बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीतिक प्रतिवेदन

बाबुरामको नजरमा नेपाली राजनीतिका पाँच धार

राष्ट्रिय स्वतन्त्र पार्टी ‘राइट–अफ सेन्टर’
बिहीबार, २५ जेठ २०८०, १३ : २६
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टीले नेपालका राजनीतिक दलहरूलाई पाँचवटा धारहरूमा विभाजित गरेको छ । पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले बिहीबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा उदारवादी लोकतान्त्रिक धार, साम्यवादी धार, पुनरुत्थानवादी संवर्द्धनवादी धार, जातीय/क्षेत्रीय पहिचानवादी धार र नयाँ तथा वैकल्पिक शक्तिहरूका रूपमा विभाजन गरेको हो ।

भट्टराईले नेपाली कांग्रेसलाई उदारवादी लोकतान्त्रिक धार भएको पार्टीको रूपमा व्याख्या गरेका छन् । त्यस्तै, साम्यवादी धारमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, मसाल, नेमकिपा, वैद्य समूह, विप्लव समूह आदिलाई समावेश गरेका छन् । 

पुनरुत्थानवादी संवर्द्धनवादी धारमा राप्रपालाई पश्चगामी र रुढिवादी सोच राख्ने सानो तप्काको प्रतिनिधित्व गर्ने पार्टीको रूपमा व्याख्या गरिएको छ । जातीय/क्षेत्रीय पहिचानवादी धारका प्रतिनिधिहरूमा जसपा, लोसपा, जनमुक्ति, लिम्बूवान मञ्च लगायतका दललाई राखिएको छ । 

नयाँ तथा वैकल्पिक शक्तिहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, विवेकशील साझा पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी र नेपाल समाजवादी पार्टी राखेका छन् । यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीको वैचारिक धार अझै प्रस्ट नरहेको तथा अनौपचारिक कुराकानीमा पार्टीले आफूलाई ‘राइट–अफ सेन्टर’ (मध्य दक्षिण) धारको भन्ने गरेको उल्लेख गरेका छन् ।

राजनीतिक शक्तिहरूको अवस्थाबारे बाबुराम भन्छन्,

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त मुलुक भएको र ऐतिहासिक रूपले यसको आधुनिक अर्थ–राजनीतिक रूपान्तरण र लोकतान्त्रीकरण ढिलो भएकाले राजनीतिक दलहरूको गठन, पुनर्गठन, ध्रुवीकरणको प्रक्रिया पनि केही मौलिक प्रकृतिको रहेको छ । यहाँ केही पुराना दलहरू दोस्रो विश्वयुद्धको लगत्तै पछिको शीतयुद्धकालीन वैचारिक–राजनीतिक धारका बाहक छन् भने केही २०४६ सालको परिवर्तनदेखि २०६२/०६३ को आन्दोलन र जनक्रान्तिले अघि ल्याएका विचार र मुद्दाका वाहक छन् । केही २०७२ मा संविधानसभाबाट नयाँ संविधान जारी भएपछिका नयाँ परिवेशको विचार र मुद्दाका वाहक दलहरू भर्खर उदाउँदै छन् । 

तिनलाई मोटामोटी रूपमा यसरी वर्गीकरण गरेर हेर्न सकिन्छ :

(क) उदारवादी लोकतान्त्रिक धार

देशको पुरानो पार्टी नेपाली कांग्रेस यो धारको प्रमुख शक्ति हो । यसले आफूलाई ‘प्रजातान्त्रिक समाजवादी’ भने पनि यसको मूल चरित्र पुँजीवादी उदारवादी लोकतान्त्रिक हो । २००७ सालदेखि लोकतान्त्रिक आन्दोलनको विरासत बोकेको हुनाले यसको समाजका सबै वर्ग, जाति, समुदायमा उल्लेख्य पहुँच छ । पछिल्लो चरणमा यसले आफूलाई समयानुकूल रूपान्तरण गर्न नसकेको हुनाले यसको शक्ति खुम्चिँदै गएको छ । नेपालको पिछडिएको अर्थ–राजनीतिक धरातल र बहुजातीय, बहुभाषिक, क्षेत्रीय विविधतायुक्त परिवेशमा यसले मूलतः अनुसरण गर्ने पुँजीवादी उदारवादी नीतिबाट देशको संरचनात्मक समस्या हल हुन असम्भव छ । 

(ख) साम्यवादी धार

अन्तर्राष्ट्रिय साम्यवादी आन्दोलनकै कडीका रूपमा २००६ सालमा स्थापना भएको ‘नेपाल कम्युनिस्ट पार्टी’का विभिन्न चिराहरू यो धारमा पर्दछन् । तीमध्ये एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, मसाल, नेमकिपा, वैद्य समूह, विप्लव समूह आदि उल्लेखनीय छन् । विचार र व्यवहारमा केही अन्तर भए पनि सबैले ‘मार्क्सवाद–लेनिनवाद’ र केहीले ‘माओवाद/विचार’लाई आफ्नो मार्गनिर्देशक सिद्धान्त, ‘जनवादी केन्द्रीयता’लाई संगठनात्मक सिद्धान्त र ‘जनवाद’बाट ‘वैज्ञानिक समाजवाद’ हुँदै ‘साम्यवाद’सम्म पुग्ने आफ्नो राजनीतिक अभीष्ट मान्दछन् । केहीले बाहेक सबैले संसदीय बाटोबाटै अघि बढ्ने प्रयत्न गरिरहेकाले भनाइ र गराइ तथा बाटो र लक्ष्यको अन्तरविरोधले उनीहरूलाई लामो समयसम्म टिक्न दिँदैन भन्ने अन्तर्राष्ट्रिय अनुभवले देखाउँछ । बेलैमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिमा रूपान्तरित भएर बृहत् ध्रुवीकरण नगर्ने हो भने अहिलेकै ‘साम्यवादी’रूपमा लामो समय अघि बढ्न कठिन हुनेछ ।

(ग) पुनरुत्थानवादी संवर्द्धनवादी धार

राजतन्त्र र हिन्दू राज्यको पुनर्स्थापनालाई मुुख्य मुद्दा बनाउने यो पुनरुत्थानवादी धारको मुख्य शक्ति राप्रपा हो । जुनसुकै समाजमा पनि हुने पश्चगामी र रुढिवादी सोच राख्ने सानो तप्काको प्रतिनिधित्व गर्ने यो शक्तिबारे खासै चर्चा गरिराख्नु जरुरी हुन्न ।

(घ) जातीय/क्षेत्रीय पहिचानवादी धार

मधेसी, आदिवासी जनजाति, थारु आदि हिजोदेखि वञ्चितीकरणमा परेका जाति/क्षेत्रको पहिचान र अधिकारको मुद्दाकेन्द्रित राजनीति गर्ने यो धारका प्रतिनिधिहरूमा जसपा, लोसपा, जनमुक्ति, लिम्बूवान मञ्च लगायतका दल पर्दछन् । बहुजातीय/बहुभाषिक र क्षेत्रीय विविधतायुक्त मुलुकमा एकल जाति वा क्षेत्रको मात्र मुद्दा उठाएर घोषित लक्ष्य पूरा गर्न र लामो समय टिक्न यी दलहरूलाई कठिन हुनेछ ।

(ङ) नयाँ/वैकल्पिक शक्तिहरू

संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि नयाँ युगका नयाँ समस्या नयाँ ढंगले हल गर्ने वैकल्पिक राजनीतिको एजेन्डासहित वा पुराना दलहरूको विकल्प बन्ने चाहनासहित नयाँ–नयाँ दलहरूको उदय भइरहेछ । आ–आफ्नै ढंगले तिनीहरूको उदय भएकाले तीबारे छुट्टाछुट्टै संक्षिप्त चर्चा गर्नु उपयुक्त हुनेछ ।

- राष्ट्रिय स्वतन्त्र पार्टी : २०७९ को प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा गठित यो पार्टीले पहिलो निर्वाचनमै राष्ट्रिय पार्टी र चौथो ठुलो पार्टीको हैसियत प्राप्त गरेको छ । संवैधानिक समाजवाद, योग्यता र कर्मशीलता, भ्रष्टाचारमा शून्य सहनशीलता, प्रत्यक्ष लोकतन्त्र आदि विषयलाई आफ्नो ‘दर्शन र प्रतिबद्धता’ बनाएको यो पार्टीको वैचारिक धार अझै प्रस्ट छैन । अनौपचारिक कुराकानीमा यसले आफूलाई ‘राइट–अफ सेन्टर’ (मध्य दक्षिण) धारको भन्ने गर्दछ ।

- विवेकशील साझा पार्टी : २०७४ को स्थानीय निर्वाचनमा वैकल्पिक राजनीतिको नारासहित विशेषतः काठमाडौंमा उल्लेख्य मत ल्याएर चर्चामा आएको यो पार्टी यसको मुख्य नेतृत्वले नै पश्चगामी राजावादी बाटो लिएपछि पुनः संगठित हुने प्रयत्नमा छ । प्रगतिशील लोकतान्त्रिक धारमा उभिएर वैकल्पिक राजनीति गर्ने यसको प्रतिबद्धता कसरी अगाडि बढ्छ ? पर्खेर हेर्नुपर्नेछ ।

- जनमत पार्टी : मधेसको पहिचान र अधिकारलाई मुख्य मुद्दा बनाएर गठन भएको यो पार्टी २०७९ को निर्वाचनपछि मधेसमा शक्तिका रूपमा स्थापित भएको छ । पहिले नै जातीय/क्षेत्रीय पार्टीहरूले भरिएको मधेसमा त्यस भन्दा माथि नउठी यसले कसरी आफ्नो फरक पहिचान र अस्तित्व कायम गर्छ ? जिज्ञासाको विषय छ । 

- नागरिक उन्मुक्ति पार्टी : उत्पीडित थारु जातिको मुद्दा उठाएर विशेषतः पश्चिम तराईमा २०७९ को निर्वाचनसँगसँगै उदय भएको यो पार्टीको आगामी दिनको यात्रा पनि पर्खेर हेर्नुपर्ने स्थिति छ । 

- आम जनता पार्टी : पहिले माओवादी र पछि एमालेबाट विद्रोह गरेर बनेको यो पार्टी २०७९ को निर्वाचनपछि प्रतिनिधिसभामा उपस्थितिसहित अस्तित्वमा आएको छ । प्रगतिशील वामपन्थी रुझानको यो पार्टी भविष्यमा कुन कित्तामा उभिन्छ समयले नै बनाउनेछ ।

- नेपाल समाजवादी पार्टी : समावेशिता, संघीयता, सुशासन, समृद्धि, समाजवादको विचार र एजेन्डामा आधारित हाम्रो पार्टी नेपाल समाजवादी पार्टी देशमा बृहत् प्रगतिशील, लोकतान्त्रिक समाजवादी ध्रुवीकरणसहित नयाँ समाजवादी वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा क्रियाशील छ । जसबारे पछि विस्तारमा चर्चा गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप