सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
संसद खुलाउन सकस

संसदको अवरोध हटाउन शृङ्खलाबद्ध प्रयास निरर्थक, राष्ट्रपतिले पनि बढाए सक्रियता

शुक्रबार, ०१ भदौ २०८०, २३ : ४५
शुक्रबार, ०१ भदौ २०८०

प्रतिनिधि सभाको जारी गतिरोध अन्त्यका लागि विभिन्न पक्ष र तहमा भएका प्रयासहरु असफल भएका छन् । साउन महिनाभर प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक सहज ढङ्गले सञ्चालन हुन सकेन ।

प्रमुख प्रतिपक्षी दल एमालेले साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा १९ जना सांसदले आकस्मिक समयमा बोलेपछि एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गरेको थियो ।

आकस्मिक समयमा बोल्ने समय सकिएपछि सभामुख देवराज घिमिरेले शून्य समयको कारबाही अघि बढाउने बित्तिकै एमालेका सांसदहरु उभिएर बैठक अवरुद्ध गर्न थालेपछि उनले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका थिए ।

प्रमुख सचेतक गिरीले पछिल्लो दुई–तीन महिनाको अवधिमा त्रिभुवन विमानस्थलबाट गृहमन्त्री र अर्थमन्त्रीको संरक्षणमा २०–२२ क्विन्टलभन्दा बढी सुन भित्रिएको दाबी गर्दै उच्चस्तरीय छानबिन समिति गठनका लागि सभामुखको रुलिङको माग गरेका थिए । त्यसपछि एमाले सांसदहरुले वेल घेराउसहित नारावाजी गर्दै बैठक अवरुद्ध गरेका थिए । त्यसयता एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ ।

साउन १५ गतेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सुचारु गर्ने विषयमा सत्तापक्ष र विपक्षी दलको कुरा नमिलेपछि सूचना टाँस गरेर साउन १६ गतेका लागि बैठक बोलाइएको थियो ।

साउन १६ गतेका लागि बोलाइएको बैठक सुचारु गर्नु अघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षको कुरा नमिलेपछि सूचना टाँस गरेर एक सातापछि साउन २२ गतेसम्म बैठक स्थगित गरिएको थियो ।

साउन २२ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुचारु गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्ष दलको बैठक बोलाइएको थियो । तर संसद खुलाउने विषयमा सहमति नभएपछि सूचना टाँस गरेर दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भएको छलफलमा सहमति जुटेन । दिउँसो ३ बजेका लागि बानेश्वरमा बोलाइएको अर्को बैठकमा पनि सहमति नभएपछि अपराह्न ४ बजे बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

साउन २३ गते प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए । विभिन्न दलबाट १२ जना सांसदहरुले भनाइ राखेपछि बोलेका गृहमन्त्री श्रेष्ठको जवाफ चित्त नबुझेको भन्दै एमालेले संसद अवरुद्ध गरेको थियो ।

चैत २४ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक पनि एमालेले होहल्ला र नाराबाजी गर्दै अवरोध गरेपछि साउन २६ गतेका लागि बोलाइएको थियो । साउन २६ गतेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिएपछि सत्तापक्ष सांसदहरुले पनि बोल्न समय माग्दै होहल्ला गरे । त्यसपछि एमाले सांसदहरुले सभामुखको वेल घेराउसहित नाराबाजी गर्दै संसद अवरुद्ध गरेका थिए ।

साउन २९ गते बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले सत्तारुढ दलको तर सरकारको विरोधमा बोल्न चाहेका कांग्रेस सांसद सुनील शर्मालाई समय दिएका थिए । त्यसपछि एमाले सांसद मानवीर राईलाई समय दिएका थिए । राईले बोलेपछि सभामुखले शून्य समयको कारबाही अघि बढाउने बित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै संसद अवरुद्ध गरेका थिए । बैठक अवरुद्ध भएपछि उनले भदौ ३ गते आइतबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

संसद खुलाउन राष्ट्रपति पनि सक्रिय

सत्तारुढ र प्रतिपक्ष दलबीच संसद सुचारु गर्नका लागि भएका छलफल प्रभावकारी नभएपछि संसद खुलाउनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले समेत पहल थालेका छन् ।

गत साउन १५ गते सदन खुलाउने विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको थियो । साउन २२ गते दुई चरणमा सत्ता गठबन्धन र एमालेबीच छलफल भएको थियो भने साउन २४ गते पनि प्रमुख ३ दलका प्रमुख नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो । तर सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल आ–आफ्नो अडानमा रहँदा संसदको गतिरोध अन्त्य हुन नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले पनि यसबारेमा चासो राखेका छन् ।

बुधबार राष्ट्रपति पौडेलले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शीतल निवास बोलाएर संसद अवरुद्ध भएको विषयमा चासो राखेका थिए । उनले संसदमा भइरहेको अवरोध अन्त्य गरेर संसद सुचारु गर्नका लागि अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । जवाफमा आफूले सरकारकै कारण संसद बैठक अवरुद्ध भएको राष्ट्रपतिलाई बताएको बैठकपछि एमाले अध्यक्ष ओलीले प्रतिक्रिया दिएका थिए ।

यस्तै राष्ट्रपतिले सर्वदलीय बैठक बोलाउने तयारी गरिरहेको उनका राजनीतिक सल्लाहाकार सुनीलबहादुर थापाले केहीदिन अघि बताएका थिए ।

साउन ३१ गते बसेको सत्तारुढ दलको बैठकले संसदको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गर्ने निर्णय गरेको थियो । भदौ १ गते प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेले सदन सुचारु गर्ने बारेमा भेटवार्ता गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभामुख र प्रधानमन्त्रीबीच प्रमुख प्रतिपक्षी दल एमालेले गरेको संसद अवरोध र संसद सुचारु गर्ने विषयमा छलफल भएको हो । सो भेटमा सभामुख घिमिरेले संसद अवरुद्ध हुँदा सांसदहरुले जनताका समस्या संसदमा राख्न नपाएको बताएका थिए भने प्रधानमन्त्री प्रचण्डले संसद खुलाउने विषयमा एमालेसँग पुनः छलफल गर्ने बताएका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धन व्यूरोले तस्करीको सुन प्रकरणमा अनुसन्धान गरिरहेकाले तत्काल उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको भन्दै सरकारी अडान कायम छ । उता एमालेले सुन तस्करीमा सत्तारुढ दलकै नेता संलग्न भएको, अर्थमन्त्री र गृहमन्त्रीको समेत संलग्नता रहेको आरोप लगाउँदै प्रहरीले मात्र छानबिन गर्न नसक्ने भन्दै अनुसन्धानका लागि छुट्टै समितिको माग गर्दै आइरहेको छ । प्रमुख प्रतिपक्षी दल एमालेको अडान र सरकारले उपयुक्त निकास दिन नसक्दा महिना दिन यता प्रतिनिधि सभा बन्धक बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप