आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो होला कर्ण बिनाको महाभारत ?

बिहीबार, ११ जेठ २०८०, ०८ : ४३
बिहीबार, ११ जेठ २०८०

“जिस भजनमे रामका नाम ना हो, उस भजनको गाना हि नही चाहिए
जिस जगहमे अपना नाम ना हो, उस जगहमे जाना हि नही चाहिए”

प्रवासमा बस्दा मेरो निवास बाहिर एक दृष्टिविहीन कलाकारले भिक्षा माग्दै गाएको गीत हो यो । “जहाँ आफूलाई बोलाइएकै छैन, त्यो स्थानमा नगएकै उत्तम हुन्छ । जुन भजनमा ईश्वरको नामै हुन्न, त्यस्तो भजन के गाउनु ?” माथिको गीतको सार हो यो । 

“छल विना युद्ध कसरी जितिन्छ अर्जुन ?”

कृष्णले अर्जुनलाई महाभारतको युद्धमा सम्झाएको अंश हो यो । 

“द्रौपदी चीरहरणका लागि शकुनीले छलको पासा फाले । भ्राता युधिष्ठिरले छल गरेर कर्ण कवच मागे । सत्यपक्ष छोडेर भीष्म पितामहले कौरव पक्ष रोजे । सूर्य कहिल्यै अस्ताउँदैनन्, तैपनि विलय भएर छल गर्छन् । रात कहिल्यै हराउँदिनन्, तैपनि अलप भएर छल गर्छिन् । 

सृष्टि यस्तै हो अर्जुन ! यहाँ गृहस्थी चलाउन कहिले महादेव महिला बन्नु पर्छ, कहिले गोवरमुनि लुक्नुपर्छ । स्वर्ग, मर्त्य, पाताल सबै छलले नै चलिरहेको छ । त्यसैले, छल बखतमै बाण चलाऊ । कर्ण वध गर । महाभारत तिम्रै हुनेछ ।”

अनि छेक्छन्, कृष्ण हत्केलाले सूर्य । अर्जुनले चलाउँछन् बाण । भीष्म पितामह, दुर्योधन, कर्णको वध हुन्छ । र, जित्छन् युद्ध महाभारतको । अनि प्रमाणित हुन्छ–“जितिँदैन रैछ छल विना युद्ध ।”  

कहिलेकाहीँ म सम्झिन्छु– कतै म कुन्तीपुत्र कर्ण वंशको सन्तान त होइन ? राजा भईकन पनि रैती हुनुपर्ने । योद्धा भईकन पनि हार्नुपर्ने । मातृत्व, भ्रातृत्व भईकन पनि विहीन हुनुपर्ने । कथा मिल्छ । पात्र, आचरण फरक छैन । हरेक भोगाइले मन विचलित हुन खोज्छ । तैपनि दाह्रा किट्दै मन बुझाउँछु– “कर्ण विनाको महाभारत ब्यासले लेख्ने कल्पनासमेत गर्न सक्दैनन् होला ।”  

–“छल गरेर युद्ध जितेका अर्जुनलाई सृष्टिकर्ताले सजाय दिएनन् त ?” 

–“किन दिएनन् ? अर्जुन युधिष्ठिरसँग स्वर्ग जान किन नपाएको ?”

महाभारत युद्ध जिते पनि अर्जुन कर्ण जस्तो महादानी होइनन् । महाबलि होइनन् । सूर्यपुत्र होइनन् । कवचधारी होइनन् । कर्ण विना इन्द्रप्रस्थको राजसभा बसेन । कर्णलाई हराउन स्वयम् भगवान कृष्ण रथ सारथि बन्नुप¥यो । छल गर्नुप¥यो । दिउँसै सूर्य लुक्नु प¥यो । 

सशस्त्र परीक्षामा कर्णलाई बोलाउनु भीष्मको भूल होइन, छल थियो । त्यस्तै, राज्यले रेशमलाई आन्दोलनमा बोलाउनु भूल होइन, छल थियो । आफ्ना गुरु परशुरामलाई बिच्छीले टोक्न नदिनु कर्णको गुरु मर्यादापालन थियो, क्षत्रिय कर्तव्य थियो । त्यस्तै, आफ्नो समुदायलाई राज्यबाट शोषित हुन नदिनु मेरो भूल थियो । मर्छु भन्ने थाहा थियो र पनि कर्ण युद्धबाट भागेनन् । थारुले न्याय पाउँदैन भन्ने थाहा हुँदाहुँदै पनि म न्यायालयमा लड्न छोडिन । खैर, कर्ण द्वापर युगका महाभारत पात्र हुन् । म कलियुगको थारु पात्र हुँ । 

कुन्तीपुत्र नभएपनि कर्ण पात्र अवश्य हुँ म । हिजो कर्ण हराउन ईश्वरले समेत छल गर्नुप¥यो । सृष्टिमा विचलन्ता ल्याउनु प¥यो । भौतिक रूपमा कर्ण युद्धस्थलमै ढले । तर, न त उनको वीरताको गाथा महाभारतमा ब्यासले लुकाउन सके । न त छल विना अर्जुनलाई जिताउन सक्छुँ, कृष्णले स्वीकार्न सके । 

कर्ण कर्णै हुन् । जसलाई मार्न भगवान् लाग्नुपर्छ । ईश्वरै लागेर पनि इतिहासमा उनलाई लुकाउन सकिन्न । 

अहिले न्यायालयको फैसलाले मलाई हराइएको जरुर छ । तर, मेरो मुद्दाको इतिवृतान्तमा म कतै हारेको छैन । थारु भावना जीवित राख्न बरु मैले निर्दोष हुँदाहुँदै जेल स्वीकारे तर काँग्रेस, कम्युनिष्टहरुको लालच स्विकारिन । कैद स्विकारेँ, टीकापुर घटनामा राज्यले बनाएको मिसिल स्विकारिन । सजाय स्विकारेँ, सामाजिक सद्भाव बिगार्ने सल्लाह स्विकारिन । 

चोला फेर्दैमा के हुन्छ र ? आज ब्यास कथाले भन्छ– भगवान् कृष्णको छल र उक्साहटमा अर्जुनले बाण चलाए र कर्णको वध भयो । तर के ब्यासले महाभारतमा लेख्न सके ? “के कर्णले छलको जीवन बिताए ? के कर्ण कपटी थिए ? के कर्ण महाबली थिएनन् ? के कर्ण महादानी थिएनन् ?”

कर्णले महाभारत युद्ध हारेजस्तै मैले न्यायालयको युद्ध हारुँला रे । तर म मा हीनताबोध रत्ती छैन । किनभने मेरो निर्दोषिताको बारेमा म पूर्ण जानकार छु । नेपालको राजनैतिक आन्दोलनको इतिहासमा मेरो गाथा जरुर लेखिनेछ । 

अन्तमा यसो भन्दै गर्दा न्यायालयमा मेरो मुद्दाको मिसिल अझै फिलिङ्गो भई जीवित छ । फिलिङ्गोलाई फुक्न जान्नुपर्छ, आगो जरुर बल्छ । बलेको आगोले हात सेक्छ । भात पाक्छ । नजाने डढेलो लाग्छ, घर जल्छ । सर्वस्वाहा हुन्छ । बाँकी कलियुगे कृष्णहरूकै जिम्मा । जय नागरिक ।  

हालः डिल्लीबजार, कारागार  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रेशम चौधरी
रेशम चौधरी
लेखकबाट थप