मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
विमानस्थल अध्यागमनमा सास्ती

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ‘शंकाकै’ भरमा विमानस्थलबाटै फर्काइँदै

मेनपावर व्यवसायी असन्तुष्ट
बिहीबार, २८ असार २०८०, १४ : ५४
बिहीबार, २८ असार २०८०

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई शंकाकै भरमा फर्काउने क्रम बढ्दै गएको भन्दै मेनपावर व्यवसायीले असन्तुष्टि पोखेका छन् । अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शंकाकै भरमा श्रमिकलाई फर्काउन थालेको उनीहरुको आरोप छ ।

वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजात पेस गर्दा पनि अध्यागमन अधिकृतको ‘मुड’को भरमा उनीहरूलाई फर्काउन थालिएको व्यवसायी बताउँछन् ।

गएराति पौने ११ बजे सलाम एयरबाट वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका १०१ जना नेपाली श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले एकसाथ फर्काएको हो । त्यस्तै बिहीबार बिहान ६ बजे कुवेत एयरबाट जान लागेका १६ जनालाई समेत फर्काइएको छ ।

इन्डेक्स म्यानपावरबाट ४७ जना, युथ म्यानपावरबाट ३२ जना, निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जना कुवेत जान लागेका थिए । उनीहरू सबैले कुवेतको भिसा लगाएर श्रम स्वीकृति पाएका थिए ।

वर्किङ भिसा, टिकट, श्रम स्वीकृति लगायतका कागजात हुँदा हुँदै पनि अनुसन्धान अधिकृतले शंका लागेको कारण देखाउँदै धमाधम फर्काउन थालेको व्यवसायीको भनाइ छ । अध्यागमन कार्यालयले भने वैदेशिक रोजगारीका लागि जान लागेका उनीहरूको कागजात शंकास्पद भन्दै रोकेको जनाएको छ ।

यसअघि गत आइतबार जोर्डन जान लागेका १५ जनालाई पनि अध्यागमन कार्यालयले रोकेको थियो । पछि उनीहरूले पेस गरेका कागजात सही रहेको पाइएपछि उडेका थिए । कम्पनीले नै टिकटको व्यवस्था मिलाएर लैजाने गरेको भए पनि अध्यागमनले रोक्दा अनावश्यक टिकट खर्चको भार बढ्ने व्यवसायीको गुनासो छ । त्यसरी उनीहरूलाई फर्काउँदा मेनपावर व्यवसायीले फेरि पठाउन ९ लाखभन्दा बढी रूपैयाँ खर्च गरेर टिकट काटेको बताइन्छ ।

त्यस्तै आज बिहान समेत फर्काएकाहरू यदि अब जान पायो भने अर्को टिकट काट्नुपर्छ । ‘ननरिफण्डेबल’ टिकटमार्फत कुवेत जान लागेकाहरू अब पुनः टिकट काटेर जानुपर्नेछ । त्यसका लागि लाखौँ रूपैयाँ फेरि खर्च गर्नुपर्ने हुन्छ ।

letter

अध्यागमनको उक्त कार्यको व्यवसायीहरूले चर्को विरोध गर्दै आएका छन् भने अध्यागमनले रोक्ने निर्णयको बचाउ गर्दै आएको छ । अध्यागमन कार्यविधि मापदण्डले तोकेको आवश्यक कागजात पेस नगर्नेहरूलाई रोक्दै आएको अध्यागमनले जनाएको छ ।

अध्यागमक विभागका महानिर्देशक झलकराम अधिकारीले वैदेशिक रोजगारी वा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजात पेस गर्न नसक्नेहरूलाई रोक्दै आएको बताए । अध्यागमन ड्युटी अधिकृतलाई शंका लागेको खण्डमा उसले रोक्न सक्ने अधिकारीको भनाइ छ ।

महानिर्देशक अधिकारीले श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागमा अर्को भिसाको कागजात रहेको पाइएपछि फर्काइएको बताए । घरेलु श्रमिकको रूपमा कुवेतमा जान लागेको पाइएकोले उनीहरूलाई रोक लगाइएको उनले प्रस्ट पारे ।

अध्यागमन कार्यालयले अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली, २०५१ तथा अध्यागमन कार्यविधि २०६५ अनुसार सम्बन्धित देशमा जानका लागि प्रस्थान अनुमति दिन नसकेको जनाउँदै आएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले यो विषयमा अध्ययन भइरहेको बताए । ‘अध्यागनबाट दुई खालको भिसा छ भनेको छ । व्यवसायीहरूले श्रम स्वीकृति लिएर जान लागेकाहरूलाई बिना कारण रोकेको भनेका छन् । अध्यागमनलाई हामीले प्रमाण दिनुहोस् भनेका छौं । यदि दुई खालको भिसा रहेको पाइए व्यवसायीलाई कारवाही गर्छौं’ महानिर्देशक दाहालले भने ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले अध्यागमनले व्यवसायीहरूलाई अनावश्यक दुःख दिइरहेको बताए । पछिल्लो समय अध्यागमनले नियतबस नै दुःख दिने काम गर्दै आएको उनको भनाइ छ ।

‘व्यवसायीमार्फत जान लागेका कामदारहरूले श्रम स्वीकृति लिएका छन् । टिकट, भिसा सबै छन् । तर, अध्यागमनका कर्मचारीले मुडको भरमा फर्काइरहेका छन्,’ अध्यक्ष भण्डारीले भने ।

सबै कागजात हुँदा हुँदै पनि अध्यागमनले शंकाको भरमा रोक्ने गरेको भन्दै उनले त्यसबाट हुने क्षतिको कसले क्षतिपूर्ति दिने भन्ने प्रश्नसमेत गरे ।

पछिल्लो समय भिजिट भिसामा जानेहरूको संख्या निकै बढिरहेको छ । भिजिट भिसाको आवरणमा वैदेशिक रोजगारमा जाने क्रम बढेको भन्दै मानव बेचबिखन अनुसन्धान ब्युरोले एक वर्षको अवधिमा ४ हजारभन्दा बढीलाई विमानस्थलबाट फिर्ता पठाएको छ ।

यस्तो क्रम बढेपछि विमानस्थलमा कडाई गर्दै उनीहरूलाई धमाधम फर्काउन लागेको हो । भिजिट भिसामा जाँदा मानव तस्करीको जोखिममा पर्नसक्ने भन्दै २०७९ वैशाखदेखि हालसम्म ४ हजार भन्दा बढीलाई अध्यागमनले फर्काएको हो ।

यो वर्षको वैशाख यतामात्रै एक हजार ८०० भन्दा बढीलाई फर्काएको अध्यागमनको तथ्यांक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप