बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
जनमतको आन्तरिक परीक्षा

जनमतका मन्त्रीसहित चार सांसद कार्यकर्ताकै मूल्याङ्कनमा ‘फेल’

सोमबार, ०४ भदौ २०८०, १६ : २८
सोमबार, ०४ भदौ २०८०

जनकपुरधाम । समानुपातिक पद्धतिबाट प्रदेशसभा सदस्य बनेर मधेस प्रदेश सरकारमा मन्त्री बनेका जनमत पार्टीका चन्दन कुमार सिंहलगायत चार सांसद आन्तरिक परीक्षामा ‘फेल’ भएका छन् । जनमत पार्टीले आफ्नो पार्टीका कार्यकर्ताहरूबाट मतदानमार्फत जनप्रतिनिधिहरूको आन्तरिक मूल्याङ्कन गरेको हो ।

फेल हुने अन्यमा मधेस प्रदेशसभाका समानुपातिक सांसदहरू अनिता कुमारी साह, त्रिभुवन साह, भाग्यश्री चौधरी छन् । पार्टीका महासचिवसमेत रहेका सिंह मधेस प्रदेश सरकारमा श्रम तथा यातायात मन्त्री छन् भने त्रिभुवन साहमाथि सिरहामा मिटरब्याजी साहु भएको आरोप लागेको थियो । साह सांसद निर्वाचित हुनुअघि माओवादी नेता थिए ।

सिरहाकी रामवती सिंहले लिएको ३ लाख ऋण चुक्ता गरिसक्दा पनि साहले ९ लाख तिर्न दबाब दिएका थिए । पछि रामवती मिटरब्याजी विरुद्धको आन्दोलनमा पैदलै हिँडेर काठमाडौँ जाँदा पार्टी अध्यक्ष डा. सीके राउतले आश्वासन दिएर उनलाई घर फर्काएका थिए । पछि सांसद साहले पीडितसँग बनाएको कागज र जग्गा फिर्ता गरेर घटना ढाकछोप गरिएको थियो ।

पार्टीले ‘राइट टु रि–कल’ अन्तर्गत ‘एप्रुभल रेटिङ’ नाम दिई गरिएको मतदानमा पार्टीका सदस्यता प्राप्त गरेका कार्यकर्ताहरूले आफ्ना पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको काम कारबाहीबारे मूल्याङ्कन गरेका थिए ।

आइतबार सार्वजनिक मतपरिणाम अनुसार चार जना प्रदेश सांसद फेल र १२ जना प्रदेश सांसद पास भएका छन् । फेल भएका महासचिव एवम् मन्त्री सिंहलाई खसेको कुल ४६ मतमध्ये पक्षमा १४ र विपक्षमा २८ जनाले मत दिएका छन् ।

aproval rating

उनीसहित फेल भएका अन्य सांसदहरू त्रिभुवन साहलाई कुल खसेको १०१ मतमध्ये २० जनाले पक्षमा र ७९ जनाले विपक्षमा, अनिताकुमारी साहलाई कुल खसेको ३७ मतमध्ये १४ जनाले पक्षमा र २३ जनाले विपक्षमा तथा भाग्यश्री कुमारी चौधरीलाई कुल १०१ मतमध्ये २१ जनाले पक्षमा र ७९ जनाले विपक्षमा मत दिएका हुन् ।

मतदानमा १२ जना प्रदेश सांसद पास भएका छन् । पास हुनेहरूमा मधेस प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादव, मधेस प्रदेशकी उपसभामुख बबिताकुमारी इसर, श्रम तथा यातायात राज्यमन्त्री मण्डल खत्वे, प्रदेश सांसदहरू सकिल अली मियाँ, सतिशकुमार सिंह, शम्भु साह, सञ्जयकुमार यादव, हसिना खातुन, बसन्तकुमार कुशवाहा, चन्द्रकेश गुप्ता, गीता गुरुङ र सुमन रायमाझी हुन् ।

पास हुनेहरूमध्ये तुलनात्मक हिसाबले बर्दियाबाट समानुपातिक सांसद भएकी प्रदेश सांसद गुरुङले सबैभन्दा उत्कृष्ट मत पाएकी हुन् ।

पास भएकामध्ये सांसदद्वय वसन्त र सञ्जयलाई पार्टीले सरकारबाट राजीनामा दिन लगाएर फिर्ता बोलाएको थियो भने फेल भएकामध्ये महासचिव सिंहलाई मन्त्रीको जिम्मेवारी दिइएको थियो । यसरी सार्वजनिक भएको मत परिणाममा मन्त्री सिंह फेल भएपछि पार्टीबाटै नैतिकताको आधारमा सिंहले राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ ।

पार्टीले गत शनिबार मधेस प्रदेशका १३ र लुम्बिनीका तीन गरेर १६ वटै प्रदेश सांसदको अहिलेसम्मको कामको मूल्याङ्कन गर्न उनीहरूको सम्बन्धित निर्वाचन क्षेत्रमा मतदान गराएको थियो ।

मतदानमा पार्टीका वडाध्यक्ष, वडाध्यक्षका प्रत्याशी, पालिकाका पदाधिकारी, पालिकामा उठेका प्रत्याशीहरू, प्रदेश समितिका सदस्यहरू, जिल्ला परिषद्का सदस्यहरू, केन्द्रीय समिति सदस्यहरू र राष्ट्रिय परिषद्का सदस्यहरू सहभागी थिए ।

पार्टीका केन्द्रीय सचिव बीपी साहका अनुसार मतदानमा फेल भएका प्रदेश सांसदहरूमाथि अर्को सातादेखि छानबिन सुरु हुनेछ । उनीहरू उपर छानबिन गरी पार्टीले निर्णय लिने साहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप