मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
ओसीएमसी सेवा

सरकारसँग पुनःस्थापना केन्द्र नहुँदा अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रहरूलाई सकस

बुधबार, २४ साउन २०८०, १२ : ०८
बुधबार, २४ साउन २०८०

काठमाडौं । पुनःस्थापना केन्द्र नहुँदा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) बाट दिइने सेवामा सकस भएको छ । हाल नेपालका ७७ जिल्लाका विभिन्न ९४ वटा अस्पतालमा ओसीएमसी सेवा उपलब्ध भए पनि आफ्नै पुनःस्थापना केन्द्र नहुँदा समस्या खेप्नु परेको अस्पतालहरूको भनाइ छ ।

ओसीएमसीबाट मुख्यतः स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, प्रमाणका लागि चिकित्सकीय कानुनी सेवा र आवश्यकताका आधारमा पुनःस्थापना पनि गरिन्छ । अन्य सेवाका लागि सहज भए पनि ओसीएमसी कार्यक्रम सञ्चालन गर्न आफ्नै पुनः स्थापना केन्द्र नहुँदा समस्या भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत ओसीएमसीका वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत सुनालक्ष्मी कर्माचार्यले सुनाइन् ।

उनका अनुसार यौन हिंसा, यौन दुर्व्यवहारमा परेर घरपरिवारबाट पीडित भई ओसीएमसीमा आइपुगेका कतिपय मामिलालाई घरमै पुनःस्थापना गर्ने अवस्था हुँदैन । परिवारबाटै पीडित भएर आएकाहरूलाई पुनःस्थापना गर्न कठिन भएको कर्माचार्यले बताइन् ।

प्रसूति गृह अन्तर्गतको ओसीएमसी सेवा केन्द्रका प्रमुख सुकुमाया तामाङले पनि बेलाबेला यस्ता समस्या हुने सुनाइन् । ‘घरमै पुनःस्थापना गर्न नसकिनेहरूलाई सहयोगी संस्थाहरूले आश्रय दिनुहुन्छ । उहाँहरूले पनि कस्ता खालका पीडितलाई राख्ने भन्ने आ–आफ्नै नियम छन्,’ उनले भनिन्, ‘संघ संस्थाले छानेर आफ्नो अवस्था र नियमअनुसार राख्ने भएकाले पुनःस्थापनामा समस्या पर्छ ।’

उपचार, परामर्श, कानुनी सेवा, जीविकोपार्जनका लागि आर्थिक सहयोगभन्दा पनि पुनःस्थापनका लागि समस्या भएको कर्माचार्यको भनाइ छ । विगतको तुलनामा पीडित दर बढ्दै गएको छ । पुनःस्थापनाका लागि थप चुनौती देखिएको उनले बताइन् ।

यस सेवालाई स्वास्थ्य मन्त्रालयबाट सङ्ख्यात्मक भन्दा पनि गुणात्मकलाई प्राथमिकता दिइने उनको भनाइ छ । यस कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गर्ने लक्ष्य रहेको पनि उनले सुनाइन् ।

सात वटा प्रदेशमा एकीकृत सेवा सुविधासहितको दीर्घकालीन आवास गृह निर्माण गरिएको खण्डमा ओसीएमसी कार्यक्रमको प्रभावकारिता र गुणात्मकता स्तरवृद्धि हुने कर्माचार्यले बताइन् । स्वास्थ्य मन्त्रालयका अनुसार गएको चैतदेखि अहिलेसम्म एक हजार ४ सय ५१ नयाँ केस आएका छन् भने २५१ जना फलोअप केस आएको छ ।

अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र २०६८/०६९ देखि लागु गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रबाट आर्थिक वर्ष २०७८/०७९ मा ११ हजार ४६ जनाले सेवा लिएका छन् । यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा ८ हजार ७७१ जनाले सेवा लिएका थिए । जसमा ८ हजार ३६७ जना महिला र ३८५ जना पुरुष र १९ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक थिए ।

आर्थिक वर्ष २०७६/०७७ मा ५ हजार ७५४ जनाले सेवा लिएका थिए । जसमध्ये ५ हजार ४४९ जना महिला र २७० जना पुरुष र ३५ जना लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक रहेको तथ्याङ्कमा उल्लेख छ ।

ओसीएमसीबाट कस्तो सेवा पाइन्छ ?

ओसीएमसीमा आउने सेवाग्राहीलाई सबैभन्दा पहिला स्वास्थ्यलाई नै प्राथमिकता दिएर हेरिन्छ । त्यसपछि कानुनी उपचार लगायतका कुरा अगाडि बढाइने वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत कर्माचार्यले सुनाइन् ।

ओसीएमसीबाट मुख्य त स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, प्रमाणका लागि चिकित्सकीय कानुनी सेवा दिइने उनले बताइन् । कर्माचार्यका अनुसार स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, प्रमाणका लागि चिकित्सकीय कानुनी सेवा जस्ता विषयलाई सबै डाक्टरले प्रदान गर्न पाउँदैनन् ।

उनले भनिन्, ‘मनोसामाजिक परामर्श सम्बन्धी ६ महिनासम्म तालिम प्राप्त डाक्टर नर्सहरूले मात्रै मनोसामाजिक परामर्श दिने गर्छन् । यस्तै, प्रमाणका लागि चिकित्सकीय कानुनी सेवा उपलब्ध गराउनका लागि १७ दिन विशेष खालको तालिम लिएका डाक्टरहरूले मात्रै काम गर्छन् ।’

एकद्वार प्रणाली भनिएकाले कुनै पनि पीडितलाई एकै स्थानमा स्वास्थ्य उपचार, कानुनी उपचार, चिकित्सकीय कानुनी सेवा र पुनःस्थापना लगायतका सेवा उपलब्ध गराइने कर्माचार्यको भनाइ छ ।

‘पीडितले आफूमाथि भएमा समस्या अन्य निकायमा भन्दा असहज रुपमा भन्न सक्छन् । अन्य ठाउँमा पीडितलाई उल्टै पीडित बनाइन पनि सकिने भएकाले एकै स्थानमा उपचार, कानुनी उपचार र सामाजिक न्याय उपलब्ध गराइन्छ,’ उनले भनिन् ।

सरकारले ओसीएमसीका लागि छुट्टै कर्मचारीको व्यवस्थापन गरेको छ । यस्तै जिल्लामा अस्पतालको ओसीएमसीमा सेवा लिन आउनेलाई रिफरल गर्नुपरेको खण्डमा संघीय अस्पतालमा रिफरल गर्ने गरिएको उनको भनाइ छ । आवश्यक परेको खण्डमा सरकारी वकिलको व्यवस्था समेत गरिने उनले बताइन् ।

पीडितको अवस्था हेरेर पुनःस्थापना र जीविकोपार्जनका लागि आर्थिक रुपमा सहयोग समेत गरिने उनले सुनाइन् । पीडित र प्रभावितलाई चौबिसै घण्टा ओसीएमसीमा सेवा उपलब्ध गराइने उनको भनाइ छ ।

हेटौंडा अस्पतालबाट सेवा लिने बढी

सरकारले यस वर्ष सात प्रदेशका ६० वटा अस्पतालबाट ओसीएमसी सेवा सञ्चालन गरेको थियो । सबै अस्पतालबाट आर्थिक वर्ष ०७९/०८० मा ५ हजार ७५४ जनाले सेवा लिएका छन् । जसमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा १० अस्पतालले ओसीएमसी सेवा दिएका छन् । हेटौंडा अस्पतालमा रहेको ओसीएमसीबाट मात्र ४१० जनाले सेवा लिएका छन् ।

यस्तै, प्रसूति अस्पतालबाट ३०८ जनाले सेवा लिएका छन् । सिन्धुली अस्पतालबाट २४९ जनाले सेवा लिएका छन् । पशुपति चौलागाईं मेमोरियल अस्पताल दोलखाबाट १३५ जना, त्रिशुली अस्पतालबाट ६४ जना, मन्थली हेल्थपोष्टबाट ६० जनाले सेवा लिएको तथ्याङ्क छ ।

यसैगरी धादिङ अस्पताल ४६ जना, वीर अस्पतालबाट ४ जनाले सेवा लिएका छन् भने रसुवा अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरबाट कसैले पनि सेवा नलिएको पाइएको छ । बागमती प्रदेशबाट मात्रै जम्मा एक हजार २ सय ७६ जनाले सेवा लिएका छन् ।

सातै प्रदेशको अवस्था

सात प्रदेशमध्ये सबैभन्दा धेरै ओसीएमसी सम्बन्धी सेवा बागमती प्रदेशमा ४४ पुरुष, १२ सय २६ महिला र ६ जना तेस्रो लिङ्गी गरी एक हजार २ सय ७६ जनाले सेवा लिएका छन् । यस्तै दोस्रोमा लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका अस्पतालबाट ओसीएमसी सेवा लिनेमा पुरुष ७७, महिला एक हजार १२० र तेस्रो लिङ्गी २९ गरी एक हजार २२६ जना छन् ।

कोशी प्रदेशको ९ जिल्लाका अस्पतालमा ओसीएमसी सेवा केन्द्र सञ्चालन गरिएको छ । यस प्रदेशमा सञ्चालित केन्द्रबाट ३४ जना पुरुष, एक हजार ११३ महिला गरी जम्मा एक हजार १४७ जनाले सेवा लिएका छन् ।

यस्तै, मधेस प्रदेशका ५ जिल्लाका अस्पतालमा ओसीएमसी सेवा सञ्चालन गरिएकोमा ७१५ महिला, १५ पुरुष गरी जम्मा ७३१ जनाले सेवा लिएका छन् ।

सुदूपश्ञ्चिम प्रदेशका ९ वटा जिल्लामा ओसीएमसी सेवा सञ्चालन गरिएकोमा २२ पुरुष, ६१० महिला गरी ६३२ जनाले सेवा लिएको पाइएको छ । कर्णाली प्रदेशमा ९ जिल्लामा ५३ जना पुरुष र ३९८ महिला गरी ४५१ जनाले सेवा लिएका छन् ।

गण्डकी प्रदेशका ६ जिल्ला कास्की, तनहुँ, बाग्लुङ, गोरखा, पर्वत, म्याग्दीमा जिल्ला अस्पतालमार्फत ओसीएमसी सेवा सञ्चालन गरिएको छ । जसमा पुरुष २५ जना र  महिला २६६ गरी २९१ जनाले सेवा लिएका छन् ।

पुरुष पनि पीडित

यौन हिंसा, दुर्व्यवाहरमा महिलामात्रै नभएर पुरुष पनि पीडित भएको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाएको छ । सातै प्रदेशमा रहेका ६० अस्पतालका ओसीएमसी सेवा केन्द्रबाट सेवा लिएकामध्ये २७० पुरुष यौन दुर्व्यवहार तथा हिंसामा परेको पाइएको छ ।

लुम्बिनी प्रदेशमा ७७ जना पुरुष यौन दुर्व्यवहार तथा हिंसा पीडित भएको पाइएको छ । यस्तै, बागमती प्रदेशमा ४४ जना पुरुष पीडित भएका छन् । कर्णाली प्रदेशमा ४३ पुरुष पीडित पाइएको छ भने कोशी प्रदेशमा ३४, गण्डकीमा २५, सुदूरपञ्चिममा २२ र सबैभन्दा कम मधेस प्रदेशमा १५ पुरुष पीडित भएको पाइएको छ ।

१४ संघीय अस्पतालमा सेवा लिनेको अवस्था

संघीय सरकार अन्तर्गत १४ वटा अस्पतालमा रहेका ओसीएमसी सेवा केन्द्रबाट एक वर्षको अवधिमा २ हजार ३२२ जनाले सेवा लिएका थिए । ओसीएमसी अन्तर्गत हाडनाता करणी, साना बालिकामाथि यौन दुर्व्यवहार, विभिन्न किसिमका लैङ्गिक हिंसा झेलेका महिला तथा बालबालिकाहरूलाई सेवा प्रदान गरिन्छ ।

कुन अस्पतालबाट कुन उमेर समूहका कतिले लिए सेवा ?

hospital-data

धेरैलाई सेवा दिनेमा कोशी अस्पताल

१४ संघीय अस्पतालमध्ये ओसीएमसी सेवा सबैभन्दा बढी कोशी अस्पतालले ३९५ जनालाई प्रदान गरेको छ । सबैभन्दा कम कान्ति बाल अस्पतालबाट ३० जना बालबालिकाले सेवा लिएका छन् ।

यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३३७ जनाले सेवा लिएका छन् । गजेन्द्र नारायण सिंह अस्पतालबाट ३३४, परोपकार अस्पतालबाट २७८, भरतपुर अस्पतालबाट १९०, भेरी अस्पतालबाट १७८, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १६३, पाटन अस्पतालबाट ११६ जनाले सेवा लिएका छन् ।

फरक क्षमता भएका नागरिक पनि यौन दुर्व्यवाहर खेप्न बाध्य

१४ संघीय अस्पतालको ओसीएमसीमा सेवा लिन फरक क्षमता भएका नागरिक पनि पुगेको पाइएको छ । तथ्याङ्क अनुसार गएको वर्ष १४ संघीय अस्पतालका ओसीएमसीमा सेवा लिन गएकामध्ये ११ जना शरीरिक अपाङ्गता भएका व्यक्ति छन् । यस्तै, मानसिक तथा बौद्धिक अपाङ्गता भएका २९ जना, दृष्टिसम्बन्धी अपाङ्गता भएका ५, सुनाइसम्बन्धी अपाङ्गता  भएका ५, स्वरसम्बन्धी अपाङ्गता भएका २९, र बहु अपाङ्गता भएका ४ गरी ८३ जना पीडितले सेवा लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप