शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय
इजलासमा टेकनारायण पाण्डे

‘मध्यरातमा रानीपोखरीमा लगेर मानसिक दबाब दिए, प्रहरी घेरामा बयान गराए’

‘संवादमा प्रयोग गरिएको मोबाइल मेरो व्यक्तिगत नम्बर होइन’
शुक्रबार, १९ जेठ २०८०, २० : ५०
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा सरकारका सचिव टेकनारायण पाण्डेले आफूलाई प्रहरीले मध्यरातमा निन्द्रामा मानसिक दबाब दिएको जिकिर गरेका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिँदै पाण्डेले भनेका छन्–‘अनुसन्धान अधिकारी समक्ष गरेको बयान मैले दबाबमा गरेको हुँ, मध्यरातमा निन्द्रामा भएको अवस्थामा मेट्रो प्रहरी (रानीपोखरी)मा पटक–पटक लगी मानसिक रूपमा दबाब दिइएको थियो ।’

उपराष्ट्रपतिको कार्यालयमा कार्यरत अवस्थामा पक्राउ गरिएका पाण्डेले अनुसन्धान अधिकृतहरूले आफूलाई प्रहरी घेरामा राखेर बयान गराएको जिकिर गरेका हुन् । जेठ १७ मा इजलासमा गरेको बयानमा उनले भनेका छन्–‘बयान पनि प्रहरी घेरामा राखी गराएर अन्तिममा सरकारी वकिलको सहिछाप गराइएको हुँ ।’

गिरोहका सदस्य केशव प्रसाद दुलाललाई गृह मन्त्रालयमा प्रवेश गर्न विशेष निगरानी र नियन्त्रण गरिएको दाबी गरेका पाण्डेले भनेका छन्–‘म विरुद्धका आरोप सबै झुटा र काल्पनिक हुन् ।’

शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउन ह्वाट्स एपमा दुलालसँग लामो संवाद गरेको पाण्डेले भनेका छन्–‘संवादमा प्रयोग गरिएको मोबाइल मेरो व्यक्तिगत नम्बर होइन ।’

राष्ट्रसेवकको औसत हैसियत भन्दा पनि कमजोर आर्थिक हैसियतमा आफू रहेको उल्लेख गर्दै बयानमा पाण्डेले भनेका छन्–‘गृह सचिव भएपछि सुरक्षाकर्मी व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण ऋण धन गरी घर किनेको हो, उक्त घरको ऋण भुक्तानी गर्न अझै बाँकी छ ।’ 

सवाल : तपाईंको शारिरिक तथा मानसिक स्वास्थ्य अवस्था कस्तो छ ? तपाईंलाई सोधिएको प्रश्नको जवाफ दिन सक्नु हुन्छ हुन्न ? तपाईंले कनून व्यवसायी राख्नुभएको छ, छैन ? कानु व्यवसायी राख्न सक्नु हुन्छ हुन्न ? 

जवाफ : शारिरिक रुपमा म क्यान्सरको सर्भाइवर हुँ । नियमित फलोअपमा छु । प्रहरीमा बयान दिँदा मानसिक दवावमा थिएँ । अहिले जवाफ दिन सक्ने अवस्थामा छु । मैले कानून व्यवसायी नियुक्त गरेको छु । 

सवाल : प्रतिवादीहरु मध्ये क–कसलाई चिन्नुहुन्छ ? निजहरुसँग लेनदेन रिसइबी झगडा छ छैन् ?

जवाफ : प्रतिवादीहरु मध्ये बालकृष्ण खाँण, नरेन्द्र केसी, टोपबहादुर रायमाझी, शमशेर मियाँलाई चिन्दछु । बालकृष्ण खाण र नरेन्द्र्र  केसी मन्त्रालयमा सँगै काम गरेको हिसावले, शमशेर मियाँ हज कमिटीको अध्यक्षको हिसावले र टोपबहादुर रायमाझी जिल्लाको जन प्रतिनिधिको हिसावले चिन्दछु । केशव प्रसाद दुलालसँग सुचना लिने प्रयोजनको लागी सम्पर्क मात्र भएको हो । उँहासँग अरु कुनै चिनजान छैन् । निजहरुसँग कुनै रिसइबी र झगडा छैन् । अरु प्रतिवादीहरुलाई म चिन्दिन । 

सवाल : जाहेरवाला गजेन्द्र बुढाथोकी समेत विभिन्न जाहेरवालाहरुले तपाईं समेतको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी रकम लिई अमेरिका नपठाई रकम फिर्ता समेत नगरी ठगी गरेको भन्ने जाहेरी दरखास्तहरु छन्, सो सम्बन्धमा तपाईंलाई के थाहा छ, को–को भई के कसरी कसुर गर्नुभएको हो ? खुलाइदिनुहोस् । 

जवाफ : गजेन्द्र बुढाथोकी मन्त्रालयमा शरणार्थी विषयमा बुझ्न आएका थिए । उनी आफुसमेत भएर व्यक्तिहरुसँग पैसा उठाएका रहेछन् । भुटानी शरणार्थी तेस्रो देश स्थानान्तरण हुने काम मन्त्रालयबाट हुँदैन्, तपाईं आफुले लिएको पैसा फिर्ता गर्न सक्नेभए गर्नु, तपाईंले अरुलाई दिएको पैसा फिर्ता लिन सक्नेसँग फिर्ता गर्नु र फिर्ता हुन सक्ने अवस्था छैन भने जाहेरी दिनु भनेर मैले भनेको हुँ । त्यसपछि जाहेरी दिएका हुन् । अरु जाहेरीकर्तासँग मेरो कुनै सम्पर्क छैन । भुटानी शरणार्थीका नाममा विदेश पठाएर ठगी गर्ने कार्यमा मेरो कुनै संलग्नता छैन । यस सम्बन्धमा मैले कुनै कसुर गरेको छैन । अरु को कसले के कस्तो संलग्नता छ सो सम्बन्धमा समेत मलाई कुनै जानकारी छैन । 

सवाल : तपाईंलाई सह–प्रतिवादीहरु केशव प्रसाद दुलाल र टेकनाथ रिजाल समेतका प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान तथा थप बयान समेत पढीबाची सुनाइन्छ निजहरुले गरेको उक्त बयानहरुको सम्बन्धमा तपाईंको के भनाइ छ ? खुलाई दिनुहोस् ।

जवाफ : प्रतिवादी केशव प्रसाद दुलालले भने जस्तो निजसँग मेरो कुनै आर्थिक कारोबार भएको छैन् । निजले भनेजस्तो कामती थरका सुरक्षाकर्मी मेरो सुरक्षा गार्डको रुपमा हालसम्म खटिएका छैनन् । मन्त्रालयको कर्मचारी बाहेक अरुलाई झोला लगायतका कुनै पनि सामग्री लिएर मन्त्रालयमा प्रवेश गर्ने अवस्था नै रहँदैन । मुलगेट देखी सचिवालयसम्म विभिन्न तहमा सुरक्षा चेकजाँच गरेर मात्र अत्यावश्यक भेटघाटको लागी मात्र प्रवेश गराउने व्यवस्था छ । निमन्त्रणा कार्ड समेत सुरक्षाकर्मीले चेकजाँच गरी सुरक्षाकर्मीकै रोहवरमा बुझाउने व्यवस्था रहेकोमा निजले भनेजस्तो रकम छोड्ने अवस्था कुनै पनि समयमा सम्भव नै हुँदैन । केशव प्रसाद दुलाललाई मन्त्रालयमा प्रवेश गर्न विशेष निगरानी र नियन्त्रण गरिएको थियो । दुवै सचिवालय निजका क्रियाकलाप प्रति सचेत थिए । सो आरोप सवै झुटा र काल्पनिक हो । 

टेकनाथ रिजालले बयानमा भनेजस्तो इन्द्रजित राई र टोप बहादुर रायमाझीको कार्यकायलमा म गृह सचिव थिइन । निजको कुरा काल्पनिक हो । मेरो संलग्नताको सम्बन्धमा को कसबाट के कति कुरा सुन्नुभएको हो सो समेत बयानमा खुलाउन सक्नुभएको छैन । केवल सुनेको थिएँ भनी के आधारमा लेखाउनु भयो सो सम्बन्धमा मलाई जानकारी भएन । 

सवाल : प्रतिवादी केशव प्रसाद दुलाल र तपाईं बीच विभिन्न मितिमा भएको म्यासेज सम्बन्धमा तपाईंको भनाइ के छ ? खुलाइदिनुहोस् । 

जवाफ : सम्बादमा प्रयोग गरिएको मोबाइल मेरो व्यक्तिगत नम्बर होइन । मन्त्रालयको सचिवालयमा भएको नम्बर प्रयोग गरिएको हो । गृह सचिवलाई सुराकी प्रयोग गरी सुचना संकलनको जिम्मेवारी र अधिकार हुन्छ । केशव प्रसाद दुलालाई शंका, सुचना र अनुसन्धानको सुचिमा राखी प्रणालीका लागी आवश्यक सुचना लिनेका लागी सम्पर्क स्थापित भएको हो । म व्यस्त भएको समयमा मोबाइल सचिवालयमा छाड्ने र सो समयमा केही संवादमा सचिवालयका कर्मचारीले जवाफ फर्काएको अवस्था पनि हो । स्क्रिनसट गरिएका केही संवादहरु सम्पादन गरिएको हुन सक्छन । संवाद कार्यमा रुपान्तरण हुन्छ भन्ने हुँदैन । त्यस्तै दुलालसँगको संवाद सुराकी प्रयोजनका लागी भएको हुँदा उक्त संवाद अनुरुपको व्यवहार र कार्य भएको छैन । सम्पर्क सम्बन्धमा रुपान्तरण हुन्छ भन्ने हुँदैन । दुलालसँगको सम्पर्क सम्बन्धमा स्थापित भएको छैन । 

सवाल : तपाईंले अधिकार प्राप्त अधिकारी समक्ष गर्नुभएको सवै बयानहरु व्यहोरा पढीबाची सुनाइन्छ सो बयानहरुको व्यहोरा तपाईंको हो वा होइन ? र उक्त बयानहरुमा भएका सहीछापहरु तपाईंका हुन् वा होइनन् ? 

जवाफ : मैले अनुसन्धान अधिकारी समक्ष गरेको बयान व्यहोरा मैले दवावमा गरेको हुँ । मध्यरातमा निन्द्रामा भएको अवस्थामा मेट्रो प्रहरीमा पटक–पटक लगी मानसिक रुपमा दवाव दिइएको थियो । बयान पनि प्रहरी घेरामा राखी गराएर अन्तिममा सरकारी वकिलको सहिछाप गराइएको हुँ । अनुसन्धानमा भएको बयान व्यहोरा केही मैले लेखाए बमोजिमको सत्य हो भने केही व्यहोरा प्रहरीका बहकावमा गरिएको छ । सो सम्बन्धमा मैले मेरो अनुसन्धानमा भएको मिति जेठ ३ गतेको थप बयानमा समेत खुलाएको छु । 

सवाल : अनुसन्धानका क्रममा बुझिएका बालकृष्ण पन्थी, सागरमणी पाठक र फणिन्द्रमणी पोखरेल, नर्बदा घिमिरे, गणेश बहादुर केसी समेतका व्यक्तिहरुले अनुसन्धानको क्रममा गरेको कागज व्यहोरा पढीबाची सुनाइन्छ निजहरुको भनाइ व्यहोरा के कसो हो ? 

जवाफ : सुराकीबाट प्राप्त सचुनाका आधारमा बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन जुन अघिल्लो सरकारले निश्चित प्रकृयामा पुर्याएको थियो त्यसलाई शीघ्र नेपाल सरकारबाट स्वीकृत गर्नुपर्ने अवस्था थियो । तसर्थ उक्त विषयको सुचना विभागीय मन्त्रीलाई दिइएको थियो, तल्लो स्तरको कर्मचारीलाई उक्त सुचना दिइरहनु आवश्यक थिएन् । मन्त्रीपरिषद्मा पेश भई स्वीकृत भएको प्रतिवेदन अघिल्लै क्याविनेटमा पेश भएको प्रतिवेदन हो । मन्त्रीपरिषद्को अभिलेखमा बसेको प्रतिवेदन र मन्त्रीपरिषद्बाट स्वीकृत भई छाप लागी मन्त्रालयमा प्राप्त भई सचिवको तोक आदेशपछि अभिलेखमा राखिएको कागजात कुनै पनि हालतमा हटाउन वा प्रतिस्थापन गर्न सकिदैन । अभिलेख राख्ने कर्मचारीले क्याविनेटमा स्वीकृत भएको प्रतिवेदन अभिलेखमा हुँदाहुँदै अनुसन्धान प्रयोजनका लागी अर्को प्रतिवेदन पठाउनु सरासर गल्ती र कमजोरी हो । सो विषयमा डकुमेन्ट सिर्जना र अभिलेख दुवैमा भुमिका नभएका सचिव र मन्त्रीलाई दोष लगाउनु आफ्नो कमजोरी पन्छाउनु मात्र हो । सो प्रतिवेदन सम्बन्धमा उँहाले किन यस्तो व्यहोरा लेखाउनु भयो सो सम्बन्धमा मलाई जानकारी भएन् । 

सवाल : प्रतिवादी नरेन्द्र केसीको साथबाट बरामद भएको तपाईंको हस्तलिखित भनि मिसिल साथ पेश भएको कागज देखाइन्छ सो सम्बन्धमा तपाईंको भनाइ के छ ? खुलाइदिनुहोस् ।

जवाफ : प्रतिवादी नरेन्द्र केसीको साथबाट बरामद भएको र मिसिल साथ पेश भएको भनिएको कागज देखाउँदा देखेँ । २०८० वैशख १९ मा मलाई पक्राउ पुर्जी जारी हुँदैछ भन्ने जानकारी अनौपचारिक रुपमा पाएपछि हतासमा वैयक्तिक भावना र सन्देश व्यक्तिगत प्रयोजनको लागी नोटबुकमा लेखेको थिएँ । उक्त राती म बस्न घर बाहिर गएँ । बाहिर जाने क्रममा ट्याक्सिमा उक्त नोटबुक छुट्न गएछ । सो नोटबुक नरेन्द्र के.सीको समक्ष कसरी लगियो मलाई थाहा भएन । शायद नोटबुकमा नरेन्द्र्र्र्र्र केसीको फोन नम्बर भएर ट्याक्सि ड्राइभरले छोडेको होकी थाहा भएन्  । उक्त सन्देश पक्राउ पर्ने सुचना भएपछि मानसिक दवावमा लेखेको हो पठाउने प्रयोजनले लेखेको होइन । उक्त लेखाइबाट अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभाव पार्ने मेरो कुनै मनसाय होइन् । 

सवाल : अनुसन्धानको क्रममा सहदेव नेत्र, विक्रम कैटी र प्रसनि ज्ञानेन्द्र पन्त चोमेन्द्र न्यौपाने समेतका व्यक्तिहरुले गरेको कागज व्यहारा पढीबाची सुनाइन्छ के–कसो हो ?

जवाफ : अनुसन्धानको क्रममा सहदेव नेत्र विक्रम कैटी र प्र्रसनी ज्ञानेन्द्र पन्तलाई बैंक सञ्चयकोषमा पैसा निकाल्न र राख्न पठाउने गरेको कुरा सत्य हो, गृहसचिव आफैं बैंक धाउन व्यस्तताले मिल्ने कुरा भएन् । चोमेन्द्र न्यौपानेलाई केशव दुलाल भेट गर्न आउँछन के कुरा गर्छन बुझ्नु र निजको गतिविधि निगरानी गर्नु भनेको हो । 

सवाल : तपाईं उपर चारवटा मुद्दामा सजाय हुन अभियोग दावी लिइएको छ र जाहेरवालाहरुको २८ करोड ८१ लाख ७४ हजार रकम तपाईं समेतबाट दिलाई भराइ दिन समेतको अभियोग मागदावी लिइएको अभियोगपत्र छ । सो अभियोग मागदावी बमोजिम तपाईंलाई सजाय हुनुपर्ने हो होइन ? र जाहेरवालाहरुको रकम तपाईं मसेतले फिर्ता दिनुपर्ने हो वा होइन ? सम्पुर्ण व्यहरो खुलाइदिनुहोस  ।

जवाफ : मैले म उपर दायर भएको अभियोग मागदावी सुनि पाएँ । म बिरुद्ध लागेका सवै अभियोग माग दावी झुट्टा र नियोजित छन् । राष्ट्रसेवकको हिसावले निर्वाह गर्नुपर्ने आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्ने बाहेक हुनै लोभ, लालच तथा प्रलोभवनमा परी सरकार र राज्य बिरुद्ध गर्नु नहुने कुनै कसुर गरेको छैन् । भुटानी शरणार्थी समस्यालाई सरकार र राज्यले दशकौंसम्म थाती राखेर बस्ने अवस्था थिएन । सरकार अविछिन्न उत्तराधिकारवाला संस्था हो । पूर्ववर्ती सररकाले निश्चित प्रक्रियामा लगेको विषयलाई पछिल्लो सरकारले निर्णय गरी टुंगोमा लगेको हो । मैले नहुने र गर्न नहुने काम गराउन सरकारी कागजात तयार गरी निर्णयको लागि पेश गरेको अवस्था होइन । सचिव र मन्त्रीले कुनै पनि कागजात सिर्जना गर्दैन र कुनै पनि कागजातको अभिलेख राख्दैन । मन्त्रालय प्रणालीबाट काम गर्दा कमजोरी वा गल्ती हुने संभावना रहँदैन र प्रणाली बाहिरबाट भएको कामले प्रणालीमा प्रवेश पाउँदैन । मन्त्रीपरिषद्मा प्रस्ताव पेश हुने र डकुमेन्ट अपलोड हुने आफ्नै विशिष्ट प्रक्रिया छ । सहसचिव, उपसचिव र शाखा अधिकृतको समूहले सम्पूर्ण कागजात पेश गर्ने रुजु जाँच गर्ने र सिफरिस गरी सकेपछि सचिव र मन्त्रीको निर्णय पश्चात प्रस्ताव अनुसार संलग्न हुनुपर्ने सम्पूर्ण कागजात पुन : रुजु जाँच गरी क्याविनेटको लागी अनलाइन अपलोड गर्ने काम हुन्छ । क्याविनेटबाट निर्णय प्रमाणित सहित प्राप्त कागजात सचिवको तोक आदेश पश्चात पुन : कर्मचारीको त्यहि समूहले रुजु जाँच गरी अभिलेख राख्ने काम हुन्छ । यो समग्र प्रक्रियामा सविच र मन्त्रीले गल्ती गर्ने भन्ने नै हुँदैन । 

क्याविनेटमा एकपटक डकुमेन्ट अपलोड भई स्वीकृती भएपछि मन्त्रालयको चाहनामा सो डकुमेन्ट हट्ने सच्चाउन वा प्रतिस्थापन गर्ने भन्ने नै हुँदैन् । मन्त्रीपरिषद्को निर्णयबाट भुटानी शरणार्थी समस्याको विषयमा थाती रहेका विषयहरु सदाका लागी बन्द भएका छन् । सो निर्णयबाट भुटानी शरणार्थीले मानवीय पहिचान र मानवीय सहायता प्राप्त गरेका छन् । प्रतिवेदनको थप कार्यन्वयनको लागी समिति गठन भएकोसम्म हो थप कार्यान्वयन भैसकेको अवस्था छैन । राष्ट्र सेवकको रुपमा मेरो कार्यबाट मैले कसैलाई गर्न नहुने काम गर्छु भनी प्रलोभनमा पारी आफुलाई लाभ हुने र अरुलाई हानी हुने गरी कुनै लेनदेन गरेको छैन् । 

मन्त्रालयको कार्यबाट गलत लिखत तयार भएको छैन । अघिल्लो क्याविनेटमै प्रवेश पाएको प्रतिवेदन पास भएको अवस्था हो । मैले माथि उल्लेख गरेजस्तै सचिवले कागजात सिर्जना गर्दैन र अभिलेख पनि राख्दैन । तसर्थ कुनै पनि हिसावले गलत कागजात तयार गर्ने मेरो भुमिका हुनै सक्दैन र होइन् । 

मन्त्रालयको काम गर्दा सुराकी प्रयोजनका लागी सुचना प्राप्त गर्न केशवप्रसाद दुलालसँग सम्पर्कमात्र भएको हो, कुनै पनि प्रकारको सम्बन्ध कायम भएको छैन् । जाहेरीका अन्य प्रतिवादीहरु कसैसँग पनि मेरो शरणार्थीको विषयमा सम्पर्क र सम्बन्ध भएको छैन । शरणार्थी विषयको नेपाल सरकारको निर्णय र मन्त्रालयको कामले सरकार र राज्यलाई बदनाम र हानी हुने कुनै पनि काम मबाट भएको छैन । भुटानी शरणार्थी समस्यालाई समयमा सरकारबाट निर्णय गरी समाधान नगरिएको अवस्थामा झन भयावह अवस्था उत्पन्न हुने सुचनाका आधारमा उक्त काम सम्पादन गर्नु परेको हो । भुटानी शरणार्थीहरुलाई मानवीय पहिचान र मानवीय सहायता प्रदान गरी राज्यविहिन अवस्थाबाट मुक्त गर्नु राज्यको दायित्व पुरा गर्ने भुमिका निर्वाह गरिएको हो । यसमा राज्यलाई हानी हुने कुनै काम म बाट भएको छैन । शरणार्थी समस्या सम्बन्धमा नेपाल सरकार र मन्त्रालयको निर्णय र कार्यले विगतमा सो विषयलाई मुद्दा बनाएर तेस्रो देश स्थानान्तरण गर्ने नाममा भएका अवैध गतिविधि रोकिएर पीडितहहरुले आफ्नो पैसा फिर्ता माग्दा सो क्रममा संलग्न व्यक्तिहरुले पैसा फिर्ता गर्न नसकेपछि जाहेरीका प्रतिवादीहरुले प्रतिसोध स्वरुप म माथी आरोप र लान्छना लगाएका हुन् । डा. कार्ल मेनिन्जर (मनोविज्ञ) को भनाई ‘एचिच्युड आर मोर इन्पोर्टेन्ट देन फ्याक्टस्’ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ । मेरो नियत र प्रवृत्ति भुटानी शरणार्थी समस्याको मानवीय संवेदना समयमा समाधान होस भन्ने थियो । कुनै कलुसित भावनाले मैले प्रस्तुत विषयमा कुनै काम गरेको छैन । कुनै नाजायज लाभ लिएको छै । कसैसँग यो विषयमा गठजोर गरेको छैन, राज्यलाई हानी हुने र अन्तर्राष्ट्रिय स्तरको छबिमा आँच आउने कुनै कार्य गरेको छैन । माथि उल्लेखित कुनै पनि कसुर मैले नगरेकाले मलाई एकीकृत कसुरमा सजाय हुने कुरै भएन् । 

सवाल : तपाईंको परिवारमा कति सदस्य हुनुहुन्छ ? आर्थिक अवस्था सम्बन्धमा खुलाइदिनुहोस् । 

जवाफ : मेरो परिवारमा ९० वर्षको बुवा, म, श्रीमती  छोरा र छोरी गरी पाँचजना सदस्य छौं । आम राष्ट्रसेवकको औषत हैसियत भन्दा पनि कमजोर आर्थिक हैसियतमा म छु । श्रीमतीको पनि नेपाल सरकारको लेखापाल (सिटिइभिटी) को जागिर छ । म गृहसचिव भएपछि सुरक्षाकर्मी व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण ऋण धन गरी घर किनेको हो । उक्त घरको ऋण भुक्तानी गर्न अझै बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप