बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एसिया कप क्रिकेट : पाकिस्तानी खेलाडीकै जर्सीमा आयोजक राष्ट्रको नाम नभएपछि समर्थक आक्रोशित

शुक्रबार, १५ भदौ २०८०, १४ : २७
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । अहिले पाकिस्तान र श्रीलंकामा एसिया कप क्रिकेट प्रतियोगिताको १६ औं संस्करण चलिरहेको छ । प्रतियोगिताको मुख्य आयोजक राष्ट्र भने पाकिस्तान हो । 

त्यसैले प्रतियोगिताको उद्घाटन समारोह र उद्घाटन खेल पनि पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामै भएको थियो ।  जारी एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका खेलाडीले लगाएको जर्सीको अहिले निकै चर्चा भइरहेको छ ।

खासगरी समर्थकहरुले यी चार टोलीका खेलाडीले प्रयोग गरेको जर्सीलाई लिएर चर्को आलोचना गरिरहेका छन् ।  यद्यपि, भारतले अहिलेसम्म प्रतियोगितामा आफ्नो पहिलो खेल खेलेको छैन । यी चारवटै टोलीका खेलाडीले प्रयोग गरेको जर्सीमा आयोजक राष्ट्रको नाम नै लेखिएको छैन ।

जबकी एसिया कप यात्रामा निस्कनुअघि भारतीय टोलीले सार्वजनिक गरेको जर्सीमा आयोजक राष्ट्रको नाम लेखिएको थियो । अझ रमाइलो पक्ष त के भने प्रतियोगिताको मुख्य आयोजक राष्ट्र पाकिस्तानले पनि आफ्ना खेलाडीको जर्सीमा आयोजक राष्ट्रको नाम लेखेको छैन ।

पाकिस्तानी टोलीको जर्सीको अगाडिको भागमा दायाँतर्फ एसिया कपको लोगो राखिएको छ । तर, आयोजक राष्ट्रको नाम भने लेखिएको छैन । पाकिस्तानले प्रतियोगिताको उद्घाटन खेल नेपालसँग खेलेको थियो । त्यतिबेला आफ्नै खेलाडीको जर्सीमा आयोजक राष्ट्रको नाम नदेखेपछि पाकिस्तानका पूर्वखेलाडीदेखि लिएर समर्थकसम्म आक्रोसित बनेका छन् । उनीहरुले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) चर्को आलोचना सुरु गरेका छन् । 

समूह ‘बी’ अन्तर्गतको खेलमा बिहीबार सहआयोजक श्रीलंका र बंगलादेश भिडेका थिए । उक्त खेलमा पनि दुबै टोलीका खेलाडीले लगाएको जर्सीमा एसिया कपको लोगो थियो तर, आयोजक राष्ट्रको नाम भने लेखिएको थिएन । 

यसका अतिरिक्त भारतीय टोलीको जर्सीमा समेत एसिया कपको लोगो अंकित भए पनि आयोजक राष्ट्रको नाम नभएको दाबी समाचारमा गरिएको छ । यस्तै गल्ती सन् २०२२ को एसिया कप क्रिकेटमा पनि भएको थियो । एसिया कपको त्यो संस्करण संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना भएको थियो । तर, खेलाडीको जर्सीमा भने आयोजक राष्ट्रको रुपमा श्रीलंकाको नाम लेखिएको थियो ।

रसिद लतिफ, मोहसिन खानलगायतका पाकिस्तानका पाकिस्तानका पूर्वक्रिकेटरले यस विषयलाई लिएर पीसीबीको चर्को आलोचना गरेका छन् । उनीहरुले एसियाली क्रिकेट काउन्सिल (एसीसी) को पनि आलोचना गरेका छन् ।  ‘यो अस्वीकार्य गतिविधि हो । प्रतियोगितामा सहभागी हुने हरेक टोलीले जर्सीमा आयोजक राष्ट्रको नाम उल्लेख गर्नुपर्छ । एसियाली क्रिकेट काउन्सिलसमेत उदासिन देखिनु झनै दुःखद पक्ष हो,’ पाकिस्तानका पूर्व खेलाडी रसिद लतिफले भनेका छन् । 

पूर्वखेलाडी र घरेलु समर्थक आक्रोसित बनेपछि पीसीबीले भने आफ्नो बचाउ गरेको छ । पीसीबीले अघिल्लो वर्ष नै खेलाडीको जर्सीमा आयोजक राष्ट्रको नाम नराख्ने सहमति एसीसीले गरेको भन्दै आफ्नो बचाउ गरेको हो । पाकिस्तानका पूर्वखेलाडी र घरेलु समर्थकले भने एसीसीले यस्तो कुनै निणर्य नगरेको दाबी गरेका छन् । केही पूर्वखेलाडी र घरेलु समर्थकले भने एसीसीले यस्तो निणर्य गरेकै भए पनि त्यतिबेला पीसीबीले किन विरोध नगरेको ? भन्दै प्रश्नसमेत गरेका छन् । ‘१५ वर्षपछि पाकिस्तानमा यति ठूलो प्रतियोगिता आयोजना हुँदैछ ।

यस्तो स्थितिमा हाम्रै पालामा आएर खेलाडीको जर्सीबाट आयोजक राष्ट्रको नाम किन हटाइयो ? एसीसीको यस्तो निणर्यको विरोध पीसीबीले किन गरेन ? त्यसोभए इमर्जिङ टिम्स एसिया कप र एसियन यू—१६ प्रतियोगितामा खेलाडीको जर्सीमा आयोजक राष्ट्रको नाम किन राखियो त ?’ पाकिस्तानी टेस्ट टोलीका पूर्व ब्याट्सम्यान मोहसिन खानले प्रश्न गरेका छन् । 

पाकिस्तानका अर्का एक पूर्वखेलाडीले त एसीसीका अध्यक्ष तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहका कारण खेलाडीको जर्सीमा आयोजक राष्ट्रको नाम नराखिएको आरोप लगाएका छन् । समाचारमा ती पूर्वखेलाडीको नाम भने खुलाइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप