मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कथामा परिणत सीता ‘आमा’

शुक्रबार, २९ असार २०८०, १२ : ४०
शुक्रबार, २९ असार २०८०

सिङ्गो देश हिजो (२७ असार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नि सीता दाहालको निधनको खबरले देशै स्तब्ध बन्यो । संसारभर उक्त समाचारले समवेदनाको तरङ्ग प्रवाहित गर्यो । देशले एउटा धरोहर गुमायो । क्रान्ति यात्रामा लामबद्ध लाखौँको पंक्तिले एउटा अभिभावक गुमायो । 

एउटा जुन, अस्तायो सदाका लागि । एउटा चम्किलो तारा अस्तायो सदा सदाका लागि । पार्टीले एउटा आस्थाको धरोहर गुमायो । सिंगो देशले एउटा प्रथम महिला गुमायो । नेपाली क्रान्ति नायकले परिवर्तनको युद्धमा एउटा बलियो सारथी गुमायो । एउटा जिउँदो इतिहास कथामा परिणत भयो । दुनियाँकै एउटा दुर्लभ इतिहास अब एउटा कथाको रूपमा संसारभर र विशेषगरी नेपाली समाजमा युगौँयुगसम्म पढिरहने, भनिरहने र सुनिरहने कथा बन्यो । अर्थात् पशुपति आर्यघाटमा हजारौँ जनसागरका आँखा अगाडि राष्ट्रिय सम्मानका साथ सम्माननीय प्रधानमन्त्री कमरेड प्रचण्ड पत्नी, नेपालकी प्रथम महिला तथा नेकपा (माओवादी केन्द्र) की सल्लाहकार सीता दाहालको अन्त्यष्टि गरियो ।

कथामा परिणत सीता ‘आमा’ नेपाली इतिहासकै सर्वोत्कृष्ट कृतिको पात्र हुनेछन् । इतिहासमा आजसम्म नपढिएको सिर्जनाको पात्र हुनेछन् । उनीमाथि लेखिएको उपन्यास त्याग, समर्पण, साहस र वीरताको गाथाले भरिएको हुनेछ । स्वप्नद्रष्टाका निम्ति चम्किलो प्रकाश हुनेछ । असहाय र दीनदुःखीका निम्ति विश्वासको महाकाव्य हुनेछ । दोस्रो दर्जामा पारिएकाका निम्ति जीवनको मूल्यबोध गराउने एउटा ग्रन्थ बन्नेछ ।

म्याक्सिम गोर्कीले लेखेको ‘आमा’ उपन्यास २०औँ शताब्दीमा क्रान्तिको आधार बन्यो । सीता आमाले निर्माण गरेको आफ्नै जीवनको कथाले २१औँ शताब्दीमा अर्को एउटा क्रान्तिको लहर सिर्जना गर्नेछ । 

धेरै नलेखिएको, धेरै नभनिएको तर एउटा सत्य कुरा के हो भने पार्टीको मुख्य नेतासँगै रहेर पार्टी निर्माणमा उनले खेलेको भूमिका असाधारण थियो ।

मानव सिर्जनाका थुप्रै कथा हामीले सुनेका छौँ । लेखिएका ग्रन्थ पढेका छौँ । पर्दामा उतारिएका थुप्रै कथा हेरेका छौँ । हामीले रामायणमा निष्ठा र समर्पण कि प्रतीक ‘सीता’का बारेमा सुन्यौँ । महाभारत युद्धको सूत्रधारमध्येकी एक द्रौपदी पढ्यौँ । हामीले एउटी विद्रोही नारीको कथा ‘झाँसीकी रानी’ हेर्यौँ । नेपाली संस्कृतिलाई चीनको तिब्बतसम्म विस्तार गर्ने ‘भृकुटी’को जीवनगाथा पढ्यौँ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा उल्लेख्य योगदान गरेका रोजा लक्जेम्बर्ग, क्रुप्सकाया आदिको भूमिका पढ्यौँ, तर यो सीता ‘आमा’को कथा बिल्कुल फरक, व्यापक र आधुनिक हुनेछ । 

कथामा सीता ‘आमा’को मुख्य भूमिका आउनेछ, एउटा नायक निर्माणको कुशल कालिगड । एउटा सार्वभौम सत्य के हो भने नेपाली राजनीतिक इतिहासमा तीन दशकसम्म सर्वाधिक चर्चाको शिखरमा रहने र विश्वले सम्झिने एक मात्र व्यक्ति हुन् कमरेड प्रचण्ड । झन्डै साढे दुई सय वर्ष संस्थागत इतिहास बोकेको राजतन्त्र अन्त्य गरेर गणतन्त्र प्राप्त गर्ने लडाइँका कमान्डर अर्थात् महानायक हुन् कमरेड प्रचण्ड । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका डिजाइनर हुन् प्रचण्ड । नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायमा मुक्ति र स्वतन्त्रताको सञ्चार गर्ने नेता हुन् कमरेड प्रचण्ड । उनै प्रचण्डलाई नायक र महानायक बनाउनमा धेरैका भूमिका छन् । महान् सहिदहरू, बेपत्ता योद्धा र घाइते, पार्टी नेता, कार्यकर्ता र जनता, तर त्यो अभियानमा सबैभन्दा निर्णयक र महत्त्वपूर्ण भूमिकामा कोही थियो भने ती हुन् सीता ‘आमा’ । राजनीतिक यात्राका लागि प्रेरणा दिने, घर––व्यवहार र बालबच्चाको रेखदेख र संरक्षण गरेर आफ्नो नायकलाई पूरै ध्यान आफ्नो कर्ममा समर्पित हुन मद्दत गर्ने तिनै सीता ‘आमा’ र उनको भूमिका निर्णायक महत्त्वको थियो । 

पार्टी निर्माण र युद्धमा सीता ‘आमा’ 
टुटफुट र विभाजनले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई ४० को दशकमा एकीकृत गरेर नेपालमा क्रान्तिका लागि सक्षम पार्टी निर्माण गर्ने कुरा सामान्य थिएन । झन् नेपालमा दीर्घकालीन जनयुद्ध सुरु गरेर विजयको यो उचाइसम्म ल्याउने कुरा असम्भवजस्तै थियो । आममान्छेले नदेखेको यो सम्भावनालाई वास्तविकतामा बदल्न नेतृत्व गरेका सहयोद्धा जीवनसाथीलाई साथ दिनु सीता ‘आमा’को अर्को महत्त्वपूर्ण भूमिका थियो । 

राज्यले टाउकोका मूल्य तोकेर एक नम्बरको आतंककारी घोषणा गरेको आफ्नो जीवनसाथीलाई सँगै हिँडेर मात्र होइन, जोगाएर यो ठाउँमा ल्याउन आमाले निर्वाह गरेको ऐतिहासिक भूमिका संसारकै दुर्लभ परिघटना हो । धेरै नलेखिएको, धेरै नभनिएको तर एउटा सत्य कुरा के हो भने पार्टीको मुख्य नेतासँगै रहेर पार्टी निर्माणमा उनले खेलेको भूमिका असाधारण थियो । 

कुशल अभिभावकीय भूमिकाले सीता ‘आमा’को कथालाई थप समृद्ध गर्दछ । पार्टीको सर्वोच्च नेताको जीवनसाथी हुनुको नाताले पनि पार्टीमा अभिभावकीय भूमिका स्वतः हुने गर्छ । पार्टी नेताहरूको बीचको सम्बन्धको व्यवस्थापन अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण कार्य हो । आफ्ना चारजना सन्तानलाई हुर्काउनु, बढाउनु, पढाउनु र सिकाउनु सामान्य कुरा होइन । 

हामीले धेरैजना नेता देखेका छौँ, जसका छोराछोरी राजनीतिभन्दा टाढा छन् । अझ युद्धमा सहभागी नेताका छोराछोरी बाबुको बाटो पछ्याएर, विचार बोकेर आन्दोलनमा जोडिनु दुर्लभ कुरा नै हो । यो मानेमा सीता ‘आमा’ सर्वाधिक सफल आमाहरू मध्येकी एक हुन् । जसले आफ्ना सन्तानलाई आधारभूत तहको शिक्षा दिँदै युद्धमा सहभागी हुन प्रेरित गरिन् र उनको मार्गदर्शनमा तीन छोरी (ज्ञानु, रेणु, गंगा) र एक छोरा (प्रकाश) जनयुद्धमा सामेल भए । सीता ‘आमा’को यो भूमिकाले कथालाई पूर्णतातिर लैजान्छ । 

अब्बल व्यक्तित्व
सामान्य किसान परिवारमा २०११ सालमा जन्मेकी थिइन् । १५ वर्षको कलिलो उमेरमै परम्परागत रूपमा उनको विवाह भएको थियो । गोरो हँसिलो र सालीनता उनको अनुहारमा देख्न सकिने विशेषता थियो । पार्टीभित्र होस् वा परिवारभित्र आइपर्ने सबै परिस्थितिमा समान व्यवहार गर्न सक्ने एउटा छुट्टै क्षमता थियो । 

सत्तामा होस् वा संघर्षको मैदानमा सबै परिस्थितिमा समान व्यवहार रहने गर्दथ्यो । लोभ लालच र स्वार्थभन्दा माथि उठेको एउटा निष्कलंकित व्यक्तित्व थियो । पार्टीभित्र होस् वा बाहिर सबैका समस्यालाई गम्भीरतापूर्वक सुन्न सक्ने र समाधानका लागि प्रयत्न गर्ने एउटा जिम्मेवार व्यवहार उनमा थियो । जसले गर्दा पार्टी भित्रका असन्तुष्टि र समस्या समाधान गर्न निकै मद्दत हुने गरेको थियो । 

सीता ‘आमा’को संघर्ष र वीरताको कथा भिन्न छ । कल्पना गरौँ त, एउटा सामान्य किसान परिवारकी महिला, भूमिगत राजनीतिमा सक्रिय श्रीमान्, भिन्न आस्था र विचार बोकेर समाजमा रहन कति सजिलो हुन्छ ? त्यसमा पनि पारिवारिक र पार्टी जीवन सँगसँगै अघि बढाउन कति गाह्रो हुन्छ ? महिलाले केही पनि गर्न सक्दैनन् भन्ने तत्कालीन सामाजिक परिवेशमा विद्रोह गर्न कति गाह्रो थियो होला ? तत्कालीन राज्यले सर्वाधिक खोजीको सूचीमा राखेको आफ्नो जीवनसाथीलाई सँगै मर्न पनि तयार भएर साथ दिनु सहज कार्य अवश्य पनि होइन । नेपालका पूर्वदेखि पश्चिमसम्म, पहाडदेखि तराईसम्म मात्र होइन भारतका गल्ली–गल्लीमा समेत तत्कालीन शासकका जासुसी संयन्त्रको घेरा तोडेर अघि बढ्नु सामान्य कुरा हुँदै होइन । सैनिक दमन र हवाई हमला झेल्दै आम जनताका बस्तीमा क्रान्तिप्रति विश्वास जगाउनु एउटा योद्धाका निम्ति कति चुनौतीपूर्ण कार्य थियो ? कथामा यस्ता धेरै प्रश्नको उत्तर भेटिनेछ । 

विचार र सिद्धान्तमा सतिसाल सीता ‘आमा’ । कम्युनिस्ट सिद्धान्त र मालेमावादी विचारमा अडिग एउटा धरोहर थिइन् उनी । उक्त सिद्धान्त र विचारले मार्ग निर्देशित एउटा क्रान्तिकारी योद्धाको जीवन कस्तो हुनुपर्छ भन्ने अद्भुत शिक्षा उनको जीवन कथाले उजागर गरेको छ । पार्टीभित्रका सिद्धान्त र विचार विपरीतका कार्यप्रति निर्ममतापूर्वक प्रस्तुत हुने, कमी–कमजोरीप्रति आलोचक हुने र रूपान्तरणमा सहयोगी बन्ने एउटा गज्जबको विशेषता उनको कथामा देखिन्छ । विचार र सिद्धान्तमा विचलित हुने नजिकका सहकर्मीहरू थुप्रै उनले झेलेकी थिइन् । पार्टीको विचार, सिद्धान्त, नीति र नेतृत्वप्रति समर्पित सीता ‘आमा’ एउटा ऐतिहासिक धरोहर थिइन् भन्ने कथाले स्पष्ट गर्नेछ । 

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र शान्ति प्रक्रियाको यो अवस्थासम्म महानायकको सारथी बनेको सीता ‘आमा’को कथाले पूर्णता पाएको छैन । भौतिक रूपमा त सीता ‘आमा’ संसारकै एउटा अब्बल कथामा परिणत भइन्, तर उनको कथाको पूर्णता त्यतिबेला हुन्छ, जतिबेला देश शान्ति, विकास र समृद्धिको अग्रगामी मार्गमा अघि बढ्नेछ । 
नेपाली क्रान्ति नायक सम्माननीय प्रधानमन्त्री प्रचण्डले आफ्नो जीवनको सर्वाधिक नजिकको सारथी गुमाएका छन् । छोरीहरू रेणु र गंगाले आफ्नो प्रिय आमा गुमाएका छन् । परिवारले एउटा असल अभिभावक गुमायो । पार्टीले एउटा ऐतिहासिक धरोहर गुमायो । देशले एउटा उत्कृष्ट नागरिक गुमायो, तर भविष्यले एउटा जीवन्त कथा भेटायो । जुन कथा कालजयी हुनेछ । इतिहासको कर्बट बदल्ने महान् दृष्टान्त बन्नेछ । जुन कथाको शीर्षक हुनेछ ‘सीता आमा’ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

झकबहादुर मल्ल (सुदीप)
झकबहादुर मल्ल (सुदीप)
लेखकबाट थप