शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

माधव नेपालले गरे विद्रोहको पुष्टि, एमालेसँग भिन्नताका देखाए सात कारण

मङ्गलबार, ०५ भदौ २०८०, १२ : ४२
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग विद्रोह गरेर फरक पार्टी गठन गर्नुपर्ने सात कारण देखाएका छन् । 

मंगलबारदेखि सुरु भएको पार्टीको छैटौँ केन्द्रीय कमिटी बैठकमा पेस गरेको प्रतिवेदनमा एमालेसँग विद्रोहको औचित्य पुष्टि गर्ने प्रयास गर्दै एमालेभन्दा सात कारणले आफ्नो पार्टी फरक रहेको प्रतिवेदनमा दाबी गरेका छन् । 

‘हामीले विद्रोह गर्नुमा मुलुकलाई प्रतिगमनको भुमरीमा धकेल्ने दक्षिणपन्थी विसर्जनवादका विरुद्ध गरेका थियौ । अर्को शब्दमा भन्नुपर्दा हामीले विद्रोह प्रतिगमनका विरुद्ध गरेका थियौ’, अध्यक्ष नेपालले भनेका छन्, ‘प्रतिगमनलाई परास्त गरी जनवादी क्रान्तिका उपलब्धिको रूपमा रहेको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, प्रतिनिधि सभालाई बचाएर पूर्ण कार्यकाल काम गर्न दिने र संविधानलाई क्रियाशील बनाउने हाम्रो विद्रोहको मुख्य लक्ष्य थिए ।’

उनले विद्रोहबाट प्रतिगमन परास्त भएको दाबी समेत गरेका छन् । ‘प्रतिगमन परास्त गरिएको छ । संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको छ । प्रतिनिधि सभा पुनर्स्थापित भएर पूर्ण कार्यकाल क्रियाशील रहेको छ । हामीले विद्रोह नगरेको भए यी काम हुने थिएनन् । यसअर्थमा हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ’अध्यक्ष नेपालले विद्रोहको औचित्य पुष्टि भएको दाबी गर्दै भनेका छन् । 

त्यस्तै अध्यक्ष नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको हिसाबले तत्कालीन नेकपा एमालेको नेतृत्व गुटमा देखा परेको दक्षिणपन्थी विसर्जनवादी गुटसँग सात वटा मुख्य भिन्नता रहेको जनाएका छन् । उनले २०६३/०६३ को आन्दोलनपछि आफ्नो पार्टीले नेपाली जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भएको मान्ने तर एमालेले नमान्ने भन्दै भिन्नता छुट्ट्याएका छन् । 

त्यसैगरी दोस्रो भिन्नतामा वर्तमान नेपाल समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको छ भन्ने तर एमाले यो नमान्ने भनेर व्याख्या गरेका छन् । त्यस्तै अव हुने क्रान्तिलाई आफ्नो पार्टीले समाजवादी क्रान्ति भनेको तर एमालेले सो कुरालाई नमानेको बताएका छन् । त्यसैगरी मार्क्सवाद लेनिनवादलाई आफ्नो पार्टीले मार्गदर्शक सिद्धान्त मान्ने तर एमालेले जवजलाई मार्गदर्शक सिद्धान्त मानेकोमा फरक देखाएका छन् । त्यस्तै समाजवादी क्रान्तिको कार्यक्रम अंगालेर नेकपा एस अघि बढेको तर एमाले यो कुरा नमान्ने पार्टीका रूपमा चित्रण गरेका छन् । साथै अध्यक्ष नेपालले आफूहरू प्रतिगामी पुनरुत्थानवादी तत्त्वहरूका विरुद्ध प्रहार केन्द्रित गर्ने तर एमाले त्यस्तै तत्त्वहरूसँग सहकार्य गर्न चाहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप