एसीसी प्रिमियर कप : रोहितको कप्तानी इनिङ्समा नेपालले बनायो २ सय ८१ रन

काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको छ । वर्षाले प्रभावित बनेको खेल ४२ ओभरमा छोट्याइएको थियो । डकवर्थ लेविसको आधारमा कुवेतले २ सय ८१ रनकै लक्ष्य पाएको छ ।
नेपालका लागि कप्तान रोहित पौडेल नायक बने । उनले ९४ बलमा ९४ रन बनाउँदै नेपाललाई विशाल योगफलतर्फ डोर्याएका थिए । ४१ औँ ओभरमा आउट हुनअघि पौडेलले ७ चौका र ३ छक्का हिर्काए ।
नेपालमा खेलमा राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले तीव्र गतिमा रन बनाउँदै ७७ रनको साझेदारी गरेका थिए । ३९ बलमा ४३ रन बनाएर भुर्तेल आउट भएपछि भने नेपालले ३ रनको अन्तरमा तीन विकेट गुमाउन पुगेको थियो । भीम सार्की मात्र एक रन बनाएर आउट भए भने लगत्तै शेख पनि ३१ रन बनाएर आउट हुन पुगे ।
त्यसपछि कप्तान पौडेलले र कुशल मल्लसँग मिलेर नेपालको इनिङ्ग्स सम्हालेका थिए । खेलको २४ औँ ओभरमा पानी परेपछि खेलको ओभर छोट्याइएको थियो । मल्ल ४४ बलमा ५७ बल बनाएर आउट भए । उनले यस क्रममा ४ चौका र चार छक्का हिर्काए । रोहित र कुशलले शतकीय साझेदारी गरेका थिए ।