मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
अपराध

५४ तोला सुन र चाँदी बरामद प्रकरण : दुगड ग्रुपका लेखापाल मुरारका रिहा

मङ्गलबार, २६ वैशाख २०८०, १९ : १६
मङ्गलबार, २६ वैशाख २०८०

विराटनगर । ठूलो परिमाणमा सुन र चाँदीसहित पक्राउ परेका केएल दुगड ग्रुपका लेखापाल विनोदकुमार मुरारकासहित तीन जना धरौटी रकम बुझाएर रिहा भएका छन् । 

राजस्व अनुसन्धान कार्यालय इटहरीले मंगलबार तोकेको ८० लाख ४० हजार ६ सय ८० रुपैयाँ धरौटी रकम बुझाएर मुरारकासहित तीन जना रिहा भएका हुन् । 

राजस्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यका अनुसार बिगो बराबरको धरौटी मंगलबार खुलाइएको हो । ‘तोकेको धरौटी रकम बरावरको बैंक ग्यारेण्टी राखेका छन्,’ प्रमुख आचार्यले भने, ‘धरौटी रकम बुझाएपछि रिहा भएका छन् ।’ धरौटी रकम बुझाएर रिहा भएपनि उनलाई १५ दिनको तारेखमा राजस्वले राखेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मुरारकासहित ५४ तोला सुन, ८ किलो चाँदी र साढे सात लाख भारतीय रुपैयाँसहित ५६ वर्षीया पुष्पा मुरारका र चालक विराटनगर २ का ५२ वर्षीया विमल कामतलाई पक्राउ गरेको थियो । 

उनीहरुको साथबाट प्रहरीले वरामद गरेको ६३३.९३ ग्राम सुन अहिलेको बजार मुल्यअनुसार ६० लाख ८७ हजार ५६५ रुपैयाँ, ८७५६.३३ ग्राम चाँदी ६ लाख ४४ हजार २ सय ४५ रुपैयाँ हुन आउँछ । 

यस्तै  ८ लाख ४ हजार ७ सय ८९ भारतीय रुपैयाँको नेपाली १२ लाख ८८ हजार ८ सय ७० गरी जम्मा ८० लाख ४० हजार ६ सय ८० रुपैयाँ हुन्छ । त्यत्ति रकम धरौटी तोकिएको थियो । 

मुरारका केएल दुगड कम्पनीका भरपर्दाे लेखापाल हुन् । उनी सुनको शौखिन थिए । उनको छोरा र बुहारी भारतको अहमदवादमा बस्छन् भने छोरी ज्वाइँ पूर्णियामा बस्छन् । आफूले जम्मा गरेको सुन, चाँदी तथा गरगहनाहरू छोरा र छोरीलाई भागबण्डा गर्ने भनेर भारत लिएर जान लागेको उनले प्रहरीलाई बयान दिएका छन् । 

अवैध साढे ७ लाख भारतीय रुपैयाँ भने स्वास्थ्य उपचारका लागि लगेको उनले बताएको प्रहरीले जनाएको छ । यद्यपि ठुला घरानाका लेखापालले बिल बिनाको सुनचाँदी तथा नेपालमा प्रतिबन्ध रहेको भारतीय नोट बोकेर किन हिँडे भन्ने विषय शङ्काकै घेरामा रहेको प्रहरीले जनाएको छ । 

नेपालमा २५ हजारसम्म १ सय दर भन्दा मुनिका भारतीय नोट बोक्न पाइन्छ । तर, १ सय बढी दरका नोटहरू नेपालमा अवैध छ ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनको विराटनगरस्थित पोखरिया स्कुल छेउमा भव्य घर छ । भारतीय नागरिक रहेका उनको नाममा घर कसरी आयो भन्ने विषय पनि खुलेको छैन । उनीसँग भारतको बिहारस्थित कटिहार–१७ को आधार कार्ड रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप