मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड पत्नी सीता दाहाललाई लागेकोे पीएसपी रोग के हो ?

बुधबार, २७ असार २०८०, २० : ५२
बुधबार, २७ असार २०८०

काठमाडौं । बुधबार प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भयो । ६९ वर्षीय सीता ‘पीएसपी’ (प्रोगेसिभ सुपरान्यूक्लियर पाल्सी) रोगबाट ग्रसित थिइन् ।

पछिल्लो समय ओछ्यानमै अर्धचेत अवस्था रहेकी सीतालाई बुधबार बिहान स्वास्थ्यमा थप समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएको थियो ।

उनलाई ‘पीएसपी’ भन्ने रोग लागेको हो । ‘पीएसपी’ दुर्लभ खालको रोग हो । मस्तिष्कको एक भागका कोषिका बिग्रिन थालेपछि यो रोग लाग्ने न्यूरो अस्पताल बाँसबारीका न्यूरोलोजिष्ट डा. पुकारसिंह पाख्रिनले बताए ।

पीएसपी रोग लाग्दा शरीरमा एक प्रकारको प्रोटिन बढ्दै मस्तिष्कमा गुच्छा बन्न थाल्छन् । सोही गुच्छाको आधारमा शरीरमा लक्षण देखिने डा. पाख्रिनको भनाइ छ  । रोग बढ्दै जाँदा स्नायुका कोषिका निष्क्रिय हुँदै जाने उनले बताए ।

विश्वमा यो रोग पहिलो पटक सन् १९६४ मा पत्ता लागेको हो । विदेशको तथ्याङ्क हेर्दा प्रति एक लाख जनामध्ये ७ जनासम्मलाई पीएसपी रोग लाग्ने गर्छ । यद्यपि नेपालका यस रोगबारे खासै तथ्याङ्क छैन ।

प्रायः पीएसपी रोग वृद्धावस्थामा अर्थात् औसतमा ६५ वर्षमाथि उमेरकालाई लागेको पाइएको डा. पाख्रिनले बताए । उनका अनुसार यो रोग लाग्नुको कुनै कारण पुष्टि भएको छैन ।

शरीरमा भएको जिनमा कुनै म्यूटेसन भएमा पीएसपी रोग लाग्ने सम्भावना हुन सक्ने अध्ययनहरूले देखाएको डा. पाख्रिनले बताए । यो रोगले विस्तारै स्नायु कोषिका सुक्दै जाने भएकाले शरीरमा धेरै खालका मानसिक तथा शारीरिक समस्या उत्पन्न हुने उनको भनाइ छ ।

प्रारम्भिक लक्षण यस्तो देखिन्छ :

–आँखाको कोषिकाहरूको मुभमेन्ट गर्ने मसल्सहरूमा समस्या हुने भएकाले चलमल गर्न मिल्दैन ।

–उभिँदा सन्तुलन हुन गाह्रो हुने, ढल्ने हुन्छ ।

–मांशपेशीहरू कडा हुने ।

–हातखुट्टा काप्ने, बाउँडिने ।

–बोलीमा समस्या हुने ।

–निल्न गाह्रो हुने ।

–एन्जाइटी डिप्रेसन हुने ।

–विस्तारै सम्पूर्ण मानसिक समस्या देखिने ।

–निद्रा नलाग्ने

–हिँड्डुल गर्न नसक्ने

उपचार

पीएसपी रोगको उपचार भने छैन । बिरामीको अवस्था अनुसार उपचार गरिने डा. पाख्रिन बताउँछन् । पीएसपी रोग निर्क्योल भएपछि लक्षणका आधारमा उपचार हुने उनको भनाइ छ ।

हालसम्मका अध्ययनहरू रोग पहिचान र नियन्त्रणमा केन्द्रित छन् । पीएसपी रोगले विस्तारै शरीरमा आफ्नो प्रभाव बढाउँदै जाने उनले बताए । यो रोग लागेको तीनदेखि चार वर्षमा अरुको सहारा लिनुपर्ने अवस्था सिर्जना हुने उनको भनाइ छ ।

डा. पाख्रिनले भने, ‘पीएसपी रोग लागेपछि पूर्ण रुपमा अरुको केयरमा बस्नुपर्छ । सपोर्टिभ औषधि उपचार गर्नुपर्छ, रोग लागेको ४ वर्षपछि बिरामीलाई खाना खुवाउने, सरसफाइ लगायतका सबै हेरचाह अरुले नै गर्नुपर्छ ।’

यो रोग लागेका बिरामीको स्वास्थ्यमा धेरै खालका समस्या देखिने भएको र रोग लागेको ८÷९ वर्ष सम्ममा मृत्यु हुने गरेको उनले बताए ।

६५ वर्ष पुगेका ज्येष्ठ नागरिकमा आँखाको गेडीमा समस्या, आँखाको हेराइमा समस्या लगायतका पार्किन्सन रोग जस्तो लक्षण देखिएमा सचेत भई न्यूरोलोजिस्टसँग तत्काल परामर्श गर्न डा. पाख्रिनको सुझाव छ ।

यसरी गर्न सकिन्छ हेरचाह

–हात खुट्टामा समस्या भएमा सहज बनाउन फिजियोथेरापी गराउने ।

–शरीरलाई सन्तुलन कायम राख्न विशेषज्ञको सल्लाहमा औषधि सेवन गराउने ।

–बोल्न र निल्न दैनिक अभ्यास गराउने ।

–हेर्न सहज बनाउन विशेषखालको चस्मा लगाइदिने ।

–खाना खुवाउन पाइप प्रयोग गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप