सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसको लाइभ बैठक : आफू पुरिन खनेको सुनको खाल्डो

शुक्रबार, १२ साउन २०८०, १७ : १६
शुक्रबार, १२ साउन २०८०

यस पटकको कांग्रेस केन्द्रीय समितिको बैठक आम मान्छेको पहुँचमा पुग्यो । झट्ट सुन्दा र हेर्दा यो क्रान्तिकारी कदम नै हो । नेपालको राजनीतिक इतिहासमा यो हदको पारदर्शिता आजसम्म प्रदर्शन भएको थिएन । पारदर्शिता त्यस्तो पार्टीले प्रदर्शन ग¥यो, जसलाई आपरदर्शी, पुरातनपन्थी र डेट एक्स्पायर्ड दल भनेर अन्य दलहरूले आलोचना गर्छन् । 

व्यवस्था परिवर्तनका लागि भएका २००७, २०३६, २०४६ र २०६२–६३ लगायत अन्य आन्दोलनको पनि नेतृत्वदायी भूमिकामा नेपाली कांग्रेस बेदखल रहेको छ । व्यवस्था परिवर्तन गरे पनि राजनीतिमार्फत सुशासन र सुव्यवस्था कायम गर्न चुकेको दलको रूपमा कांग्रेसको चर्चा हुन्छ । सुशासन दिने क्रममा कांग्रेसले नै बढी गाली खानुको कारण उसले बहुदलीय व्यवस्था प्राप्ति पछि ११ पटक यो देशको सरकारको नेतृत्व गर्न पाएको छ । त्यसैगरी दुई पटक एकमना सरकार चलाउने बहुमत प्राप्त गरेको थियो । यसर्थ अवगालको भारी पनि उसका लागि आउने नै भयो । व्यवस्था फेर्न माहिर तर अवस्था फेर्न कमजोर पार्टीको पहिचान कांग्रेसको रहेको छ । 

ऐतिहासिक परिवर्तनको नेतृत्व गरेको र देशकै पुरानो र सबैभन्दा ठुलो पार्टीको हैसियतले कांग्रेससँग अनेकन विमति राख्दाराख्दै कांग्रेसको अक्षमतामा प्रश्न गर्दागर्दै कांग्रेसप्रति अपेक्षा पनि हुने रहेछ । कांग्रेस पार्टीले लिने नीति, तय गर्ने मार्ग अनि समाज र राजनीतिलाई हेर्ने विश्वदृष्टिमा आमराजनीति बुझ्ने र गर्नेलाई चासो हुने रहेछ । कांग्रेस पार्टीले अख्तियार गर्ने नीतिलाई हेरर नीति बनाउनेदेखि त्यसलाई काउन्टर दिन नीति बनाउने बाध्यता भएका दलहरू छन् । 

नेपाली राजनीतिमा पञ्चायतको तीस वर्षबाहेक २००७ सालदेखि आज पर्यन्त कांग्रेस मियो पार्टीको रूपमा स्थापित छ । कांग्रेसले चुनाव हारोस् या जितोस् अझै केही समय कांग्रेस जनतामा जरा गाडिएको पार्टी भएको कारण निरिह बन्ने स्थिति आउने देखिन्न । हाम्रो राजनीतिमा चुनाव हार्नुलाई भयङ्कर असफलता र चुनाव जित्नुलाई बेस्सरी सफलताका रूपमा गाथा गाइन्छ । 

राजनीतिमा चुनाव जित्नुपर्छ यो सत्य हो । चुनाव जितेर नै सरकार बनाउने प्रणाली भएका कारण चुनाव जित्ने आवश्यकता हुन्छ । चुनाव जितेर सरकारमा पुगेर मात्रै आफ्नो नीतिअनुसार सरकार चलाउन पाइन्छ । तर चुनाव हार्ने धैर्यता पनि त्यति नै आवश्यकता हो । किनभने जसरी पनि जस्तो सपना र नारा दिएर पनि चुनाव जित्ने मनस्थिति राजनीतिक पार्टीमा देखिन्छ । चुनाव हार्दा सर्वस्व गुमेको सम्झने र चुनाव जित्दा अलकापुरी नै जितेको ठान्ने जुन सोचाइ र मानसिकता विकास भएको छ, त्यो घातक छ । 

अहिले दलहरू मिसन ८४ भन्दै जसरी पनि चुनाव जित्ने, तातै खाने र जल्दै मर्ने स्थितिका लागि आफूलाई तयार गर्दैछन् । मिसन ८४ हुनेको हर गतिविधि चुनाव जित्ने ध्येयका लागि हुन् । चुनाव जित्नेभन्दा राजनीति जित्ने ध्येय पालियो भने चुनाव जितेपछि काम गर्न सहज हुन्छ । चुनाव लक्षित कार्यक्रम बन्दा यसले दिने आकर्षक नाराका कारण मान्छेहरू अब चुनाव जित्ने दल यही हो यहाँ गएपछि अवसर आफ्नो हातमा पार्न सकिन्छ भन्ने नियत लिएर पार्टीलाई सघाएका हुन्छन् । जसबापत चुनाव जितेपछि लाभ लिने उद्देश्य राखेर काम गर्छन् । यस्तो बेलामा आफ्नो रोजाइको पार्टीले जित्यो भने अवसरका लागि अनेक लबिङ सुरु हुन्छ भने पार्टी पराजित भएमा नैराश्यता उत्पन्न हुन्छ । अति जोश र नैराश्यता दुवै गलत मानसिकता हुन् । राजनीतिमा चुनाव हार्दा पनि हतोत्साहित नहुने र जित्दा पनि दुर्घटना हुने गरी उत्साहित हुने स्थिति सिर्जना गर्नु पर्छ । 

बहुदलीय व्यवस्थामा गरिने राजनीतिमा सत्ता मात्र होइन सत्तालाई जिम्मेवार बनाउने र सुसंस्कृत राजनीति गर्न दबाब दिने असल प्रतिपक्ष पनि आवश्यक हुन्छ । यसमा हाम्रा राजनीतिक दलको खासै ध्यान गएको छैन । राजनीतिलाई सुसङ्गत बनाउने र फराकिलो सोचका साथ अगाडि हिँडाउन देशमा क्रियाशील दलहरू सबैको भूमिका हुन्छ । त्यसमा पनि ठुला देखिएका दलको विशेष र प्रत्यक्ष भूमिका हुन्छ । यसर्थ इतिहासमा पहिलो पटक आफ्नो केन्द्रीय समितिको बैठक लाइभ गर्ने कांग्रेसको नियति र नियतको चर्चा गरौँ । 

सामूहिक नेतृत्व प्रणालीको अभ्यास भए पनि व्यावहारिक रूपमा कांग्रेस सभापति हाबी हुने अभ्यास छ । १४ औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिमा लगभग ८० प्रतिशतको हाराहारीमा सभापति देउवाको पकड भएको मानिन्छ । यद्यपि आन्तरिक प्रतिपक्ष शेखर–गगनको समूह देउवाका लागि सहज छैनन् । कांग्रेसभित्र अनेकन गुट उपगुट छन् । 

गगनले संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गरेकाले केन्द्रीय समितिको बैठकमा पक्कै पनि गरेका कारण उनका हर गतिविधि कांग्रेसजन र अन्य राजनीतिमा चासो राख्नेका लागि पनि कौतुहलको विषय हो । केन्द्रीय समितिको बैठकअघि सार्वजनिक रूपमा व्यक्त गगनका विषय र शेखर गगन समूहको गुटगत बैठकले गर्दा र देउवाको आफ्नै ढर्राको राजनीतिमा चिरपरिचितका लागि कांग्रेस बैठक रण सङ्ग्राममा परिणत हुने छ भन्ने धेरैलाई लागेको थियो । त्यसैले कांग्रेस केन्द्रीय समितिको बैठक लाइभ हुन्छ र गर्छन् भन्ने कुरामा धेरैलाई आशंका थियो ।

पार्टीको बैठक पब्लिक इन्टरटेनको विषय बन्दैन र बनाउनु हुँदैन भन्ने सोच्ने र बुझ्ने पनि प्रशस्तै थिए । कतिपय रणनीतिक विषयका कुरा हुन्छन् । पार्टीका गोप्य कुरा हुन्छन्, ती सबका बाबजुद यो सम्भव छैन भन्ने जनमत बलियो थियो । अझ कांग्रेस जस्तो पुरानो विचार बोक्ने र देउवा जस्तो जिद्दीवाल राजनीतिकर्मीले यति आधुनिक प्रविधिको अवलम्बन गर्छ र ? गत वर्ष काठमाडौँमा भएको १४ औँ महाधिवेशनमा पानी ट्याङ्कीलाई मतपेटिका खसाल्ने ढ्वाङ बनाएर डिजिटल युगलाई चुनौती दिने कांग्रेस नेतृत्व प्रविधिमैत्री र यति पारदर्शी भइसकेको कसैको अनुमान थिएन ।

कांग्रेसले गजब गर्याे, अचम्म नै गर्याे । आफू सहभागी सरकारले आफ्नो नेता, पूर्वगृहमन्त्री र देउवाका दाहिने हात बालकृष्ण खाँडलाई भुटानी शरणार्थी काण्डमा जेल हालेको छ । अन्य नेता र स्वयं देउवा पत्नी आरजु राणासमेत विवादित छन् । गत उपचुनावमा आफ्नो गढ भनिएको र गठबन्धन गरेर चुनाव लडेको तनहुँमा फराकिलो अन्तरले पार्टीले चुनाव हारेको र चितवनमा पनि आफ्नो जनमत पनि घट्दै गएको, रूपान्तरण अभियान भन्दै गुरुराज घिमिरेहरू लागिरहेको, ११ महिनादेखि पार्टीको बैठक समेत नबसेको, सरकारमा जाने मामलामा असन्तुष्टि व्यापक रहेको बेला बैठक लाइभ गरेर कांग्रेसले एउटा ठुलो साहस प्रदर्शन गरेको छ ।

देउवाका सामान्य स्वभावगत कमजोरीबाहेक अन्य कुनै चर्काे आलोचना, गालीगलौज, लाञ्छना र वादविवाद नभएर सामान्य अवस्थामा नै बैठक समापन भयो । यसलाई सबैले प्रशंसा गरे । भद्रगोलको पर्याय र अव्यवस्थित पार्टीको आरोप खेप्ने कांग्रेसले यो पटक नयाँ गर्याे, नयाँ उदाहरण दियो । यसका मेरिट र डिमेरिट पक्कै छन् ।

कांग्रेसको यो उदारताले अन्य दललाई असर पर्ने देखिन्छ । सबैभन्दा ठुलो असर कांग्रेस स्वयंका लागि हो । के कांग्रेस आगामी दिनका आफ्ना सबै बैठक लाइभ गर्ने हिम्मत गर्छ ? विभिन्न निकायमा उम्मेदवार छनोट गर्दाको बैठक लाइभ गर्ने हिम्मत गर्छ ? आफ्नो पार्टीको रणनीतिक निर्णय गर्ने केन्द्रीय समितिको बैठक लाइभ गरेर काङ्ग्रेसले गलत गर्याे । यसको असर विस्तारै देखिन्छ । पारदर्शिता भनेको वस्त्रविहीन हुनु होइन । वस्त्रविहीन सुन्दा असहज लागे पनि कांग्रेसले आज पूर्ण रूपमा वस्त्र उतार्याे । भलै यस पटक बैठक सौहार्द नै भयो तर सधैँ यो सम्भव हुँदैन । पार्टीको बैठक मन माझ्ने र बाज्ने र पार्टीले गरेको निर्णयमा नोट आफ डिसेन्ट लेखे पनि पालना गर्ने धर्म यसका सदस्यहरूको हुन्छ । यसको साइड इफेक्ट देखिन्छ नै । 

लाइभ बैठकका बेफाइदा 

पारदर्शिता भनेको निर्वस्त्र हुनु होइन । जसरी व्यक्तिगत जीवनमा प्राइभेट पार्टसका सेक्रेसी मेन्टन गर्नुपर्ने हुन्छ त्यसैगरी पार्टी जीवनमा पनि प्राइभेट सेक्रेसीहरू हुन्छन् । तसर्थ स्वतन्त्रताका नाममा गरिने निर्णय केवल स्टन्ट हुन् । पाका मान्छेहरूको पार्टीलाई यस्तो स्टन्ट सुहाउन्न । यो गलत अभ्यास हो । यसलाई कांग्रेसले सच्याउने छ । सच्याएन भने सकिन्छ । पार्टीको कुनै पनि निर्णय गर्नुअघि पार्टीमा तलदेखि माथिसम्म छलफल चलाउने र सुझाव लिने हो । पार्टी पङ्क्तिलाई निर्णयमा अपनत्व महसुस गराउने हो र पार्टीमा भएको निर्णय सुनाउने हो । निर्णय प्रक्रिया सबैलाई देखाउने होइन । पारदर्शिताको नाममा बैठक लाइभ गर्ने र अन्यत्र छलफल गरिएको निष्कर्ष निकालिएको विषयलाई औपचारिकता मात्र दिने ठाउँ भन्यो भने...? 

लाइभ बैठकमा देउवाको अवस्था 

मान्छेहरू शेरबहादुर देउवालाई अधैर्य, असहिष्णु, अगतिशील, अपारदर्शी र होस्ल्याङे भनेर आरोप गर्थे । देउवा आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक लाइभ गरेर पारदर्शी देखिएका छन् । सबैको कुरा धैर्य भएर सुनिरहेका देखिन्छन् । एकातिर आफ्ना पार्टीका नेताहरूले जिब्रोले हानेको वाण पनि खपिरहेका छन् भने अर्काेतिर साथीहरूले जिब्रोमार्फत लगाइएको तेल र मसाजमा निमग्न छन् । आनन्द लिइरहेका देखिन्छन् । आम मान्छेले देउवा यति धैर्य भएर आफ्नाविरोधी खेमाका र स्वयं आफ्नै पक्षका मान्छेहरूको कुरा सुन्ने धैर्य राख्दैनन् भन्ने ठानेका थिएनन् । 

प्रजातान्त्रिक पार्टीको दज्र्यानी चिह्न 

नेपाली कांग्रेस देशमा क्रियाशील पार्टीमध्ये सबैभन्दा प्रजातान्त्रिक पार्टी हो । सभापति देउवाले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक लाइभ गरेर आफूलाई लोकतान्त्रिक दज्र्यानी चिह्न लगाउन कोसिस गरे । कांग्रेसभन्दा उदार लोकतन्त्र अन्य पार्टीका हकमा आजसम्म छैन । 

कांग्रेसको तमाम कमजोरीबीच पार्टीभित्र प्रतिस्पर्धा गर्न र प्रश्न उठाउन निर्वाध रूपमा दिन्छ । जेजस्तो भए पनि विरोधी मतलाई स्थान दिन्छ । कदर गर्छ । कांग्रेसभित्र प्रश्न उठाउन निषेध गरिएको भए गगन थापा र विश्वप्रकाश शर्माहरू नेविसङ्घको राजनीतिमै रुमल्लिरहेका हुन्थे । तर आज प्रश्न गर्ने र प्रतिस्पर्धा गर्ने कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रको कारण उनीहरू पार्टीको महामन्त्री बन्न सफल छन् । भलै जिम्मेवारीको भारी भने उचाल्न सकेका छन् कि छैनन् आगमी दिनमा विश्लेषण र मूल्याङकन हुँदै जाला ।

बैठकमा गगन 

गगनबाहिर जति उफ्रे, कराए पनि देउवासामु र लाइभ बैठकमा आफ्ना कुरा राख्न नसकी कर्कलो झैँ गल्ने हुन् कि भन्ने धेरैलाई आशङ्का थियो । तर गगन संयमित भएर आफ्ना कुरा राख्न चुकेनन् । आफ्नो असहमति नोट अफ डिसेन्ट पनि बालकृष्ण खाँडको निलम्बनमा पार्टी अग्रसर नभएकोमा राखे र भने– ‘म हारौँला हारेको स्वीकार गर्छु । स्वीकार गरेको पनि छु । यद्यपि दलको नेता फेर्न म निरन्तर लागि रहन्छु ।’ देउवा कै अघिल्तिर गगन बोले । 

यस्तो अभ्यास अरू पार्टीमा कति छ ? आफ्ना नेतालाई सामुन्नेमा तपाईं छोडनुहोस् म आएँ भन्न सक्ने कति युवा नेता छन् ? गगन र विश्वप्रकाश प्रश्न सोध्ने ल्याकत राखेकै कारण नेपाली काँग्रेस जस्तो बुढो र पुरानो पार्टीमा महामन्त्री बन्न सकेका हुन् । प्रश्न गर्नेलाई निषेध नगर्ने हुनाले कांग्रेस अन्य पार्टीभन्दा अलि बढी प्रजातान्त्रिक देखिन्छ । अन्य पार्टीले कांग्रेसले अभ्यास गरेको सबल प्रजातान्त्रिक पक्षलाई अनुकरण गर्ने हो । दुर्भाग्य कांग्रेसको निर्बल पक्ष चाहिँ आत्मसात गर्दै अन्य पार्टीहरू हिँडेको देखिन्छ । 

कांग्रेसले आफूलाई प्रजातान्त्रिक र पारदर्शी देखाउने अनेक ठाउँ र अवसरहरू छन् । त्यहाँ कांग्रेस अब्बल प्रजातन्त्रवादी बन्न सक्छ । पार्टीभित्र भएका भ्रष्टचारीविरुद्ध कांग्रेस निर्मम भएर निस्कनुमा पारदर्शी देखिनुको अर्थ रहन्छ । अन्यथा आफ्नो क्षणिक बचावटका लागि एक पटक बैठक गरेर पारदर्शी बन्न कदापि सकिन्न । कांग्रेस केन्द्रीय समितिको बैठक अब आइन्दा जहिल्यै लाइभ हुन्छ भने त्यो कांग्रेसले आफू पुरिन खानेको सुनको खाल्डो हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप