मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगारी

जोर्डन जान लागेका १५ जनालाई अध्यागमनले फर्कायो

आइतबार, २४ असार २०८०, २० : ३०
आइतबार, २४ असार २०८०

काठमाडौँ ।  वैदेशिक रोजगारीका लागि जोर्डन जान लागेका १५ जनालाई अध्यागमन विभागले फर्काएको छ । आइतबार बिहान १० बजेको एयर अरेबियाको विमानमार्फत जोर्डन जान लागेका १ जना पुरुष र १४ जना महिला गरेर १५ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको हो । 

सुरक्षित आप्रवासन (सामी) परियोजना मार्फत तालिम लिएर एससीसी मेनपावर कम्पनी मार्फत जोर्डन जान लागेका उनीहरूलाई अध्यागमनले फर्काएको हो । 

जोर्डन काम गर्न जान आएकोमा निजहरूको वर्किङ भिसा नदेखिएको र मिनिस्ट्रि अफ इन्भस्मेन्टले भिसा जारी गर्ने निकायलाई भिसा रिन्यूको लागि अनुरोध गरेको पत्र मात्र भएकाले प्रस्थान दिन नसकिएको जानकारीसहित उनीहरूलाई फर्काएको हो । 

अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली, २०५१ तथा अध्यागमन कार्यविधि २०६५ अनुसार उनीहरूले वर्किङ भिसा जारी गरेको नदेखिएको भन्दै प्रस्थान अनुमति नदिएको अध्यागमनले जनाएको छ ।

मेनपावरका सञ्चालक अबुल शाहले सबै जना कम्पनीबाटै जारी भएको भिसा लिएर जाने क्रममा अध्यागमनले रोकेको बताए । 

‘उहाँहरूले जिरो कस्टमा जान लागेका हुन् । सबै कम्पनीले नै भिसा पठाउने, टिकट समेत कम्पनीले नै काटेर पठाएको थियो । तर, वर्किङ भिसा जारी नभएकाले फर्कायौ भनिरहेको छ । जबकि हामीले वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली सबै कागजात पेश गरेपछि श्रम स्वीकृति दिइएको थियो,’ शाहले भने । 

भिसा रिन्यूका लागि अनुरोध भएको भन्दै अध्यागमनले फर्काएको भन्दै उताबाट भिसा जारी भइसकेको प्रष्ट उल्लेख गरिएको तर, अध्यागमनका कर्मचारीले अग्रेजी नजानेको भरमा कामदारलाई फर्काएन नहुने उनको भनाई छ । 

त्यसरी जानेमा ६ जनाको सेक्युरिटी पास भएर भित्र गइसकेका थिए । तर, ९ जनाको सेक्युरिटी चेक गर्ने क्रममा भिसा जारी नभएको कारण देखाउँदै सबैजनालाई फर्काइदिएको उनको भनाई छ । 

जोर्डनको हकमा पेपर भिसा मात्र आउने गरेको भन्दै उनले अध्यागमनले भने अनलाइन हेर्दा भिसा नदेखाएको कारण बताएको उनको भनाई छ । 

अध्यागमनले रोकेपछि उनीहरूको उडान नद्ध भएको छ । जान नपाएपछि उनीहरूलाई सामीको होस्टेलमा राखिएको छ । 

यो विषयमा श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपाल वैदेशिक रोजगारी व्यवसायी संघलाई समेत जानकारी गराइएको उनले बताए । संघका अध्यक्ष राजेन्द्र भण्डारीले कामदारलाई रोकेको बारेमा जानकारी आएको र यसबारेमा बुझ्न अध्यागमन जान लागेको बताए । 

अध्यागमन एयरपोर्टका सूचना अधिकारी झंकनाथ ढकालले अनलाइनमा वर्किङ भिसा जारी भएको नदेखिएको कारण रोकिएको बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप