सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा पर्यटन प्रवर्द्धन गर्न जापानमा नेपाल फेस्टिवल आयोजना गरिँदै

मङ्गलबार, १९ असार २०८०, १८ : ५५
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । विगत १२ वर्षदेखि नेपालमा पर्यटन प्रवर्द्धन र नेपाललाई जापानमा चिनाउनका लागि गरिँदै आएको नेपाल फेस्टिवल यस वर्षपनि गैरआवसीय नेपाली संघ एनआरएन जापानले आयोजना गर्ने भएको छ ।

नेपाली कला, संस्कृति, भेषभुषा तथा नेपाली परिकारहरु एवं नेपालको परिचय जापनिज नागरिकहरुलाई गराउनुको साथै नेपालको कला-सांस्कृतिक आदान-प्रदान गर्ने उद्देश्यले सो नेपाल फेस्टिवल आयोजना गरिन लागिएको हो ।

जापानीज नागरिक नेपाल घुम्न जाउन् भन्ने उद्देश्यले गरिन लागेको फेस्टिवल नेपाली खाना, कला र संस्कृतिसँगै सिंगो नेपाल चिनाउनलाई सहयोग पुर्याउनका लागि जापानको टोकियोस्थित नाकानोमा जुलाई २२ र २३ तारिक (साउन ६ र ७ गते) गरिन लागेको फेस्टिवलका संयोजक शिवप्रसाद पौडेलले जानकारी दिए । 

“नेपाली कला संस्कृति, भेषभूषा र रितिरिवाजलाई जापानी नागरिकमा पुर्याउन र कला संस्कृतिलाई विदेशमा परिचित गराउन फेस्टिवलले सहयोग पुर्‍याउने विश्वासका साथ कार्यक्रम गर्न लागेका छौ”संयोजक पौडेलले भने, ‘ फेस्टिवलले नेपाली खाना, कला र संस्कृतिसँगै सिंगो नेपाल चिनाउने छ ।’ 

‘साथै नेपालको परम्परा, धर्म र संस्कृति झल्कने मन्दिर अथवा घरको निर्माण गर्ने छौं’ उनले भने । फेस्टिवलको उद्घाटनका लागि जापान र नेपालको तर्फबाट बहालवाल मन्त्रीको सहभागिताका लागि नेपाली राजदूतावास जापान र एनआरएन जापानले पहल गरिरहेको पौडेलले बताए ।

नेपाल र जापानका बीचमा स्थापित दैत्य सम्बन्धलाई प्रगाढ पार्दै नेपालको मौलिक पहिचानलाई जापानी समुदायका बीचमा परिचित गराइ नेपालमा जापानी पर्यटकहरूको बढ़ावा दिने, नेपाली खाना नेपाली पहिरन फेस्टिवलको प्रमुख आकर्षणको रूपमा रहने फेस्टिवलका आर्थिक संयोजक नविन निउरेले बताए । 

उनका अनुसार नेपालको संस्कृतिबारेमा जानकारी दिन नेपालको हिमालदेखि तराईसम्मका ११ वटा जातजातीको भेषभुषासहित झाँक्रीको प्रस्तुति, लोक भजन, पञ्चेबाजा, जापनिज कलाकारको प्रस्तुति रहने भएका छन् । 

फेस्टिवलको अनुमानित खर्च १ करोड ५० लाख येन छ । एनआरएन जापानले लामो समयसम्म घाटा सहेर भएपनि फेस्टिवलको आयोजना गर्दै आएको आर्थिक संयोजक निउरेले जानकारी दिए । ‘तर गतवर्ष पहिलो पटक फेस्टिवल नाफामा गयो,’ उनले भने, ‘यसवर्ष पनि नाफामा लाने हाम्रो लक्ष्य छ ।’

फेस्टिवलको स्पोनजरमा जापानीज संस्था आइएचएनओ समेत रहेको छ । फेस्टिवलमा नेपाल पर्यटन बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी धनञ्जय रेग्मीले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको निउरेले बताए ।

फेस्टिवलमा २६ वटा व्यापारिक स्टल रहने आयोजकले जनाएको छ । जसमा १० वटा नेपाली खानाको, १२ वटा व्यापपारिक तथा ४ आयोजकको प्रयोजनका लागि स्टल रहने, स्टल व्यवस्थापक संयोजक सुवास लामिछानेले जानकारी दिए । फेस्टिवलमा नेपाली खाना, नेपाली कपडा र अन्य नेपाली उत्पादनको कारोबार हुने छ ।

‘फेस्टिवलमार्फत् विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान् गौतम बुद्धको जन्मभूमि नेपाल भनेर जापनिज नागरिकलाई नेपाल चिनाउने प्रयास गर्ने छौँ,’ फेस्टिवल आयोजककी उप संयोजक संगीता अधिकारी सुवेदीले बताइन । 

नेपाल जापानको सांस्कृतिक सम्बन्धलाई सुमधुर र मजबुत गराउनका लागि जापानी र नेपाली कलाकारसहित विभिन्न जातजातिका भेषभूषासहितका कला प्रस्तुत पनि कार्यक्रममा हुने बताइएको छ ।

जापानमा नेपालीहरूको संख्या बढेसँगै धेरै जापानीहरू नेपाल घुम्न जाउन् भनेर आयोजना गरिएको फेस्टिवलमा चिनेजानेको जापानीहरूलाई लिएर नेपाली पोसाकमा उपस्थिति हुनका लागि आयोजकले अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप