बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

सुक्दैछन् ठुला तालहरू

बिहीबार, ११ जेठ २०८०, १३ : ०७
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । वैज्ञानिक र सम्बन्धित क्षेत्रका विज्ञहरूले निकै लामो समयदेखि मौसम परिवर्तन र त्यसबाट सृजना हुने असरहरूको बारेमा विश्व समुदायलाई सचेत गराउँदै आएका छन् । मौसम परिवर्तनबाट सृजना हुने प्रतिकूल असरले पछिल्लो समय मानव जीवनका हरेक आयामसँगै सम्पूर्ण प्राणीलाई असर पार्दै गएको छ ।

यो पृथ्वीमा रहेका हरेक जीवित प्राणीका लागि पानी अपरिहार्य छ । तर, तीव्र गतिमा भइरहेको मौसम परिवर्तनको सबैभन्दा ठुलो असर त्यही पानीमा परिरहेको छ । पछिल्लो अध्ययनलाई आधार मान्ने हो भने, मौसम परिवर्तनसँगै भइरहेको तापक्रम वृद्धिले पानीका स्रोतहरूमा प्रत्यक्ष असर पुर्‍याइरहेको छ ।

बढ्दो तापक्रम र सामाजिक जीवनको विभिन्न क्षेत्रमा पानीको अनियन्त्रित प्रयोगले प्रत्येक वर्ष खर्बौँ ग्यालेन पानी कम हुँदै गएको छ । यो क्रम सन् १९९० देखि नै निरन्तर जारी छ । स्वच्छ पानीका ठुला तालहरूबाट प्रत्येक वर्ष खर्बौँ ग्यालेन पानी घट्दै जानुले वैज्ञानिकहरू थप चिन्तित बनेका छन् ।

विश्वका करिब २ हजार ठुला तालहरूलाई आधार बनाएर गरिएको पछिल्लो अध्ययनले प्रत्येक वर्ष २१.५ ट्रिलियन लिटर पानी कम भएको पाइएको छ । यसको अर्थ, सन् १९९२ देखि सन् २०२० सम्म नेभादामा रहेको अमेरिकाको सबैभन्दा ठुलो स्वच्छ पानीको तालजस्ता १७ वटा तालमा अटाउने जति पानी कम भइसकेको छ ।

अर्को शब्दमा भन्नु पर्दा, २८ वर्षको अवधिमा सन् २०१५ मा अमेरिकाभर जति पानीको प्रयोग भएको थियो त्योभन्दा बढी पानी नष्ट भइसकेको छ । विज्ञहरू भन्छन्, ‘हाम्रो पृथ्वीका लागि यो अत्यन्तै निराशाजनक तथ्याङ्क हो ।’

1000 (1)

अझ त्योभन्दा दुर्भाग्यपूर्ण अवस्था के हो भने, जुन क्षेत्रका तालहरूबाट वर्षेनी पिउनयोग्य पानी कम हुँदै गएको छ ती क्षेत्रहरूमा वर्षा पनि निकै कम हुने गरेको पाइन्छ । ती क्षेत्रहरू सुक्खाग्रस्त छन् र बढ्दो तापक्रमका कारण तालहरूमा भएको पानी पनि वाष्पीकरणको माध्यमले हावामा विलीन हुँदै गएको छ ।  

‘एकातिर तालहरूमा पानीको मात्र कम हुँदै गएको छ भने अर्कोतिर दैनिक जीवन, खेतीपाती र जलविद्युत आयोजनाहरूमा पानीको प्रयोग गर्ने क्रम पनि बढ्दै गएको छ,’ हालै प्रकाशित जर्नल साइन्समा भनिएको छ ।

सामाजिक जीवनको विविध क्षेत्रमा पानीको अनियन्त्रित प्रयोग, मौसम परिवर्तनसँगै बढ्दो तापक्रम, सामान्यभन्दा निकै कम वर्षा, नदीहरुको बहावमा परिवर्तनजस्ता पक्षलाई विज्ञहरूले चिन्ताको विषय मानेका छन् ।

‘लेक उर्मिया’ इरानको सबैभन्दा ठुलो ताल हो । ‘लेक उर्मिया’ मध्यपूर्वको पनि सबैभन्दा ठुलो ताल हो । त्यो तालले पनि १ वर्षको अवधिमा २ सय ७७ बिलियन ग्यालेन पानी गुमाउने गरेको अध्ययनले देखाएको छ ।  

तीव्र गतिमा बढ्दो तापक्रमका कारण तलाउहरूको पानी कम हुँदै जानु भनेको एकै पटक पिउने पानीको अभाव हुनु होइन । तर, अवस्थामा सुधार नआउने हो भने बिस्तारै पृथ्वीका कतिपय क्षेत्रमा स्वच्छ पानीको चर्को अभाव देखिन थाल्नेछ ।

1000

‘तालहरू सुक्दै जानुको प्रमुख कारण मानिसले अनियन्त्रित रूपमा पानीको प्रयोग गर्नु र आफ्नो आनीबानीमा सुधार नल्याउनु नै हो । तालहरूबाट आधाभन्दा बढी पानी मानवीय कारणले नै सकिएको हो,’ अध्ययनमा भनिएको छ । कोलोराडो विश्वविद्यालयका प्राध्यापक एवं वैज्ञानिक फाङ्फाङ याओको नेतृत्वमा उक्त अध्ययन गरिएको हो ।

अध्ययनमा संलग्न कोलोराडो विश्वविद्यालयका मौसमविद् बेन लिभनेह पनि मानवीय कारणले नै यो समस्या विकराल बन्दै गएको बताउँछन् । तीव्र गतिमा भइरहेको मौसम परिवर्तनमा समेत मानवीय गतिविधि नै प्रमुख कारण रहेको उनको निष्कर्ष छ । ‘यो कुनै निश्चित स्थान वा निश्चित समुदायको मात्र समस्या होइन । मौसम परिवर्तनको असरले सिङ्गो पृथ्वीलाई नै प्रतिकुल असर पार्दै लगेको छ,’ उनी भन्छन् ।

स्वच्छ पानीको तलाउहरूबाट वाष्पीकरणको माध्यमले हावमा मिसिएको पानी पुनः त्यही तालमा फर्कने सम्भावना निकै कम देखिएको अध्ययनमा उल्लेख छ । ‘तालहरूबाट वाष्पीकरणको माध्यमले हावामा मिसिएको पानी पुनः त्यही तालमा फर्कँदैन । किनभने ती क्षेत्रहरूमा वर्षा पनि निकै कम हुन्छ । हावामा मिसिएको पानी वर्षाको माध्यमले समुद्रमा पुग्ने सम्भावना बढी हुन्छ,’ अध्ययनमा भनिएको छ ।

प्राध्यापक याओ, मौसमविद् लिभनेह र उनका सहकर्मीहरुले करिब ३० वर्षदेखि सेटेलाइटको माध्यमले ती तालहरूको निरीक्षण र अनुसन्धान गर्दै आएका छन् । सन् १९९२ देखि सन् २०२० को बीचमा अमेरिकाको लेक मिडले आफ्नो ३ भागको २ भाग पानी गुमाइसकेको अध्ययनले देखाएको छ ।

यसका अतिरिक्त ‘ग्रेट साल्ट लेक’को अवस्था पनि उस्तै छ । सन् १९९२ देखि सन् २०१३ को बीचमा ‘ग्रेट साल्ट लेक’ को पानी सुक्नेक्रम तुलनात्मक रूपमा कम थियो । तर, अहिले पानी सुक्ने क्रम निकै बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।  

अर्कोतिर, नदीहरुबाट आउने पानीका कारण पनि तालहरूमा असर पर्दै गएको छ । नदीको पानी प्रवेश गरेपछि तालहरूमा फोहोर र लेदो भरिन थालेको अध्ययनले देखाएको छ । तीव्र गतिमा भइरहेको मौसम परिवर्तनका कारण बढ्दो तापक्रम, तालहरूमा पानीको मात्र कम हुने क्रम, स्वच्छ पानीको अनियन्त्रित प्रयोगजस्ता कुराहरूप्रति बेलैमा सचेत हुनु आवश्यक रहेको सुझाव पनि अध्ययनले दिएको छ ।

–एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप