आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

सापु रोगबारे गण्डकी सरकारलाई घचघच्याउँदै विज्ञ

अंग्रेजी बिजोर वर्ष खासगरी पोखरावासीलाई सताउँछ सापुले
शुक्रबार, ०५ जेठ २०८०, २१ : ००
शुक्रबार, ०५ जेठ २०८०

 

पोखरा । त्रिवि शिक्षण अस्पतालको आँखा विभागकी डा. रञ्जु खरेल सापु रोगबारे समयमै सावधानी अपाउन सचेतना कार्यक्रम गर्नुपर्छ भन्दै प्रदेश सरकारलाई घचघच्याउन पोखरा आएकी छन् ।

सापु मानिसको आँखामा लाग्ने एक प्रकारको रोग हो, जो सेतो पुतलीका माध्यमबाट सर्ने गर्दछ । समयमै उपचार नभए यो रोगले दृष्टि नै गुम्ने खतरा हुन्छ ।

डा खरेलका अनुसार भदौदेखि मंसिरसम्म सापुको जोखिम बढी हुन्छ । यद्यपि गर्मी लागेसँगै यो रोग लाग्नसक्ने सम्भावना रहने  उनको भनाइ छ । त्यसैले अहिलेदेखि नै सचेतना फैलाउनुपर्ने खाँचो उनी देख्छिन् ।

त्यही खाँचो देखेर गण्डकी प्रदेशका सरोकारवालालाई घच्घच्याउन उनी पोखरा आएकी हुन् । शुक्रबार उनले प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा खिमबहादुर खड्कालाई मात्रै नभई प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटालाई भेटेर यसबारे ध्यानाकर्षण गराइन् ।

सापु लागेकाहरुको उपचारमा हिमालय आँखा अस्पताल पोखराले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तर अस्पताल प्रमुख डा इलिया श्रेष्ठकै भनाइमा छिटो अस्पताल नपुगे मानिसको दृष्टि गुम्न पनि सक्छ ।

दुई वर्षअघि यही सापु रोगका कारण २ जनाले दृष्टि गुमाएको जानकारी उनले दिइन् । सामान्य आँखा पाकेको भन्ठानेर घरमै बस्दा सापुले आँखाको दृष्टि गुमाइदिने उनी बताउँछिन् ।

सेतो पुतली र खास गरी धर्का र पहेँलो पुच्छर भएको सेतो पुतलीबाट लाग्ने यो रोगबाट बच्न त्यस्तो पुतली देखा पर्न थाल्नु अघि नै सचेतना फैलाउनुपर्ने आवश्यकता डा. खरेलले औंल्याइन् ।

सापु रोग पहिचानको सबैभन्दा सजिलो तरिकाबारे डा खरेल भन्छिन्, ‘सापु लाग्यो भने आँखा रातो हुन्छ, तर चिप्रा लाग्दैन ।’

अहिलेसम्म अपवादबाहेक गण्डकी प्रदेशमा मात्रै यो रोगको संक्रमण हुने गर्दछ । अझ अनौठो त यो छ कि, अंग्रेजी क्यालेन्डरको बिजोर वर्ष यो रोगको संक्रमण देखिन्छ । त्यसैले सन् २०२३ को गर्मी याम सापु रोगको जोखिम रहने विज्ञहरु बताउँछन् ।

यो रोग मानिसको एउटा आँखामा मात्र लाग्छ, अर्को आँखामा सर्दैन । यो रोग लाग्ने कारण सेतो पुतली (मोथ) भन्ने पत्ता लागे पनि यसभित्रका कयौं रहस्य अझै पत्ता लागेको छैन । ‘त्यो पुतलीको पनि झुसका कारणले हो कि, पुतलीले आँखामा विष छाड्दिनाले हो कि वा पुच्छरले हो वा अरु के कारणले भन्नेचाहिँ पत्ता लागेको छैन,’ डा  खरेल भन्छिन् ।

सापु नेपालमा अन्धोपन निवारणका लागि एउटा चुनौती हो । सापु भइहाल्यो भने छिटै अस्पताल नपुगे दृष्टि गुम्छ । डा रञ्जुकै भनाइमा सापुको जोखिम बालबालिकामा बढी हुन्छ ।

‘यसले किन बच्चाबच्ची मन पराउँछ ? किन गण्डकी प्रदेश र पोखरामै देखिन्छ ? यहाँ सेतो पुतलीलाई मन पर्ने वा अनुकुल बासस्थान छ कि !’ उनी भन्छिन्, ‘कारण पत्ता लागेको छैन । अंग्रेजी बिजोर वर्षहरुमा मात्रै यो रोग देखा पर्नुको कारण पनि पत्ता लागेको छैन ।’

विसं २०३२ मा पोखरामा यो रोग पहिलोपटक देखा परेको थियो । लामाचौरमा देखा परेको यो रोगबारे आँखारोग विशेषज्ञ डा. मदन उपाध्यायको टोलीले अध्ययन थालेको थियो । सुरूमा ‘ट्युमर’ भनिएको समस्यालाई पछि डा. उपाध्याय नेतृत्व टोलीको अध्ययनले सिजनल हाइपरएक्युट पानुभिआइटिस (सापु) नाम दिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप