सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेताहरू राष्ट्र र पार्टीको स्वार्थ भन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भए : नेता सिटौला

सोमबार, ०४ असार २०८०, १७ : ५५
सोमबार, ०४ असार २०८०

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरेका छन् । सोमबार काठमाडौँमा भएको ट्रेड युनियन काँग्रेसको ७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले मुलुकको नेतृत्व गर्ने नेताहरूमा राष्ट्र र पार्टीको स्वार्थ भन्दा व्यक्तिगत स्वार्थ हाबी भएकाले संविधान कार्यान्वयनमा समस्या देखिएको बताएका हुन् 

उनले पछिल्लो समय नेताहरूमा मात्रै नभएर सरकार,संसद्,न्यायालय,राज्यका संवैधानिक निकायहरू समेत संविधानले तय गरेको गन्तव्य, मूल्य र मान्यता छाडेर व्यक्तिगत स्वार्थ हाबी भएको दाबी गरे । उनले भने, ‘ नेपालको आजको राजनीतिक अवस्थाको निरन्तरता हुने हो भने र नेपाली काँग्रेस भित्रको अवस्था पनि यस्तै अवस्थामा चल्ने हो भने हामीले सोचेको गन्तव्यतर्फ पुग्न सकिँदैन ।’ 

सिटौलाले नेपाली काँग्रेस भित्रको अवस्थामा अहिले कै निरन्तरतामा चल्ने हो भने २०५८ सालतिरको अवस्था हुने बताए । उनले एक पटक नेपाली काँग्रेसले देशमा आम जनताले चाहेको जस्तो देश बनाउने बाटोमा सिङ्गो नेपाललाई हिँडाउन सक्नुपर्ने जिकिर गरे । उनले भने, ‘ देशलाई व्यवस्थापन दिनुछ । देशमा आम जनताले चाहेको जस्तो देश बनाउने जे सपना बोकेका थिए । त्यो चाहे जस्तो बाटोमा सिङ्गो नेपाललाई हिँडाउन सक्नुपर्छ । नेताहरूले पार्टी र राष्ट्रको स्वार्थ भन्दा व्यक्तिको निजी स्वार्थ हाबी भयो । नेपाली काँग्रेस लगायत सबै पार्टी,सरकार,संसद् तथा संवैधानिक निकायहरूमा समेत व्यक्तिगत स्वार्थ हाबी भएको छ । यस्तो भएपछि कसरी संविधानको सही कार्यान्वयन हुन्छ । सरकार तथा न्याय पालिकाभित्र समेत संविधानले तय गरेको गन्तव्य मूल्य र मान्यता भन्दा पनि निजी स्वार्थ हाबी भएको छ । राष्ट्रको स्वार्थ र पार्टीको स्वार्थ भन्दा व्यक्तिगत स्वार्थ हाबी भएको कारण अनेकौँ कमजोरी भएका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप