शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
बाल स्वास्थ्य

आरओपी रोगले बालबालिकामा बढ्यो अन्धोपनको खतरा

समयअगावै जन्मिएका बालबालिका तथा आइसीयू, एनआईसीयूमा लामो समयसम्म राखिएकालाई आरओपी रोग
सोमबार, ०८ जेठ २०८०, ११ : ४८
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । पोखराको फेवासिटी अस्पतालमा सात महिनामा जन्मिएकी मौसमी श्रेष्ठलाई ३५ दिनसम्म एनआईसीयूमा राखियो । 

घर लगेको १७ दिनपछि पुनः स्वास्थ्य परीक्षण गराउँदा आँखामा समस्या देखियो । त्यसपछि चिकित्सकको सल्लाहमा तिलगंगा आँखा अस्पताल काठमाडौँमा ल्याइयो । जाँचको क्रममा तिनको आँखामा रेटिनोपेथी अफ प्रिमेचुरिटी (आरओपी) रोग लागेको पुष्टि भयो । रोग पुष्टि भएपनि चौथो स्टेजमा पुगेकाले उपचार सम्भव भएन । तिनले दृष्टि गुमाइन् । 

यस्तै, विराटनगरमा समय अगावै जन्मिएका एक बालकलाई एक सातासम्म एनआइसीयूमा राखियो । तीन जना छोरीपछि छोरा जन्मिएकाले घरमा खुसीयाली थियो ।  जन्मिएको तीन महिनासम्म ती शिशुमा स्वास्थ्य कुनै समस्या आएको थिएन । तर, दुवै आँखामा सेतो थोपा देखिएको दुई दिनपछि स्वास्थ्य संस्था लगियो । स्थानीय स्वास्थ्य संस्थाले काठमाडौँ रिफर गरेपछि उनीहरूले पाटन अस्पताल पुर्‍याए । 

तिनको आँखामा पनि आरओपी रोग लागेको पुष्टि भयो । बालकको आँखामा सेतो थोपा देखिएपछि सामान्य समस्या ठानेर अभिभावक अस्पताल पुगेका थिए तर बच्चाको आँखा पूर्ण रूपमा ड्यामेज भएको थियो ।

समय अगावै जन्मिएर आइसीयू, एनआईसीयूमा लामो समयसम्म राखिएका र आइभीएफ अर्थात् (इनभिट्रो फर्टिलाइजेसन) प्रविधिमार्फत् जन्मिएका शिशुको तत्काल आँखा परीक्षण गर्नुपर्छ । यसबारे पेडियाट्रिक चिकित्सक, अभिभावकलाई पूर्ण रूपमा जानकारी नहुँदा  जीवनभर अन्धो हुने स्थिति सिर्जना भएको छ ।

तिलगंगा आँखा अस्पतालका मेडिकल रेटिना कन्सल्टेन्ट डा इली प्रधानका अनुसार समयअगावै जन्मिएका बच्चासँगै आईभीएफ गरी जन्मिएका बच्चामा आरओपीसम्बन्धी समस्या देखिन थालेको छ । 

समय अगावै जन्मिएका शिशुको प्रारम्भिक समयमा आँखा परीक्षण गरिएमा आरओपी रोग पूर्ण रूपमा निको पार्न सकिने उनले बताइन् । 

रोगको शैली किन परिवर्तन ?

विश्वमा बालबालिकाको आँखामा देखिने रोगको प्याटर्न अर्थात् शैली नै परिवर्तन भएको आँखा रोग विशषज्ञहरू बताउँछन् । पछिल्लो समय बालबालिकाको आँखामा आरओपी, रेटिनोब्लास्टो, वंशाणुगत रोगहरू देखिन थालेको डा.प्रधानले बताइन् । 

‘विगतमा बालबालिकामा अन्धोपना आउनुको कारण भिटामिन ‘ए’ कम हुँदा, चस्माको अभावमा, समयमै परीक्षण नहुँदा आँखामा अन्धोपना देखिन्थ्यो,’ उनले भनिन्, ‘सरकारले भिटामिन ‘ए’ को उपलब्धता, स्कुलहरूमा आँखाको परीक्षण, चस्मा सहजमा रूप उपलब्ध हुँदा यसरी हुने अन्धोपना हुने दर न्यून भयो ।’

पछिल्लो समयमा भने बालबालिकाको आँखामा लाग्ने रोगको प्याटर्न  परिवर्तन भएकाले प्रायः दृष्टिदोष एरर पर्दासम्बन्धी समस्या बढी देखिन थालेको उनले बताइन् । 

समय अगावै जन्मिएको बच्चामध्ये २० देखि ३० प्रतिशतसम्म बालबालिकामा आरओपी रोग देखिन्छ । समयअगावै जन्मिएर आईसीयू, एनआईसीयूका बच्चालाई धेरै दिनसम्म राख्दा जोखिम हुने उनको भनाइ छ । 

आँखा स्वास्थ्य रणनीति परिमार्जन जरुरी

सरकारले ४ महिना अघिमात्र राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९–२०८६) सार्वजनिक गरी लागू गरेको छ । उक्त रणतीतिले आँखामा देखिने रोगले शैली परिवर्तन गरेको विषय समेट्न नसकेको बालरोग विशेषज्ञहरू बताउँछन् । 

आरओपी, रेटीनोब्लास्टो क्यान्सर, वंशाणुगत रूपमा आँखामा लाग्ने रोगबारे रणनीतिमा उल्लेख नगरिएको डा प्रधानले बताइन् । बालबालिकाको आँखामा लाग्ने रोगले शैली परिवर्तन गरेअनुसार रणनीति बनाइनु पर्नेमा उनको जोड छ । 

रेटिनासम्बन्धी समस्याहरू साना बालबालिकादेखि, मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगका कारण बढ्दै गएकाले तत्काल रणनीति बनाई कार्यान्वयन चाँडो नगरेमा बालबालिकाको आँखा स्वास्थ्यमा गम्भीर असर हुने उनले बताइन् । 

समयअगावै जन्मिएका बालबालिका र आइभीएफ गरी जन्मिएका बालबालिकाको आँखामा देखिने आरओपी रोगबाट हुने अन्धोपना कम गर्न पेडियाट्रिक र स्त्रीरोग, मिडवाइफ, पारामडिक्स, बालबालिकाको आईसीयू, एनआईसीयूमा काम गर्नेहरुको विशेष भूमिका रहने पाटन अस्पतालका सहायक प्रोफेसर बाल हेमाटोजोष्टि ओक्कोलजिष्ट सुचारिता तुलाधर बताउँछिन् । 

त्यहाँ कार्यरत जनशक्तिलाई सरकारले आरओपी रोगबारे जानकारी जानकारी गराइ प्रशिक्षण व्यवस्था मिलाउन अति आवश्यक भएको उनको भनाई छ ।

विदेशमा समय अगावै जन्मिएर एनआईसीयू, आईसीयूमा राखिएका शिशुलाई तत्काल अनिवार्य रूपमा आँखा परीक्षण गरिए पनि नेपालमा भने सो व्यवस्था नभएको डा.प्रधान बताइन् । 

आँखाको रोग शैली परिवर्तन हुनका कारण

पाटन अस्पतालका आँखा रोग विशेषज्ञ डा पवन महतका अनुसार  समय अगावै जन्मिएका बच्चालाई बचाउन एनआईसीयूमा राख्दा अक्सिजन दिनुपर्छ । समय अगावै जन्मिएका बच्चाको आँखाको पर्दा राम्रोसँग बनेको हुँदैन । यस्तोमा लगातार अक्सिजन दिएर एक्कासि बन्द गरेपछि आँखामा नयाँ नशा पलाउन सुरु हुन्छ ।

उनले भने, ‘नयाँ नशा अक्सिजन डिपेन्डेन्ट हुन्छ । अक्सिजन दिन छाडेपछि नयाँ नकारात्मक नशा पलाएर बच्चाको आँखाको पर्दा फाट्न गई आरओपी रोग जटिल बन्दै जान्छ ।’

आरओपी कस्तो अवस्थामा निको हुन्छ ?

शिशुलाई आरओपी लागे नलागेको पहिचान बच्चा जन्मेको एक महिनाभित्रै गर्नुपर्ने पाटन अस्पतालको आँखा रोग विशेषज्ञ डा रञ्जना शर्माले बताइन् । परीक्षणपछि बच्चाको आरओपी कुन स्टेजमा छ, उपचार गर्नुपर्छ । डा शर्माका अनुसार यसबारे थप जानकारी:

–समयमै परीक्षण गरियो भने स्टेज वानमा उपचार गर्न सकिन्छ ।  त्यस समयमा उपचार चाहिँदैन, मोनिटरिङ गरेमात्रै पुग्छ । धेरै केस सामान्य अवस्थामा फर्किने गर्छ ।

–स्टेज टु वा थ्रीमा पत्ता लागेमा आँखाको सानो सानो नशामा रगत बनिरहेको अवस्थामा सामान्य अप्रेशन थिएटरमा राखेर इजेक्सन दिइ निको पार्न सकिन्छ । जब आँखाको नशामा देखिएको असामान्य रगत कम हुन थाल्छ, तब इन्जेक्सन रोकिन्छ । अनि शिशुले आँखा देख्न थाल्छन् ।

–थ्री स्टेजमा इजेक्सनले निको पार्ने अवस्था नभएमा रेजरमार्फत् नशामा रगत फैलिनबाट जोगाउन सकिन्छ ।

–चौथो स्टेजमा आँखाको नशामा रगत जमेर नशा नै चुँडिने अवस्थामा पुगेको हुन्छ । रेटिना नै चुँडिएमा अप्रेसन गर्नुपर्ने हुन्छ ।

–नयाँ रोगबारे जनमानसमा पूर्ण रूपमा ज्ञान नहुँदा बालबालिका अन्धोपना आउने खतरा बढ्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप