शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
ग्राउन्ड जिरो तनहुँ–१

स्वर्णिमलाई दिनभर पछ्याउँदा : बटुवालाई गाडीको झ्यालबाटै घण्टी बजाएर भोट माग्न म्याराथन

विकासका लागि प्रधानमन्त्रीको टेबल ठोक्छु,  अन्तर्राष्ट्रिय साझेदार निकाय पनि बोलाउँछु (फोटो/भिडियो)
मङ्गलबार, २८ चैत २०७९

तनहुँ । सोमबार बिहान ठिक साढे ७ बजे दमौलीमा रहेको एक होटलबाट स्वर्णिम वाग्ले र उनका सहयोगीको गाडी तनहुँको बैरेनीतिर लाग्यो । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत व्यास नगरपालिकाका विभिन्न वडाहरूमा पुगेर भोट माग्ने कार्यक्रम अन्तर्गत उनी निकै हतारोमा हिँडिरहेका थिए । 

swarnim wagle ghardailo (7)

बैरेनीको एक टोलमा सानो कोण सभा गरेर उनले कलेस्ती भन्ने स्थानमा अर्को कोणसभा गरे । त्यसपछि ब्यास नगरपालिका भित्र रहेका बोटेटार, दुलेपानी, सत्रसय, बानियागाउँ, बर्लाची, सोतिबेसी हुँदै राष्ट्रपति रामचन्द्र पौडेलको पुर्ख्यौली घर रहेको बेल्थुम्की बेसीमा रहेको वडा कार्यालयमा  दिउँसो ४ बजे कोणसभा गरे । संक्षिप्त कोणसभा गर्दै हिँडेका वाग्ले मतदातासँग एक शब्द बोल्न पनि समय नभएको जस्तो निकै हतारोमा देखिन्थे । दमौलीदेखि ब्यास नगरपालिका वडा नम्बर ८ मा रहेको राष्ट्रपति पौडेलको पुर्ख्यौली थलोसम्म उनी मुख्य बाटोबाट कुनै बस्तीमा छिरेनन् तर उनले सडक चोकमा रहेका स्थानीयलाई गाडीबाट नमस्कार गर्न र हात हल्लाउन भने छुटाएनन् । 

swarnim wagle ghardailo (3)

बिहानदेखि दिउँसो ४ बजेसम्म स्वर्णिमलाई पछ्याउँदा उनी राजनीतिको तल्लो कमिटीबाट संघर्ष गर्दै, जनतासँग घनिष्ठता बढाउँदै राजनीतिक नेता भएका हुन भन्ने कुनै छनक देखिँदैनथ्यो । गाडीबाट सडकमा ओर्लिएका बेला पनि मतदातासँग केही क्षण अडिएर कुरा नगरी नमस्कार गर्दै उनी निकै हतारमा हिँड्थे । केही चोकमा गरेको छोटो कोणसभामा भने उनले आफू अर्थशास्त्रको विज्ञ भएको बताउँदै नेपालबाट युवाहरूले विदेशमा रोजगारी गर्न जाने अवस्था रोक्ने, स्थानीय मागहरू के के छन् त्यसको सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । 

swarnim wagle ghardailo (5)

बाटोमा भेटिएका केही मतदातासँग उनले आफू रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्ह लिएर चुनावमा उठेको उम्मेदवार भन्दै भोट मागेका थिए । उनले बैरेनी, कलेस्ती, बानियाँगाउँ, बाहुनपोखरा लगातका स्थानमा छोटो कोणसभा गरे । त्यहाँ उनले मङ्सिर ४ मा भएको चुनावमा रास्वपाबाट चुनाव लडेका विकास सिग्देलले ल्याएको मतमा कुठाराघात नहुने गरी भारी मत दिलाउन मतदातालाई आग्रह गरे । उनले आफूले नयाँ शैलीको  राजनीति, नयाँ मोडेलको राजनीति गर्ने प्रयास गरिरहेको भन्दै स्थानीयलाई आफूप्रति विश्वास गर्न आग्रह गरिरहेका थिए ।  

swarnim wagle ghardailo (1)

उनले स्थानीय स्तरका समस्या, विकासका काम गर्न प्रधानमन्त्रीको टेबल ठोक्न, प्रदेशको बजेट  ल्याउन र अन्तर्राष्ट्रिय साझेदार निकायलाई ल्याएर भए पनि विकासको काम दिने बाचा समेत गरे । तनहुँको बानियाँगाउँमा पुगेर उनले यसपटक जिताएर पठाउँदा काम गर्न नसके अर्को पटक आफूलाई घोक्राइदिन पनि आग्रह गरे ।  उनले भने–‘केही निश्चित समयभित्र यो काम गर्छु भनेर तपाईंहरू सामु प्रस्तुत हुने, मन पर्‍यो भने जिताएर पठाइदिने, मन परेन भने फेरी अर्को पटक लात हानेर पठाइदिने, घोक्राइदिने । त्यस्तो खालको राजनीति गर्न चाहन्छौँ । जसको मतले माथि पठाइदिन्छ, त्यो मतप्रति एकदमै आदर गरेर जान्छौँ, लोकतन्त्रको मर्म पनि त्यही हो । तर यसलाई राजनीतिक दलका नेताहरूले यसरी विकृत बनाइदिएका छन्, पाँच  पाँच वर्षमा आएर मत माग्ने, मत माग्दा जे पनि बोल्ने, यो गर्छु भन्ने त्यसपछि पाँच वर्ष हराइदिने । त्यस्तो खालको राजनीति अब सिद्धियो, अव युवाहरू आउनुभएको छ ।’

swarnim wagle ghardailo (14)

उनले वृद्ध नेताहरू आएर अव राजनीतिलाई पेसा बनाउन नहुने बताउँदै राजनीतिलाई पवित्र काम, पुण्य कमाउने कामको रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले चुनावमा अन्य दलले पैसाको खोले बगाउने विकृति रहेको भन्दै राजनीतिलाई सङ्ग्लो पार्न राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताए । 

swarnim wagle ghardailo (11)

विकासको नाममा भ्रष्टाचार मिसिएर भौतिक पूर्वाधारहरू पनि कमसल बन्न थालेको बताउँदै उनले त्यसलाई रोक्ने खालको विकास गर्न आवश्यक रहेको बताए । उनले भने–‘विकास गर्दा सर्वाङ्गीण विकासको मोडेल पछ्याउनुपर्छ, विकासमा सबै आयामहरू, धर्म, परम्परा, सांस्कृतिक पुँजीमा पनि सर्वाङ्गीण विकासको जुन एउटा अवधारण छ, त्यसलाई लोकतान्त्रिक प्रणालीभित्रै रहेर अगाडी बढाउनुपर्‍यो । त्यसको लागि विश्व बुझेका, नेपाल पनि बुझेका, अहिलेका युवाका आकाङ्क्षा, आशा र भरोसा पनि बुझ्न सक्ने नयाँ पुस्ता ऊर्जा लिएर आएको तपाईंले बुझ्न सक्नुहुनेछ ।’ 

swarnim wagle ghardailo (13)

उनले युवाहरूको आशाको पात्रको रूपमा आफू चुनावी मैदानमा आएको भन्दै तनहुँ क्षेत्र नम्बर १ को विकासका लागि परिआए प्रधानमन्त्रीको टेबल पनि ठोक्ने र स्थानीय बजेटबाट काम गर्न नपुग्ने भन्दै अन्तर्राष्ट्रिय साझेदार निकाय, प्रदेश सरकारमार्फत बजेट ल्याएर छिटो भन्दा छिटो छोटो समयमा धेरै फड्को मार्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । स्थानीय स्तरमा देखिएका समस्या समाधान गर्नका लागि आफू आउने बताए । उनले नेपालमा कुशासनको रोग लागेको बताउँदै उनले नेपालबाट हताश भएर विदेश गएका युवाहरूमा बिस्तारै आशाको सञ्चार भइरहेको दाबी गरे । उनले युवाहरूलाई स्वदेश फर्किएर केही गर्नका लागि महाअभियान सुरु गरेको उल्लेख गरे । 

swarnim wagle ghardailo (9)

वाग्लेलाई चुनाव प्रचारका लागि विगतमा नेपाली कांग्रेसमा सक्रिय रहेका कार्यकर्ताहरूले सहयोग गरेका थिए । विगतमा तनहुँ कांग्रेसको पार्टी सचिव समेत रहेका विश्व बास्तोला, पूर्व शिक्षक एवं कांग्रेस कार्यकर्ता रोशन परियार लगायतका पूर्व कांग्रेस कार्यकर्ता स्वर्णिमको चुनावी प्रचार प्रसारमा खटिएका थिए । 

swarnim wagle ghardailo (5)

वाग्लेलाई शुभकामना सँगै मतदाताको खबरदारी पनि 

ब्यास नगरपालिका वडा नम्बर ७ बानियाँगाउँ गरिएको कोण सभामा अलि लामो समय बिताएका वाग्लेलाई स्थानीय ज्येष्ठ नागरिक महिलाहरूले सबैको भलो हुने काम गर्न आग्रह गरेका थिए । उनीहरूले आफ्ना छोरानाति विदेश जाने अवस्था नआओस् र ज्येष्ठ नागरिकको भलाई हुने काम गर्न आग्रह गरे । 

swarnim wagle ghardailo (2)

पूर्व शिक्षक समेत रहेका र यसअघि एमालेमा रहेका स्थानीय सिंह विष्टले भने–‘मैले तपाईंको पार्टीकै लागि भनेर एमाले परित्याग गर्ने घोषणा गरेको छु । सकेसम्म सरकार चलाओस्, नसके पार्टी राम्रो बनाओस् । मैले हजुरलाई भनेको छु मेरो ज्याकेट च्यातियो मलाई ज्याकेट फेरिदिनुस् म भन्दिन । मेरो पाइन्ट च्यातियो मेरो पाइन्ट फेरिदिनुस् म भन्दिन । देशको मुहार फेर्नुस् त्यति मात्र कुरा हो ।’

swarnim wagle ghardailo (10)

विष्टले वाग्लेलाई समाएर फेरि चेतावनी पनि दिए–‘फेरl अर्को कुरा सुन्नुस्, आज यहाँको यति धेरै सम्मान गरिएको छ, यो सिंहबहादुर विष्ट, यो बानियाँगाउँ म चिन्दिनँ भन्नुभयो भने तपाईंलाई ढुङ्गा हानिन्छ ।’ वाग्लेले आफूले त्यस्तो नगर्ने वाचा गरे ।  

आउँदो वैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका वाग्ले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र एमालेका उम्मेदवार सर्वेन्द्र खनालसँग मुख्य प्रतिस्पर्धामा छन् ।   

swarnim wagle ghardailo (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया