शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

पक्राउ परेका २७ जना पहिचानवादीलाई मुद्दा चलाउने तयारी

नेता, कार्यकर्ता नछोडे आमहड्ताल गर्ने संघर्ष समितिको चेतावनी
मङ्गलबार, १६ जेठ २०८०, १५ : २०
मङ्गलबार, १६ जेठ २०८०

विराटनगर । गत जेठ १४ गते पक्राउ परेका २७ जना नेता कार्यकर्तालाई स्थानीय प्रशासनले मुद्दा चलाउने तयारी गरेको छ । उता प्रदेश १ पुनः नामकरण संघर्ष समितिले आफ्ना कार्यकर्ता नछोडे प्रदेशव्यापी आमहड्ताल गर्ने चेतावनी दिएको छ । 

संघर्ष समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइतबारको आन्दोलनका क्रममा प्रहरीले ९० जनालाई धरपकड गर्नुका साथै गोली, ढुङ्गा, लाठी प्रहारबाट २५ भन्दा बढी शक्त घाइते बनाएको जनाएको छ । 

प्रहरीले अस्पतालमा उपचार गराइरहेका घाइतेसमेत गरी ८६ जनालाई गिरफ्तार गरेको र त्यसमध्ये २७ जनालाई अझै रिहा नगरेको भन्दै संघर्ष समितिले उनीहरुको तत्काल रिहाइको माग गरेको छ ।

पक्राउ परेका राजनीतिक तथा सामाजिक सङ्गठनका नेताहरूलाई राजबन्दीको रूपमा नलिई अपराधीसरह व्यवहार गरिरहेको प्रति निन्दा गरिएको छ । 

आन्दोलनको नेतृत्व गरिरहेका नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का उपाध्यक्ष अशोक चेम्जोङ लिम्बूलगायत २७ जनालाई मंगलवारसम्म विना शर्त रिहाइ नगरेमा जेठ १७ गतेदेखि अनिश्चितकालीन प्रदेशव्यापी आमहड्ताल गर्ने विज्ञप्तिमा भनिएको छ । 

आन्दोलनको क्रममा पदमकुमार लिम्बू ‘लाजेहाङ’ सहिद भइसकेको र प्रहरीको गोली प्रहारबाट घाइते गजेन्द्र फागो उपचाररत रहेको जानकारी दिँदै संघर्ष समितिले प्रहरी दमनबाट १५० भन्दा बढी घाइते भएको र अहिले पनि १५ जनाले मुद्दा खेपिरहेको जनाएको छ । 

संघर्ष समितिका अनुसार हालसम्म प्रहरीले नछोडेका नेता कार्यकर्ताहरुमा अशोक चेम्जोङ, खड्का लिम्बू, कुलप्रसाद लिम्बू, सुकराज लिम्बू, सुकराज थेबे, सञ्जीव लिम्बू, ताराकुमार लिम्बू, मनकुमार थेगिम, आरभी लिम्बू, प्रयास बान्तावा राई, नबीन पोमु, प्रदीप लिम्बू, सिताराम राई रहेका छन् । 

यस्तै, सन्तोष सम्बाहाम्फे, जेबी साँबा, दुर्गा मगर, मनकुमार लिम्बू, शंकर लिम्बू, अमृत राई, प्रमोद लिम्बू, सुमन केरुङ, पदम खेवाङ, रोशन लिम्बू, छविरमण सार्की, कुसुम राई, राजभक्त लिम्बू र मनकुमार माखिमलाई पनि प्रहरीले छाडेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप