मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सीता दाहालको निधनमा डा.तोसिमा कार्कीको अभिव्यक्तिको आलोचना

बुधबार, २७ असार २०८०, २३ : ३१
बुधबार, २७ असार २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले दुःखको घडीमा प्रधानमन्त्री प्रचण्डलाई लक्षित गरेर असंवेदनशील अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचनना भएको छ । पुराना दलको विकल्प भनिएका नेताहरूको अभिव्यक्ति असंवेदनशील हुनु दुःखद भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको भनाइ छ । 

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनमा श्रद्धाञ्जली दिन पुगेकी उनले दिएको अभिव्यक्ति असंवेदनशील भएको आरोप लागेको हो ।  तोसिमाको अभिव्यक्तिसम्बन्धी सार्वजनिक भिडियो क्लिप्समा उनले ‘आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नु भएन भने राष्ट्रका लागि के गर्नु होला त ?’ भन्नेलगायतका अभिव्यक्तिहरु दिएकी छन् । 

एक प्रश्नमा उनले भनेकी छन्–
‘.........हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुन्छ । परिवारलाई संरक्षण र जोगाउनुपर्ने दायित्व हुन्छ । त्यसमाथि पनि प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नु होला त ? भन्ने प्रश्नहरु पनि आउन सक्छन् । त्यही भएर उहाँ ब्यालेन्स नै तरिकाले लाग्नुभएको भन्ने बुझ्छु । ‍‍‍‍...... अहिले विछिप्त भएको अवस्थामा धेरै टिकाटिप्पणी नगरौँ ।'

उनले थप भनेकी छन्-  प्रधानमन्त्रीले पटक पटक यसरी परिवारका सदस्यहरु गुमाउँदै गर्दाखेरी उहाँले फर्केर आफू द्वन्द्वकालमा हुँदैगर्दा आफ्नो परिवारका सदस्यहरु, श्रीमानहरु गुमाएका, श्रीमतीहरु गुमाएका छोराछोरी गुमाएका ती तमाम आम नागरिकको दुखलाई पनि सम्झनुपर्छ । आफ्नै दुःख सरह बुझनुपर्छ । र त्यसको लागि के गर्नुुपर्छ र कसरी सम्बोधन हुनसक्छ भन्ने कुराचाहिँ प्रधानमन्त्रीको हैसियतमा भइसकेको एउटा राष्ट्रको पिताको रुपमा हेर्ने व्यक्तिले सम्झनुपर्छ ।

यस्तै तोसिमाले नयाँ युगका क्रान्तिमा होमिएका आफूहरुजस्ता  युवा महिलाहरुले सीता दाहालबाट सिक्नुपर्नेचाहिँ धेरै रहेको बताएकी छन् ।  उनले भनेकी छन्, 'जीवनभरी संघर्ष गर्दा, एउटा छोरा गुमाउँदा पनि कतिपनि बिचलित नभइकन राष्ट्रकै गरिमाय पदमा हुनुभएकी श्रीमानको सदैव साथ दिइराख्नु भयो । त्योबाट पनि हामीले के बुझ्न सक्छौँ भन्दा हिजोको दिनमा क्रान्तिमा होमिका तमाम ती महिला दिदीबहिनीहरु जो हिजो बलात्कारजस्तो क्रन्दनहरु पनि भोग्नुपर्यो । त्यस्तो सम्मको पीडा भोग्नुपरेको थियो । उत्पीडन भोग्नुपरेको थियो । त्यसका बाजजुत जुन  एउटा व्यवस्था स्थापनाका लागि संघर्ष गर्नुभएको छ ।  उहाँहरु उदाहरणीय हुनुपर्छ । हामी महिलाहरुले, हामी नयाँ युगका क्रान्तिमा होमिएका हामीजस्ता युवा पहिलाहरुले पनि उहाँबाट सिक्नुपर्नेचाहिँ कुरा छ.........।' 

आलोचना भएपछि माफी
यसैबीच तोसिमाले आफूले बोलेको बाइट तोडमोड भएको बताएकी छन् । उनले पूरा भिडियो सुन्न आग्रह गर्दै तोडमोड गरि राखिएको अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोकामा क्षमायाचना गरेकी छन् । 

तोसिमाले सामाजिक सञ्जालमा बुधबार राति लेखेकी छन्–
सम्माननीय प्रधानमन्त्रीज्यु की धर्मपत्नी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार आदर्णिय आमा सीता दाहालको असामयिक निधनले समग्र देशवासीलाई मर्माहित तुल्याएको छ, जीवनभर संघर्ष, त्याग, योगदान गरी आफ्नो श्रीमान तथा समग्र पार्टीकै खम्बा बनेर निरन्तर यो व्यवस्थाको लागी दिनुभएको योगदान लाई ईतिहासले सम्झनुपर्छ्र उहाँले आफ्नो जीवनभर विना स्वार्थ विना कुनै पद र सम्मानको लोभ, गर्नुभएको योगदान प्रति नतमस्तक छौँ, सम्मानित उहाँप्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै प्रधानमन्त्रीज्यु र समग्र परिवारलाई विचलित नभई यो दुःखद घडिको सामना गर्न शक्ति मिलोस् भनि कामना गर्न चाहन्छु ।

(म स्वयम्ले पेरिस डाँडामा राखिएको उहाँको सम्मानित पार्थिव शरिरमा फूल र श्रद्दा अर्पण गरेपछि केहि मिडियाकर्मी साथीहरुले लिनुभएको बाईटलाई तोडमोड गरी राखिएकोमा, पुरा भिडियो सुन्नुहुन आग्रह गर्न चाहन्छु् र साथै तोडमोड गरि राखिएको अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप