शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
निबन्ध

अरण्यरोदनका शृङ्खलाहरू

शनिबार, ०२ भदौ २०८०, १२ : २०
शनिबार, ०२ भदौ २०८०

वर्षा नरोकिँदा विभिन्न ठाउँ थप डुबानमा । वर्षासँगै आएको पहिरोमा पुरिएर, घर बगाएर परिवारै बेपत्ता । जनधनको अपूरणीय क्षति । यो साता बाढी वितण्डाका यस्तै शीर्षक समाचारले पाना भरिएकाले त्रस्त तन । बाढी, पहिरोको मृत्यु समाचारले भावुक मन । 

बाटोसँगै पुल भासियो, बाढीले बाटो बगायो, यातायात अवरुद्ध भयो । गन्तव्य नपुग्दै यात्रुको बिचल्ली । धेरै कुरा लेख्नै पर्दैन, छापिएका तस्बिरहरू आफैँ बोल्छन् मर्मभेदी कुरा । मन र मुटु छोएर तिनले कम्पायमान पार्छन् । त्यहाँ देश देखिँदैन, सरकार भेटिँदैन । दशा देखिन्छ, मन भेटिँदैन । जनता र तिनका घरबारी पानीमा डुबिसकेका छन् । कुनै चिनोबानो केही देखिँदैन । मन रुवाउने परिदृश्यले हृदय टुक्रिन्छ ।

पहाडमा पहिरोको प्रकोप । तराई भूमि अविरल बर्षात्ले जलमग्न । कति बालवृद्धको अकालमै ज्यान गए । मुसलधारे पानीले स्थल र हवाईमार्ग प्रभावित बने । यस्तो आपतमा राहत, उद्धार र सहयोग तत्काल उपलब्ध हुनुपर्ने हो । तर, केही हुन सकेन । 

स्थिति भयप्रद, भोकमरी, महामारीको समस्या । नदी कटानको व्यथा । जमिन बगाउँदा सयौँ गाउँले विस्थापित । सतर्कता अपनाउन समयमै पर्याप्त सूचना उपलब्ध हुँदैन । बर्सेनि पहाडमा पहिरो बग्छ । तराईका बासिन्दालाई बाढीले डुबानमा पार्छ । पीडित मात्र होइन भइरहेका छन् घरबारविहीन । गुमाइरहेका छन् परिवारै ।

मौसमी प्रभावको असरले तराईमा जलमग्न धनजनको क्षति । पहाडमा पहिरो पीडाको कहालीलाग्दो अवस्था । कति ठाउँमा रातभरि चिसोमा काम्दै जागाराम । कति परिवारलाई ओछ्यानबाटै बाढीपहिरोले बगाएर ज्यान खायो । अँगालोबाट आफ्ना प्रिय परिवारलाई अलग्यायो । काखैबाट कालले खोसेर लग्यो । हराउने आफन्त खोज्दा कतै केही चिनोबानो भेटिएन । खोजीमै कतिले जोखिममा ज्यान बलिदान दिए । 

शोक न सुर्ता, भोक न प्यास । रुवाबासीको दर्दनाक दृश्य, कष्टकर जीवन । घरको चिनो र खेतबारीको नामोनिशानै रहेन । सबै पहिरोले बगाएर लग्यो । सर्वत्र जलमग्न जमिन भयो ।

पानीको प्रवाहमा प्रत्येक पल मुटु कम्पायमान हुँदै गला अवरुद्ध हुँदै बाँँच्नुको व्यथा कम पीडादायी छैन । बाढीले बगाएको बस्ती कति हो कति । कति र को कसको ज्यान गयो ? कसैलाई तथ्य थाहा छैन । बस्तुभाउ, मालसामानको बेहाल भएको हिसाबै छैन । आफ्नै ज्यानको सुरक्षित अवतरण हुन नसकिरहेको बेला, आफ्नै घरपरिवार जोगाउन नसकेपछि अरुको रोदन, क्रन्दन र गुहारको आवाज कसरी सुन्न सक्नु ? ती सबै अरण्य रोदन नै हुने रहेछन् ।

रातभरिको पानीले भयावह स्थिति । डुबानमा घर । पाइला राख्ने ओभानो जमिन छैन । भिजेर बिजोग, रुवाबासी, चिच्याहट र हारगुहारको अनुनय । अविरल पानीको वर्षाले बस्ती डुबायो, मानिस बगायो । सरसामान निकाल्नु र जतन जगेडा परैको कुरा भयो, आफ्नै ज्यान जोखिममा ।

पानीमा डुबेर पनि तिर्खाले ओठ कलेटी परेको । यातायात, सञ्चार र विजुलीसेवा प्रभावित हुँदा आहत जनलाई राहतको समस्या । साना खोलाखहरे उन्मत्त भए । नदीको कुरा त बेग्लै भईगयो । भेलबाढीको बेपर्वाह बेग–बतासले खेत भनेन । घर चिनेन । कठै मान्छे, पशुपंक्षी कोही, कसैलाई बाँकी राखेन । धमिलो पानीमा ती सबै मिसिएर छिनभरमै कतै विलीन भए । आफू मर्दैछु भन्ने जान्दा जान्दै बचाऊको बोली बाढीको वितण्डामा कसले सुन्ने ? यो अरण्य रोदनको अर्को शृङ्खला !

जटिल भूगोल । भौगोलिक विकटता र अव्यवस्थित बाटोघाटो । विपद्को पूर्व री शून्य । सधैँ समस्या आएपछि मात्र हतारिने हामी र हाम्रै सरकार । जनता भने जीवन र मरणको मारमा छटपटिँदै उद्धारको आशामा आकाशतिर हेर्दै बस्ने । सुन्ने मन र हेर्ने आँखाहरू खै ? बुझ्ने हृदय र मायालु मुटु खै ? ओठको हाँसो लुटिएको साथ खोसिएको छ । हृदय भक्कानिएर विस्फोट हुन मात्र बाँकी छ ।

जाने ठाउँ कतै भेटिँदैन, बाँच्ने आधार केही देखिँदैन । जताततै पानीकै सामाज्यले निष्ठुरी निरङ्कुशता प्रदर्शन गरिरहेछ । बाढीले बगर बनाएका घरबस्ती । बाढी वितण्डाले निम्त्याएका विपत्ति । आफन्त गुमाउनुको पीडा, आपैm अशान्ति र चिन्ताले चिन्तित भई बेहोश भएको बेला । देशले दशा भोगेर दुखिरहेका बेला आँखामा आँसु पनि नआउने रहेछ । मनमा शान्ति र सुखको सम्भावना पनि क्रमशः समाप्त हुँदै जाँदो रहेछ ।

आँखाले देखिने सम्मको दूरीमा बाढीको प्रवाह । त्यही प्रवाहको बीच ठाउँमा अलिकति बचेको जमिन । त्यसैमा बाढी पीडित मानिसको भीड बाँचिने र मरिने दोसाँधमा । कस्तो अपत्यारिलो सत्य उद्घाटित भइदिएको छ भने सक्रिय मनसुनले समुन्द्रै उठाएर पोखाइदिए झैँ तराई जलमग्न । सर्वत्र डुबानमा परेर चिच्याइरहेका छन् । घरका आफन्त बगायो, सरसामान सखाप भयो, वस्तुभाउको बेहाल भयो । तर यो गुहारको सुनुवाइ भएन ।

 

यस अवस्थामा तपाई कसरी बाँचिरहनु भएको छ ? म कसरी बाँचिरहेको छु ? ‘यसरी नै बाँचिरहेको छु’ भनी तपाई वा मैले भन्न सक्दैनौँ । यो ‘बाँचिरहेको छु’ मा अर्थ–अभिव्यञ्जनाका अनेक आयाम आउँछन् । ‘तपाई सञ्चै हुनुहुन्छ ?’ वा ‘म सञ्चै छु’ भन्ने प्रश्नको उत्तरमा पनि खासै खोजेको चित्तबुझ्दो जवाफ पाउन सकिँदैन ।

मनसुन नआए खेतीपाती सप्रिँदैन र सुख्खा लाग्छ । मनसुन सक्रिय भई मनपरी गर्दा भीषण वर्षाले पहाड बगाउँछ । तराई डुबाउँछ । वर्षात्मा प्रकृति नै नृत्यमय भई हायल कायल पार्ने यो ‘हाँडीघोप्टे’ वर्षा । प्रकृतिको ताण्डव नृत्य उदण्ड र अनुदार । फेरिएको वर्षाको चरित्रले मानिसले आफ्ना मुटुका टुक्रालाई गुमाउनु प¥यो । 

तराईमा बाढीभन्दा पनि डुबानको समस्या बढी भएको देखियो । सामान्य अर्थमा बाढी भनेको ज्यादा वर्षा हुँदा पानी बढेर आफ्नो नियमित स्थान नाघी बगेको नदी नालाको प्रवाह हो । तराईका अधिकांश गाउँसहरले आफ्नै क्षेत्र भित्रको पानीको निकास नपाउँदा डुबानमा परेका हुन् । पहाडका पहिरो पीडित वा तराईका बाढीग्रस्त क्षेत्रका बासिन्दामा ‘एक जीवन जिउन हजार मृत्यु मर्छन्’ भन्ने भनाइ छ ।

प्रकृतिले भरिपूर्ण सुन्दर देश नेपाललाई प्रकृतिले नै रुवाएको छ । सौन्दर्यको हत्या भएको समय र मान्छेका आशा लम्पसार परेर मूर्दा बनेको छ । अनेक त्रास, अनेक कष्ट । नियमित आकस्मिकता नेपालीको ! विनाशकारी भूकम्पको पीडा विर्सिदै जाँदा पुनः अर्को पीडा थपियो पहाड–मधेसका जनता घरबारविहीन भएको अकल्पनीय घटना । अकालमा ज्यान गुमाउन विवश भर्खरै जन्मिएका लालाबालाहरु । अन्नको ढुकुटी र बारीका बाली सबै बेहाल भई बगाएका कहालीलाग्दा क्षणहरु ।

कति दुःखकष्ट गरी जोडेको सारा सम्पत्ति माटोमै विलायो, पानीले बगाएर अनन्तमा लग्यो । पहाडमा पहाडै खस्यो । त्यसले गाउँ नै बगाएर लग्यो । बाढीको आतंकले अत्याएर ज्यान खायो । तराईमा डुबानको त्रासदी र वितण्डा मच्चियो । बाढी पीडितको कहालीलाग्दो कहर । नियतिले दिएको कठोर बज्रपात व्यहोर्न अभिशप्त भयौँ हामी । सहन बाध्य बन्यौँ । सहनुको पराकाष्ठा । 

मर्नु अघिसम्म त हामी बाँचिरहेकै हौँ । त्यही बाँचुनज्यालको समयसम्म मात्रै रहेछ मायाममता र लोभलालच ! मरिसकेपछि त्यो ‘लाश’, बाँकी नरहेको ‘आश’ र स्मृतिमा मात्र झस्काइरहने ‘त्राश’ हुन्छ ।

त्यसैले, बाँच्नु नै सबैभन्दा ठूलो कुरा रहेछ । मरेपछि सबै समाप्त । अत्तोपत्तो केही नहुने रहेछ । जीवनका सारा कमाइ र सबै आफन्तलाई अनायसै छाडेर जानु पर्दोरहेछ । बाँचिरहने आकाङ्क्षा औषधि, उपचार र डाक्टरको अहोरात्र निगरानीले पनि नसक्दो रहेछ । गरिबको कुरा छाडौँ धनाढ्य वा ठूला बैज्ञानिकको बाँच्ने अनुनय पनि अरण्य रोदन !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप