मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
कला

पाका कलाकारका चित्रले इतिहासमा ठाउँ खोज्दा...

शनिबार, २० साउन २०८०, १३ : ४२
शनिबार, २० साउन २०८०

यसपल्ट केही पाकी कलाकार निर्मला जोशीको बारेमा केही लेख्न संयोग मिलेको छ । आममान्छे तथा कला क्षेत्रले नै बिर्सिसकेकी कलाकार अचानक झुल्किइन् । नेपालको समसामयिक महिला कलाकारको इतिहास हेर्दा पनि यस्तायस्तै सन्दर्भ बढी मात्रामा देखिन्छन् । 

बिहेअघि सक्रिय रहेका महिला कलाकार बिहेपछि हराएर कतै लुकेजस्तो हुन्छन् । अनि छोरोछारी हुर्काएर, बढाएर करिब–करिब झन्डै वृद्धावस्थामा पुगेपछि उनीहरु पुनः कला सिर्जना गरेर प्रकाशमा आउने गरेका छन् । हेर्दा सुन्दा नयाँजस्तो तर नेपालको कला इतिहासलाई राम्ररी अध्ययन गरेकालाई यो स्वाभाविक देखिन्छ । निर्मला जोशी पनि यस्तै एउटा पात्र हुन् ।

ढल्कँदो उमेरसम्म कला सिर्जनालाई निरन्तरता दिनेमा उर्मिला उपाध्याय गर्ग (उपाध्याय निर्मलाभन्दा अझ पाकी हुन्), प्रमिला गिरी र शुषमा सिम्खडा मात्र हुन् । बुढेसकालतिर उर्मिला अर्कै विधातर्फ लागिन् । बिरामी परी थलिएपछि शुषमा सिम्खडा पनि लामो समय सिर्जनामा लाग्न सकेनन् । यसो हुँदा एक्लो कलाकारका रूपमा समसामयिक महिला कलाकारमा प्रमिला गिरी मात्र आजको दिनसम्म सक्रिय र क्रियाशील भएर लागिपरेको देखिन्छ ।  

जंकु र प्रदर्शनी

निर्मला राजभण्डारी (बिहेपछि जोशी)को जन्म सन् १९४५ मा काठमाडौँको महाबौद्धमा भएको थियो । भर्खरै निर्मलाको जंकु (७७ वर्ष सात महिना सात दिन पारेर गरिने नेवार समुदायको संस्कार) सम्पन्न भयो । जंकुको भोजमा समेत उनका चित्र चारैतिर प्रदर्शन गरियो । परम्परा र संस्कारसँग पनि कलालाई जोडेर हेर्दा स्वभावतः नयाँ संस्कारको जन्म भएको अनूभूत भएको थियो । यस्ता चित्रकला प्रदर्शन गर्नुमा उनकी छोरी निरा र छोरा नवीनको अथक प्रयास छ । जंकुपछि पार्क कला दीर्घामा गत असार २४ गतेदेखि यही १५ साउनसम्म निर्मलाको एकल कला प्रदर्शनी गरियो । यस प्रदर्शनीमा उनका ५० वटा जति चित्र थिए, ती सबैजसो सहज र सरल चित्रले एउटा गतिलो सन्देश प्रवाहित गरेका थिए । 

पार्क ग्यालरी उनैका पति मूर्धन्य कलाकार रामानन्द जोशीले ७० को दशकमा स्थापना गरेका थिए । यसर्थ यो कला दीर्घामा निर्मलाको कला प्रदर्शनी हुनु आफैँमा एक ऐतिहासिक घटना बन्न पुगेको छ । 

रामानन्द नेपाली आधुनिक कलाको शुभारम्भका यस्ता बलिया खम्बा हुन्, जसले नेपाली गाउँघरको जनजीवनलाई नजिकबाट नियाल्दै दृश्यचित्रको संस्थागत रूपमा थालनी मात्र गरेनन्, त्यसको अर्को एक बलियो इतिहास पनि खडा गरे । आधुनिक कलामा अभिव्यञ्जना र तान्त्रिक कलाको शुभारम्भ गरेका कलाकारका रूपमा पनि रामानन्दलाई चिनिन्छ । पार्क कला दीर्घा खोलेर उनले कला ग्यालरीको अवधारणालाई नेपाली कला क्षेत्रमा प्रवेश गराएका थिए, योसँगै संस्कृति र परम्परालाई नेपाली आधुनिक कलामा फ्युजन गराई आधुनिक कलाको नयाँ धारको स्थापना गर्नुमा पनि उनको गहन योगदान छ । 

त्यसबेला बाहिर खुला प्रकृतिमा गई दृश्यचित्र बनाउनु कलाको आन्दोलनजस्तो भएर देखापरेको थियो, जसका अगुवा रामानन्द जोशी थिए । त्यसबेला खुला आकाशमा ल्यान्डस्केप (ओपन एयर पेन्टिङ) गर्न रामानन्द जाँदा निर्मला पनि जान्थिन् । अन्य कलाकार सँगसँगै निर्मला पनि दृश्यचित्र बनाउँथिन् । त्यतिबेला उनी सक्रिय कलाकारका रूपमा परिचित भइसकेकी थिइन् । 

निर्मलाको यसपल्टको प्रदर्शनीमा चरा–चुरिङ्गीका चित्र बढी थिए, त्यसपछि फूलका चित्र । यस्तै २०६८ सालतिर बनाएको एउटा गणेशको चित्र र सन् १९७५ मा तेल रङको माध्यमबाट बनाएको गुराँस फूलको चित्रलाई पनि प्रदर्शनमा राखिएको थियो । 

364626354_588920963410906_7518359363921162666_n

उनले आफ्ना चित्रमा फलफूललाई पनि स्थिर जीवन (स्टिल लाइफ)का रूपमा चित्रित गरेकी छन् । समग्रमा भन्नुपर्दा, कल्पनाको संयोजन गरेर यी चित्रमा शिल्पगत दक्षता यथेष्ट मात्रामा देखिन्छ । कतै हेरेर, अलिकता कल्पना गरेर बनाइएकाले यी चित्र जीवन्त पनि लाग्छ । कति चित्रमा फूल र पातका स–साना अवयव र तिनका विशेषतालाई सजग र सचेत भएर उठाइएको छ । पारदर्शी रङको प्रयोग गर्ने कुशलतासँगै तुलिकाघातको सबल प्रयोगले जलरङका चित्र आकर्षक देखिएका छन् । कतिपय चित्रमा हाँगाउँदी बसेका चरा आदि पनि रमाइलो ढंगले प्रस्तुत भएको देखिन्छ ।

निर्मलाको पाठशाला

उनी १७ वर्षकै उमेरमा जुद्धकला पाठशाला (त्यतिबेला नेपालभरिको एउटै मात्र कलाको स्कुल)मा अध्ययन गर्न शुभारम्भ गरिसकेकी थिइन् । यस बेलाको यो कला स्कुल थोरै अलग्ग प्रकृतिको थियो । क्याम्पस वा कलेजका रूपमा परिणत भइनसकेको हुँदा इच्छा हुने, आधारभूत कलाको ज्ञान र सीप हुने जो–कोहीले त्यहाँ पढ्न पाउने व्यवस्था थियो । यो कलाको स्कुलमा भर्ना हुन सम्भवतः वर्ष र शैक्षिक योग्यताको आवश्यकता थिएन । 

जुद्धकला पाठशाला नै पछि ललितकला क्याम्पसको रूपमा विकास भएको हो । यसलाई तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरको पहलमा १९९० सालमा ‘आर्ट–स्कुल’को नाममा खोलिएको थियो । २००० सालमा आएर यसको नाम जुद्धकला पाठशालामा बदलियो । आर्ट स्कुलमा मास्टर चतुररत्न मात्र कला शिक्षक थिए ।

364633797_695401955750189_8494413080933060947_n

जुद्धकलामा पढेका पुराना कलाकारहरुका अनुसार, पश्चिमी कला पद्धतिको आधारमा बनेको राम्रो पाठ्यक्रम त्यतिबेला थियो । यस स्कुलमा पश्चिमी कलागत शैली र पद्धतिलाई स्थापित गरिएको थियो । त्यस बेलाको पाठ्यक्रम हेर्दा कलाका स–साना विषयलाई पनि मिलाएर राखेको देखिन्छ । तापनि त्यस बेलाको पढाइको मोडालिटीबारे हामीसँग यथेष्ट जानकारी छैन । जेहोस्, यही कला शिक्षण पद्धतिबाट केही कलाकार दीक्षित हुँदा पनि आधुनिक कलाको उदय हुन सहज भइदियो ।  

निर्मलाले सन् १९६० देखि ६३ सम्म यस पाठशालामा कला पढिन्, सन् १९६४ सालमा उनको बिहे भयो । त्यसबेला कलाको ५–६ वर्षको कोर्स हुन्थ्यो, उनले कोर्सलाई पूरा चाहिँ गर्न पाइनन् । 

कलाविद् स्व.नारायणबहादुर सिंहले आफ्नो पुस्तक ‘नेपाली समसामयिक चित्रकलाको इतिहास’मा त्यस बेलाका केही महिला कलाकारका प्रसंग उठाएका छन्, यस पुस्तकमा निर्मलाको नाम परेको देखिँदैन । त्यस पुस्तकमा उनीसँगैका अन्य ५–६ जना सहपाठी महिला कलाकारको प्रसंग भने उठेको छ । यस पुस्तक अनुसार, त्यसबखत नाम उठेका कुनै पनि महिला कलाकार लामो समयसम्म सक्रिय रहेको देखिएको छैन । 

समसामयिक चित्रकलामा विधिवत् शिक्षा लिई अगाडि बढ्न खोज्ने महिला कलाकार त्यसबखत नगन्य मात्रामा थिए । पढ्नलाई नै रोक लगाउने त्यसबेलाको समाजमा चित्रकला पढ्न पठाउनु भनेको धेरै ठूलो कुरा हुन्थ्यो । निर्मलाले जुद्धकला पाठशालामा कलाको अध्ययन गर्नु नै ठूलो कुरा देखिन्छ । 

निर्मलाले कलाको सुरुआत गरेका बेला आधुनिक कलाको पूर्व काल हो, अर्थात् कलामा आधुनिकता उदाउन–उदाउन लागेको थियो । यथार्थवादी कलाबाट प्रभाववादी कलातिर फड्को, कलामा अभिव्यञ्जना, अमूर्तता आदिको प्रयोग, अभ्यास भइरहेको अवस्था थियो । निर्मलाले अमूर्त कला कहिल्यै बनाइनन्, राम्रा र निखारिएका यथार्थ अनि प्रभाववादी चित्र मात्र बनाइन् । त्यसबेला जो कसैका कलाका प्रवृत्ति पनि सङ्क्रमण कालमा उम्रेका कलाजस्ता देखिन्छन् । अनि ती कला अलिकता रमाइलो, अलिकता अर्थपूर्ण समेत लाग्छ । 

नेपाली आधुनिक कलाको पूर्वसन्ध्यामा उदाएको कलागत प्रवृत्तिले नेपाली कलाबारे धेरै कुरा गर्न, भन्न मद्दत गर्दछ । पश्चिमी कला–अंकन पद्धति र यता नेपाली परम्परागत कला माथिको सोच, दर्शन अनि अंकन–पद्धति यसबेला मिश्रण हुन पुगेको थियो । त्यसबेला भएको कोल्याबोरेसनबारे र नयाँ कलागत धारका बारेमा राम्रोसँग लेखा–जोखा भएको देखिँदैन । 

364658216_6790553517630032_7333291144150210025_n

रमेश विकलका चित्रहरू

लामो समय हराएका कलाकारले पुनः कला कोर्न थालेको सन्दर्भ आज धेरैपछि उठाउने अवसर मिलेको छ । यसै सन्दर्भमा सम्झन मन लाग्यो, कलाकार तथा लेखक रमेश विकल (सन् २०२९–२००८) लाई । 

गएको सप्ताह रमेश विकलका बारेमा एउटा अंग्रेजीमा लेखिएको ‘रमेश विकल्स हिडन ट्यालेन्ट’  भन्ने पुस्तकको लोर्कापण भयो । यसका लेखक डा. यमप्रसाद शर्मा हुन् भने सम्पादन कलाकार के के कर्माचार्यले गरेका हुन् । के के कर्माचार्य रवि चालिसे (रमेश विकल)का पछिल्लो कालका कला गुरु समेत हुन् । नेपाली कलाकारको बायोग्राफीका रूपमा लेखिएका पुस्तक जम्माजम्मी १८–२० वटा सार्वजनिक भएका होलान् । यसमा पनि चारवटा अङ्गे्रजीमा र बाँकी सबै नेपालीमा । यी पुस्तकबारे छुट्टै चर्चा गरौँला ।  

विकलमाथि लेखिएको उपर्युक्त पुस्तक आफैँ पनि महत्त्वका साथ देखिन आएको छ । यस पुस्तकभित्र रमेश विकलको कलाकारिताका बारेमा के कति पर्न सक्यो वा सकेन, यो अर्कै विषय भयो । तापनि यसभित्र भएका चित्रको छापाचित्र यथेष्ट रूपमा हुँदा आगामी दिनमा उनलाई केलाउन यो पुस्तक गतिलो स्रोतका रूपमा भने देखिन आएको देखिन्छ ।

विकल स्वनामधन्य उपन्यासकार, कथाकार भएकाले पनि उनको साहित्यकै चर्चा बढी मात्रामा हुन गयो । उनको कला पक्षको चर्चा नै भएन भन्दा हुन्छ । उनको देहावसान भएको निकै वर्षपछि  (सन् २०१४ मा) उनले बनाएका चित्र सङ्कलन गरेर एकल कला प्रदर्शनी गरियो । 

कला प्रदर्शनी भएकै बेला विश्लेषणात्मक रूपमा उनका चित्रबारे चर्चा हुन पाएन वा गरिएन, हामीकहाँ अभिलेखीकरणकै कमी छ ।

रमेश विकल रविको नामबाट चित्र बनाउँथे । अहिलेसम्म प्राप्त उनका चित्रमा दृश्यचित्र र व्यक्तिचित्र नै बढी छन् । अनि केही ‘क्विक स्केच’ सार्वजनिक भएका छन् । कलाका स्कुलमा क्विक स्केच औपचारिक कलाको पाठ्यक्रममा अनिवार्य विषयका रूपमा समावेश गरिएको हुन्छ । कलामा यसको छुट्टै महत्त्व छ । नभन्दै यस्ता क्विक स्केचमा उनी अब्बल पनि देखिएका छन् । 

यथार्थ तर पूरा यथार्थ बन्न नसकेको कलागत शैलीको रूपमा विकलका कलालाई हेर्नुपर्ने हुन्छ । कलाका सामान्य ज्ञान केही अग्रज कलाकारसँग सिके पनि मूलतः उनी स्वअध्ययनबाटै कलाकार बनेका हुन् । मूलतः साहित्यमा अग्लोे उचाइमा पुगिसकेको स्वनामधन्य व्यक्तित्व कलामा समेत प्रवेश गर्नुले उनको कलाप्रतिको लगावलाई दर्शाउँछ । 

भारतमा साहित्यमा अग्लो उचाइमा पुगेका विश्व कवि रवीन्द्रनाथ टैगोरले ७० वर्षको उमेरमा कला बनाउन सुरु गरेका थिए । बंगालमा सदियौँदेखि एउटा अलग्ग कलागत परम्परा कायम गर्दै आएको ‘सन्थाल जाति’ र यही समुदायको लोक कलालाई आधार बिन्दु बनाएर उनले कालो मसीले बनाएका (अझ कसैकसैले त कपडाका टुक्रा अनि हातका औँलालाई प्रयोग गरेर यस्ता चित्र बनाएका हुन् भन्ने गरिन्छ) साधारण व्यक्ति चित्रले विश्वमा तहल्का मच्चाएका थिए । उनले यस्ता चित्र सन् १९२९ तिर बनाएर सन् १९३० मा पेरिसको ‘पिगल कला दीर्घा’मा प्रदर्शन गरेपछि विश्व कला बजारमा भारतीय समसामयिक कलाको एक अलग्ग शैलीगत सन्दर्भको चर्चा उठ्यो । कैयौँ भारतीय कलाविद्ले उनलाई आधुनिक कलाको शुभारम्भका कलाकार भनी लेखेको पाइन्छ । 

कलागत प्रवृत्तिलाई अलि सूक्ष्म रूपमा हेर्दा र तुलिकाघातको उपस्थिति अनि तुलिकाका डोबलाई नियाल्दा विकलका चित्रमा थोरै प्रभाववादीको लक्षण पनि दृष्टिगोचर हुन्छ, (प्रभाववादीहरु खास अर्थका साथ यस्ता आधारभूत रङका साथ तुलिकाघातलाई क्यानभासमाथि प्रहार गर्दथे) । पश्चिमी अंकन–पद्धतिप्रति विकल आकर्षित भएको देखिन्छ । दृश्यचित्रको स्वभाव, कलर एप्लिकेसनको तौर–तरिका, संयोजन र सङ्गठनका दृष्टिले हेर्दा उनका कलालाई समसामयिक कलाको परिधिभित्र राख्न सकिन्छ । 

पश्चिममा चित्रकलामा देखापरेको पेन्टर्ली चित्रअंकन पद्धति (यसलाई स्केची टेक्निक भन्ने चलन पनि छ) प्रभाववादी चित्रकलाका बेला चरमोत्कर्षमा पुगेको थियो, जहाँ मोटा र चाक्ला तुलिकाघातको प्रयोग हुन्थ्यो । यस्ता चित्रमा देखिने गरी रेखाको प्रयोग कम हुने गर्दथ्यो । कला व्याख्याताले पछि यसैलाई कलाकारमा रहेको उच्चतम शिल्पी दक्षताको संज्ञा दिए । हाम्रो देशमा यस प्रकारको कला अंकन पद्धति अपनाई उत्कृष्ट व्यक्तिचित्र बनाउने तेजबहादुर चित्रकारलाई मानिन्छ । यही पेन्टर्ली स्वभावबाट चाहिँ विकल अर्थात् रवि चालिसे कोसौँ टाढा देखिन्छन् ।   

यी आदि विशेषताले गर्दा विकलका कलालाई उनको आफ्नै पाराको निजी शैली भन्दा उपयुक्त हुन्छ । यथार्थतामा कल्पना गुनगुनाउनु उनको निजी स्वभाव देखिन्छ । उनका अधिकांश चित्र कपी वर्ककोरूपमा देखिन्छन्, तापनि उनको निजी भावना, भाव र अभिव्यञ्जनाले गर्दा स्वैरकाल्पनिकताका बाछिटा यत्रतत्र छरिएका देखिन्छन् । 

उनका चित्रमा गतिभन्दा पनि स्थिरता र दृढपन बढी छ । पातला आधारभूत रङहरूले बढी चलखेल गर्दा उनका चित्रमा बालसुलभ रङ र आकार बढी मात्रामा परिलक्षित भएको देखिन्छ । ससाना तुलिकाघात संयमका साथ बग्नुले कलामाथिको उनको एकाग्रतालाई दर्शाउँछ । 

उनका कति व्यक्तिचित्र हेर्दा अस्वाभाविक चित्र–अंकन देखिन्छ, तापनि भावाभिव्यक्तिको कोणमा उनका चित्र संवेदनशील देखिन्छन् । उनका चित्र एक तमासमा रोमाञ्चित भएर प्रकट भएका देखिन्छन् । यो उनको कलागत स्वभाव हो । चित्रका पात्रका लागि उनले गरगहना र नेपाली वेशभूषाप्रति प्रेम राखेको देखिन्छ ।  

उनलाई जस्तो आउँछ, जसरी आउँछ, त्यसरी नै उनका कला बनेका देखिन्छन् । यसले आभास गराउँछ, उनले जीवनको आरोह–अवरोहलाई नजिकबाट समेटेर चित्रमा व्यक्त गरेका छन् । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप