शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै नवलपुरको तापक्रम ४४ डिग्री सेल्सियस पुग्यो

शुक्रबार, २६ जेठ २०८०, २२ : १९
शुक्रबार, २६ जेठ २०८०

नवलपुर ।  दुई दिनअघि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम आज पुनः ‘ब्रेक’ भएको छ । 
    
जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको मौसमको विवरणअनुसार नवलपुरको दुम्कौलीमा तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको हो । यसअघि जेठ २४ गते दुम्कौलीमा अधिकतम तापक्रम ४३ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको थियो ।

जेठ २४ र २५ गते स्थिर रहेको यहाँको तापक्रम बढेर पुनः देशकै सबैभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको हावापानी विज्ञान महाशाखा/हावापानी विश्लेषण शाखाका अनुसार देशभरका विभिन्न ८३ ठाउँको तापक्रम मापन गरिएको छ । 

विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २२ स्थानमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ । मापन गरिएकामध्ये २३ स्थानको तापक्रम ३५ देखि ४० डिग्री, २९ स्थानमा ३० देखि ३५ डिग्री सेल्सियस तापक्रम मापन भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । 

विभागका विभिन्न दुई सय ७२ केन्द्रमध्ये ४० वटा केन्द्रले वर्षा मापन गरेको जनाइएको छ । पछिल्लो २४ घण्टामा झापाको अनारमनी बिर्ता केन्द्रमा सबैभन्दा बढी ६३ दशमलव दुई मिलिमिटर वर्षा मापन गरिएको विभागको विवरणमा उल्लेख छ । चालीस मिलमिटरभन्दा बढी वर्षा मापन एक स्थानमा, २५ मिलिमिटरभन्दा बढी वर्षा चार स्थान तथा १० मिलिमिटरभन्दा बढी वर्षा सात स्थानमा मापन गरिएको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप