बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
विपद्

मनसुन सुरु भएयता बाढी पहिरोका १८२ घटना

१९ को मृत्यु, २८ बेपत्ता, ५४० घरपरिवार प्रभावित
बुधबार, १३ असार २०८०, २२ : २६
बुधबार, १३ असार २०८०

काठमाडौं । प्युठानमा प्युठान नगरपालिका–१० छेपानकी १४ वर्षीया सबिना घर्तिमगर मंगलबार स्कुलबाट घर फर्कँदै गर्दा फुसवाङ खोला तर्ने क्रममा बगायो । उनलाई उद्धार गरी जिल्ला अस्पताल प्युठान लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भयो । 

यो वर्ष मनसुन सुरु भएयता बाढीमा परेर घर्तीमगरको मृत्यु भएको एउटा प्रतिनिधि घटना मात्रै हो । यो वर्ष मनसुन सुरु भएयता बाढी/पहिरोका १८२ वटा घटना भएका छन् । घटनामा परि १९ जनाले ज्यान गुमाए भने २८ जना बेपत्ता छन् । 

असार ३१ गतेबाट नेपालमा मनसुन प्रवेश गरेको थियो । मनसुनबाट ७४ जिल्ला मध्ये ४० वटा जिल्ला प्रभावित भएका छन् । खासगरी सङ्खुवासभा, ताप्लेजुङ र पाँचथर प्रभावित मात्रै भएनन्, सर्वसाधारणले ज्यान पनि गुमाए । 

बाढी÷पहिरोका धेरै घटना पाँचथरमा भएको छ । यो जिल्लामा ३४ वटा बाढी पहिरोका घटना भएकोमा तीन जनाको मृत्यु भयो भने तीन जना अझै बेपत्ता छन् । २५ वटा बाढी÷पहिरोका घटना भएको सङ्खुवासभामा दुई जनाको मृत्यु भयो भने २८ जना बेपत्ता छन् । यो अवधिमा ताप्लेजुङमा ३१ वटा बाढी/पहिरोका घटना भएका थिए । जसमा तीन जनाको मृत्यु भयो भने तीन जना अझै बेपत्ता छन् । 

बाढी÷पहिरोमा परि ओखलढुङ्गामा ४, सङ्खुवासभा २, भोजपुरमा १, नुवाकोटमा १, गोरखामा १, तनहुँमा दुई, प्युठानमा १ र जुम्लामा १ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका प्रवक्ता ध्रुव बहादुर खड्काका अनुसार बाढी÷पहिरोमा परेर ५ सय ४० घर परिवार प्रभावित भएका छन् । जसमध्ये ४३ घर पूर्ण क्षति भएको छ भने १४ घरमा आंशिक क्षति भएको छ । खड्काका अनुसार यो अवधिमा अनुमानित ५ करोड ९४ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको छ । मनसुन सुरु भएयता ३२ जिल्लामा ४४ वटा चट्याङ्गका घटनामा परेर मात्रै १० जनाले ज्यान गुमाएका छन् । मानिसको मृत्यु नै हुने गरी मकवानपुर, तनहुँ, कास्की, बाग्लुङ, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, कास्की र दाङमा चट्याङ्ग गएको हो । 

यसैबीच नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वी पहाडी जिल्लामा बाढी पहिरोका कारण मानवीय सङ्कट उत्पन्न भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले ताप्लेजुङ जिल्लामा ६ जना, पाँचथरमा ६ जना र सङ्खुवासभामा २४ जना गरी ३६ जनाको मृत्यु भएको बताए । त्यस क्षेत्रमा  तत्काल उद्धारका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको र उनले सम्बन्धित निकायलाई निर्देशन दिए पनि ढिलाइ भएको बताए । 

भट्टराईकै भनाई अनुसार ताप्लेजुङ जाने ३ वटा पक्की पुल भत्काएकोले सडक सञ्जाल विच्छेद भएकोले ठुलो मानवीय सङ्कट उत्पन्न भएको छ । ताप्लेजुङमा खाद्य सङ्कट, औषधी लगायतका सामग्रीको सङ्कट भएकोले यथाशक्य छिटो व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सडकमार्ग अवरुद्ध भएकाले हवाई माध्यमबाट भए पनि खाद्यवस्तु र औषधीको व्यवस्था गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप