शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
सरकार

संघदेखि सातै प्रदेशमा एमाले प्रतिपक्षी कित्तामा सीमित

शुक्रबार, १५ असार २०८०, १५ : ३५
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । हिक्मतकुमार कार्कीको नेतृत्वमा झण्डै ६ महिना अघि बनेको कोशी प्रदेश सरकार ढलेसँगै नेकपा एमाले केन्द्रदेखि सातै प्रदेशमा प्रतिपक्षी कित्तामा सीमित भएको छ ।

२०७९ साल पुस २४ गते नेकपा माओवादी केन्द्र, राप्रपा र जसपासहितको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले शुक्रबार प्रदेश सभामा भएको मत विभाजनमा बहुमत पुर्‍याउन नसकेपछि उनी नेतृत्वको सरकार ढल्न पुग्दा दुवै तहको सरकारबाट सत्ताच्युत हुँदै प्रतिपक्षमा सीमित बनेको हो ।

मङ्सिरमा सम्पन्न निर्वाचनपछि चुनावी गठबन्धन छोडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेको सहयोगमा प्रधानमन्त्री बनेपछि एमाले, माओवादी र जसपाको नेतृत्वमा सात प्रदेशमा सरकार बनेका थिए । जसअनुसार चारवटा प्रदेशमा एमाले २ वटामा माओवादी केन्द्र र एउटामा जसपाले प्रदेश सरकारको नेतृत्व गरेका थिए ।

तर राष्ट्रपति निर्वाचनमा केन्द्रीय राजनीतिमा आएको फेरबदलसँगै एमाले नेतृत्वको समीकरण भत्किएर पुन मङ्सिर १० को निर्वाचनकै बेलाको समीकरण बनेपछि एमाले सरकारबाट बाहिरिन पुगेको हो ।

२०७९ पुस १० मा बालकोटमा बनेको गठबन्धन फागुन २५ मा भएको राष्ट्रपति चुनावसम्म पुग्दा एमालेको सत्तायात्रा बहिर्गमनको सुरुवात हुन पुगेको हो । केन्द्र सरकारबाट एमाले फागुन १५ गते बाहिरिएको थियो ।

यसरी सत्ता समीकरणमा आएको फेरबदलसँगै एमालेले यसअघि लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकार गुमाइसकेको छ । लुम्बिनीमा हाल कांग्रेस–माओवादी पुरानै गठबन्धनअनुसार नेपाली कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री भने गण्डकीमा पनि कांग्रेसकै सुरेन्द्र पाण्डे मुख्यमन्त्री छन् ।

उता सुदूरपश्चिममा पनि एमालेका राजेन्द्रसिंह रावलको सत्ता गुमेपछि कांग्रेसका कमल शाह सरकारको नेतृत्व गरिरहेका छन् ।

९ मन्त्रीसहित प्रचण्ड नेतृत्वको संघ सरकारमा सहभागी एमाले केन्द्र सरकारबाट दुई महिनामै प्रतिपक्षमा बस्न पुगेको थियो ।

त्यसपछि क्रमशः लुम्बिनीका लीला गिरी, गण्डकीका खगराज अधिकारी र सुदूरपश्चिमबाट राजेन्द्र रावल सत्ताच्युत हुन पुगेका थिए । प्रदेश १ मा भने एमाले नेता कार्कीले आफ्नो सत्ता ६ महिनासम्म लम्ब्याए पनि आगामी आर्थिक वर्षको नयाँ बजेट ल्याउन नपाउँदै उनी बहिगर्मनमा परे । माओवादी र जसपाले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पुगेका कार्कीले विश्वासको मतका लागि बिहीबार पेश गरेको प्रस्तावमा शुक्रबार प्रदेश सभामा मत विभाजन भएको थियो ।

प्रदेशसभा भएको मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मात्रै पुग्यो । जसमा एमालेका ४० र राप्रपाका ६ जना सांसदले विश्वासको मतको पक्षमा मतदान गरे । ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउनका लागि ४७ सांसद आवश्यक पर्दथ्यो । मत विभाजनमा ८९ जना सांसद उपस्थित भएका थिए तर मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का ४३ सांसद उभिन पुग्दा कार्की नेतृत्वको सरकारले निरन्तरता पाउन सकेन । काँग्रेस, माओवादी र जसपाको गरी तीन जना सांसद भने मतदानमा अनुपस्थित भए ।

कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप