आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सकियो प्रिमियर लिग, अन्ततः रेलिगेसनमा पर्‍यो लेस्टर सिटी

सोमबार, १५ जेठ २०८०, १० : ४८
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । यो सिजनको इङ्लिस प्रिमियर लिग सकिएको छ । प्रिमियर लिगमा आइतबार राति अन्तिम चरणका खेलहरु सम्पन्न भए । अन्तिम चरणको खेलअघि नै प्रियिर लिगको उपाधि म्यानचेस्टर सिटीले जितिसकेको थियो । अन्तिम चरणको खेल लेस्टर सिटीका लागि सबैभन्दा दूर्भाग्यपूर्ण रह्यो । अन्तिम चरणको खेलमा विजयी भएर पनि लेस्टर सिटीले रेलिगेसनलाई टार्न सकेन । लेस्टर सिटीले आफ्नो अन्तिम खेलमा वेस्ट हामलाई २—१ गोलले हरायो ।

सोही राति भएको अर्को खेलमा एभर्टनले बर्नमाउथलाई १—० गोलले हराएका कारण लेस्टर सिटी तल्लो डिभिजनमा घटुवा भएको हो । एभर्टन बराबरीमा रोकिएको भए वा बर्नमाउथसँग पराजित भएको भए लेस्टर सिटी रेलिगेसनबाट जोगिने थियो । यस्तो स्थितिमा एभर्टन रेलिगेसनमा पर्ने थियो । म्यानचेस्टर सिटी (८९ अंक), आर्सनल (८४ अंक), म्यानचेस्टर युनाइटेड (७५ अंक) र न्युक्यासल (७१ अंक) आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । प्रिमियर लिगबाट चारवटा टोली च्याम्पियन्स लिगको समूहगत चरणमा छनोट हुने प्रावधान छ ।

यसैगरी लिभरपुल (६७ अंक) र ब्राइटन (६२ अंक) भने आगामी सिजनको युरोपा लिगमा छनोट भएका छन् । प्रिमियर लिग तालिकाको पाँचौं र छैटौं स्थानमा रहने टोली युरोपा लिगको समूहगत चरणका लागि छनोट हुने प्रावधान छ ।

यसैगरी तालिकाको सातौं स्थानमा रहेको एस्टन भिल्लाले (६१ अंक) आगामी सिजनको युरोपा कन्फरेन्स लिगको छनोट चरणमा स्थान बनाएको छ । लेस्ट सिटी (३४ अंक), लिड्स युनाइटेड (३१ अंक) र साउथएम्पटन (२५ अंक) भने रेलिगेसनमा परेर तल्लो डिभिजनमा घटुवा भएका छन् । अन्तिम चरणको खेलमा एभर्टन बराबरीमा रोकिएको भए उसको अंक ३४ हुने थियो । त्यसपछि गोलअन्तरका आधारमा एभर्टनभन्दा आगाडि रहेकाले लेस्टर सिटी रेलिगेसनबाट जोगिने थियो ।

प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शनको आशासहित खेलाडीका लागि ठूलो रकम खर्च गरेको लेस्टर सिटीले तीनजना प्रशिक्षक परिवर्तन गरेको थियो । यति हुँदा पनि जारी सिजनको घरेलु लिगमा लेस्टर सिटीले ३८ मध्ये २२ खेलमा २२ खेलमा हार ब्यहोर्नुपर्यो । लेस्टर सिटीले पछिल्लो पटक सन् २०१५/१६ सिजनमा प्रिमियर लिगको उपाधि जितेको थियो । दुई वर्षअघि लेस्टर सिटीले एफए कपको उपाधि पनि चुमेको थियो ।

उपाधि विजेता म्यानचेस्टर सिटी भने आफ्नो अन्तिम खेलमा ब्रेन्टफोर्डसँग १—० गोलले पराजित भयो । म्यानचेस्टर युनाइटेडले फुलहामलाई २—१ गोलले हरायो भने टोट्टनहामले लिड्स युनाइटेडमाथि ४—१ गोलको सहज जित हासिल गर्यो । साउथएम्पटनले लिरभपुललाई ४—४ गोलको बराबरीमा रोक्यो भने आर्सनलले उल्भसलाई ५—० गोलको फराकिलो अन्तरले हरायो । चेल्सी र न्युक्यासलले १—१ गोलको बराबरी खेल्दै अंक बाँडे भने एस्टन भिल्लाले ब्राइटनलाई २—१ गोलले पराजित गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप