शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
स्मृति

स्वर्गवासी मदन भण्डारीलाई चिठी

बुधबार, ०३ जेठ २०८०, ०९ : ५२
बुधबार, ०३ जेठ २०८०

आदरणीय मदन भण्डारीज्यू, संग्रामी अभिवादन !

जनताका प्रिय नेता, आज तपाईंको स्मृति दिवसमा श्रद्धाले शिर झुकाउँछु, श्रद्धाञ्जली व्यक्त गर्दछु । तपाईं र कमरेड जीवराजको आत्माको दीर्घ शान्तिको कामना गर्छु । तपाईंको पार्टीले पनि कर्मकाण्ड पूरा गर्न आज एक दिन सम्झेर तपाईंको श्राद्धे गर्छ, उसको त्यो बाध्यता हो । कारण आज पनि मदन भण्डारीको नाम र बहुदलीय जनवादको कार्यक्रमप्रति जनताले विश्वास गर्छन् । 

मदन भण्डारीको आकर्षण आजपर्यन्त कम छैन, तसर्थ तपाईंको नाम लिनु र सम्झनु उसको विवशता हो । बाध्यता र विवशतामा सम्झनु र साँच्चिकै सम्झनु फरक कुरा हुन् । जनता हृदयले सम्झन्छन्, श्रद्धा गर्छन् । यत्न साथ तपाईंको नामलाई हृदयमा सजाउँछन्, त्यो उच्चकोटिको श्रद्धा हो । एमाले तपाईंलाई यदाकदा सम्झन्छ, कारण तपाईं नामको ब्याज खानु र सिद्धान्त बेच्नु उसको बाध्यता हो । 

तपाईंले प्रतिपादन गरेको बहुदलीय जनवाद जनता ठग्ने भाँडो भएको छ । व्यवहारमा जे गरे पनि देखावटी र बनावटी सिद्धान्तमा तपाईंद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद उसको मुखौटो देखिन्छ, त्यसैले पनि तपाईंको निधन भएको दिन एमालेले तपाईंलाई सम्झनुपर्ने बाध्यता र कारण हो । दुःखद र आश्चर्य यो लाग्छ, तपाईंलाई जुन कारण र उद्देश्यले सम्झनुपर्ने हो, त्यो अर्थले सम्झँदैनन् तर केवल देखाउनका लागि सम्झना गर्छन् । सिद्धान्त प्रयोगमा सम्झँदैनन्, तपाईंको मृत्युको रहस्य खोतल्न सम्झँदैनन्, तपाईंको हत्या हो कि दुर्घटना, त्यो अब बेमतलबको विषय बनिसक्यो । तपाईंको योगदान र बहुआयामिकतालाई अनुकरण गर्दैनन्, नाम लिन्छन्, काम गर्दैनन् । नेकपा एमालेमा तपाईंलाई मुस्किलले व्यवहार, सिद्धान्त र निष्ठामा सम्झने नेता थोरै छन्, जति छन् ती किनाराकृत छन्, अपहेलित छन् । 

प्रिय कमरेड !

दुःखका साथ भन्नुपर्छ, स्वयं तपाईंकी जीवन संगिनी यो देशको राष्ट्रपति बनेर दुई कार्यकाल व्यतीत गरेर भर्खरै निवृत्त हुनुभयो । हत्याको रहस्य खोज्न उहाँको मौनता पनि अचम्मलाग्दो थियो । पहिलो कार्यकालमा संसदीय अस्थिरता थियो, कुनै पार्टीको बहुमत थिएन, सरकारलाई काम गर्ने वातावरण हुन्थेन, सरकार गठन–विगठन भइरहन्थ्यो । संविधान बनाउने झमेला पनि थियो त्यतिबेला, अप्ठेरो थियो । 

अनुकूल परिस्थिति, कम्युनिस्ट पार्टीको झन्डै दुईतिहाइको कसैले हल्लाउन नसक्ने सरकार भएका बेला, कार्यकारी अधिकार केपी ओलीसँग रहेको र महामहिम राष्ट्रपति विद्या भण्डारी भएको, क्रान्तिकारी नेता प्रचण्ड नेकपाको दोस्रो अध्यक्ष भएर नेतृत्व गरिरहेको समयमा २०७५ देखि २०७७ सम्म दासढुङ्गा काण्ड र दरबार हत्याकाण्ड छानबिन गर्न कसैले छेकबार लगाउने स्थिति थिएन । तथापि मदन भण्डारी र जीवराज आश्रित दासढुङ्गा घटना चासो, सरोकार र छानबिनको विषय बनेन । 

प्रिय नेता !

अनर्थ र आश्चर्य यो छ, विपक्षी पार्टी र जनता दासढुङ्गा घटनाको सत्यतथ्य खोज्न आतुर देखिए । संसद्मा दासढुङ्गाबारे सत्यतथ्य बाहिर ल्याउन आवाज पनि उठाए । दासढुङ्गा हत्याकाण्डमा आफ्नो पार्टी, सरकारलाई दोष लागेका कारण तत्कालीन सत्तापक्ष कांग्रेसलाई घटनाबारे यथार्थ जानकारी आवश्यक थियो, ऊ बोल्यो । तत्कालीन एमाले स्वयं पीडामा थियो । दासढुङ्गा हत्या भनेर आन्दोलन गर्दा एक दर्जन मान्छे मारिएका थिए । हामी सरकारमा आएपछि हत्यारा बाहिर ल्याउँछौँ र कारबाही गर्छौं भन्ने पार्टी आफू शक्तिशाली भएर सरकारमा जाँदा चुप बस्यो, यस्तो किन भयो ?

एमालेले त्यतिबेला दासढुङ्गा घटना जाँचबुझ गर्न बनाएको आयोगको संयोजक केपी शर्मा ओलीले त्यतिबेला बोलेको कुरा सबैको स्मृतिमा ताजै छ, ‘हामीले हत्यारा पत्ता लगाइसक्यौँ, हामी हत्याराको नजिक छौँ, हाम्रो सरकार बनेपछि हामी कारबाही गर्छौं र तथ्य बाहिर देखाउँछौँ ।’

सरकारी आयोगको प्रतिवेदनले दुर्घटना या घटना प्रस्ट पार्न सकेन, जनता सरकारी आयोगप्रति विश्वस्त हुन् सकेनन्, यद्यपि दुर्घटना हो भन्न नसकेका कारण सरकारी आयोगले षड्यन्त्र हो भन्ने कुरामा आधार पैदा गरेको थियो । नागरिक तहबाट भनेर पद्मरत्न तुलाधरको स्वतन्त्र छानबिन आयोग पनि बन्यो, उसले पनि यो नियोजित हत्या रहेको भन्यो । 

एमालेले आफ्नो सरकार बाहिर हुँदा हत्यारा पत्ता लगाउन जहिल्यै माग ग¥यो, तर पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीलाई सम्झाउनुपर्ने भयो– मदन भण्डारीको दुर्घटनापश्चात् २०५१ सालदेखि एमालेको सत्तारोहण एकपटक गन्नुस् । नेकपाको दुईतिहाइको सरकारले संविधान नै फेरेर आफ्नो अनुकूल कार्य गर्ने हैसियत राख्थ्यो, त्यति बेला दासढुङ्गा घटनाको छानबिन गरिएन । यो घटनाप्रति नेकपा एमालेको उदासीन नीति देखेर चित्त देखेर नै तपाईंमार्फत नेकपा एमालेलाई सुनाउन यो पत्र कोर्दै छु ।

धेरैले सरकारलाई प्रश्न सोधे । मैले पनि विगतका वर्षहरूमा बारम्बार लेखेँ– खै हत्यारा, किन अनुसन्धान हँुदैन ? सुनिदिने कोही भएनन् । उल्टो मलाई सरकार विरोधी पार्टीको आलोचक भनेर खेदे । तपाईंका पार्टी कार्यकर्ताले निन्दा गरे, भत्र्सना गरे, त्यसैले बाध्य भएर स्वर्गवासी तपाईंकै नाममा यो लेख्ने प्रयत्न गरेँ, अन्यथा नलिनुहोला । नेकपा एमाले तपाईंको हत्याबारे जड छ बोल्दैन । सुनेर नि जवाफ दिँदैन । 

पार्टीको यो हदको मौनताको अर्थ र गम्भीरता कतै पार्टीभित्रकै षड्यन्त्रको सिकार तपाईंहरू बन्नुभएको त हैन भनेर आशंका गर्दा यसको जवाफ कसले दिने ? पार्टी कार्यकर्तासम्म मौन रहनुको रहस्य के हो ? किन बोल्दैनन् नेकपाका एमाले र नेकपा समाजवादीका स्वाभिमानी नेता कार्यकर्ता ? देशको होनहार नेताको हत्या भएको ३०औँ वर्ष लाग्दा पनि जनतालाई सत्य सुसूचित गराउन किन कुनै पनि सरकारले सक्दैन ? जनता विलखबन्दमा छौँ कमरेड ?

आशंका, संशय र विष्मय सबैको उत्तर जान्ने जनाभिलाषालाई नजरअन्दाज किमार्थ सह्य हुन्न । दासढुङ्गा दुर्घटनाका रचयिता को हुन् ? एक मात्र जीवित साक्षी गाडी चालक अमर लामालाई पनि सिध्याउनुको अर्थ यो घटना सामसुम पार्नु हो, यसको प्रमाण नष्ट गर्नु हो, अनुसन्धानलाई प्रभावित पार्नु हो, नियत सफा नहुनु हो । यो घटना तिनले गराएको हुनुपर्छ, जसले अमर लामालाई बाँच्न दिएनन्, सत्य बाहिरिने डरले अमर लामाको हत्या भएको हो । देशीविदेशी सबै किसिमका शक्तिले लामालाई प्रयोग गरे र अन्त्यमा लामालाई पनि बाँच्न नदिएर हत्या गरे भन्ने आशंका छ, सधैँका लागि रहस्यमय बनाइयो, हामी कसलाई सोध्न जाऊँ कमरेडको हत्या कसले ग¥यो ? 

नेपाली राजनीतिको आकाशमा छिटै उदाएर असमयमा अस्ताउने तपाईं सम्भावना भएको नेता हुनुहुन्थ्यो, राजकीय सत्तामा परीक्षित हुन नपाए पनि आफ्नो प्रभाव र स्तर त्यतिबेला नै देखाउनुभएको हो । सानो माक्र्सवादी पार्टीको दोकान चलाएर बसेका अग्रज मनमोहनको सम्मान गरेर, आफ्नो दाबी र प्रभावलाई छाडेर माले माक्र्सवादी एकीकरण हुँदा सानो पार्टीका नेतालाई अग्रजको मर्यादामा राखेर अध्यक्ष बनाउनु अनि संसदीय दलमा विपक्षीको नेता पनि उहाँलाई नै चयन गराउनुले यहाँको क्षमता, व्यवस्थापकीय कुशलता र फराकिलो छाती प्रदर्शन भएको थियो ।

नेताले भोलिको सम्भावना र बृहत पार्टी हितलाई समझमा राखेर अरूको नेतृत्व स्विकार्ने क्षमता देखाउनुपर्छ, जुन उदाहरण यहाँले प्रस्तुत गर्नुभयो, त्यो अनुकरणीय र बन्दनीय छ । दुर्भाग्य नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा बन्दा मदनको आदर्श पछ्याउन सकेको देखिएन, दुई अध्यक्ष राखेर पार्टी एकता भयो र त्यही दुई अध्यक्षीय प्रणाली पुनः विभाजनको कारण बन्यो । 

मदनको सरलपन, व्यावहारिक गुण र सिद्धान्तनिष्ठ, समर्पण मदनको सङ्गत गरेका आश्रय लिएका र आफ्नो भूमिगत जीवन व्यतीत गरेका पूर्वाञ्चलका गाउँहरू त्यहाँका बासिन्दाको अनुभव स्मृति पढ्दा बुझ्दा थाहा लाग्छ, (मदन भण्डारी स्मृति ग्रन्थ, २०६५) । साहसी मदन, धेरै ट्याक्टटिसमा सिद्धहस्त, कहिल्यै प्रहरी फन्दामा नपर्ने, प्रहरी आमुन्नेसामुन्ने हुँदा भूमिगतकालमा विभिन्न उपाय र भेष परिवर्तन गरेर प्रहरीलाई छक्काउन खप्पिस र आफू मात्रै बच्ने, छलिने होइन कार्यकर्तालाई बचाउने र जोखिम मोल्ने स्वभावको हुनुहुन्थ्यो भनेर धेरैले मुक्तकण्ठले प्रशंसा गरेको पाउँदा हर्ष लाग्छ । 

पाको अभिभावक र बच्चाको माउ पोथीझैँ कार्यकर्ताको संरक्षण गर्ने भनेर सम्झन्छन् आश्रय दिने मान्छेहरू । अनुशासनमा रहने योग ध्यान र पढाइलेखाइमा सधैँ व्यस्त देखिने मदन आश्रयस्थलमा श्रम गरेर पनि सघाउनुहुन्थ्यो । बहुआयामिक व्यक्तित्वका धनी मदन भण्डारी नेपालका लागि अद्भुत कम्युनिस्ट थिए भनेर बुझ्ने गर्छन्, अरु पार्टीहरूका नेता पनि । एकाएक उदाएर तत्कालीन लोकप्रिय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्नु कम आश्चर्यको कुरा थिएन । नेपालका कार्ल माक्र्सको उपाधि पाएका मदन देशको अभूतपूर्व सेवा गर्न नपाई बिदा हुनुलाई हर नेपालीले आफ्नो दुर्भाग्य भनेर मान्छन् ।

प्रिय कमरेड !

तपाईंको दुर्घटनाको खबरले २०५० जेठ ३ गते तत्कालीन नेकपा एमालेको मात्रै हैन, देशकै रक्तसञ्चारमा खलल पुगेको भान भएको थियो । मदन भण्डारी दुर्घटनामा परेको खबरले देशको आकाश नै कालाम्य भएको थियो, दिनमै सूर्य अस्ताएको अनुभूति देशले गरेको थियो । जनताको कत्रो सम्मान माया र विश्वास रहेछ भन्ने तपाईंको दुर्घटनादेखि अन्तिम यात्रासम्मले बताउँथ्यो । ‘देशभक्त छोरो मर्दा देश नै रुँदो रहेछ, देशले नै बरखी बार्दो रैछ । देश शोकमा चुर्लुम्म डुबेर आफ्नो प्रिय नेता गुमाउनुपर्दा आहत थियो ।

विपक्षी पार्टीप्रति खरो सैद्धान्तिक आलोचना गर्ने तपाईंको शब्द चयन बडो भव्य र सभ्य हुन्थ्यो । बौद्धिक तार्किक र धारिलो भाषण सुन्न पक्ष–विपक्ष सबै लालायित हुन्थे । आरोपमा शिष्टता पनि झल्कन्थ्यो । सक्रिय राजतन्त्रको तीखो आलोचक भएर पनि मर्यादामा बस्ने राजासँग ठूलो विमति थिएन, फराकिलो वैमनस्यता पनि देखाउनुभएन, तर प्रजातन्त्रप्रति गिद्धे नजर नलगाउन राजालाई खबरदारी गरिरहनुभयो । राजनीति नै गर्ने भए श्रीपेच फुकालेर आउनुस् मैदानमा भनेर राजालाई मर्यादासहित हाँक दिनुभयो, जुन आज सुन्दा पनि मजा लाग्छ । माक्र्सवादको व्यावहारिक प्रयोगकर्ता र सिर्जनात्मक माक्र्सवादी व्याख्याता मदन एकोहोरो जडसूत्रवादी दृष्टिकोणभन्दा पर रहेर सोच्ने नेता हो भन्ने बौद्धिकहरुको बुझाइछ । 

सकेसम्म आफूले कन्भिन्स गराउने या आफू कन्भिन्स हुने लचकता मदनमा रहेको अर्को दुर्लभ गुण हो । एमाले कांग्रेसको चरम द्वन्द्व र शत्रुता भएका बेला ‘मलाई मन पर्ने राजनेता बीपी कोइराला हुन्, उनको जस्तो सिर्जनात्मक सोच र शैली भएको राजनेता मैले दक्षिण एसियामा देखेको छैन’ भनेर अन्तर्वार्ता दिनुलाई उद्दात्त छविका नेता भनेर सबैले प्रसंशा गर्छन् ।

अन्तरिमकाल २०४७ का लोकप्रिय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउँदा पनि दम्भ देखाउनुभएन भनेर आज सानो जितमा नै संसार जितेको दम्भ गर्ने नेताहरू देख्दा सबैले तपाईंको त्यो शालीनता सम्झन्छन् । सत्ता र शक्तिको मातमा आजका नेता जस्तो दम्भ प्रस्तुत गर्छन्, त्यो दम्भ देशको अभिभावकले गर्न सुहाउँछ, कमरेड ? 

साइकल चढ्ने मदन, सामान्य गाडीमा सवार भएको सबैले देखेकै कुरा हो । जीवनका लागि सिद्धान्त, सिद्धान्तका लागि जीवन हुन सक्तैन भनेर माक्र्सवादी दर्शनलाई नवीनता दिने सिर्जनात्मक व्यक्तित्व तपाईं हेर्नुस् त आजका नेताहरूले आफ्ना लागि सत्ता र शक्ति प्राप्तिका लागि सिद्धान्त भन्ने निष्कर्ष निकालेका छन् । शक्ति आर्जन गर्न, सत्ता प्राप्त गर्न जुनसुकै सिद्धान्त पनि प्रयोगमा उतार्ने अभ्यास पार्टीहरूले गरेका छन् । पार्टी सिद्धान्तविहीन भए, भयो यसको उपादेयता सत्ता मात्र होइन सिद्धान्त पनि हो हामी कुन सिद्धान्तको जगमा हिँड्दै छौँ त्यो स्पष्ट हुनुपर्छ, अन्यथा तासको घरजस्तै हुनेछ पार्टी । भइरहेकै छन् पार्टीहरू तासको घर । शान्तिपूर्ण आन्दोलनबाट परिवर्तन सम्भव छ भनेर सिर्जनात्मक रूपमा माक्र्सवादको व्याख्या गर्ने मदन भण्डारीको खाँचो सिद्धान्त निख्रिएको नेपाली राजनीतिमा खडकिएको छ । 

कमरेड मदन !

तपाईंको बहुदलीय जनवादको सिद्धान्त कहिले महालक्ष्मी गोल्छाको धन पोको पार्न प्रयोग हुन्छ त कहिले दीपक मनाङेको भान्सा पुछ्न अनि कहिले विष्णु पौडेलको नाक छोप्न । कमरेडहरू गाउँगाउँबाट उठ भन्ने गीतमा भन्दा कोमल ओलीको पोइल जान पाम् भन्ने गीतमा नाच्न पोख्त हुनुहुन्छ । मोहनचन्द्रहरू सडकमा मागेर हिँड्दा सुन तस्करहरू प्रधानमन्त्रीको विदेश भ्रमणमा मस्त देखिन्छन् । 

कम्युनिस्टको सरकार र देशभर कम्युनिस्ट जनमत हुँदा पनि बोक्सीको नाममा र पानी छोएको निहुँमा मान्छे मारिने क्रम रोकिएको छैन, छाउपडी बस्दा बलात्कृत हुने, विषालु सर्पद्वारा मारिने नियति उस्तै छ यो समाजको कालो धब्बा खै कसले पखाल्छ होला र ? शिक्षा र स्वास्थ्यमा वर्ग भेद कस्तो छ त्यो बयान गरेर सकिन्न । तपाईंको पार्टीका थुप्रै केन्द्रीय नेताहरू शिक्षा र स्वास्थ्यका व्यापारी बनेका छन्, तर पनि कमरेडहरू जनताको सरकार भन्नुहुन्छ । न्याय किनबेच हुन्छ, जसको दलाली स्वयं कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले पनि गर्छन् भन्दा लाजले मर्नुपर्ने स्थिति छ । कुरा समानता र बराबरीकै हुन्छ जोइपोइ नै बारम्बार सांसद मन्त्री र पार्टीको उच्चाधिकारीहरू हुनुपर्ने कस्तो समानता र समावेशिता हो ? 

तपाईंहरूको हत्यारा को हो, कम्युनिस्ट पार्टी कस्तो हुनुपर्छ र सत्ता कसरी सञ्चालन गर्ने हो भनी एकपटक तपाईं नेपाल आएर भनिदिनुस्, कमरेड जीवराजलाई पनि साथमै ल्याउनुस् । अहिले तपाईंले भोगेजस्तो दुःख न तपाईंको परिवारको छ न पार्टीका नेताहरूको । सबैको वर्ग उत्थान भएको छ, जनता पो उस्तै छन् तर नेता र तिनको वर्गीय समस्या त हल भैसक्यो । आखिर कम्युनिस्ट पार्टीको उद्देश्य वर्गविहीन समाज नभएर सीमित नेता–कार्यकर्ताको वर्ग उत्थान भएको छ । प्लिज कमरेड, एकपटक जनताको बहुदलीय जनवाद कस्तो भएछ, आफ्नै आँखाले हेर्नुस् । आफ्नो हत्यारा आफैँ चिनाएर जानुस्, नत्र सत्ताले हत्यारा कहिल्यै भेट्दैन, कहिल्यै पक्रँदैन र कहिल्यै भन्दैन । मदन भण्डारी कसले मारेको हो भनेर ?

भुलचुकमा क्षमा मागेँ । मेरो उद्देश्य कसैको मानमर्दन गर्नु नभएर नेपालको नेता र पार्टीको यथार्थ भन्नु हो । जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धा सुमन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप