आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली सरकारले उदासीनता प्रकट गर्‍यो : यामलाल कँडेल

बुधबार, १० जेठ २०८०, १६ : १०
बुधबार, १० जेठ २०८०

सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेश सरकारले उदासीनता प्रकट गरिरहेको बताएका छन् । सरकारका कामकारबाही अझै पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको भन्दै कँडेलले कर्णाली सरकार व्यवस्था गरेको बाटोभन्दा फरक तरिकाले हिँडिरहेको टिप्पणी गरेका हुन् । 

बुधबार प्रदेशसभाको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले प्रदेश सरकारले बनाउने योजनाहरुमा बिचौलिया हाबी हुने प्रवृत्तिको विकास भइरहेको बताए ।  

कँडेलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भएपनि प्रदेश सरकारको प्राथमिकतामा राजधानीको विकास नभएको बताए । ‘राजधानीको विकासका सरकार अग्रसर हुनुपर्ने हो तर, देखिएन,’ कँडेलले भने,‘ कतिपय संरचनाहरू यहाँबाट सार्ने प्रयत्न भइरहेका छन् । राजधानीलाई विकास नगरेर नै कहीँ गर्ने हो भने गर्दा भयो ।’ 

थोरै पैसा र थोरै जनशक्ति हुनेले थोरै योजना छान्ने र विकास गर्नुपर्ने कँडेलको भनाई छ । तर, योजना खोज्दा पनि भेट्टाउन नसकिने गरी विगतमा योजना बनाइएको र त्यस्ता योजनाबाट परिणाम राम्रो आउन नसक्ने उनले बताए ।

पहिलो कार्यकालमा बनाइएका कतिपय योजनाहरू अहिले खोज्दा पनि नपाइने गरेको उनले बताए । कँडेलले अगाडि थपे,‘आगामी आर्थिक वर्षमा थोरै तर, कार्यान्वयनमा जाने योजना बनाउनुपर्ने हुन्छ । माननीय नयाँ योजना पुरानै लिएर बजेट पास गर्नुपर्ने अवस्था कर्णालीमा छ । विगतमा योजनाको छनोट, प्राथमिकता करण र समयको माग अनुसार नभएकाले त्यो समस्या अहिले आएको हो।’  

विमानस्थलको सन्दर्भमा पनि कँडेलले बैठकमा कुरा उठाएका छन् । अहिले भइरहेको सुर्खेत विमानस्थल विस्तार गर्नुको साटो छिन्चुमा नयाँ विमानस्थल बनाउने कुरा देखाइएको भन्दै कँडेलले यस्तो तरीकाले न पुरानो विस्तार हुने न नयाँ निर्माण हुनसक्ने अवस्था आएको बताए ।  यस्तै आगामी वर्षमा प्रदेश सरकारले सडक विकासका लागि प्रदेश सरकारले भेरी र कर्णाली कोरिडोरलाई प्राथमिकता राखेर अघि बढ्नुपर्ने उनले तर्क गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप