शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

ओली र प्रचण्ड किन गर्दैछन् नेकपा अभावको महसुस ?

आइतबार, १७ असार २०८०, १८ : ५०

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको राजनीतिक धरातलमा यतिबेला दुई विपरीत ध्रुवमा छन् । तर असार ४ देखि १७ गतेसम्मको अवधिमा यी दुई नेताले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सम्झिएर समान दुई–दुई पटकसम्म अभिव्यक्ति दिनु संयोगमात्र हो वा यसको कुनै राजनीतिक उद्देश्य पनि छ भन्नेबारे चासो बढेको छ ।

त्यसो त, गत जेठमा झण्डै दुई साता लामो चीन भ्रमणका क्रममा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले चीनमै रातोपाटी प्रतिनिधिसँग कुरा गर्दै आफूसँग चिनियाँ नेताले नेपालका कम्युनिस्ट पार्टीबीच एकता गरे राम्रो हुन्छ भन्ने सुझाव दिएको बताएका थिए । लगत्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पनि चीन भ्रमण गरे । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीन भ्रमण सकेर हालै फर्किएका छन् । यही सेरोफेरोमा ओली र प्रचण्डले तत्कालीन नेकपालाई सम्झिएर टिप्पणी गर्ने क्रम पनि बढेको हो ।  

२०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २०७७ फागुन २३ मा विघटन भयो । सो पार्टी विघटन हुनुमा सर्वोच्च अदालतको एउटा फैसलालाई आधार बनाइयो जसमा प्रचलित कानुन बमोजिम निर्वाचन आयोगमा दर्ता भएको कुनै दलसँग मिल्दोजुल्दो नाम राख्न नमिल्ने भन्दै नाम परिवर्तन गर्ने विकल्प दिइएको थियो ।

नेकपा नाम गरेको पार्टी आफ्नो नेतृत्वमा रहेको र निर्वाचन आयोगमा पहिलादेखि नै दर्ता रहेको भन्दै ऋषि कट्टेलले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाविरुद्ध सर्वोच्च अदालतमा दिएको मुद्दाबारे अदालतले फैसला गर्नुअघि तत्कालीन सत्तारुढ दल नेकपाभित्र गुटगत संघर्ष उत्कर्षमा पुगेको थियो । संसद विघटन, पार्टी र सरकार सञ्चालनमा स्वेच्छाचारिता लगायतका विषयलाई लिएर पार्टीभित्र नेताहरु विभाजित बनेका थिए । सोही संघर्षको परिणाम पार्टी विभाजनको अवस्थामा थियो भने सर्वोच्च अदालतले नाम परिवर्तन गरी पार्टी जोगाउन दिइको सुझावलाई तत्कालीन नेकपाका कुनै पनि पक्षले महत्त्व दिएनन् । बरु सोही फैसलामा टेकेर एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किए ।

नेकपा विघटन भएर एमाले र माओवादी केन्द्रका रुपमा फर्किएको झण्डै २८ महिना भइसकेको छ । तर, दुवै दलका शीर्ष नेताहरु यतिबेला तत्कालीन नेकपाको चर्चालाई फेरि राजनीतिक धरातलमा चलायमान बनाउन थालेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यतिबेला नेकपाको चर्चा गर्न थालेका हुन् ।

नेकपाको चर्चा उत्खनन् कहाँबाट सुरु ?

नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र ब्युँतिए पनि तत्कालीन नेकपाका सचिवालय सदस्य बामदेव गौतम भने कुनै पनि दलमा आबद्ध भएनन् । बरु उनले एक्लै भए पनि नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गरेर तत्कालीन नेकपाकै लिगेसीका पक्षमा आफूलाई उभ्याए । यद्यपि, पछिल्लो समय गौतमलाई भित्र्याउन नेकपा एमालेदेखि लिएर हालै घोषणा गरिएको समाजवादी मोर्चासम्मले पनि प्रयास नगरेका होइनन् ।

असार ४ गते विभिन्न चार दल मिलेर समाजवादी मोर्चा बनाइयो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा बनाइयो, जसमा दुई दल (माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्र) तत्कालीन नेकपाका हिस्सा थिए ।

समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वाभाविक रुपमा तत्कालीन नेकपाको चर्चा गरे ।

‘नेकपाले आर्थिक सामाजिक रूपान्तरणको बाटोमा अघि बढाउनेछ भन्ने विश्वास लिएको तर दुर्भाग्य ! जनताको अपार समर्थनका बाबजुद नेकपा बचाउन सकेनौँ,’ प्रचण्डले भनेका थिए । उनले नेकपा टिक्न नसक्नुमा सबैले समीक्षा गर्नुपर्ने पनि बताए ।

‘कहाँ त्रुटि गर्‍यौँ, समीक्षा गरौँ । मलाई कहिलेकाहीँ लाग्छ–पार्टी एकता गर्न पो हतार गरेछौँ कि ? मोर्चा गठन गरेर एकता गर्ने उद्देश्य राखेको भए सफल हुन्थ्यो कि ? यो सोच्नुपर्ने प्रश्न छ,’ उनले भनेका थिए । मोर्चाको बाटोबाट नगएर फड्केर पार्टी एकतामा जाँदा दुर्घटना भएको उनको भनाइ थियो ।

असार १० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेकपाको चर्चा उत्खनन् गरे । केशवप्रसाद बडालद्वारा लिखित ‘सिंहावलोकन’ पुस्तक लोकार्पण गर्दै ओलीले तत्कालीन नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताए ।

उनले भने, ‘अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजनमा यसले यसो भन्यो भनेर मात्रै हुँदैन । त्यसका पछाडिका कारणहरु के थिए ? उद्देश्यहरु के थिए ? किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरु अलिकति आउनुपर्छ ।’ यी कुराहरुको राम्रो विश्लेषण गर्ने हो भने आगामी दिनमा सहज हुने ओलीको भनाइ थियो ।

असार १४ गते ओलीले फेरि नेकपाबारे चर्चा गरे । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा बनाउँदा भित्तामा नराम्ररी नाक ठोक्किएजसरी एमालेमै फर्किनु परेको सुनाए । उनले भने, ‘पहिले नेकपा थियो, फेरि नेकपा बनायौं, त्यसबाट नराम्रोसित भित्तामा नाक ठोक्किएजस्तो, निधार ठोक्किएजस्तो फेरि हामी नेकपा एमालेमा फर्कियौं ।’

आफूहरुविरुद्ध ‘यही हो मौका’ भनेर हमला भएको र त्यसको उपयुक्त ढंगले प्रतिवाद गरेर कम्युनिस्ट आन्दोलनलाई जोगाएको उनको भनाइ थियो ।

असार १७ गते आइतबार प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि नेकपाबारे चर्चा गरे ।

कम्युनिस्ट संस्थापक नेता नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमालेसँग एकता गरेर बनाएको नेकपा नटिक्नु दुर्भाग्य भए पनि पुनः एकताको अभियानमा लाग्नुपर्ने बताए ।

नेकपा बन्दा जनतामा ठुलो उभार देखा परेको र प्रतिगामीहरू डराएको भए पनि आफ्नै कारणले एकता टिक्न नसकेको टिप्पणीसमेत गरे । ‘त्यो एकतालाई बचाएर राष्ट्र र जनताको हितमा, समाजवादको हितमा जाने प्रचुर सम्भावना थियो त्यो बचाउन सकिएन,’ प्रचण्डले भने, ‘म अहिले कसैलाई दोषारोपण गर्न उभिएको छैन ।’

उनले एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर फेरि अगाडि बढ्ने उद्देश्य राख्नुपर्ने बताए । ‘विश्वभरिकै समाजवादको आन्दोलनको इतिहास एकता संघर्ष, विभाजन र रूपान्तरण फेरि एकता र संघर्ष भएर गुज्रँदै अघि बढेको छ,’ उनले भने, ‘नेपाली कम्युनिस्ट आन्दोलन पनि त्यही नियम अनुसार नै अगाडि बढेको छ, आज हामीले फेरि एकचोटी विचार र चिन्तन गर्नुपरेको छ कि हिजो के कारणले एकीकृत भएको कम्युनिस्ट आन्दोलन बच्न सकेन ?’

के भन्छन् विश्लेषक ?

राजनीतिक विश्लेषक हरि रोका एमाले र माओवादी केन्द्र पछिल्लो समय कमजोर बन्दै गएका कारण पनि तत्कालीन नेकपा सम्झिन बाध्य भएको तर्क गर्दछन् । नयाँ राजनीतिक शक्तिको उदय, राष्ट्रिय राजनीतिमा नयाँ दलको बढ्दो प्रभावका कारण पनि दुई ठुला कम्युनिस्ट पार्टी मिलेर बनेको तत्कालीन नेकपाकाल, जनताले गरेको विश्वास र २०७४ सालको निर्वाचन परिणाम जस्ता कारण यतिबेला दुवै दलका नेताले तत्कालीन नेकपालाई सम्झिएको उनको बुझाइ छ ।

अर्का विश्लेषक झलक सुवेदी एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै राजनीतिक भविष्यका लागि यो विषय उठान गरेको हुन सक्ने बताए । तत्कालीन नेकपाको बारेमा दुवै नेताले अभिव्यक्ति दिए पनि तत्काल फेरि एकताको सम्भावना नदेखिएको उनको भनाइ छ ।

विश्वसनीयता बढ्छ कि भन्ने लागेको हुनुपर्छ : हरि रोका

नेकपा विभाजनको तीन वर्षपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुवैले नेकपा जोगाउन नसकेकोमा आ–आफ्नो कमजोरी ‘रियलाइज’ गरेजस्तो देखिएको छ । र, उनीहरुका पछिल्ला अभिव्यक्ति सुन्दा पुनः नेकपा बिउँताउन इच्छुक भएका हुन् कि भन्ने सम्भावना देखिन्छ । किनभने भरपर्दो फोर्स यी दुवै (एमाले र माओवादी) हुन सकिरहेका छैनन् । भित्री बाहिरी चुनौतीहरु दुवैतर्फबाट देखा परिरहेका छन् । जस्तोः दुई तीन सिटमा फेरि निर्वाचन हुँदा पनि सम्भावना बढारिने नै देखिन्छ, त्यो बाहेक २०८४ को चुनाव पनि अब धेरै टाढा छैन । किनभने एउटा भ्रष्टाचारी वा मानव बेचविखनको आरोप लागेका मानिसलाई फेरि जनताले भोट दिन्छन् भन्ने हुँदैन । त्यो एउटा ठुलो समस्या पनि हो । किनभने नेकपाका मतदाता भनेका कांग्रेस र राप्रपाका भन्दा भिन्न मतदता थिए । तर नेकपा भनेर वामपन्थी आन्दोलनमा रहेका मानिसहरुलाई मत दिने मान्छेहरु जो थिए, उनीहरुको विश्वास क्रमशः टुट्दै गएको छ ।

यिनीहरु काम नलाग्ने भए, यिनीहरुलाई हामीले बहुमत वा दुई तिहाइ दिँदा पनि काम नगर्ने रहेछन्, सहज वातावरण बनाउने रहेनछन् भन्ने कुरा व्यापक बन्दै गएको छ । यसले  गर्दा अहिले दुवैतर्फको नेतृत्व पनि कृत्रिमजस्तो मात्रै भएको छ । यो अवस्थामा विगतका घटनाहरुको ‘रियलाइज’ गरेर फेरि नेकपा बनाउनेभन्ने तर्फ जाँदा विश्वसनीयता हुन्छ कि भन्ने लागेको हुनुपर्छ ।

एकातिर भन्नलाई प्रचण्डले सत्ता गठबन्धनको सरकार पाँचै वर्ष जान्छ भनिरहेका छन् भने अर्कोतिर उनले सरकार गठन हुँदा पाएको समर्थन क्रमशः घट्दै गएको दृष्टान्त बजेट पास गर्दा पनि देखिएको छ ।

कतिपय एमाले–माओवादीका नेताहरुको उत्तर (चीन) यात्रा पनि बाक्लिएको छ । यसले गर्दा पो यिनीहरुले नेकपाको कुरा गरेका हुन् कि भनेर पनि प्रश्न गर्ने गरिएको छ । तर मलाई त्यसकै कारण यिनीहरु नजिकिन थालेका हुन् भन्ने लाग्दैन । किनभने नेपालको राजनीतिमा उत्तरभन्दा दक्षिण बढी हावी भइरहेको छ भने चाइनिजहरुको कुटनीति कमजोर हुँदै गएको छ । चाइनिजहरुको कुटनीतिले अहिले त्यत्रो ठुलो काम गरेको जस्तो मलाई लाग्दैन । त्यसैले उनीहरुको आफ्नै कारणले यो महसुुस गरेका हुन् भन्ने मेरो विश्लेषण छ ।

बरु हामी विस्तारविस्तार खुइलिँदै गएका छौँ भन्ने रियलाइज भएको हुनुपर्छ । गएको निर्वाचनले पनि खुइलिँदै जाने क्रम जारी छ भन्ने देखाइदिएको हो । अहिलेको बजेटले पनि हालत पन्चर भएको छ । किनभने बजेट आकार त घट्यो । जसले उनीहरुको रोमान्स पूरा हुनसक्ने अवस्था छैन । सत्तामा पुग्ने भनेको पैसा कमाउन नै हो भन्नका लागि पनि ढुकुटीमा पैसा त हुनपर्‍यो । त्यो ढुकुटी पनि रित्तिँदै गएका कारण एउटा अवस्थामा नपुग्ने हो वा अर्थतन्त्रको ‘रिइन्स्ट्रक्चर’ नगर्ने हो भने हुँदैन भन्ने पनि बुझेका छन् । यस्ता आर्थिक सामाजिक कुराहरुले पनि नेकपाबारे यिनीहरुलाई सोच्न बाध्य बनाएको छ । तर फेरि पनि पहिलाजस्तै नीति कार्यक्रम, सैद्धान्तिक, वैचारिक विषय र कार्यक्रमका बारेमा छलफल गरेनन् वा वैकल्पिक शक्ति हुन वैकल्पिक विचारधारा पनि तयार गरेर हाम्रो विचार यो हो, आर्थिक सामाजिक कार्यक्रम यो हो भनेर नजाने हो भने फेरि एकता भए पनि काम गर्दैन । त्यो नगरी त्यस यात्रामा गए भने फेरि पनि आफूलाई सत्तामा राख्नमात्र गरेको प्रयत्न हो भन्ने हुन्छ ।

त्यसैले अहिले लोलोपोतो गरेर मिल्ने भन्ने कुराले खासै काम गर्छ भन्ने मलाई लाग्दैन । जबसम्म आर्थिक, सामाजिक कार्यक्रम बनाएर समाजवादउन्मुख कार्यक्रम भनेको यो हो भनेर आउँदैनन्, तबसम्म यिनीहरुलाई जनताले माफ गर्दैनन् । र अहिले उनीहरुले नेकपाको गीत गाउनुमा पनि विचार र कार्यक्रमसहितको एकताका लागि नै गरेका हुन् भनेर भन्न सक्ने आधार तयार भएको छैन र विश्वास पनि गर्न सकिँदैन । किनभने ओलीलाई पनि अहिले सत्ता चाहिएको छ, एकपछि अर्को मान्छे भ्रष्टाचारमा मुछिदै गएका छन् । ललिता निवास प्रकरणकै छानबिन गर्दा विष्णु पौडेल चोखो हुन सक्दैनन् । वाइडबडी आउँदा योगेश भट्टराई चोखो देखिँदैनन् । यस्ता कुराहरु क्रमशः आउँदा त बढार्नेबाहेक केही हुँदैन ।

प्रचण्डजीको पनि साख गिर्दै गएको छ । एक ठाउँ गएर एउटा कुरा भन्छन्, अर्को ठाउँ गएर गेहरु बस्त्र लगाउँछन् । यसले त उनले क्रान्तिकारिताको रुझान राख्छन् भन्ने क्रेडिबिलिटी आफैँ गुमाउँदै गएका छन् । त्यसअर्थमा अहिले हामी सर्वथा नाङ्गो बन्यौँ भने हामीलाई अरु अल्टरनेटिभ फोर्स आए भने के हुन्छ भन्ने सोच्न थालेका छन् । अहिले त कांग्रेस, एमाले, माओवादी सबैले ‘सर्पले सर्पको खुट्टा देखे’जस्तो अवस्था रहेकाले केही समयलाई मात्र सजिलो भएको छ । तर ठाउँ पर्‍यो भने कसैले कसैलाई बाँकी राख्दैन भन्नेमा पनि ढुक्क छन् । यदि कांग्रेस, एमाले र माओवादीभन्दा बाहिर पावर गयो र नयाँ फोर्स आयो भने यिनीहरुलाई त्यसले निल्छ ।

आफ्नो राजनीतिक भविष्यकै लागि भनेका हुन सक्छन् : झलक सुवेदी

आफ्नो पार्टी र नेताहरु दुवैको राजनीतिक भविष्य कमजोर भएकाले ओली र प्रचण्डले नेकपाको स्मरण गरेका हुन सक्छन् । उनीहरु पार्टी अध्यक्ष त भइरहन सक्लान् र जोरजाम गरेर गाइ बरालिएका बेला बहरले च्याएझै गरी कहिलेकाहीँ प्रधानमन्त्री पनि फुत्त खालान् । तर आफ्नो शक्तिका आधारमा राष्ट्रिय राजनीतिलाई आफू अनुकुल डोर्‍याउने कुरामा एमाले र माओवादीको शक्ति कम छ । त्यसमा माधव नेपालको त कुरै भएन । उनी त झन् कमजोर छन् । त्यसकारण आफ्नो राजनीतिक भविष्यकै लागि पनि नेकपाको कुरा गरेका हुन सक्छन् ।

कहिलेकाहीँ यिनीहरुले कांग्रेसलाई तर्साउन पनि यो कुरा गरिरहेका हुन्छन् भने कहिले राजनीतिक लाभ र पब्लिक कन्जम्प्सनका लागि पनि यो कुरा गर्ने गर्छन् । किनभने यिनीहरुबीच कुनै खिचडी पाक्दैछ, केही गर्दैछन् भन्ने बनाउन पनि यो कुरा गरेका हुनसक्छ ।

यी कारणले गर्दा नेकपा बन्ने कुरामा परिपक्व नै भयो वा आकार लिन्छ नै भन्न सकिँदैन । प्रधानमन्त्रीका रुपमा प्रचण्डलाई अहिले कम्युनिस्ट पार्टीहरु एक ठाउँमा ल्याएर आफू नेता भएर प्रधानमन्त्री टिकाउनेतिर लाग्ने भन्दा यही सरकारलाई सफल बनाउन अहिलेको भूराजनीतिक दबाब छ ।

त्यसकै कारण पनि प्रचण्ड त्यसबाटो अर्थात् नेकपा बनाउनेतिर लाग्दैनन् । अलिअलि कुरा अवश्य गर्दै जान्छन् । किनभने डेढ वर्षपछि देउवाको सरकार बनिसकेपछि प्रचण्डका लागि अर्को चुनावको तयारी थाल्नैपर्छ । त्यो तयारी गर्दा कम्युनिस्टहरुको एकताको कुरामा बढी जोड देलान् । त्यसकारण अहिले नै कम्युनिस्ट एकताको कुरा गरेर दिल्लीलाई पनि चिढ्याउने र तत्काल नहुने एकतामा बल गर्लान् भन्ने मलाई लाग्दैन ।

यद्यपि केही फस्ट लेयरका नेताहरु (झलनाथ खनाल, माधव नेपाल, वामदेव जस्ता) मान्छे विस्तारै पावरबाट मुक्त हुने त्यो प्रक्रियामा ओली–प्रचण्ड बीचमा एउटा सम्झौता भएर गयो भने एकता सम्भव होला । त्यसो गरेर मिले भने राष्ट्रिय राजनीतिमा राम्रै प्रभाव पनि हुन्छ र देशले एउटा बाटो लिन सक्छ । तर मिलेरमात्रै हुँदैन भन्ने अस्ति भर्खरको घटनाले पुष्टि गरिसकेको छ ।

त्यसकारण कमसे कम अहिलेका फस्ट लेयरका नेताहरुले बिदा लिने फ्रेम तयार पारेर चारपाँच वर्षभित्र नेतृत्व हस्तान्तरण र एकता पनि गर्ने अर्को चुनावपछि अहिलेका होइन, नयाँ मान्छे नेतृत्वमा आउँछन् भन्ने म्यासेज दिए भनेमात्रै शक्ति आर्जन हुनसक्छ, नत्र यिनीहरु मिल्दैमा शक्ति आर्जन हुन्छ भन्ने होइन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप
सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप