‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
सारांश
- फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले अभिनेता रणवीर सिंहविरुद्धको असहयोगको निर्देशिका फिर्ता लिएको छ।
- आईएमपीपीएको हस्तक्षेपपछि एफडब्लूआईसीईले यो निर्णय लिएको हो र यस मामिलालाई आपसी समझदारीमा टुङ्ग्याइनेछ।
- यो विवाद 'डन ३' बाट रणवीर सिंहको अन्तिम समयमा बाहिरिएपछि उत्पन्न भएको थियो, जसले गर्दा निर्माताहरूले ठूलो आर्थिक घाटा बेहोर्नुपरेको थियो।
मुम्बई । फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले बलिउड अभिनेता रणवीर सिंहविरुद्ध जारी गरेको असहयोगको निर्देशिका तत्काल प्रभावबाट फिर्ता लिने घोषणा गरेको छ।
बुधबार भएको एउटा पत्रकार सम्मेलनपछि एफडब्लूआईसीई ले आधिकारिक विज्ञप्ति जारी गर्दै इन्डियन मोशन पिक्चर प्रोड्युसर्स एशोसिएशन (आईएमपीपीए) को हस्तक्षेप र अपिलपछि यो निर्णय लिएको जानकारी दिएको हो।
फिल्म उद्योगमा एकता, सहयोग र सद्भाव कायम राख्नु सबैभन्दा महत्त्वपूर्ण कुरा भएको उल्लेख गर्दै संस्थाले यस मामिलालाई कुराकानी र आपसी समझदारीमार्फत टुङ्ग्याउने निर्णय गरिएको प्रष्ट पारेको छ। यसअघि एफडब्लूआईसीई ले गत मे २५ मा रणवीर सिंहविरुद्ध असहयोगको आदेश जारी गरेको थियो।
उक्त आदेशमार्फत संस्थाले आफ्ना सम्पूर्ण सदस्यहरूलाई रणवीर जोडिएका कुनै पनि प्रोजेक्टमा काम नगर्न आग्रह गरेको थियो। यो विवाद रणवीर सिंह फिल्म ‘डन ३’ बाट बाहिरिएको विषयसँग जोडिएको थियो, जसलाई फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्टले निर्माण गरिरहेको थियो।
फिल्मको सम्पूर्ण तयारी पूरा भई सुटिङ सुरु हुन मात्र तीन हप्ता बाँकी छँदा रणवीर सिंह अचानक यो प्रोजेक्टबाट बाहिरिएका थिए। यसरी अन्तिम समयमा प्रोजेक्ट छोड्दा भएको ठुलो आर्थिक घाटाको क्षतिपूर्तिका रूपमा निर्माताहरूले रणवीरसँग ४५ करोड भारतीय रुपैयाँ दाबी गरेका थिए। यसैबिच मङ्गलवार रणवीर सिंहले एफडब्लूआईसीई लाई कानुनी नोटिस समेत पठाएको दाबी एनडिटिभीको रिपोर्टमा गरिएको थियो।
रणवीर सिंहमाथि ‘प्रतिबन्ध’ लगाइएको भन्ने चर्चा चलिरहँदा एफडब्लूआईसीईका मुख्य सल्लाहकार अशोक पण्डितले भने यसको खण्डन गरेका छन्। उनले एफडब्लूआईसीई ले रणवीर सिंहमाथि कहिल्यै पनि प्रतिबन्ध नलगाएको स्पष्ट पारेका हुन्।
उनले सञ्चारमाध्यमहरूलाई यस मामिलालाई प्रतिबन्धका रूपमा प्रस्तुत नगर्न अपिल गर्दै यसले अन्योल पैदा गर्ने बताए। अशोक पण्डितका अनुसार एफडब्लूआईसीई सँग कसैलाई प्रतिबन्ध लगाउने अधिकार छैन र सङ्गठनले केवल असहयोग अर्थात् सँगै काम नगर्ने निर्णय मात्र लिन सक्छ। कुनै पनि प्राविधिक, मजदुर, निर्माता वा कलाकारले कुनै व्यक्तिसँग काम गर्न चाहन्छ वा चाहँदैन भन्ने कुरा उसको लोकतान्त्रिक अधिकार भएको उनले उल्लेख गरे।
फिल्म उद्योगमा बढ्दै गएको यो विवादका बिच प्रोड्युसर्स गिल्ड अफ इन्डियाले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ। गिल्डका अनुसार हालका दिनहरूमा धेरै अभिनेता, निर्देशक र प्राविधिकहरू सुटिङ सुरु हुनु ठीक अगाडि आफ्नो प्रतिबद्धताबाट पछि हट्ने गरेका छन्, जसले गर्दा निर्माताहरूले ठुलो आर्थिक नोक्सानी बेहोर्नुपरेको छ।
आफ्ना सदस्यहरू एक्सेल इन्टरटेनमेन्ट र प्यानोरामा स्टुडियोजबाट पनि यस्तै खालका गुनासाहरू आएको गिल्डले जनाएको छ। फिल्म रिलिज वा सुटिङको केही दिनअघि गरिने यस्ता परिवर्तनले फिल्मको साख, ब्रान्ड भ्यालु र सयौँ प्राविधिक तथा क्रू मेम्बरहरूको रोजीरोटीमा गम्भीर असर पार्ने गिल्डको ठहर छ। प्रोड्युसर्स गिल्डले फिल्म क्षेत्रका सबै पक्षहरूलाई आफ्ना विवादहरू कुराकानी र आपसी समझदारीबाटै सुल्झाउन अपिल समेत गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण