कोशीमा आफ्नै नेतृत्वको सरकार निर्माणमा पहल गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । मङ्गलवार मध्यान्ह बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले गठबन्धनको ठुलो दलको हैसियतले सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय गरेको हो ।
दलको बैठकपछि कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले गठबन्धनको ठुलो दलका हैसियतले सरकारको नेतृत्वमा दाबी रहेको बताए । आफ्नो नेतृत्वमा सरकार निर्माणमा पहल गर्ने भन्दै उनले गठबन्धनमा रहेका दलसँग छलफल गरिने बताए ।
उनले भने, ‘माओवादी केन्द्र र जसपाले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ सरकार निर्माण बाटो खुलेको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएको छ ।’
तर, सरकारको नेतृत्वबारे केन्द्रले गर्ने निर्णयलाई स्वीकार गर्ने कार्कीको भनाइ छ । ‘गठबन्धन अब छलफल हुन्छ । जसो नाममा सहमति हुन्छ, उसैकै नेतृत्वमा सरकार बन्छ । तर, नेपाली कांग्रेस ठुलो दल भएकाले हाम्रो पहिलो दाबी रहन्छ । केन्द्रले के निर्णय गर्छ । त्यो मानेर अगाडि बढ्छौँ’, उनले भने ।