सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
फिचर

‘बुलेट किङ्ग’ मिथिलेश

शनिबार, ३० असार २०८०, ०६ : ३५
शनिबार, ३० असार २०८०

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

काठमाडौँ । मिथिलेशप्रसाद सरार्फको रातोपुलस्थित वोर्कशपमा पुग्दा उनी हरियो रङको मोटरसाइकलको इन्जिन कस्दै थिए । बुलेट किङ्गका रूपमा परिचित सरार्फ बिरामी मोटरसाइकलका डाक्टर अर्थात मोटरसाइकल मेकानिक हुन् । विशेष गरी बुलेट मोटरसाइकलमा देखिने कुनै पनि समस्या सहजै पत्ता लगाउने र समाधान गर्न सक्ने भएकाले उनले यो उपनाम पाएका हुन् । 

‘काठमाडौँ मेरा लागि दोस्रो घर हो । सबै बुलेट राइडरहरुको विश्वासले आज यहाँसम्म पुगेको छु,’ उनी भन्छन्, ‘मेरो काम प्रतिको विश्वासले मलाइ अझै हौसला दिन्छ र यसले मलाई काम गर्न सजिलो पनि हुन्छ ।’

mithilesh (6)

वीरगन्जमा जन्मिएका मिथिलेश आफ्नो बुवाको ग्यारेजमा सानै उमेर देखि काम गर्थे । मिथिलेशको बुवा पनि त्यो बेलाको वीरगन्जको बुलेट किङ्ग भनेर चिनिने हुँदो रहेछ। मिथिलेशको बुलेट प्रतिको लगाव पनि घरमा बुलेट ग्यारेज र घरमै बुवासँग दुई वटा बुलेट भएकाले जागेको रहेछ । उनी बुबासँगै ग्यारेजमा काम गर्थे । सानै उमेरमा नै उनी राम्रो मेकानिक भैसकेका थिए । 

mithilesh (8)

शिवशक्ति ग्यारेज भनेपछि मोटरसाइकल बनाउन पूर्वी लहान देखि चितवनसम्मका बुलेट राइडरहरु आउने गर्दथे ।  स्कुलबाहेकको समयमा मिथिलेशको बास ग्यारेजमै हुने गर्थ्यो । एसएलसी सकेर मिथिलेश वैदेशिक रोजगारको लागि मलेसिया पुगे । त्यहाँ उनले फलामको कम्पनीमा काम गरे । ३ वर्ष मलेसिया बसेर २०६२ साल तिर काठमाडौँ छिरेर कालोपुलमा हेल्पर मेकानिक भएर काम गर्ने थाले । 

त्यो बेलामा घरबाट बुलेट लिएर आएका थिए मिथिलेशले । ग्यारेजको साहु सँग सामान्य होन्डाको बाइक हुदा हेल्पर मेकानिक सँग बुलेट बाइक देखेर बाइक बनाउन मान्छेहरू अचम्म मान्थे । २ वर्ष कालोपुलमा काम गरेर मिथिलेशले काठमाडौँको मान्छेको बाइक प्रतिको रुची देखेर आफ्नै ग्यारेज खोल्ने निर्णय गरे। मुख्यता बुलेट नै हेर्ने भएकाले उनले २ वर्ष काम गर्दा बुलेट चढ्ने र बनाउन आउनेसँग राम्रो सम्बन्ध बनाइसकेका थिए र ग्यारेज पनि बुलेट बाइकलाई बढी प्राथमिकतामा राखेर काम गर्न थाले । 

mithilesh (2)

काठमाडौँमा बुलेट चढ्नेहरूको पनि सङ्ख्या बिस्तारै बढ्दै थियो । बुलेट राइडरहरूको छुट्टाछुट्टै क्लबहरू पनि बन्न सुरु भएको थियो। नासा बुलेट क्लब, काठमाडौँ लेजेन्ड्स जस्ता अन्य क्लब हरू स्थापना भए ।  बुलेट बनाउन आउनेहरूसँगको सम्बन्धले गर्दा रातोपुलमा आफ्नै ग्यारेजमा काम गर्दै गर्दा नासा बुलेट क्लबबाट मिथिलेशलाई क्लबकै तीनकुने स्थित बुलेट वोर्कशपमा हेड मेकानिक भएर काम गर्ने अवसर आयो ।

mithilesh (3)

त्यो अफरलाई स्विकार्दै अहिले उनले बुलेटको हेड मेकानिक भएर तिनकुनेमा काम गर्छन् । यता रातोपुलको ग्यारेजमा सहयोगी राखेर चलाइरहेका ।  तीनकुने स्थित वोर्कशपमा लगभग काठमाडौँको सबै बुलेट राइडरहरू आफ्नो बाइक बनाउन आउँछन् । 

mithilesh (12)

बुलेट प्रतिको मिथिलेशको खुबीले सबैको रोजाइमा मिथिलेश पर्छन् । मिथिलेशको काम गराइले बिस्तारै सबैले मन पराउदै गएपछि मिथिलेशलाई बुलेट किङ्ग भनेर चिनिन थाले । विभिन्न बुलेट क्लबहरुले वर्षेनी आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्दै राइडहरूको आयोजना गर्छन् । सबै राइडहरुमा मिथिलेशनै हेड मेकानिक भएर हिँड्ने गर्छन् ।  नेपाल बुलेट हाउसका संचालक रमेश कार्की भन्छन्, ‘हामी जति पनि राइडमा जान्छौँ, हाम्रो राइडमा मिथिलेश गएन भने राइड अधुरो पनि अपुरो पनि हुन्छ।’    

mithilesh (1)

क्लासिक लुक्समा सबैभन्दा मन पराइएको मोटरसाइकल मध्यको बाइक हो बुलेट । भारतीय कम्पनी रोयल इन्फिल्डबाट निर्मित मोटरसाइकल मध्यको सबैभन्दा सफल उत्पादन हो बुलेट । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप