शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
लगानी सम्मेलन

विदेशी लगानीकर्ता फकाउँदै सकियो लगानी सम्मेलन

सोमबार, १७ वैशाख २०८१, २१ : ५६
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । नेपाल सरकारको आयोजनामा काठमाडौँमा दुई दिने लगानी सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको समापन सत्रमा आज पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहभागी लगानीकर्ता, निजी क्षेत्र, विकास साझेदार लगायतका प्रतिनिधिलाई सम्बोधन गरेका थिए ।

समापन सत्रलाई सम्बोधन गर्दै ओलीले नेपालको विकास र समृद्धिको साझा आकाङ्क्षा पूरा गर्न सबै राजनीतिक दलको साझा प्रतिबद्धता रहको उल्लेख गर्दै लगानीका लागि नयाँ गन्तव्यका रूपमा नेपाल स्थापित भएको तथा लगानीको सुरक्षा प्रत्याभूतिका लागि नेपाल सधैँ प्रतिबद्ध रहेको बताए ।

‘निजी लगानीलाई प्रोत्साहन तथा सुरक्षाका प्रत्याभूति प्रदान गर्न हाम्रो दल प्रतिबद्ध छ । लगानीको वातावरणमा निरन्तर सुधार एवं व्यवसायको लागत कम गर्ने तथा प्रक्रियागत सरलीकरणका लागि मेरो नेतृत्वको सरकारले महत्त्वपूर्ण नीतिगत र कानुनी व्यवस्था गर्दै सुखी नेपाली, समृद्ध नेपाललाई गन्तव्य बनाएको थियो,’ ओलीले भने, ‘निजी लगानीलाई प्रोत्साहन र संरक्षण गर्ने सवालमा महत्त्वपूर्ण पहलहरू हुँदै आएका छन् ।’

समापन सत्रको अध्यक्षता गर्दै उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले लगानी वातावरण बनाउनका लागि नेपालले गरेका नीतिगत सुधारबारे लगानीकर्तालाई जानकारी दिन र उनीहरूका सुझाव तथा प्रतिक्रिया लिन यो सम्मेलन कोशेढुङ्गा साबित भएको उल्लेख गरे । सम्मेलनमार्फत सरकार र प्रतिपक्ष दलबाट पनि नेपालमा लगानी वातावरण सुधारका लागि उच्च राजनीतिक प्रतिबद्धता प्राप्त भएको उल्लेख गर्दै श्रेष्ठले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न सफल भएको बताए । लगानीको समग्र पारस्थिति र प्रणालीमा सहजीकरण गर्न, लगानीको सुरक्षा प्रत्याभूति तथा सजिलै लगानी फिर्ता लैजाने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन २०२४ निर्देशक समितिका सदस्य सचिव सुशील भट्टले लगानी प्रवर्द्धनका लागि अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिन नेपाल सफल भएको बताए । तेस्रो लगानी सम्मेलनमा प्रदर्शन गरेका परियोजनाहरूमा संसारभरका व्यवसायी, उद्यमी र लगानीकर्ताबाट अत्यधिक चासो प्राप्त भएको उनको भनाइ छ । ऊर्जा, सूचना प्रविधि, पर्यटन र पूर्वाधारलगायतका क्षेत्रका प्राथमिकता एवम् सम्भावित परियोजना प्रदर्शन गरेर नेपाललाई एक आकर्षक लगानी गन्तव्यको रूपमा प्रस्तुत गर्न सफल भएका भट्टले बताए ।

सम्मेलनमा आठ सय भन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सय भन्दा बढीको सहभागिता थियो । सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डीङ (लगानीकर्ताको प्रतिक्रिया सङ्कलन) ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत गरिएको थियो । आशयपत्र पेस गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको छ । 

सम्मेलनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताहरूसँग प्रत्यक्ष साक्षात्कार गरे । यसबाहेक ३० भन्दा बढी विदेशी प्रतिनिधिमण्डलले विभिन्न सम्बन्धित मन्त्रालयका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् । 

विश्व बैंक समूह, चीन, भारत, कुवेत, युएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गरी नेपालमा लगानीका अवसरहरू खोज्न चासो व्यक्त व्यक्त गरेका छन् । नेपालको दिगो विकास पहलहरूलाई समर्थन गर्ने प्रतिबद्धता पनि यी निकायहरूले जनाएका छन् । 

लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्त्वपूर्ण सम्झौताहरू भएका छन् । सम्मेलनको पहिलो दिन डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबिच सम्झौता भएको थियो ।

आइतबार नै नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स, मलेसिया बिच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका लागि सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको थियो । महासंघले फेडेरेसन अफ् मलेसियन म्यानुफ्याक्चरर्ससँग पनि सहकार्यका लागि सम्झौता गरेको छ । लगानी सम्मेलनको दोस्रो दिन सोमबार नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवर्द्धनका लागि ‘वर्ल्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स’ (नाप) बिच द्विपक्षिय सहकार्यसम्बन्धी समझदारी भएको छ । 

सम्मेलनका क्रममा साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप हङकङबीच वेलनेस रिसोर्ट तथा होटल व्यवसायमा सहकार्य सम्बन्धी सम्झौता भएको छ । कपिलवस्तुको गोरुसिंघेमा १०० मिलियन युआन लगानी (जग्गाबाहेक) मा यो परियोजना प्रस्तावित भएको छ ।

सम्मेलनका क्रममा ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबीसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बिच तथा नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको छ । मुगु जिल्लाको रारा ताल क्षेत्रमा लक्जरी रिसोर्ट निर्माणका लागि लगानी गर्न एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडबीच सम्झौता भएको छ ।

 नेपाल उद्योग व्यापार महासंघ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए) बिच द्विपक्षीय सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विप्रेषण आप्रवाहको रकम जलविद्युत आयोजनामा लगानी गर्ने गरी रेमिट हाईड्रो परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदहरु बिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । यसका साथै तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि रु नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ । विभागले आजै स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत् विदेशी लगानी स्वीकृति हुने प्रणालीको उद्घाटनसमेत गरेको छ । 

सम्मेलनको दोस्रो दिन समापन सत्रका अतिरिक्त सार्वजनिक–निजी साझेदारीसम्बन्धी मूल सत्रका साथै विभिन्न तीन चरणमा १० समानान्तर सत्रहरू सम्पन्न भएका थिए । सम्मेलनस्थलमा सरकारी निकाय, निजी क्षेत्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, दातृ निकायका २३ वटा स्टल (प्रदर्शनी कक्ष) राखिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप