ठमेलमा भारतीय पर्यटकको चहलपहल ह्वात्तै बढ्यो, होटेलदेखि क्लबसम्म भरिभराउ
काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । पहिले पहिले प्रायः तेस्रो मुलुकका पर्यटकहरूको केन्द्र रहने गरेको ठमेलमा अहिले भने भारतीय पर्यटकको बाहुल्यता देखिन थालेको छ ।
प्रकृति, संस्कृति र साहसिक खेलका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको नेपाल घुम्न आउने भारतीय पर्यटकहरूको केही समययता ठमेल क्षेत्रमा साँझपख विशेष चहलपहल देखिन थालेको यहाँका होटल तथा अन्य पर्यटन व्यवसायीहरू बताउँछन् । विशेष गरी काठमाडौँ आउने अधिकांश भारतीय पर्यटकहरू पशुपतिनाथ क्षेत्रमा बस्ने गरे पनि अचेल स्वयम्भूनाथ, बौद्धनाथ, पाटन र काठमाडौँ दरबार क्षेत्रका सम्पदाहरूको भ्रमणसँगै उनीहरूले ठमेललाई पनि आफ्नो केन्द्र बनाउन थालेका छन् ।
ठमेलमा रहेर नेपाली खानाको परिकार, सांस्कृतिक वातावरणको अनुभव लिनुका साथै नेपाली हस्तकलाका सामग्रीहरूको किनमेलमा उनीहरू रमाउने गरेका छन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले पछिल्लो समय भारतीय पर्यटकका कारण ठमेल क्षेत्रको अर्थतन्त्र चलायमान भएको बताए ।
‘भारतीय पर्यटकका कारण अहिले ठमेल क्षेत्रका होटल, रेस्टुरेन्ट, पसल र क्लबहरू भरिभराउ भएका छन्, यो ठमेलका लागि खुसीको कुरा हो,’ उनले भने । काठमाडौँ महानगरपालिका–१६ ठमेलस्थित चारतारे होटल रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक महेश फुँयालले अहिलेको समयमा आफ्नो होटलमा आउने पर्यटकमध्ये ३० प्रतिशत भारतीय मात्र रहने गरेको जानकारी दिए ।
नेपाल घुम्न आउने कुल पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल आउने गरेका छन् । ठमेल पुरानो सांस्कृतिक तथा ऐतिहासिक बजार हो, जहाँ मेलेश्वर मन्दिर, मैत्रीपुर महाविहार, त्रिदेवी मन्दिर, अशोक चैत्य र भगवान बहाल जस्ता थुप्रै ऐतिहासिक धरोहरहरू रहेका छन् ।
तथ्याङ्क अनुसार सन् २०२५ मा विदेशबाट नेपाल आएका कुल ११ लाख ५८ हजार ४५९ पर्यटकमध्ये छिमेकी मुलुक भारतबाट मात्र २५.२ प्रतिशत अर्थात् दुई लाख ९२ हजार ६२४ पर्यटक नेपाल भित्रिएका थिए । यस्तै, सन् २०२६ को ६ महिनामा कुल ६ लाख २० हजार ४५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जसमध्ये भारतबाट मात्र एक लाख ७२ हजार ४८१ पर्यटक रहेका छन् । भारतबाट जनवरीमा २६ हजार ६२४, फेब्रुअरीमा २२ हजार ७४५, मार्चमा २५ हजार ७२८, अप्रिलमा १५ हजार १९६, मेमा ४० हजार ७८२ र जुनमा ४१ हजार ८०९ पर्यटक नेपाल घुम्न आएका हुन् ।
नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप कार्कीले नेपाल पर्यटन बोर्डको वार्षिक नीति तथा कार्यक्रम भारत केन्द्रित गरेका कारण नेपालमा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताए । नेपालले गएको एक वर्षमा भारतका मुख्य बजारमा २४ वटा पर्यटन प्रवर्द्धनसम्बन्धी मार्ट सञ्चालन गरेको र पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका तराईका मुख्य नाकाहरूमा प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरेकाले विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीयहरूको सङ्ख्या बढेको उनको भनाइ छ ।
यसैगरी, पछिल्लो समय जलवायु परिवर्तनका कारण भारतमा गर्मी ह्वात्तै बढेकाले गर्मी छल्नका लागि पनि भारतीय पर्यटकहरू नेपाल आउने गरेका छन् । यस आगमनले पर्यटकीय राजधानी पोखराका होटलहरूसमेत भरिभराउ भएका छन् । पोखराको सराङकोटमा सञ्चालित नयाँगाउँ इको रिसोर्टका सञ्चालक विष्णुप्रसाद धितालले पछिल्लो समय भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्रलाई चलायमान बनाएको बताए ।
उनको रिसोर्टमा बढी मात्रामा भारतको उत्तर प्रदेश र विहारबाट पर्यटक आउने गरेका छन् । नेपाल र भारतको खुला नाकाका कारण सिद्धार्थ राजमार्ग हुँदै पोखरा र मुस्ताङको मुक्तिनाथसम्म बढी मात्रामा भारतीयहरू जाने गरेका छन् । नेपाल घुम्न आएका पर्यटकहरूमध्ये अधिकांश पर्यटक मुक्तिनाथ र पशुपतिनाथ लगायतका मठमन्दिर घुम्न आउने धार्मिक तीर्थयात्रीहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत नखुलेपछि बलरामकाे ७३ लाख ३० हजार रुपैयाँ जफतकाे फैसला
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण