शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
तनहुँ–१ को उपनिर्वाचन

भोट माग्दै पारे अलपत्र, पञ्चायतकालको बाटो अझै भएन कालोपत्र (भिडियो–संवाद)

उम्मेदवारलाई मतको पिर, मतदातालाई मलको, राष्ट्रपति पौडेलप्रति पनि गुनासै गुनासो
शनिबार, ०२ वैशाख २०८०

पोखराबाट सञ्जय रानाभाटको सहयोगमा

तनहुँ । गहुँबाली भित्र्याई सकेको तनहुँमा किसानहरू यतिबेला चैते धान गोड्न तथा बारीमा मकै रोप्न व्यस्त छन् । 

यही वैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचन नजिकै आएकोले विभिन्न दलका नेता, कार्यकर्ता पनि उनीहरूको घरदैलोमै पुगिरहेका छन् । मङ्सिरमा भोट दिएका उनीहरू पुनः ५ महिनापछि अर्को निर्वाचनमा भोट हाल्ने प्रतीक्षामा छन् । 

गाउँघरमा फेरि नेता कार्यकर्ताको ताँती लाग्न थालेपछि सर्वसाधारण पनि चुनावी मुड बनाएर गफगाफ गर्न थालेका छन् ।

TANAHU 3

तनहुँ–१ को ब्यास नगरपालिका–१४ छाब्दी बराहीका स्थानीय अपराह्नको समयमा गाउँको चोकमा कुराकानी गरेर बसिरहेका थिए । उनीहरू थिए श्रीकृष्ण पन्थ, हरिशचन्द्र लौडारी, जीवराज पन्थ, नारायण पन्थ र टेकबहादुर पन्थ । 

घरको काम धन्दा गरेर फुर्सदमा बसेका उनीहरू सबैको मुख्य पेशा कृषि रहेछ । चुनाव जितेर जाने उम्मेदवारले कृषि र कृषकका समस्यालाई सम्बोधन गरिदिए हुन्थ्यो भन्ने उनीहरूले अपेक्षा व्यक्त गरे । 

किसानले भनेका बेला मल, बीउ नपाउने, चालीस वर्ष अघिदेखि बाटो सधैँ कच्चीको कच्ची नै रहेको गुनासो गरे । 

स्थानीय टेकबहादुर पन्थले भने–‘यो बाटो खनेको धेरै वर्ष भयो तर कहिले पनि पिच गरेनन् । हुन्छ हुन्छ त भनिरहे । तर, यहाँको लागि भनेर आएको बजेट पनि अन्तै भागमा पारे । यो बाटो पिच भइदिए हाम्रो केही दुःख कम हुने थियो कि ?’

उनले सो क्षेत्रमा रहेको प्रसिद्ध छाब्दी मन्दिरमा पर्यटक बढाउने काम गर्नुपर्ने बताए । 

tanahu 1

उनले भने–‘छाब्दी बाराही मन्दिरमा ७७ जिल्लाबाट मान्छेहरु आउने गरेका छन् । पोखरा, बन्दीपुरमा आउने पर्यटकलाई छाब्दी बाराही मन्दिरसम्म ल्याउन सके यो क्षेत्रको विकास हुन्थ्यो ।’ 

त्यस्तै, उनले मूल्यवृद्धि नियन्त्रण, किसानले खेती गर्ने बेलामा समयमै रासायनिक मलको व्यवस्था गर्नुपर्ने बताए । उनले अगाडि भने–‘सरकारले रासायनिक मल, फलफूल, तरकारीका बीउविजन टोल टोलमा ल्याउनु पर्‍यो । सके सहुलियत मूल्यमा, नभए परेको मूल्यमा उपलब्ध गराएमा हामीलाई धेरै सजिलो हुने थियो ।’ 

IMG_5910

नेताहरूले झुक्याएर भोट माग्ने तर पछि काम नगर्ने प्रवृति रहेको बताउँदै पञ्चायतकालमै बाटो खोलिएपनि अझै कालोपत्रे नभएकोमा जीवराज पन्थले आक्रोश पोखे । 

‘राजाले काम गरेन भने उनलाई फाले तर राजा फालेपछि पनि नयाँ काम केही भएको छैन । बहुदलीय व्यवस्था ल्याइसकेपछि जनताका लागि धेरै काम गर्छौँ, जनताले धेरै कुरा पाउँछन् भनेका थिए तर जनताले केही पनि पाएका छैनन् ।’ उनले भने– ‘खेती गर्‍यो मल पाइँदैन । अबका नेताले राम्रो गरुन् । सबै नेताको सद्बुद्धि आओस् ।’

उनीहरूको गाउँमा धान, गहुँ, तोरी, मकै, फापर, काउली, बन्दा लगायतका सबै चीजको खेती गर्न सकिने हावापानी रहेको छ । तर त्यसका लागि समयमै बली, बीउ छैन । 

IMG_5945

राष्ट्रपति पौडेलप्रति पनि गुनासै गुनासो 

सोही क्षेत्रबाट चुनाव जितेका रामचन्द्र पौडेल अहिले राष्ट्रपति भएका छन् । तर उनी राष्ट्रपति भएको कुराले स्थानीयमा कुनै उत्साह थिएन । 

रामचन्द्र पौडेलले विगतमा चुनाव जिते पनि विकास निर्माणका  काममा ध्यान नदिएको गुनासो गरे नारायण पन्थले । 

IMG_5923

‘रामचन्द्र पौडेल राष्ट्रपति त हुनुभयो तर उहाँले यस क्षेत्रका लागि केही पनि गर्नु भएन । हामी छाब्दीबासीहरुले यो बाटो नबनाए तपाईं यो छाब्दीमा नआएपनि हुन्छ भन्यौँ ।’ उनले भने– ‘अब आउने युवाहरूले यहाँको विकास निर्माणको काम राम्रो गरुन् । हामी किसानलाई चाहिएको सबै सुविधा उनीहरूले पूर्ति गरिदिउन् ।’

किसानहरूले हरेक वर्ष समस्या झेल्नु परेको उनको गुनासो छ । चुनाव जितेर जाने उम्मेदवार कृषकका कुरा बुझ्न सक्ने भइदिए हुन्थ्यो भन्ने उनको चाहना छ ।  

उनका अनुसार बाटोको असुविधाले ३० रुपैयाँ पर्ने चिजलाई गाउँलेहरूले ९० रुपैयाँदेखि सय रुपैयाँसम्म तिर्नु परेको छ । नारायणघाट, मुग्लिनदेखि पनि मल किनेर ल्याउनुपर्ने अवस्था छ । 

IMG_5911

नयाँप्रति आशा 

स्थानीयले पुराना नेताहरूले अब केही गर्छन् कि भन्ने आशा मरेको बताए । नारायण पन्थले विगतमा विभिन्न पार्टीका फरक फरकलाई मत दिएको तर अब युवालाई मत दिने सोचमा रहेको बताए । 

यस्तै स्थानीय हरिशचन्द लौडारीले पनि नेताहरूको आश्वासन केवल आश्वासनमै सीमित भएका कारण विकास हुन नसकेको बताए । ‘यहाँ राम्ररी खाना पनि खान पाइँदैन । ठुलो गाडी आयो भने धुलै धुलो हुन्छ । कपडा धोएर सुकायो भने पनि धुलैधुलो हुन्छ । उनले भने– ‘चालिस–पैतालिस वर्षअघि खनेको बाटो धुलैटे छ । गर्छु गर्छु भन्छन्, रात कटेपछि बिर्सियो । नौ दिन नौलो, बीस दिनपछि बिर्सियो भनेजस्तो हुन् नेताहरू ।’

हरेक निर्वाचनमा आएर आश्वासन दिएर नेताहरू जाने र फर्किएर नआउने गरेको उनको गुनासो छ ।  

उनीहरूले समयमा मल, बाटोको समस्यासँगै खानेपानी र नजिकै माध्यमिक विद्यालयको व्यवस्थाको माग पनि राखे ।    

WhatsApp Image 2023-04-15 at 12.08.13 PM

नजिकै छैन मावि स्कुल 

छाब्दी बाराही क्षेत्रमा नजिकै मावि स्कुल नभएकाले मावि तहमा पढ्ने विद्यार्थी बस चढेर दमौली जानुपर्ने बाध्यतामा छन् । विद्यार्थीले स्कुल जाँदा आउँदा गाडी भाडा ४० रुपैयाँ र खाजा ४० रुपैयाँ गरेर दैनिक ८० रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । 

टेकबहादुरका अनुसार हालको व्यास नगरपालिका–१४ स्थित यहाँ २०३७ सालमै स्कुल खुलेको हो । तर, अहिले पनि आधारभूत विद्यालयको रूपमा मात्र रहेको छ । शिक्षक दरबन्दी पनि छैन । 

उनले भने, ‘हामीले यहाँको स्कुललाई पूर्ण रूपमा शिक्षक पाएका छैनौँ । यहाँबाट एक डेढ घण्टा हिँडेर विद्यार्थीहरू दमौलीसम्म जानुपर्ने अवस्था छ । यो छाब्दी बाराहीको आधारभूत स्कुललाई मावि बनाइ दिए आभारी हुने थियौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया