चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
सारांश
- चलचित्र ‘काला हिरण’ का निर्माता अमित जानीले यो चलचित्र सलमान खानको बायोपिक नभएको प्रष्ट पारेका छन्।
- निर्माता जानीका अनुसार यो चलचित्रले बिश्नोई समाजको सङ्घर्ष, उनीहरूको विरासत र वन्यजन्तुप्रतिको समर्पणलाई पर्दामा उतार्न लागेको छ।
- सलमान खानको कानुनी टोलीले चलचित्रको प्रदर्शन र टिजर रोक्न दबाब दिएको छ।
मुम्बई । चलचित्र ‘काला हिरण’ लाई लिएर बढ्दै गएको विवादका बिच यसका निर्माता अमित जानीले बलिउड अभिनेता सलमान खानको कानुनी टोलीले पठाएको नोटिसमाथि आफ्नो प्रतिक्रिया दिएका छन्।
आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा एउटा भिडियो पोस्ट गर्दै निर्माता जानीले आफूहरूको पूरा चलचित्र सलमान खानको बायोपिक नभएको प्रष्ट पारेका छन्। यो चलचित्र सलमान खानको दृष्टिकोणबाट मात्र निर्माण नभएको उनको भनाइ छ।
निर्माता जानीले भिडियोमा भनेका छन्, ‘सलमान खानको कानुनी टोलीका तर्फबाट नोटिस पठाएर हामीमाथि चलचित्रको प्रदर्शन रोक्न र आगामी जुन २० मा सार्वजनिक हुन लागेको टिजर रोक्न दबाब दिइँदै छ।’
यसैबिच एबिपी न्युजसँगको कुराकानीमा जानीले ‘काला हिरण’ चलचित्रले बिश्नोई समाजको सङ्घर्ष, उनीहरूको विरासत र वन्यजन्तुप्रतिको समर्पणलाई पर्दामा उतार्न लागेको बताएका छन्। यस चलचित्रमा सलमान खान कथाको एउटा भाग मात्र रहेको उनको दाबी छ।
यसअघि चलचित्र ‘काला हिरण’ लाई लिएर सलमान खानका तर्फबाट कानुनी नोटिस पठाइएको थियो। सञ्चारमाध्यमका अनुसार सलमानका तर्फबाट ल फर्म डीएसके लीगलले कास्टिङ निर्देशक अक्षय पाण्डेलाई एक कानुनी नोटिस पठाएको हो।
उक्त नोटिसमा प्रस्तावित चलचित्र ‘काला हिरण’ को निर्माण र प्रचारप्रसार तत्काल रोक्न माग गरिएको छ। यो चलचित्र कथित रूपमा सलमान खानको पुरानो कालो हरिण शिकार मामिलाबाट प्रेरित रहेको भन्दै यसले सलमानको छविमा असर पुग्ने, अदालतमा चलिरहेको कानुनी प्रक्रिया प्रभावित हुन सक्ने र उनको व्यक्तिगत अधिकारको उल्लङ्घन हुने दाबी सलमानको कानुनी टोलीले गरेको छ। अभिनेता सलमानले आफ्नो नाम, पहिचान वा आफूसँग जोडिएका कुनै पनि घटनाक्रम प्रयोग गर्न अनुमति नदिएको नोटिसमा उल्लेख छ।
सलमान खानसँग जोडिएको काला हिरण शिकार मामिलामा आधारित भनिएको यस चलचित्रको पोस्टर गत शुक्रबार सार्वजनिक गरिएको थियो। आगामी जुन २० मा यसको पहिलो झलक र टिजर सार्वजनिक गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ।
चलचित्रमा सलमान खान र ग्याङ्स्टर लरेन्स बिश्नोईबिचको विवादलाई समेत देखाइने चर्चा छ। यद्यपि, चलचित्रमा मुख्य भूमिका कसले निभाउँदै छ भन्ने कुरा अहिलेसम्म गोप्य राखिएको छ। सार्वजनिक पोस्टरमा देखिएका कलाकार नयाँ अनुहार जस्ता देखिन्छन्।
सलमान खान जोडिएको यो बहुचर्चित ‘काला हिरण शिकार प्रकरण’ सन् १९९८ को हो, जतिबेला उनी जोधपुरमा चलचित्र ‘हम साथ–साथ हैं’ को सुटिङ गरिरहेका थिए। त्यस समय उनीविरुद्ध कुल चारवटा मुद्दा दर्ता भएका थिए, जसमा दुईवटा चिंकारा शिकार, एउटा कांकाणी काला हिरण शिकार र एउटा हतियार ऐन को मुद्दा सामेल थिए।
बिश्नोई समुदायको उजुरीका आधारमा सलमानका साथै अभिनेता सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे र नीलमविरुद्ध पनि मुद्दा दर्ता भएको थियो। यस मामिलामा १२ अक्टोबर १९९८ मा सलमान पहिलो पटक पक्राउ परेका थिए भने पछि उनी जमानतमा रिहा भए।
सन् २००६ को अप्रिलमा चिंकारा शिकार मामिलामा सलमानलाई सजाय सुनाइएको थियो भने सन् २०१७ को जनवरीमा उनले आर्म्स एक्ट मामिलामा सफाइ पाएका थिए। यस्तै सन् २०१८ को अप्रिल ५ मा अदालतले काला हिरण शिकार मामिलामा सलमानलाई ५ वर्षको जेल सजाय र १० हजार रुपैयाँ जरिबाना सुनाएको थियो।
सोही मुद्दामा जोडिएका अन्य कलाकारहरूले भने सफाइ पाएका थिए। सजाय सुनाइए पनि पछि सलमानले जमानत पाएका थिए। हाल यो मामिला राजस्थान उच्च अदालतमा विचाराधीन अवस्थामा छ। सन् २०२६ को मे महिनामा भएको पछिल्लो सुनुवाइपछि अदालतले यस मुद्दाको आगामी सुनुवाइ सन् २०२६ को जुलाई १३ का लागि तय गरेको छ। अभिनेता सलमान खान हाल जमानतमा बाहिरै रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण