाट निर्विरोध निर्वाचित भएका छन् भने कोसीमा सुरुमा २ जनाको उम्मेदवारी परेकामा एक जनाले फिर्ता लिएसँगै हाल १ जनाको उम्मेदवारी कायम छ, मधेसमा २, बागमतीमा २, गण्डकीमा २ र कर्णालीमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, जिल्लानगर केन्द्रीयसदस्यतर्फ ३२, वस्तुगत केन्द्रीय सदस्यतर्फ २८ र एसोसिएट केन्द्रीय सदस्यतर्फ २९ जनाले उम्मेदवारी दिएका छन् । जबकि, जिल्लानगरतर्फ १४, वस्तुगततर्फ १८ र एसोसिएटतर्फ १९ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । यसबाहेक, द्वीराष्ट्रियतर्फ १ जनाको उम्मेदवारी परेको र संस्थापकतर्फ १ जनाको उम्मेदवारी परेको छ । उनीहरू दुवै जना निर्विरोध बनिसकेका छन् । यससँगै, कोसी, लुम्बिनी र सुदूरपश्चिम तथा द्वीराष्ट्रिय र संस्थापक सदस्य निर्विरोध बनेका हुन् ।

५ जना निर्विरोध

महासंघमा १ जना वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष, १९ जना एसोसिएट सदस्य, १८ जना वस्तुगत सदस्य र १४ जना जिल्लानगर सदस्य निर्वाचित हुन्छन् । यस्तै, प्रदेशतर्फबाट ७, द्वीराष्ट्रिय र संस्थापकतर्फ १–१ जना सदस्य निर्वाचित हुने व्यवस्था छ । सबै गरी कूल ६४ जना नयाँ कार्यसमिति चयन हुन्छन् । यसमध्ये ५ जना बनेसँगै ५९ पदका लागि ११२ जनाबीच भिडन्त हुने भएको हो ।

यसबाहेक, ७ वटा प्रदेशका अध्यक्ष स्वतः कार्यसमिति सदस्यमा बस्न पाउँछन् भने भावी अध्यक्षले ५ जना मनोनयन गर्न पाउँछन् । यस्तै, एक जना निवर्तमान अध्यक्ष समेत कार्यसमिति सदस्य बन्ने व्यवस्था छ । यस्तै, अध्यक्ष समेत गरी कूल ७८ जनाको र एक जना विशिष्ट सदस्य समेत रहने प्रावधान महासंघमा छ ।

कति छन् मतदाता ?

महासंघको निर्वाचन समितिका अनुसार कूल १९ सय ९३ जना मतदाता छन् । यी मतदाताले आफ्ना भावी अध्यक्ष र कार्यसमिति चयन गर्नेछन् । निर्वाचन समितिका अनुसार एसोसिएटतर्फका मतदाता संस्था १७ सय ४८ जना छन् । यस्तै, वस्तुगततर्फका मतदाता संस्था १२३ छन् भने जिल्लानगरतर्फका मतदाता संस्था ११७ जना छन् । यसैगरी, द्वीराष्ट्रियतर्फ ५ वटा मतदाता संस्था छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप