शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
तनहुँ–१ उपनिर्वाचन

कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई पछ्याउँदा जे देखियो (फोटो/भिडियो)

म चुनाव लड्न बाहिरबाट आएको हैन, यहीँको मतदाता सूचीमा मेरो नाम छ
बुधबार, २९ चैत २०७९

तनहुँ । लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई चुनावी प्रतिस्पर्धामा छन् । लामो समय कांग्रेसमा राजनीति गरेर पनि अवसर नपाएका नेताका रूपमा उनको परिचय गराउँदै तनहुँ कांग्रेस यतिबेला उनको चुनाव प्रचारमा खटिएको छ ।

मंगलबार भट्टराईले तनहुँ क्षेत्र नम्बर १ मा रहेको बन्दीपुर गाउँपालिका वडा नम्बर २ र ३ मा घरदैलो गरे । उनले बिहान ७ बजे बन्दीपुरको गहते, ८ बजे रामकोट, ९ बजे खहरे, बिहान ११ बजे जुमडाँडा, १२ बजे कामीडाँडा, दिउँसो २ बजे हलथुम्का, ३ बजे कुकुरदी, ४ बजे बन्दीपुर–६, सुखौरामा भेटघाट तथा कोणसभा गरे ।

हामीले बन्दीपुरको सुखौरासम्म उम्मेदवार भट्टराईलाई पछ्याउँदा उनले अधिकांश स्थानमा गरिएको कोणसभामा आफू तनहुँकै स्थानीय उम्मेदवार रहेको बताउँदै आफूले विगतका गरेका कामहरू सुनाए । बाटोमा पर्ने केही घरमा पस्दै, केही टोलमा कोणसभा गर्दै अघि बढेका उनले हलथुम्कामा बिरामी रहेका ज्येष्ठ नागरिक रूपबहादुर केसीको घरमै पुगेर स्वास्थ्यलाभको कामना गरे ।

govinda bhattarai election campaign (3)

बन्दीपुरको कुकुरदी भन्ने ठाउँमा उम्मेदवार भट्टराईले स्थानीयसँग भेटघाट गरे र आफ्ना समस्या राख्न लगाए । स्थानीयलाई त्यहाँको बाटोको समस्या समाधानका लागि पहल गर्ने र खानेपानीको सुविधा अझै बढाउने किसिमले काम गर्ने प्रतिबद्धता जनाए ।

आफू कुनै पदमा नभए पनि तनहुँमा खानेपानी सेवा पुर्‍याउनका लागि धेरै लामो समयदेखि काम गरेको उम्मेदवार भट्टराईले बताए । उनले सो क्षेत्रको बाटो पक्की बनाउन प्रदेशमा पहल गरेर बजेट पारिसकेको भन्दै टेन्डरका लागि प्रक्रिया सुरु गर्ने बेला आएको बताए ।

तनहुँ–१ मै उपनिर्वाचनमा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार छन् । भट्टराईले यी दुवै उम्मेदवारलाई ‘टुरिष्ट उम्मेदवार’को संज्ञासमेत दिए । आफू स्थानीय भएको  र भोलिका दिनमा विकासका काममा सक्रियता बढाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार भट्टराईले आफूलाई जिताउन मतदातालाई आग्रह गरे ।

govinda bhattarai election campaign (6)

स्थानीयको मागे बाटो, रोजगारी र खेलकुद प्रतियोगितालाई पुरस्कार

हलथुम्कामा स्थानीय ज्येष्ठ नागरिक मैया केसी र श्रीमाया केसीसँग उम्मेदवार भट्टराईले भोट मागे । मैया केसीले आफ्नो नातिले एसएलसी पास गरेको बताउँदै उसका लागि जागिरको व्यवस्था मिलाइदिन आग्रह गरिन् ।

कुकुरदी भन्ने स्थानमा भेला भएका स्थानीयवासीको माग सो क्षेत्रको बाटो पक्की होस् भन्ने थियो । खानेपानीको दुःख नभए पनि कच्ची बाटोलाई पक्की बनाउन आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

सुखौरा भन्ने स्थानमा भने स्थानीय कांग्रेस कार्यकर्ताहरूले गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता गर्न लागेको बताउँदै त्यसका लागि प्रथम पुरस्कार पचास हजार राशि उम्मेदवारको तर्फबाट सहयोगको अपेक्षा राखेको बताए । यस्तै, स्थानीय आमा समूहको कार्यालयका लागि कुर्सी लगायतका अन्य सामग्रीहरू आवश्यक रहेको उनीहरूले सुनाए ।

govinda bhattarai election campaign (1)

उम्मेदवार भट्टराईले आफू अन्य जिल्लाबाट चुनाव लड्न आएको नभई स्थानीय व्यक्ति नै भएकाले स्थानीयको समस्या समाधान गर्न लागिपर्ने बताए ।

उनले भने, ‘म चुनाव लड्नका लागि बाहिरबाट आएको मान्छे पनि हैन, म यहीँ मतदाता सूचीमा नाम भएको उम्मेदवार हुँ । तपाईंहरूसँग वर्षौँदेखि म चिनजान र घुलमिल भएको मान्छे पनि हुँ । यो ठाउँको विद्युतीकरणका लागि लागिपर्ने मान्छे हुँ । तपाईंहरूले नभने पनि यो सडकलाई साना सहरी सडक अन्तर्गत राखेर त्यो कामको सुरुवात गराइदिएको छु । अब टेन्डर भएपछि यो सडक पिच हुन्छ ।’

अव्यवस्थित बसोबासको समस्या होला, लालपूर्जाको समस्या होला, अन्य समस्याहरू पनि होलान् भन्दै उम्मेदवार भट्टराईले ती समस्याको समाधान सत्तामा बस्ने पार्टीले गर्ने भएकाले त्यसका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘तपाईंका जे जति समस्या छन्, ती समस्या समाधान गर्ने भनेको सरकारमा भएका पार्टीले नै हो । अहिले हामी सरकारमा पनि छौँ । यता प्रदेशमा पनि सरकार बन्दैछ । तपाईंहरूलाई राष्ट्रपति कृषि कार्यक्रममा जोड्ने कुरादेखि लालपुर्जा बाँड्ने, विद्यालय सुधार गर्ने, यहाँको बाटो बनाउने काममा मेरो भूमिका रहन्छ ।’

७ दलको गठबन्धन भने पनि चुनाव प्रचारमा कांग्रेस कार्यकर्ताको बाहुल्यता  

लोकतान्त्रिक वाम  गठबन्धनका उम्मेदवार भने पनि भट्टराईको चुनाव प्रचार कार्यक्रममा कांग्रेसका कार्यकर्ताहरूको बाहुल्यता थियो । यद्यपि प्रतिनिधिको रूपमा माओवादी केन्द्रका केन्द्रीय सदस्य क्षितिज लामिछाने पनि भट्टराईसँगै घरदैलोमा व्यस्त थिए ।

चुनाव प्रचारका लागि गठबन्धन दलमा आबद्ध कार्यकर्ताहरू समेटेर वडास्तरदेखि जिल्लास्तरसम्म चुनाव परिचालन कमिटी बनाइएको छ । वडास्तरमा रहेका गठबन्धन दलका कार्यकर्ता मिलेर आफ्नो वडाका घरघरमा गएर भोट माग्ने टोली बनाएको छ भने जिल्लास्तरका नेता सहभागी भएर उम्मेदवारसहित घरदैलो तथा कोणसभा गर्ने अर्को प्रचार टोली बनाइएको छ ।

IMG_5936 (1)

कांग्रेससँग चुनाव प्रचारका लागि माओवादी केन्द्रका प्रतिनिधिबाहेक अन्य दलका कार्यकर्ताको कुरै छाडौँ, प्रतिनिधिको पनि उपस्थिति देखिएन । माओवादी केन्द्रबाट भने एउटा टोली चुनाव प्रचारमा खटिने गरेको तनहुँका माओवादी नेता एवं पार्टीका केन्द्रीय सदस्य क्षितिज लामिछानेले बताए ।

उनले भने, ‘माओवादीबाट एउटा टिम नै चुनाव प्रचारका लागि हिँडेको छ । जस्तै प्रदेश तथा गाउँपालिका इन्चार्ज पूर्णसिंह थापा, माओवादी बन्दीपुर गाउँपालिका अध्यक्ष शंकर बानियाँ लगायतका साथीहरू हिँड्नुभएको छ ।’

लामिछानेले वडा तहदेखि नै कांग्रेस र माओवादी मिलेर संयुक्त चुनाव परिचालन कमिटी बनाइएको बताए । वडा तहका कार्यकर्ताले नमुना मतपत्रसहित घरदैलो कार्यक्रम गर्दै हिँड्ने र उम्मेदवारको टिमले भने कोणसभा गर्ने, कुनै कुनै बाक्लो बस्तीमा घरदैलो गर्ने लगायतको कार्यक्रम गर्दै हिँडेको उनले बताए । 

उनले भने, ‘अहिले हाम्रो वडास्तरको चुनाव परिचालन कमिटी छ । छिटै उच्चस्तरको चुनाव परिचालन कमिटी बनाएर चुनाव प्रचारको काम गर्छौँ ।’

बन्दीपुर गाउँपालिकामा माओवादीको बाहुल्यता रहेको क्षेत्रमा कांग्रेस उम्मेदवार भट्टराईले मंगलबार घरदैलो गरेका हुन् । बन्दीपुर गाउँपालिकामा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले अध्यक्ष तथा उपाध्यक्षमा जित हात पारेको थियो भने २०७९ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्षमा ६३ मतले र उपाध्यक्षमा २ मतले हार बेहोरेको थियो । स्थानीय तहको चुनावमा पूर्व कांग्रेस नेता गोविन्दराज जोशीको गुट र नेकपा एमालेको गठबन्धनबाट एमालेले गाउँपालिका अध्यक्ष र जोशीको गुटले उपाध्यक्ष जितेको थियो । 

IMG_5967

बन्दीपुरको रामकोट, हलथुम्का, खहरे, गहतेडाँडा, सुखौरा माओवादीको प्रभाव क्षेत्रको रूपमा छ । बन्दीपुरमा माओवादीको भोट धेरैभन्दा धेरै तान्न सके आफ्नो मत बढ्ने कांग्रेसको विश्वास छ ।

बन्दीपुरमा गोविन्दराज जोशी गुटको झन्डै ३ सय हाराहारी मतदाता छन् । जोशी पक्ष चुनावमा नउठेका कारण उनको पकडमा रहेको मत कांग्रेसतिर जाने अनुमान गरिएको छ ।

कांग्रेसमा जोशी पक्ष उठ्दा वा उनले समर्थन गरेको व्यक्ति उठ्दा कांग्रेसको भोट त्यता जाने तर उनी वा उनको समर्थनमा कोही नउठेको बेला त्यो भोट कांग्रेसलाई नै जाने गरेको एक स्थानीय नेताले बताए । जोशीको पक्षमा यो निर्वाचन क्षेत्रमा झन्डै साढे ६ हजार हाराहारी मत रहे पनि उनले २५ सय देखि ३ हजार मत आफूले भनेको ठाउँमा खसाल्न सक्ने क्षमतामा रहेको स्थानीय बताउँछन् ।

यता माओवादी केन्द्रको झन्डै ९० प्रतिशत मत कांग्रेसलाई जाने सम्भावना रहेको र १० प्रतिशत मत यताउता हुन सक्ने केन्द्रीय सदस्य लामिछाने बताउँछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीमा १० प्रतिशतसम्म माओवादी केन्द्रको भोट जान सक्ने उनको अनुमान छ । कांग्रेसले पार्टीभित्रको आन्तरिक व्यवस्थापन मिलाउन सक्ने हो भने भट्टराईले चुनाव जित्ने माओवादीको विश्वास छ । तनहुँमा एक्लै चुनाव लड्दा पनि जित्न सक्ने हैसियतमा रहेको कांग्रेस र तेस्रो दल माओवादी केन्द्र मिल्दा कांग्रेसले चुनाव जित्ने माओवादीका नेताको आशा छ ।

मुख्यगरी राजमार्गछेउ अर्थात् पोखरा–मुग्लिन सडक छेउछाउका सहरी क्षेत्र र बाक्लो जनघनत्व भएका ठाउँमा रास्वपाको चर्चा धेरै हुने गरेको बुझेको कांग्रेसले ती क्षेत्रमा प्रचारका काम बढाउने तयारीसमेत गरेको छ । सडकको छेउछाउ रहेका मुख्य बजार एरियामा घण्टीको चर्चा हुने गरे पनि ग्रामीण भागमा भने रास्वपाको चर्चा नभएको उनीहरूको बुझाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया