सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नख्खु–भैंसेपाटी सडक खण्डको काम जेठ महिनाभित्र सम्पन्न हुन्छ: मन्त्री ज्वाला

सोमबार, ०८ जेठ २०८०, ११ : १०
सोमबार, ०८ जेठ २०८०

 भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नख्खु—भैंसेपाटी सडक खण्डको काम जेठ महिनाभित्रमा सम्पन्न हुने बताएका छन् । 

सोमवार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  आफू मन्त्री हुँदा यस सडक खण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिएको बताए । 

उनले अहिले काम निकै उपलब्धिमूलक रहेको भन्दै अब नख्खु—भैंसेपाटी क्षेत्रका बासिन्दाहरूले लामो समयसम्म धुलो र सास्ती व्यहोर्नु नपर्ने उल्लेख गरे । 

 अबको एक हप्ताभित्र सडकखण्डको कालोपत्रे हुने पनि बताए । उनले यसअघि सम्बन्धित निकायहरूसँगको समन्वय कम हुँदा विभिन्न व्यवधान आइरहेकाले आफूले समन्वय र सहजीकरणमा कमी हुन नदिने प्रतिबद्धता जनाए । उनले आफूले निरीक्षणका क्रममा चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको बताए । 

उनले भने, ‘यो सडकका बारेमा म भौतिक, पूर्वाधार तथा यातायात मन्त्री भइसकेपछि एउटा बहसको विषय थियो । यस भन्दा पहिला पनि त्यतिबेलाका मान्य मन्त्रीज्यूले निरीक्षण गर्नुभएको थियो । यो २६ करोडको ठेक्का लागेको र पछिल्लो समयमा अलि धेरै चर्चा बहसको विषय थियो । म आउने बित्तिकै हाम्रो टिम बसेर यो सडकलाई चर्चामुक्त गरेर, चर्चामुक्त भनेको धुलो मुक्त गर्नु हो । त्यसका लागि छिटो भन्दा छिटो काम सम्पन्न गरेर कालोपत्रे गर्नुपर्ने अवस्था थियो । हामीले निरीक्षण गर्ने कुरामा हतार देखाएनौँ, हामीले मन्त्रालयबाट मातहतका निकायलाई निर्देशन गरेका थियौँ । सक्रियताकासाथ काम अहिले अघि बढेको छ । केही दिनमा मूल कामहरू सकिन्छ । जेठ महिना भित्र काम पूरा हुने अवस्था छ । अझै तीव्रताका साथ काम गरेर सम्पन्न गर्नुपर्नेछ । चाँडै काम सम्पन्न गर्न निर्देशन दिएका छौँ । काम छिटो हुने कुरा नै मुख्य कुरा हो । समन्वय भएको भए अझै छिटै हुन्थ्यो कतिपय ठाउँमा समन्वय नहुँदा हिजो ढिलो भयो । हामी समन्वय र सहजीकरणमा कमी हुन दिँदैनौँ । अब यहाँका जनता लामो समय धुलोमा हिँड्नुपर्ने र सास्ती व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्नेछौँ ।’

मन्त्री ज्वालाले आगामी दिनमा देशभरका सडक, पुलहरू निर्माणका लागि अन्तरमन्त्रालयसँग समन्वय गरी एकै पटकमा काम सक्ने गरेर काम गर्ने प्रतिबद्धता जनाए । उनले बजेट प्रस्तुत भइसकेपछि मन्त्रालयसँग सम्बन्धित विषयमा फिल्डमा नै गएर समस्या समाधान गर्ने बताए । 

उनले सरकारले महत्त्वपूर्ण सडकका खाल्डाखुल्डी पुर्ने कामलाई प्राथमिकतामा राख्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप