शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
यात्रा–निबन्ध

सुन्दरीजलमाथि चिसापानी

शनिबार, २० साउन २०८०, ०६ : ३०
शनिबार, २० साउन २०८०

वनेली चराचुरुङ्गीहरूको चिरबिर । कति अनौठो गुञ्जन । कति मीठो ध्वनि । पृथक स्वर–सुसेली । क्रमशः कानमै झङ्कृत हुन्छ । मिठासयुक्त एउटा बेग्लै साङ्गीतिक तरङ्ग, वातावरणभरि गुञ्जायमान हुन्छ । त्यसमाथि प्राकृतिक सुगन्धको सम्मिश्रण । आहा कति मधुर, कति आनन्द, कति प्रिय, कति रमाइलो ।

खोलाखहरे र झ्याउँकिरीको गुञ्जन । झरनाको अनौठो छचल्कन । चराचुरुङ्गीको बेग्लै चिरिबिरी । चट्टानको पहाड । चैत–वैशाखको टन्टलापुर घाममा पनि शीतल अनुभव हुने । सुन्दरीजलबाट चिसापानीको जङ्गलभित्र कतै हराइन्छ, कतै डराइन्छ । घना जङ्गलको सुनसान परिवेश छ । जहाँ प्रकृतिको सुमधुर धुन सुसेलिरहेको हुन्छ प्राकृतिक गुञ्जन  । कीटपतङ्गका अनेक आवाजहरूको तुमुल ध्वनि । तर त्यसमा पृथक स्वर–संलापको प्रेमिल भाव आस्वादन गर्न सकिन्छ । 

एक अनुपम अनुभूति । एक सुखद अध्याय पदयात्राको । अन्ततः प्रकृतिको सुमधुर सुगन्ध । वनस्पतिको अनौठो रूप–स्वरूप । सहरी झमेला, मानवीय जीवन–संसारको शङ्का, उपशङ्का र षड्यन्त्रभन्दा पर ।

सुन्दरीजल उकालोमाथि चिसापानी थाप्लोसम्मको पदयात्रा । उकालो चढ्नुको कठिनतम् हैरानी हिँड्न नसक्ने अल्छेका लागि हो । जाँगरिला ज्यानका लागि त कस्तै उकालो वा अक्करे भिरको बाटो पनि सहजकै हुन्छ । हिँडन्तेहरू मजाले प्रकृतिसँग संवाद गर्दै अघि बढ्छन् । पेट खाली भए पनि हेर्नु, देख्नु, भेट्नु र पुग्नुको दिव्य पलहरूमा अघाउँजी हुन्छन् । उकालो छिचोली सकेपछिको उज्यालो अर्को दृश्य–संसारको चौतर्फी दर्शन हो । 

यी सारा विडम्वनालाई पछाडि छाडेर यात्रामा हिँड्नु भनेको आफूलाई बुझ्न आफैँभित्र प्रवेशको प्रथम प्रस्थान बिन्दु पनि हो । भगवान गौतम वुद्धले जसरी राज सुखसयल सबै त्यागेर बुद्धत्व प्राप्तिका निम्ति यात्रा थालेका थिए । 

सुन्दरीजल ! जल सुन्दरी । सुन्दर पानीको प्रवाह । पानीको मुहान । यही स्थानमा तस्पिर लिनुको प्रतिस्पर्धा । पानीका प्रवाह झरना बनेर अविरल झरिरहेका छन् । पानीको वेग, तिनको छचल्कन अनि प्राकृतिक स्वरूप र स्वभाव । कति मनमोहक, कति मुस्कानमय । कति धेरै झर्झराउँदा झरनाका झर–झर दृश्यहरू । कति मनोरम दृश्यका खातहरू । ऐकान्तिक जङ्गलको एकलासमा सौन्दर्यका खानीहरू ।

Sundarijal_(38)

निर्वस्त्र ढुङ्गा र सुन्दरीजलको निर्वस्त्र झरना । त्यही ढुङ्गालाई रातदिन सिञ्चित गरिरहेछ सुन्दरीजलले । आहा यो मिलन, यो भेटको संयोग दर्शकका लागि एक जीवन्त सुन्दरताको अर्काे नाम ।

हेर्नका लागि अनेकौँ प्राकृतिक छटा र छविहरू । महसुस गर्नका निम्ति अनुभूतिका सुन्दर भावहरू । ध्वनि प्रदूषणको चपेटाबाट मुक्त । आवाज छ त केवल प्राकृतिक गुञ्जनको । बोली सुनिन्छ, ध्वनि गुञ्जिन्छ । केवल सुन्दरीजलको लयात्मक, कलात्मक आफ्नैपन । उही परम्परागत छन्द र लय । प्रकृतिप्रेमीहरूलाई प्राकृतिक सुगन्धको मगमग फैलावटले निम्तो दिइरहेको । 

लाजवती सुन्दरीजल प्रकृतिमै समाहित । प्रकृतिमै विलीन र व्यस्त नवयौवना सुन्दरीजल । आखिर प्रकृतिमा विलीन र समाहित भए पनि अझ सौन्दर्यले खारिएको विछट्टकै विम्ब । कतिको मन चोर्ने, कतिको मन हर्ने तिमी ! तर आफैँमा बेखबर पनि । आफैँसँग अपरिचित पनि । तथापि चिनिन नखोज्ने, चिनाउन नपर्ने पनि तिमीलाई कसैले । मान्छेहरू सोध्दै, खोज्दै आउने हुन्छन् बरू ।

त्यसैले त हरपल मान्छेको मन तानिरहेको छ सुन्दरीजलले । मान्छेका लोभी आँखालाई लोभ्याउन सफल । नामै सुन्दरी, त्यसैले सुन्दर स्वरूप र स्वभावमा प्रस्तुत । हिउँद र वसन्तमा शीतल । वर्षात्मा झन् ठूलो झरनाको बडेमान रूप । हेरेर धित मार्नेहरू सयौँ हुन्छन् । घुमेर रमाउनेहरू पनि उत्तिकै भेटिन्छन् । कुनै समय, कुनै मौसम पर्खिनु पर्दैन यहाँ आउन । सधैँ आगन्तुकलाई आगमनको स्वागतमा सुन्दरीजल तयार भइरहेको हुन्छ ।

कुनै बेला सुन्नेहरू नभएर के भो, हेर्नेहरू नआएर के भो ? सुन्दरीजल घनाजङ्गलको कतै अन्तर–कुन्तरमा मस्तले आफ्नो जवानी जीवन प्रदर्शन गरिहेकै छ, सनातन कालदेखि अद्यापि । कहिल्यै थाकेको छैन । कहिल्यै बुढ्यौलीले गलेको र चाउरिएको पनि छैन । सधैँ जवान, सधैँ नयाँ, नवीनतम् स्वरूप र स्वभावमा प्रस्तुत । 

राणाकालीन सिँढी हुँदै जङ्गलको उकालो । जहाँ बाटोको किनारामा जुद्ध शमशेरको पालामा बनेको पानीको पाइप । त्यो पाइप बडेमानको मात्रै होइन, उत्तिकै बलियो, त्यत्तिकै पुरानो पनि । सोही पाइपबाटै सुन्दरीजलबाट काठमाडौँबासीलाई पानीको प्यास मेटाइरहेछ । 

करिब नौ दशक अगाडि बेलायत सरकारको सहयोगमा निर्माण भएको ६४० किलोवाटमा विद्युतगृह सञ्चालन हुँदै आएको । नेपालमा निर्माण भएको फर्पिङ (५०० किलोवाट) पछि यो दोस्रो विद्युतगृह । यो विद्युतगृह बेलायतले नै निर्माण गरी वि.सं. १९९१ सालमा नेपाललाई हस्तान्तरण गरेको थियो । 

यात्रामा एकजना पथप्रदर्शक अवश्य चाहिन्छ । के होला भनी कसैलाई सोध्नु पर्दैन । कता, कुन बाटो जाने भनी बीच बाटोमा झोक्रिनु अथवा मस्तिष्क–मन्थन गर्नु पनि पर्दैन । झन् जङ्गलको हिँडाइमा भेटिने चरा, पुतली र जनावरबारे थप जानकारी दिने विज्ञ भइदिँदा धेरै उपलब्धि हासिल हुन्छ । हामीले देखेका झारपात नै पनि चिन्नेका लागि अमूल्य जडिबुटी हुन सक्छ । 

सुन्दरीजलमा विशेष गरी खोटे/रानी सल्लो, चिलाउने, उत्तिस, काफल आदिको रुख लगायत १२५० प्रजातिका वनस्पति पाइन्छन्, जसमध्मे ५० प्रजातिका रैथाने वनस्पति छन् । यसै गरी, यहाँ १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाइन्छ । 

800px-Birds_in_Sundarijal_(3)

जङ्गलमा ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक, मृग, बँदेल जस्ता वन्यजन्तुको बसोबास रहेको छ । त्यस्तै, यहाँ करिब २५० प्रजातिका चराचुरुङ्गी तथा पंक्षी पाइन्छन् । जसमध्ये १७७ प्रजातिका बसाइँ सराई गर्ने पंक्षी यहीँ पाइन्छन् । यहाँ करिब १०२ प्रजातिका पुतली पनि पाइन्छन् ।

पैदलयात्री त्यही राणाकालीन पाइप हुँदै सुन्दरीजलको उकालो लाग्छन् । यात्रीहरू अचम्म मानेर पाइप नियाल्दै पाइला उकालो चढाउँछन् । उनीहरू भनिरहेका हुन्छन्– ‘कठै कति जनाले कहाँबाट कसरी बोकेर यहाँसम्म यति बलियो पाइप ल्याए होलान् ?’

यात्रीका आँखा र मनलाई तृप्त पार्न पहाडका पाटनभरि फूलैफूलका गलैँचा ओछयाइ दिएझै लाग्ने ! तर त्यहाँसम्म पुग्न कठिन पनि छ । त्यही कठिनाइ पछिको प्राप्ति नै वास्तवमा साँच्चैको सुखद हुँदो रहेछ । प्रकृतिले हामीलाई कति कुरा दिइरहेछ तर हामीले प्रकृतिको दोहन गरिहेका छौँ । 

ठाडो उकालोभरि कुनै पैदलयात्रीको पाइला हिँडेको छैन । बाटो हेर्दा निकै दिनदेखि मानिसको कुनै डोब नपरेको स्पष्ट हुन्छ । वन्यजन्तुको चहलपहल, हिँड्डुलको पद्चाप पनि कतै देखिँदैन । टाढा कतै भक्कानो फुटाएर कुर्लिरहेको चराका विरह भाका कानमा गुञ्जिन्छ । सायद यो शून्यपनले विचरा चरा पनि एक्लै विरहले विरक्तिएको होला ।

कति ठाउँमा त झोरझाडीले डगर नभेटिदा पैदलयात्री नै अल्मलिन्छन् । घाँसदाउरा जाने बाटो हो कि गन्तव्य पुग्ने बाटो हो, केही थाहै नहुने । हलक्क हुर्किएका उन्युका घारी आँखाले भ्याइन्जेल देखिन्छ । कति ठाउँमा त बाटैसम्म ढाकेर फैलिएका । कहीँ भिरका भित्ताबाट सुलुत्त झरेर दृश्यमय आकृतिमा आवाद भइरहेका । कहीँ उन्युकै साम्राज्यमा अरू बनस्पति हराइरहेका । उन्नत उन्युका यी उन्युघारीमा उन्युको सुन्दरता पनि कम थिएन । 

800px-A_view_of_Shivapuri_national_park_from_Sundarijal

यस्तो एउटा बाटो, जहाँ लतालहरा, पातपतिङ्गरको परिवेश । जीर्ण वृद्ध रूखहरू पनि पदयात्रीको स्वागतमा झुकेर हार्दिकता दर्शाइरहेका भेटिन्थे । तिनको स्वागतलाई स्वीकार्नुसँगै पुनः अर्को अनौठो वनस्पतिको नम्र नमस्कारले आँखा र मनलाई आनन्द प्रदान गथ्र्यो । सुनाखरीका बोट फुलेको याममा भए ओहो कति राम्रो सौन्दर्य खुल्ने थियो होला ।

प्रकृति मानव जीवनका लागि वरदान हो । प्रकृतिमै हामी जन्मिन्छौँ । प्रकृतिमै खेल्छौँ, हुर्किन्छौँ । प्रकृतिमै सिक्छौँ, बुझ्छौँ । वास्तवमा जन्मिनु, बाँच्नु र रमाउनुको अर्थ नै हुँदैन थियो । मानिसलाई जिउन सिकाउने प्रथम गुरु नै आमा र प्रकृति हुन् । त्यसैले, प्रकृतिमा रमाउन पाउनु हाम्रो अहोभाग्य पनि हो ।

उकालो चढेर थकित ज्यान अनि पसिनाले निथ्र्रुक्क भएको शरीर । तथापि प्राकृतिक शीतलताको स्वागतले ऊर्जामय उमङ्गमा उफ्रिन पुग्थ्यो । कति हिँडियो र कति उचाइ चढियोको हिसाब थिएन । भरदिनको पदयात्रा न थियो । दिनभरिको समय यात्रामै दिनु थियो ।

यहीँ रहेछ, प्राकृतिक सुगन्ध र सौन्दर्यको सङ्गम । असली पदयात्राको मीठो अनुभूति गर्न पाइने सुनसान एकान्त स्थल । अनि यात्रीहरूलाई पनि थकाइ बिर्साइरहने यिनै दृश्यहरूमा भुल्याइरहने । प्रकृति पनि जीवनको सौन्दर्यबोधमा हलक्क हुर्किएका । 

सुन्दरीजलबाट नुवाकोटको चिसापानी पुग्नुको हतारो । अर्काेतिर गलेर लखतरान, पसिना–पसिना ! कठिनको उकालोे, पाइला चाल्न सास्ती । तथापि जङ्गलको शान्त सुन्दर, सुमधुर, सुरम्य वातावरण रमाइलो । पदयात्रामा प्राकृतिक सौन्दर्यको रसास्वाद अनौठो । आफैँमा नितान्त एक्लो । 

पदयात्राको आनन्द भन्नु नै निर्धक्क, निस्फिक्री नित्य हिँड्नु र फेरि हिँडिरहनु । आँखामा सौन्दर्यको भोक बोकेर हिँड्दै । पानीको काकाकुल हैन, हुँदैन सुन्दरीजलमा । बरू सुमधुर दृश्यहरूमा रमाउँदै, हराउँदै, मस्तले प्रकृतिमै विलीन हुँदै, हुँदै क्रमशः । त्यो पनि प्रत्येक पाइला–पाइलामा प्रकृतिको दृश्यपान गर्दै । 

सहरभन्दा टाढा एकान्त, एकलास अनि निर्मल प्रकृतिको सुन्दर संसार । यसमै यसरी नै  विचरण गर्न पाउनुको बेग्लै स्वाद र बेग्लै सन्तुष्टि । 

साँच्चै आहा ! प्रकृतिसँग मन र मुटु साट्न पाउनुको प्राप्ति कति–कति ! प्रकृतिमा लुटुपुटु गर्दै रमाउन पाउनुका आल्हादित पलहरू पनि कति–कति । खुशीले गद्गद् हुन पुग्नुका वर्तमान क्षणहरू झन् कति–कति !

हिँड्नु, थाक्नु, बस्नु बिसाउनुका क्रमागत सिलसिलाहरू । तर सुदूर गाउँतिरका जस्तो थकाइपछि बस्नलाई शीतल चौतारी यहाँ उपलब्ध छैन । बरपिपलको बोट रोपिएको पनि छैन । बरू आफैँ बनेका बिसौनीहरू छन् । तिनैमा एकछिन सुस्ताउन सकिन्छ । यसरी नै सुन्दरीजलको उकालो काट्नुको रमाइलो एकातिर । यसै गरी, माथि चिसापानी थाप्लोमा पुग्नुको हतारो अर्कोतिर ।

हिँड्नुको फाइदा त छँदै छ । यात्रा गर्नुको रमाइलो आफ्नो ठाउँमा हुन्छ । त्यससँगै प्रकृतिसँग सन्निकट–साक्षात्कार अर्को नौलो अनुभूतिको अभिलेख हो । त्यही नौलो अनुभूतिकै लागि प्रकृति नजिक हुन चाहने मानिसको स्वभाव हो ।

निकै माथिको उचाइमा पुगेपछि देखिँदो रहेछ होचिएका पहाड, बस्ती र बनजङ्गल । तीभन्दा धेरै माथि पाइला टेकेर वरिपरि नियाल्नु । तलसम्मका फाँटहरू हेर्नु । र, हेरिरहनुका कति मनमोहक दृश्यहरू । एकप्रकारले कल्पनातीत परिवेश ।

लेखनलाई कति धेरै विषय र विम्बहरू । अनुभूति गर्नलाई कतिथरि दृश्य र डाँडाहरूका ताँती । क्षितिजसम्म बगिरहेका नदी । पहाड फैलिएर आकाशमै विलीन भइदिए जस्तै । सहर तुँवालोमै तड्पिएर तैरिरहेको जस्तो लाग्ने । 

उकालो माथिबाट तल हेर्नुको खास उपलब्धि भन्नु आफूलाई अग्लो ठान्नु पनि हुँदो रहेछ । अरू सबैलाई साना र होचा ठान्ने आमधारणा विद्यमान छँदैछ । परन्तु, त्यो ठूलो ठाउँमा पुगेर मैले ‘ठालु मानसिकता’ होइन ‘आत्मीयता’ को महसुस गरेँ ।

स–साना पहाडले घेरिएको काठमाडौँ उपत्यका कतै धुलोमैलोमै विलाएजस्तै देखिने रहेछ । अग्ला भवन देखिँदैनन् । मठमन्दिर, मूर्ति र मान्छे हुँदैनन् । अग्लो न्यातपोल, तलेजु, स्वयम्भू, धरहरा केही देखिँदैन । तुँवालोमा कतै हराइरहेको राजधानी । सायद ती सबै यो उचाइभन्दा तल छन् धेरै तल ।

नुवाकोट जिल्लाको चिसापानी । काठमाडौँबाट छोटो पदयात्राको रमणीय गन्तव्य । नामानुसार साँच्चै साह्रै चिसो रहेछ ठाउँ । जाडोले मुटु कमाउने रहेछ । सुन्दरीजलबाट ठाडो उकालो र केही तेर्सो घना जङ्गलको बाटो फेरि उकालो पछिको थाप्लामा चिसापानी । केही होटल, गाउँघर र वरपरका पहाडी श्रृङ्खलाहरू देख्न पाइने स्थान ।  

बदमास बादलको घुम्टोले हिमाली छटालाई लुकाउँदा दर्शन गर्नबाट वञ्चित भइयो । लाग्छ, यही बादल हो, कहिले अनेक रङमा देखा पर्छ । कहिले अनेक रूपमा रूपान्तरित हुँदै मान्छेका मन लोभ्याइ रहन्छ । बादलका हजारौँ रङ र रूप देखेर म आफैँ बादलसँग आकर्षित छु । 

तर, कहिलेकाहीँ यति प्रिय यही बादल स्वतः बदमास बनिदिन्छ । प्रकृतिका सारा सौन्दर्यहरूलाई बादलु घुम्टोले ढाकेर दृश्य–शून्य पारिदिँदा यात्रा बेचैन हुन्छ । मन दिक्क हुँदै बादलप्रति गुनासो गुञ्जिन थाल्छ ।

मेरो जन्मथलो पनि चिसापानी । जन्मेको चिसापानी र घुम्न आएको ठाउँ पनि चिसापानी ! आफ्नो गाउँ ठाउँको नाम सम्झेर केही रमाइलो पनि लाग्छ । अनि केही भावुक पनि भइरहेछु म । पाइलैपिच्छे विगत सम्झेर झस्किन्छु । त्यो चिसापानी र यो चिसापानी तुलना गर्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप