बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
‘टुल्की’ नायिका स्वस्तिमालाई दर्जन प्रश्न

‘अभिनय गर्दा त पीडा भयो, भोग्नेले कसरी भोगेका होलान् ?’

मनले खाने कोही केटा भेटेकी छैन : कार्की
शुक्रबार, १२ जेठ २०८०, ०८ : ४८
शुक्रबार, १२ जेठ २०८०

अभिनेत्री स्वस्तिमा कार्कीको ‘टुल्की’ डेब्यु फिल्म हो । करिब आधा दर्जन म्युजिक भिडियोपछि उनले फिचर फिल्ममा अभिनयको अवसर पाएकी हुन् । त्यसैले, पहिलो फिल्म सफल बनाउन उनी प्रचारप्रसारमा जोडतोडले लागि परेकी छन् ।

फिल्म ‘टुल्की’  शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा उनीसँगै शिशिर वाङ्देल, सोफिया लिम्बू र सोम लामाको पनि मुख्य भूमिका रहेको छ । 

नृत्यको औपचारिक ज्ञानसहित कला क्षेत्रमा होमिएकी नवअभिनेत्री कार्कीलाई रातोपाटीको दर्जन प्रश्नः 

‘टुल्की’को अफर कसरी मिल्यो ?

–म्युजिक भिडियो अभिनय गर्ने सिलसिलामा ‘टुल्की’ फिल्मका निर्देशक देव थापाको निर्देशनमा पनि एक म्युजिक भिडियो अभिनय गर्ने अवसर मिलेको थियो । कामको सिलसिलामा भेट हुँदा उहाँले ‘टुल्की’को कथा सुनाउनुभयो । कथा तिमीलाई फिट हुन्छ, गर्छाै ? भनेर सोध्नु भयो । मैले कथा पढे, राम्रो लाग्यो । यसरी फिल्ममा जोडिएँ ।

‘टुल्की’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ, कस्तो महसुस भइरहेको छ ?

– यो मेरो डेब्यु फिल्म हो । आफ्नो अभिनयको पहिलो फिल्म हलमा लाग्दै गर्दा एकदमै खुसी मिल्दो रहेछ । भित्रभित्रै डर पनि छ । फिल्मको व्यवसाय के होला, दर्शकले मेरो अभिनयलाई कसरी लिन्छन् भनेर । अभिनयमा मैले बेष्ट दिने कोसिस गरेकी छु । फिल्मको व्यवसाय पनि राम्रो हुन्छ होला ।

प्रचार प्रसार कस्तो छ ? 

–फिल्मको प्रचारप्रसार राम्रो गरेका छौ । केही दिनदेखि यसैको प्रचार प्रसारमा म पनि दौडिरहेकी छु ।

349072201_746785193799155_1524861765527763482_n‘टुल्की’मा तपाईंको कस्तो भूमिका छ ?

– ‘टुल्की’ बहुपतिप्रथाको विषयमा बनेको फिल्म हो । यसमा शीर्ष भूमिका मैले नै गरेकी छु । सानैमा आमा गुमाएकी र बुबाको लालनपालनमा हुर्किएकी एक युवती हिमाली भेगको एक युवकसँगको प्रेममा परेपछि उसको जीवनमा आउने उतारचढाव फिल्मको मुख्य कथा हो । 

बहुपतिकी एउटै पत्नीको भूमिका निर्वाह गर्दाको अनुभव कस्तो रह्यो ?

– एक युवतीले आफूले माया गरेको व्यक्तिसँग विवाह गरेपछि ती व्यक्तिको दाजुभाइसँग आफूलाई शेयर गर्नु पर्दाको पीडा एकदमै गाह्रो हुँदो रहेछ । यस्तो चलन भएको स्थानीय महिला दिदीबहिनीको पीडा फिल्ममार्फत मैले महसुस गर्न सके । 

फिल्मको लागि अभिनय गर्दा त मलाई पीडा भयो भने भोग्नेले कसरी भोगेका होलान् । त्यो कल्पना पनि गर्न सक्दिन ।

अभिनयलाई निरन्तरता दिने सोच छ कि छैन ?

– जानेर, नजानेर, रहरले जे भए पनि म फिल्म अभिनयमा भित्रिसकेकी छु । यसलाई निरन्तरता दिने छ ।

के सोचेर रोज्नु भयो अभिनय ?

– अभिनयमा नाम कमाउने, चर्चित हुने इच्छा बच्चैदेखिको थियो । त्यो रहर पुरा गर्न र अभिनयमार्फत फिल्म क्षेत्रमा योगदान गर्न म भित्रिएकी हुँ । एउटा सफल हिरोइन बनेर चिनिने सोच छ ।

फिल्म क्षेत्रमा महिला कलाकारलाई हेर्न नजर हाम्रो समाजको राम्रो छैन भनिन्छ नि ?

– त्यो मैले पनि सुनेकी छु । एउटा महिला कलाकार परिवारको साथ र सपोर्ट बिना यो क्षेत्रमा अगाडि बढ्न सक्दिन । मलाई परिवारको साथ र सपोर्ट छ । तिमीलाई मनपरेको फिल्ड हो, राम्रो गर भनेर हौसला दिएका छन् ।

रिल जीवनमा प्रेमिका हुनुभयो, रियलमा प्रेम छ कि छैन ?

– रियल जीवनमा अहिलेसम्म प्रेम गरेकी छैन । अहिले मेरो उमेर सानै छ । यो उमेर भनेको करियर बनाउने हो । म त्यसैमा फोकस छु । अर्को कुरो मनले खाने कोही केटो पनि भेटेकी छैन ।

कस्ती केटी तपाईं ?

– म एकदमै इन्ट्रोभर्ट खालकी छु । अलिअलि लजालु स्वभावकी पनि छु । कसैसँग छिट्टै घुलमिल गर्न सक्दिन । घुलमिल भएपछि भने त्योसँग खुल्ला किताबजस्तै हुन्छु ।

कुन नायकसँग अव फिल्म खेल्न मन लागेको छ ?

– दयाहाङ राईसँग फिल्म अभिनय गर्न मन लागेको छ । म उहाँको अभिनयको फ्यान पनि हुँ । सानैदेखि उहाँ एकदमै मनपर्छ ।

अहिलेसम्मको बुझाइमा अभिनय के रहेछ ?

– अभिनय एउटा भोगाइ हो । आफू व्यक्ति एक भए पनि अभिनयमार्फत फरक फरक चरित्रको अनुभव गर्न पाइँदो रहेछ । त्यो नै अभिनयको राम्रो पक्ष रहेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप