शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीतिक प्रतिवेदन

नयाँ शक्तिदेखि नेसपासम्म : कहाँ–कहाँ भयो गल्ती ?

बिहीबार, २५ जेठ २०८०, २३ : ०१
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ शक्तिदेखि नेसपासम्म आइपुग्दा आफ्ना गल्तीहरूलाई औँल्याएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै डा. भट्टराईले आफ्नो पार्टीको छवि किन धमिलियो र किन कमजोर भयो त ? कहाँ–कहाँ गल्ती र कमजोरी भयो त ? भन्ने आलोचनात्मक विश्लेषण गरेका हुन् ।

‘आज हाम्रो पार्टी आफ्नो पहिचान र अस्तित्वको संकटको गम्भीर मोडमा उभिएको छ । हामी कहाँ जान हिँडेका थियौँ, कहाँ पुग्यौँ ? हामी वैकल्पिक राजनीतिक शक्ति हौँ कि परम्परागत पुरानै पार्टीका लाचार छाया हौँ ? किन हामीले पटक–पटक पार्टीको नाम र चुनाव चिह्न फेरिरह्यौँ ? हामी झुक्किएका हौँ कि, ठगिएका हौँ कि, जानाजान निहित स्वार्थका निम्ति कहिले यता कहिले उता गरेका हौँ ? हाम्रो बाटो मात्र घुमेको हो कि गन्तव्य नै फेरिएको हो ? यसको निम्ति को कति जिम्मेवार छ ? अब के गर्ने ? हामीसँग के–के विकल्प छन् ? यी तमाम प्रश्नको तथ्यपरक उत्तर हामीले खोज्नै पर्छ,’ डा. भट्टराईले भनेका छन्, ‘त्यसनिम्ति सर्वप्रथम हामी आत्मालोचक बन्नैपर्छ । जो बढी जिम्मेवारीमा छ, ऊ त्यति नै बढी आत्मालोचक बन्नुपर्दछ ।’

(१) हतारमा पार्टी घोषणा गर्नु : दोस्रो संविधानसभा कालमा नै २०७० फागुन २५ गतेको ‘नेपाल साप्ताहिक’मा बाबुराम भट्टराईको लामो आलेख ‘खाँचो नयाँ शक्तिको’ छापिएपछि राष्ट्रिय स्तरमा वैकल्पिक राजनीतिक शक्तिको औचित्य र आवश्यकताबारे बहस चलेको थियो । भलै त्यसभन्दा अघि पनि स्थानीय स्तरमा बहस र केही प्रयोग नभएका हैनन् । २०७२ सालमा संविधान जारी भएपछि नयाँ शक्ति निर्माणबारे बहस र पहल नयाँ उचाइबाट भयो । विभिन्न पार्टी परित्याग गरेका र राज्य र समाजका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका व्यक्तिहरूको संलग्नतामा २०७२ माघमा ‘नयाँ शक्ति निर्माण अभियान’ सुरु भयो । त्यसले स्वाधीनता, समावेशी/समानुपातिक/सहभागितामूलक लोकतन्त्र, सुशासन/सदाचार, समतामूलक समृद्धि र समुन्नत समाजवादका ५ ‘स’लाई मूल वैचारिक–राजनीतिक आधार बनाएर देशव्यापी अभियान चलाउने र तलैदेखि जनताको सहभागितामा ‘नयाँ शक्ति’को संगठनात्मक आधार तयार गर्ने काम सुरु गर्‍यो । त्यसै क्रममा २०७३ जेठ ३०–३१ गते काठमाडौँको दशरथ रंगशालामा देशभरिका करिब एक लाख सदस्य र समर्थकको उपस्थितिमा पार्टी स्थापनाको घोषणा गर्‍यो । त्यसपछि त्यो नयाँ शक्ति अभियान र पार्टीको आकर्षण देखेर विभिन्न प्रवृत्ति र पात्रहरू बेरोकटोक त्यस अभियानमा प्रवेश गरे । अभियानका नेतृत्वकर्ताहरू स्वयंमा निजी आकाङ्क्षाहरू पलाउन थाले र नयाँ शक्ति अभियानले बाटो बिराउन थाल्यो । 

अहिले फर्केर हेर्दा र निष्कर्ष मूल्याङ्कन गर्दा त्यसरी हतारमा पार्टी घोषणा गर्नु नै पहिलो गल्ती थियो । केही समय विभिन्न राष्ट्रिय र जनसरोकारका विषयमा सशक्त अभियान चलाएर त्यसबाट निर्मित र दीक्षित जनधार, व्यक्ति र शक्तिहरूबाट वैकल्पिक पार्टी निर्माण गर्नुपर्दथ्यो । त्यसरी मात्र नयाँ वैकल्पिक शक्तिको बलियो जग निर्माण हुन्थ्यो ।

(२) अरूसँग तालमेल गरेर चुनावमा जानु : २०७४ को फरक–फरक चरणमा भएका तीनै तहका चुनावमा आफ्नै चुनाव चिह्न र स्वतन्त्र अस्तित्वसहित सहभागी हुनुपर्नेमा अन्यथा गर्नु अर्को ठूलो गल्ती भयो । स्थानीय चुनावमा तत्कालीन सत्तामा रहेकाहरूले नयाँ पार्टीहरूलाई चुनाव चिह्न नै नदिएर घेराबन्दी गरेका थिए । तैपनि भर्खर उदाउँदै गरेको नयाँ पार्टीले अरूको चुनाव चिह्न लिएर लड्नुभन्दा स्वतन्त्र चिह्न लिनु वा चुनावै नलड्नु उपयुक्त हुन्थ्यो । संघ र प्रदेशको चुनावका क्रममा पहिले एमाले र माओवादी केन्द्रसँग गठबन्धन गर्नु र पछि त्यसलाई छाडेर कांग्रेससँग तालमेल गरेर चुनावमा भाग लिनु निकै प्रत्युत्पादक भयो । कांग्रेस, एमाले र माओवादीजस्ता पुरानो संस्थापनको मूलधारसँग जोडिएर वैकल्पिक शक्ति निर्माण गर्न खोज्नु आफैमा अन्तर्विरोधी कुरा थियो । त्यसनिम्ति पार्टीको मूल नेतृत्व मुख्य रूपमा आत्म–आलोचक बन्नैपर्छ । 

(३) हतारिएर पार्टी एकता गर्नु : २०७४ को आमनिर्वाचनको मिश्रित अनुभवपछि नयाँ वैकल्पिक शक्ति निर्माण अभियानलाई पुनः नयाँ शिराबाट अघि बढाउने महत्त्वपूर्ण पहलहरू भए । तीमध्ये वैचारिक रूपमा २०७४ फागुनमा बुद्ध जन्मस्थल लुम्बिनीबाट जारी गरिएको ‘लुम्बिनी–संकल्प २०७४’ र व्यावहारिक रूपमा २०७५ माघ १५ देखि फागुन १५ सम्म गरिएको पूर्वको चिवा भञ्ज्याङदेखि पश्चिमको झुलाघाटसम्मको ‘मध्यपहाडी यात्रा’ विशेष महत्त्वका थिए । परन्तु त्यसपछि समग्र वैचारिक–राजनीतिक, संगठनात्मक र रणनीतिक लक्ष्यका विषयमा पर्याप्त छलफल र सहमतिविनै २०७६ वैशाख २३ गते ‘संघीय समाजवादी फोरम’सँग एकता गरेर ‘समाजवादी पार्टी’ र त्यसको झन्डै एक वर्षपछि २०७७ वैशाख १० गते ‘राष्ट्रिय जनता पार्टी’सँग एकता गरेर ‘जनता समाजवादी पार्टी’ निर्माण गरियो । सैद्धान्तिक रूपमा ती दुवै एकता सही थिए । खास गरी इतिहासदेखि शासक वर्गले निर्माण गरेको पहाड र मधेसबीचको दूरी मेटाएर राष्ट्रिय एकता कायम गर्न र बढ्दो भूराजनीतिक तनावबीच देशको खण्डताको रक्षा गर्न ती पहल महत्त्वपूर्ण थिए । तर, त्यो एकता कायम गर्न नसक्नुको कारण र त्यसबाट वैकल्पिक शक्ति निर्माण अभियानमा सिकेको पाठ यहाँ उल्लेख गर्नै पर्छ ।

पहिलो, वैचारिक–राजनीतिक कारण नै हो । हाम्रो समग्र पाँच ‘स’का आधारमा राष्ट्रिय शक्ति निर्माण गर्ने सोच र त्यहाँका केही प्रमुख नेताहरूको बिल्कुल क्षेत्रीयतावादी र जातिवादी संकीर्ण सोचबीचको अन्तर्विरोध हो । दोस्रो, उनीहरूको जसरी पनि सरकारमा गएर राज्यस्रोतको दोहन गर्ने प्रवृत्ति र हाम्रोचाहिँ सरकारलाई आवश्यकताअनुसार आफ्नो घोषित एजेन्डा प्राप्ति निम्ति उपयोग गर्ने तर सुशासन/सदाचार लगायत हाम्रा प्रतिबद्धतामा दृढ रहने अडानबीचको अन्तर्विरोध हो । तेस्रो, संगठनलाई चुस्तदुरुस्त राख्ने र सामूहिक ढाँचामा चलाउने हाम्रो सोच र भद्रगोल संगठनलाई व्यक्तिवादी मनमौजी ढंंगले चलाउने उनीहरूको सोचको बीचको अन्तर्विरोध हो । यी कुराहरूका अतिरिक्त यसबाट सिक्नुपर्ने महत्त्वपूर्ण पाठ भनेको वैकल्पिक राजनीतिको निम्ति विचार र नेतृत्वको अन्तरघुलन र सामूहिक नेतृत्वको व्यावहारिक अभ्यास हो । विचार एकातिर र नेतृत्व अर्कोतिर भयो भने अपेक्षित परिणाम आउँदैन रहेछ भन्ने हामीले राम्ररी बुझ्नैपर्छ । साथै स्थापित पुँजीवादी र साम्यवादी धारको विकल्पमा स्पष्ट नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्प विना जनविश्वास प्राप्त गर्न सकिन्न भन्ने पनि बुझ्नैपर्छ ।

(४) जनआन्दोलन र जनपरिचालनप्रति उदासीनता : वर्ग, जाति, क्षेत्र, लिंग, समुदायबीच विभेद र असमानता भएको समाजमा राजनीति भनेको अन्ततः उत्पीडक र उत्पीडितबीचको सत्ता संघर्ष हो । त्यसैले वैकल्पिक राजनीति गर्नेहरूले पनि आफ्नो पक्षधरता किटान गरेर सत्य र न्यायको पक्षमा निर्मम संघर्ष गर्ने साहस गर्नुपर्छ । तर, बितेका वर्षहरूमा हामीले संघ, प्रदेश र स्थानीय तहमा राष्ट्रिय र जनसरोकारका मुद्दामा व्यापक आन्दोलन र जनपरिचालन गर्ने कुरामा उचित ध्यान दिन सकेनौँ । बेरोजगारी, भ्रष्टाचार, दलित, महिलामाथिका हिंसा, शिक्षा र स्वास्थ्य क्षेत्रको आमूल रूपान्तरण, किसान र मजदुरका समस्या, वैदेशिक रोजगारीका समस्या, राष्ट्रपतीय प्रणाली र पहिचानसहितको संघीयतानिम्ति संविधान संशोधन आदि विषयमा व्यापक जनअभियान र संघर्ष सञ्चालन गर्न सकेनौँ । खाली चुनावदेखि चुनावसम्मको राजनीति मात्र गर्ने हो भने अर्को वैकल्पिक शक्ति किन चाहियो ? भन्ने जनसमुदायका प्रश्नलाई हामीले सम्बोधन गर्नै पर्छ ।

(५) मूल नेतृत्वको उदारता र आदर्शवाद : राजनीति संघर्षको विज्ञान हो भनेर सिद्धान्तमा बुझ्दाबुझ्दै स्वभावजन्य कारणले मूल नेतृत्वले समय–समयमा अनावश्यक उदारता र आदर्शवादको प्रदर्शन गर्नु र पार्टीका साथीहरूलाई उत्प्रेरित र संरक्षण गर्न नसक्नु पनि संगठन निर्माणको क्षेत्रमा उल्लेखनीय समस्या हो । साथै, राजनीति भनेको सत्ताको निम्ति संघर्ष हो भनेर बुझ्दाबुझ्दै बेलाबखत सत्ताप्रति असक्ति देखाउनु, गठबन्धनमा सत्ता र शक्तिको बाँडफाँटमा उदासीन बन्नु, गठबन्धनका नेताहरूद्वारा पटकपटक झुक्याइँदा र ठगिँदा पनि सहनशील बन्नु जस्ता कमजोरीलाई सच्याउनै पर्छ । आपूmले नसके सक्ने साथीहरूलाई अघि सारेर जायज संघर्ष गर्नै पर्दछ ।

(६) वस्तुगत प्रतिकूलता : उपरोक्त आत्मगत पक्षका अतिरिक्त वैकल्पिक राजनीतिका निम्ति हाम्रोजस्तो पिछडिएको र जटिल भूराजनीतिले जेलिएको देशमा कायम रहेको वस्तुगत प्रतिकूलता पनि हो । एकातिर पार्टीलाई परिवर्तनशील लक्ष्यप्राप्तिको साधनसट्टा अपरिवर्तनशील धर्म वा गोत्र जस्तो ठान्ने आम चेतनास्तर र अर्कोतिर विभिन्न शक्तिकेन्द्रहरूको दृश्य–अदृश्य हस्तक्षेपकारी चलखेलको बीचमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी धारको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नु चुनौतीपूर्ण काम हो । परन्तु सक्षम र सफल नेतृत्व भनेकै वस्तुगत र आत्मगत परिस्थितिको ठीक मूल्याङ्कन गरेर प्रतिकूलतालाई अनुकूलतामा बदल्ने कार्य हो भनेर हामी हिम्मत साथ अघि बढ्नै पर्छ ।

२०७९ असार २८–२९ गतेको राष्ट्रिय भेलापछि जसपासँग सम्बन्धविच्छेद गरेर ‘नेपाल समाजवादी पार्टी’का रूपमा पुनः नयाँ शिराबाट संगठित भएर हामी अग्रगामी वैकल्पिक शक्ति निर्माणको अभियानमा लामबद्ध भएका छौँ । त्यही क्रममा हामीले विचार मिल्ने नजिकका शक्तिहरूसँग बृहत् प्रगतिशील, लोकतान्त्रिक समाजवादी ध्रुवीकरणको पहल गर्ने निर्णय पनि गरेका छौँ । २०७९ मंसिरमा सम्पन्न संघ र प्रदेशको आमनिर्वाचन हामी माओवादी केन्द्रसँग तालमेल गरेर उसैको निर्वाचन चिह्न लिएर लड्यौँ । यसले पार्टीपंक्तिमा केही अन्योल र आशंका पनि जन्माएको छ । फेरि उही पुरानै गल्ती दोहोरिन्छ कि भन्ने भय पनि छ । तर, हामी गल्ती दोहोर्‍याउने छैनौँ । खासगरी पछिल्लो चरणमा देशमा पुराना शक्तिहरूप्रति बढ्दै गएको व्यापक आक्रोश र नयाँ शक्तिहरूको तीव्र गतिमा उदय भइरहेको सन्दर्भमा हामीले विगतका सकारात्मक र नकारात्मक अनुभवहरूबाट पाठ सिकेर देशमा प्रस्ट विचार, नीति, कार्यक्रमसहितको लेफ्ट–अफ–सेन्टर (मध्यवाम) नयाँ समाजवादी विकल्प निर्माण गर्ने अभियानमा दृढतापूर्वक लाग्नै पर्छ ।

उनले संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि संविधानका अपूर्णतालाई पूर्णता दिन र देशलाई समावेशी लोकतन्त्र, संघीयता, सुशासन र समृद्धिसहित समुन्नत समाजवादको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्ति निर्माणको अभियान सुरु गर्नु सही रहेको जिकिर गरेका छन् । 

भट्टराई भन्छन्, ‘अहिले देशमा पुराना राजनीतिक शक्तिहरूको विरोधमा व्यापक जनमत बन्दै जानु र नयाँ–नयाँ शक्तिहरूको उदय हुँदै जानुले त्यसको यथेष्ट पुष्टि गर्ने उनको तर्क छ । हामीले उठाएका पाँच ‘स’का मुद्दाहरू मूल रूपमा देशकै मुद्दा बनिसकेकाले हाम्रो वैचारिक–राजनीतिक धरातल पनि सही नै थियो भन्ने पुष्टि हुन्छ । बीचमा विभिन्न पार्टी र समूहहरूसँग एकता गर्ने क्रममा पार्टीको नाउँ नयाँ शक्ति पार्टी, समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टी र फरक–फरक चुनाव चिह्न (आँखा, मसाल, छाता र हँसिया–हथौडा) भए पनि पार्टीको निर्देशक विचार र कार्यक्रम पाँच ‘स’ नै भएकाले हामीले विचार र लक्ष्य नै त्यागेका थिएनौँ भन्ने पनि साबित हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप