शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
ग्राउण्ड जिरो तनहुँ-१

दिनरात नभनी घरदैलो गर्दै सर्वेन्द्र : लघुवित्तबाट जोगाइदिन मतदाताको हारगुहार (भिडियोसहित)

बिहीबार, ३० चैत २०७९

तनहुँ । चुनाव प्रचारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको अगाडिपछाडि जति गाडी र कार्यकर्ता थिए, जति कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको प्रचारमा गाडीको लावालस्कर थियो, त्यसको ठिक विपरीत एमालेका उम्मेदवार सर्वेन्द्र खनालको चुनाव प्रचारको शैली थियो ।  

बुधबार तनहुँको व्यास नगरपालिका–१०, दुम्सीकाँडामा भेटिएका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल सामान्य तरिकाले मतदातासँग भोट मागिरहेका थिए । ३ वटा गाडी र ६ जना सहयोगी लिएर उनी चुनाव प्रचार गरिरहेका थिए । उनको साथमा तनहुँका एमाले कार्यकर्ता खासै देखिएनन् ।

बिहानदेखि भोट माग्दै हिँडेका खनाल अपराह्न दुम्सीकाँडा आइपुगेका थिए । उनले चोकका घर घरमा पुगेर भने, ‘नमस्कार है हजुर, म पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल । राजनीतिको फोहोर सफा गर्न आएको छु । यसपाली हजुरहरुले मलाई जिताएर पठाउनुपर्‍यो ।’

दुम्सीचोकमा उनले सडकमा टेम्पो गुडाइरहेका चालकदेखि सडकछेउ रहेका पसल सञ्चालकहरुसँग पनि भोट मागे– ‘म सर्वेन्द्र खनाल, वैशाख १० गते हुने उपनिर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार छु । प्रहरीमा रहँदा पनि म प्रमुख थिएँ, अब राजनीति पनि सफा गर्नुपर्‍यो भनेर आएको छु । राजनीतिको फोहोर सफा गरेर देश विकासमा लाग्छु । मद्दत गर्नुस्, हस ?’

हिजो प्रहरी प्रमुख हुँदासम्म जे जति गर्नुपर्ने थियो, त्यो गरेको तर अबचाहिँ संसद प्रवेश गरेर देश विकास गर्ने इच्छा लागेकाले चुनावमा आएको भन्दै उनी आफूलाई मौका दिन मतदातालाई आग्रह गरिरहेका थिए ।

सहयोगीले चिनाएका खासगरी एमालेका मतदाता रहेका घरमा खनालले भोट मागे । त्यसको कारण थियो एमालेको भोट बाहिर नजाओस् भन्ने मनसाय । एमालेको भोटमात्र जोगाउन सके कांग्रेसको भोट घण्टी र रुखमा बाँडिएको अवस्थामा चुनाव जित्न सकिने एमालेको आकलन छ ।

2 (1)

खनालले एक किशोरीलाई भने–  ‘भोट फर सन है नानु । बुबाममीलाई भन्दिनु, हस ? धन्यवाद ।’

दिनभरि भोट मागेर थकित भएका खनाललाई आराम गर्ने फुर्सद थिएन । उनी फेरि अर्को घरतिर लागे ।

उनले मतदातालाई भने, ‘ढुक्क भएर मतदान गर्नुहोला, केही काम गरेर म यहाँ प्रमाणित गरेर देखाउँनेछु । हिजो पनि मैले मेरो ठाउँमा बसेर प्रमाणित गरेको हुँ । अब पनि काम गर्ने कुरामा म एकदम लाग्नेछु । है त ?’

अर्को घरमा पुगेर उनले भने, ‘गाउँ समाजमा पनि भनिदिनु होला है, सूर्यमै भोट है हजुर ।’

लगत्तै खनाल दुम्सीचौरको अर्कोे एक घरमा पुगे । त्यहाँँ मतदाता कोही नभए पनि उनले घरमा रहेकी बालिकालाई भने, ‘बाबाममीलाई भन्नु है, सूर्य चिन्हमा भोट ।’

उनका सहयोगीले तत्कालै ती बालिकालाई खनालको परिचय दिँदै भने, ‘पूर्व आइजीपी सर्वेन्द्र खनाल । पुसिलको चिफ, पहिलाको ।’

4 (1)

हात जोड्दै अर्को घरमा पुगेर खनालले भने, ‘नमस्कार, भोट माग्न आएको, म सर्वेन्द्र खनाल, चिन्नुभयो नि । भोट पाउँ, अमूल्य मत हो । म काम गर्नका लागि आएको । अरु मेरो केही स्वार्थ छैन ।’

लघुवित्तबाट जोगाउन खनालसँग गुहार

दुम्सीचौरको एउटा घरमा खनाल भोट माग्न जाँदा भुमादेवी खड्का छिमेकीसँग कुराकानी गरिरहेकी थिइन् । खनाल भोट माग्न पुगेपछि   खड्काकी छिमेकीले नमस्कार गरिन् ।

खनालले भने, ‘मै नमस्कार गरुँ भनेर आएको, हजुरले नै पहिला नमस्कार गर्नुभयो ।’

1 (1)

खनालका सहयोगीले ती महिलाको परिचय दिँदै खनाललाई भने, ‘उहाँ मदनको आमा हुनुहुन्छ ।’

खनालले हात जोड्दै भने, ‘हजुरलाई अब के भनुँ, भोट पाउँ है एकपटक, म काम गरेर देखाउँछु । हजुरहरुको भावनाअनुसार काम गरेर देखाउँछु ।’

खनालले भोट मागेपछि खड्काले लघुबित्तले गर्दा मर्नु न बाँच्नु भएको भन्दै त्यसबाट जोगाइदिन आग्रह गरिन् ।

उनले भनिन्, ‘हामी ऋणले मर्न लाग्यौँ, सरकारले हामीलाई ऋण मिनाहा गरिदिनुपर्‍यो । गरिबहरुको मर्का बुझिदिनुपर्‍यो । लघुवित्तको ऋण मिनाहा गरेर हेरिदिनुपर्‍यो ।’

खनालले भने, ‘मैले यसबारेमा बुझेको छु । संसदमा गएर कानुन बनाएर अघि बढ्छु ।’

खड्काले भनिन्, ‘हामी त मर्न लाग्यौँ, हामी पीडित भयौँ ।’

खनालले भने, ‘पहिलाकाले गर्दा त्यस्तो भएको हो, हामी गर्छौँ ।’

फेरि खड्काले भनिन्, ‘खोेलाबाट हाम्फालौँ कि झुन्डियौँँ भन्ने भइसक्यौँ हामी ।’

3 (1)

खनालका सहयोगीले भने, ‘जसरी पनि यो कुरालाई हामी सम्झन्छौँ ।’

खड्का र उनका छिमेकी भने चुनावका बेलामात्र नेता आउने हुन् भनेर गुनासो गर्न थालेपछि खनाल अर्को घरतिर लागे ।   

उनले देशमा काम केही नभएकोले काम गर्नका लागि आफू आएको भन्दै भोट मागे ।

लगत्तै अर्को पसलमा भोट माग्न गएका खनालले आफ्नै भान्जी नाता पर्ने एक महिलालाई भेटे । ती महिलाले खनाललाई भनिन्, ‘मामा पनि चुनावमा उठ्नुभएको छ भन्ने सुनेको थिएँ, कहिले आउनुहुन्छ होला भन्ने लागेको थियो, आज त ठ्याक्कै आइपुग्नु भएछ ।’

पसलमा भएका दुईतीन जनासँग खनालले भने, ‘देशको राजनीतिको फोहोर सफा गरौँ कि भनेर आएको छु । सहयोग पाउँ है हजुर ।’

भान्जीले भनिन्, ‘मामा यहाँ नआउनु भएको भए पनि केही फरक नै पर्ने थिएन ।’

ब्यासको डिगाउँमा उनले पूर्व प्रहरी सिंहबहादुर दरैलाई भेटे । ट्राफिक महाशाखामा हुँदा सँगै काम गरेका उनलाई भेटेपछि खनालले भने, ‘ट्राफिकको भत्ता कसले बढाइदियो, मैले नै हैन ? अब राजनीति मार्फत सांसद भएर देश विकासमा लाग्दैछु, सहयोग गर्नुपर्‍यो ।’

एमालेको भोट जोगाउने रणनीतिमा खनाल

5

ब्यास नगरपालिकाको दुम्सीचौर, डिगाउँ लगायतका क्षेत्रमा खासगरी एमाले मतदाताको घर छानेर खनालले भोट मागे । एमालेको मात्रै मत जोगाउन सके जित निकाल्न सजिलो हुने तनहुँ एमालेका नेताहरुले दिएको सुझावका आधारमा उनले यो रणनीति लिएका हुन् ।

कांग्रेसको केही भोट राष्ट्रिय स्वतन्त्र पार्टीले काट्ने र गोविन्दराज जोशी समूहको भोट पनि कांग्रेस उम्मेदवारलाई नजाने अवस्थामा एमालेले यसअघिको निर्वाचनमा पाएको भोट जोगाउन खनालले कसरत गरिरहेका छन् ।

गत मंसिरमा भएको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धन दलका उम्मेदवार रहेका रामचन्द्र पौडेलले २५ हजार ३ सय ६१ मत पाएर निर्वाचित भएका थिए । दोस्रो स्थानमा एमालेका एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत ल्याएका थिए । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार रहेका गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए । यस्तै चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए ।

कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उठेपछि कांग्रेसको भोट बाँडिने र अघिल्लो निर्वाचनमा एमालेले पाएको मत जोगाउन सके निर्वाचित हुन सकिने खनालको पनि आकलन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया