धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्ग चार दिनदेखि अवरुद्ध, यात्रुलाई सास्ती
सुदूरपश्चिम । धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गको बूढीतोला सडकखण्डमा सोमबार राति पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सुचारु हुन नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ ।
डोटीबाट काम विशेषले धनगढीतर्फ आउँदै गरेका मीनराज जोशी गएको पहिरोका कारण तीन दिनदेखि बीच बाटोमै रोकिएका छन् । “अवरुद्ध बनेको बाटो खुल्ला र धनगढी पुगेर आफ्नो काम गरौँला भनेर बाटोमै पर्खी बसेका छौँ”, उनले टेलिफोनमा भने, “आज चार दिन भइसक्दा सम्म बाटो नखुल्दा गोजीमा बोकेको खर्च सकिएर समस्यामा परेका छौँ ।”
पहिरो पन्छाएर सडकमा आवागमन सुचारु बनाउने काम जारी रहे पनि निरन्तरको वर्षाले पहिरो पन्छाउने काम प्रभावित भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताए । उनले लगातार वर्षा भइरहँदा पहिरो पञ्छाउने काम प्रभावित बनेको बताए ।
“गएको पहिरो र भासिएको सडकखण्डको ८० प्रशित भागलाई आवागमन गर्न सकिने बनाइसकेका छौँ”, उनले भने, “पूरै पहिरो पन्छाई बाटो सुचारु गर्न वर्षामा भर पर्ने देखिएको छ ।”
उक्त सडकखण्डको झण्डै चार सय मिटर लामो भागमा माथिबाट ठूलो पहिरो खसेको छ भने एक सय मिटर लामो भागमा सडकमा भासिएको छ । पहिरो खस्दा नजिकैका सात/आठ घरपरिवार रहेको बस्ती पनि जोखिममा परेको छ । सडक डिभिजन कार्यालयले तीन स्काभेटर र दुई लोडर प्रयोग गरी पहिरो पन्छाउने काम गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालाई जोड्ने एक मात्र यो सडक अवरुद्ध बन्दा पहाडी र तराईका जिल्लाको यातायात सम्पर्क टुटेको छ । योसँगै खाद्यान्न, औषधि, साग, तरकारीलगायत उपभोग्य सामानको सहज आपूर्तिमा समस्या सिर्जना हुन थालेको छ ।
बाटो अवरुद्ध हुँदा ठूलो सङ्ख्याका मालवाहक यातायातका साधन बीच बाटोमै रोकिएका छन् । यो राजमार्गमा दैनिक साना ठूला गरी दुई हजारभन्दा बढी यातायातका साधनको अवागमन हुने गर्छ ।
यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरो प्रभावित बुढीतोला सडकखण्डको स्थलगत अवलोकन गरी आवश्यक निर्देशन दिएका छन् । मुख्यमन्त्रीको टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवा र आन्तरिक मामिलामन्त्री शिवराज भट्ट पनि सहभागी रहेका थिए ।
वर्षाका कारण बाजुरा जिल्ला हिमाली गाउँपालिका–३ युना गाउँ बस्ने सुरवीर रोकायाको नौ कोठाको तीन तल्ले पत्थरले छाएको घर बिहीबार साँझ भत्किएर क्षति पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
रोकायाको घर भत्किँदा सरसामान, खाद्यान्न, लत्ताकपडालगायत गरी रु सात लाख बराबर धनमाल क्षति भएको बताइएको छ । घटनास्थलमा खटिएको प्रहरी टोलीले उद्धार कार्य गरेको र मानवीय क्षति हुन नपाएको पनि प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण